काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन्।
भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको भन्दै चीन-भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाएका हुन। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउने सहमति स्वीकार्य नभएको कुरा राष्ट्रपति सीसमक्ष राखेका हुन्। उनले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने सम्पूर्ण भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको पुनः औंल्याए।
भेटमा दुई देशबीच मित्रता र सहकार्यका विविध क्षेत्रहरूमा छलफल भएको र सम्बन्ध अझ