कोप ३०
हिमालयलाई सहानुभूति होइन, मान्यता चाहिएको छ। यसको अस्तित्वलाई क्षेत्रीय मात्र नभई वैश्विक अनिवार्यता भनेर स्वीकार गर्नुपर्ने समय आएको छ।
हामी अहिले आउँदो १०–२१ नोभेम्बरमा ब्राजिलमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ३०) को तयारीमा छौं। विभिन्न कार्यशाला गोष्ठी, सेमिनार तथा संवाद कार्यक्रम भइरहेका छन्। सगरमाथा संवाददेखि हिन्दुकुश हिमालय संसदीय सम्मेलनसम्म सम्पन्न भइसकेका छन्। यी पहलले कोप ३० को एजेन्डालाई विभिन्न रूपमा दिशानिर्देश गरेका छन्।
यद्यपि, हामी हिमालयका मुद्दा उठाउँदा कहिलेकाहीं धेरै नै परम्परागत शैलीको बन्धक भइदिन्छौं। जसले ती मुद्दालाई बदलिँदो वैश्विक परिप्रेक्ष्यमा कम जीवन्त एवं निरस बनाउन सक्छ। त्यसैले अब अझ कल्पनाशील, रचनात्मक र वैश्विक जलवायु वार्ताहरूको आवृत्तिसँग लयबद्ध एवं सुसंगत एजेन्डा तय गर्नुपर्छ। जसले हिमालयको महत्त्वलाई केवल क्षेत्रीय होइन, वैश्विक सन्दर्भमै प्रभावकारी ढंगले प्रस्तुत गरोस्।
हिमालय ओझेलमा परेको जलवायु आधार हो। यो यथार्थ संसारलाई प्रस्टसँग बुझाउन आवश्यक छ। जब विश्वका नेता कोप ३० मा भेला हुनेछन्, तब त्यहाँ सबैभन्दा धेरै ध्यान अमेजन वर्षावनतर्फ केन्द्रित हुने देखिन्छ। जसलाई पृथ्वीको फोक्सो पनि भनिन्छ। त्यति मात्र होइन, अर्को एक विशाल प्राकृतिक संरचना छ– जसको अस्तित्व नै मानव सभ्यताको भविष्यसँग गाँसिएको छ। त्यो हिमालय नै हो। जुन पृथ्वीको तेस्रो ध्रुव भनेर चिनिन्छ।
हिन्दुकुश हिमालय क्षेत्र आठ देशमा फैलिएको छ– अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, चीन, बाङ्लादेश र म्यानमार। यो क्षेत्र ध्रुवीयबाहेक विश्वकै ठूलो हिउँ–भण्डारण पनि हो। यहाँका हिमाल सौन्दर्यका प्रतीक मात्र होइनन्। एसियाका जल ‘टावर’ हुन्। जसले विश्वका १० प्रमुख नदी प्रणालीलाई पोषण गर्छन्। करिब दुई अर्ब मानिसलाई जीवनधारा दिन्छन्। दक्षिण एसियाको मौसमी वर्षा प्रणालीलाई स्थिर राख्छन्। यस प्रणालीले कृषि, स्वास्थ्य र जीविकोपार्जनको निर्भरतालाई सार्थक बनाउँछन्।
तर, यो विषय अझै पनि विश्व जलवायु वार्तामा उपेक्षित छ। हिमनदी भयावह गतिमा पग्लिरहेका छन्। तापक्रम वृद्धि यही ढाँचामा अगाडि बढ्यो भने दुईतिहाइसम्म हिमनदी यो शताब्दीको अन्त्यसम्म हराउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिइसकेका छन्। यसको अर्थ के पनि हो भने– आज देखिएको अप्रत्याशित बाढीपहिरो भविष्यमा हुने विकराल जलस्रोत संकटको खतराको घण्टी बजेको पनि हो भन्ने बुझ्नुपर्छ। यो संकट क्षेत्रीय मात्र होइन, वैश्विक हो। किनभने, हिमनदी पग्लिँदा समुद्री सतह बढ्छ। जसको असर मियामीदेखि मुम्बईसम्म समान हुन्छ।
हामी के कुरामा प्रस्ट हुनुपर्छ भने हरित भविष्यको निर्माण हिमाललाई बलिदान दिएर गरिन्छ भने त्यो कुनै सभ्य एवं साझा भविष्य होइन।
नदीहरू असन्तुलित हुँदा धानखेतदेखि जलविद्युत्सम्मको सुरक्षा खतरामा पर्छ। यस्तो जलवायु तनावले जनसंख्या विस्थापन, स्थानीय द्वन्द्व, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा एवं प्रतिद्वन्द्व र राजनीतिक अस्थिरता बढाउँछ। त्यसैले हिमालयलाई बेवास्ता गर्नु भनेको एसियाको मुटुमा रहेको ‘टाइम बम’लाई बेवास्ता गर्नु हो।
यसले शताब्दीयौंदेखि संसारलाई निःशुल्क पारिस्थितिक सेवा दिँदै आएको छ। हावापानी नियन्त्रण, कार्बन संग्रह, जैविक विविधताको संरक्षण, नदीमा जल आपूर्ति, मौसम स्थिरता प्रदायकजस्ता योगदान यसका केही उदाहरण हुन्। तर, यी सेवाको मूल्य खर्बौं डलरभन्दा धेरै हो भन्ने कुराले अझै विश्वको निर्णय प्रक्रियामा मान्यता पाएको छैन। अमेजनलाई ग्रहको कार्बन संग्रह केन्द्रका रूपमा प्रचार गरिएको छ। हिमालयले पनि त्यसरी नै ग्रहको चिस्याउने प्रणाली, पानी आपूर्तिकर्ता र मौसमी स्थिरता एवं संसारकै पुरानोमध्ये एक हिमाली संस्कृतिको उद्भव स्थलका रूपमा मान्यता पाउनै पर्छ। यसले निःशुल्क रूपमा विश्वको जलवायु प्रणालीलाई सहयोग गरेको छ। संसारले यसको पर्यावरणीय ऋण चुक्ता गर्नुपर्ने समय आएको छ।
दुःखको कुरा, हिमालय अझै पनि तथ्यांक र अनुसन्धानका हिसाबले विश्वको ठूलो अन्धकार क्षेत्रमा पर्छ। आर्कटिक र एन्टार्कटिकलाई निरन्तर उपग्रह र अनुसन्धान केन्द्रले निगरानी गर्दा हिमालयका धेरै भूभागमा आधारभूत मौसम र हिमनदी निगरानी प्रणालीसमेत छैन। यसकारण विश्वका जलवायु मोडल अधुरा छन्। एकतिहाइ हिउँसम्बन्धी जानकारी नभएको अवस्थामा जलवायु भविष्यवाणी कसरी सटीक हुन्छ? यो केवल उपेक्षा होइन, वैज्ञानिक दृष्टिकोणमै असन्तुलन हो।
त्यसैले हिमालयमा वैज्ञानिक अवलोकन र तथ्यांक संकलनमा लगानी गर्नु दान वा अनुग्रह होइन। बरु विश्व जलवायु प्रशासन प्रणालीको विश्वसनीयता कायम गर्न आवश्यक पूर्वसर्त हो।
हिमालय अर्को विरोधाभासको सिकारसमेत बनेको छ। यस भेगको कमजोर भौगोलिक बनावटको भीरपाखामुनि विश्वलाई हरित ऊर्जामा रूपान्तरण गर्न चाहिने दुर्लभ धातु, लिथियम, कोबाल्टजस्ता खनिज पनि लुकेका छन्। उदाहरणका लागि अफगानिस्तानदेखि बलुचिस्तानसम्म यस्ता स्रोतमा ठूला र शक्तिशाली देशको गिद्धे दृष्टि परिसकेको तथ्य कसैबाट लुकेको छैन। तर, यस्ता कमजोर भूगोलमा ठूलो मात्रामा उत्खनन गर्दा नदी, वन र स्थानीय समुदायलाई ध्वस्त पार्ने खतरा हुन्छ।
हामी के कुरामा प्रस्ट हुनुपर्छ भने हरित भविष्यको निर्माण हिमाललाई बलिदान दिएर गरिन्छ भने त्यो कुनै सभ्य एवं साझा भविष्य होइन। त्यसकारण विश्वले जिम्मेवार हरित खनिज ढाँचा तयार गर्नैपर्छ। जसलाई खनिज उत्खननमा पारदर्शी, वातावरणमैत्री र स्थानीय समुदायलाई लाभ हुने गरी बनाउनुपर्छ।
हिमालयको बेवास्ता वातावरणीय जोखिम मात्र होइन, सुरक्षा जोखिम पनि हो। जलवायु तनावले यस क्षेत्रमा जनसंख्या विस्थापन मात्र बढाइरहेको होइन कि पानीको आपूर्ति र बाँडफाँटमा द्वन्द्वले भूराजनीतिक प्रतिद्वन्द्विताको आगोमा घिउ थप्ने काम गरेको छ। जब हिमनदी सुक्नेछन्, तनाव बढ्नेछ। यही कारण यस क्षेत्रको जलवायुसम्बन्धी प्रश्नलाई केवल यूएनएफसीसीसी वार्तामा मात्र होइन, राष्ट्रसंघको सुरक्षा परिषद्को छलफलमा पनि लैजान जरुरी छ।
यस क्षेत्रका बासिन्दालाई केवल पीडित होइन कि ज्ञानवाहकका रूपमा प्रस्तुत गर्नुपर्छ। जो शताब्दीयौंदेखि अस्थिर भौगोलिक अवस्थासँग जुध्दै आएका छन्। सिँचाइका परम्परागत प्रविधि, ढुंगाले बनेका पर्खाल, समुदायमा आधारित वन व्यवस्थापन, जमिनको संरक्षण— यी सबै मानव जातिलाई जलवायु संकटमा कसरी बाँच्ने भन्ने पाठ सिकाउने जीवित पाठशाला हुन्। जब हिमाल हराउँछ, हामीले केवल हिमनदी मात्र होइन, प्रागऐतिहासिक संस्कृति पनि गुमाउनेछौं। यो हजारौं वर्षदेखि प्रकृतिसँग अन्तर्क्रिया गर्दै परिष्कृत हुँदै आएको छ। जसले चरम प्रतिकूलतामा पनि बाँच्न सिकाउँदै आएको छ।
अब संकुचित र परम्परागत एजेन्डाको समय सकिएको छ। हिमालयलाई सहानुभूति होइन, मान्यता चाहिएको छ।
हिमाली राष्ट्रहरूले कोप ३० मा हाम्रा परम्परागत माग (जस्तो कि– जलवायु वित्त, अनुकूलन सहयोग, क्षति तथा नोक्सानीको परिपूर्ति) जारी राख्नैपर्छ। तर, आजको भीडभाडयुक्त विश्व जलवायु सम्मेलनमा यी कुराले मात्र वैश्विक ध्यान तान्दैनन्। त्यसैले नेपाल र हिमाली क्षेत्रले नयाँ कथा अघि सार्नुपर्छ। हिमालयलाई तेस्रो ध्रुवका साथै विश्व समुद्री सतहको स्थिरताका लागि जीवनदायिनी स्रोतका रूपमा अघि बढाउनुपर्छ। निःशुल्क पारिस्थितिक सेवाप्रदाता तर अवमूल्यन गरिएको सम्पदाका रूपमा अगाडि सार्नुपर्छ। जलवायु तथ्यांकमा खासै नसमेटिएको र बिर्सिएको एउटा अँध्यारो क्षेत्रका रूपमा ल्याउनुपर्छ। जलवायु असुरक्षालाई भूराजनीतिक अस्थिरता बढाउने आधारका रूपमा लिनुपर्छ। हरित ऊर्जामा रूपान्तरणकै लागि खतरामा परेको विडम्बना अनि मानव सभ्यताको ज्ञानभण्डारका रूपमा सशक्त रूपले अगाडि बढाउनु आवश्यक छ। यी पक्ष हिमाली वेदनासँग जोडिएको केवल थप दृष्टिकोण मात्र होइनन्। यी नै विश्व जलवायुको अस्तित्वसँग गाँसिएका मुख्य प्रश्न र मुद्दा हुन्।
नेपाललाई यस्तो अवस्थामा विशिष्ट कूटनीतिक भूमिका निर्वाह गर्न सक्ने अवसर छ। भूराजनीतिक प्रतिस्पर्धा र फरक–फरक प्राथमिकताबीच पनि नेपाललाई तटस्थ सेतुका रूपमा हेर्ने गरिन्छ। अफगानिस्तान खनिज स्रोत, भारत ऊर्जा आपूर्ति, चीन वृद्धि र उद्योग अनि पाकिस्तान खाद्य सुरक्षातर्फ ध्यान दिन्छन्। हामीले चाहिँ भन्न सक्छौं कि राजनीतिले विभाजन गर्न सक्छ तर हिमालले एकताबद्ध बनाउँछ। यो एकताको प्रतीक हो। अटल मित्रताको प्रतीक हो। हिमालबाट निस्किने हिमनदीले पानी मात्रै ओसार्दैन कि यसले वैश्विक समन्वयको संगीत पनि प्रवाह गर्छ। नेपाल सानो राष्ट्र भए पनि यसरी नै ठूलो नैतिक नेतृत्वको हैसियतमा प्रस्तुत हुन सक्छ।
जब विश्वका नेताहरू बेलम र न्युयोर्कमा छलफल गर्छन्, तब नेपालसहित देशले एउटै सन्देश दिनुपर्छ– अमेजन पृथ्वीको फोक्सो हुन सक्छ। तर, हिमालय यसको जल ‘टावर’ हो। एउटा जोगाएर अर्कोलाई त्याग्नु वा उपेक्षा गर्नु भनेको हाम्रो ग्रहको भविष्य खतरामा पार्नु हो। हिमनदी हराए नदीहरू सुक्नेछन्। हिमाल अस्थिर भए यसको असर काठमाडौं वा काबुलमा मात्र हुने होइन। त्यो त संघाई, कराँची, ढाका, जकार्ता हुँदै न्युयोर्क, लन्डन र साओ पाउलो पनि पुग्छ। हिमालयको भविष्य नै विश्वको भविष्य हो।
केहीले यस्ता सम्मेलनलाई प्रदर्शन वा देखाउने प्रवृत्ति मात्र भन्न सक्छन्। हो, ठोस कार्यान्वयनबिना केवल कागजका घोषणापत्र बन्न सक्छन्। तर, देखाउने कुरा पनि कहिलेकाहीं निर्णायक हुन्छ। जब यसले कथा निर्माण गरी ध्यान आकर्षित गर्छ। नेपालले हिमालयलाई उपेक्षित पृष्ठभूमिबाट निकालेर विश्व जलवायु कथाको केन्द्रमा ल्याउन सक्नुपर्छ। त्यसो गर्ने हो भने प्रतीकात्मक मञ्च पनि ठोस प्रतिबद्धता निकाल्ने ढोका बन्न सक्छन्।
अब संकुचित र परम्परागत एजेन्डाको समय सकिएको छ। हिमालयलाई सहानुभूति होइन, मान्यता चाहिएको छ। यसको अस्तित्वलाई क्षेत्रीय मात्र नभई वैश्विक अनिवार्यता भनेर स्वीकार गर्नुपर्ने समय आएको छ। किनकि, अन्ततः हिमालय दक्षिण एसियाका जनताका लागि मात्र होइन, सम्पूर्ण मानव जातिका लागि हो। यसको पतन मानव सभ्यताको साझा हार हुनेछ।
–त्रिपाठी वन तथा भूसंरक्षण विभागका पूर्वमहानिर्देशक हुन्।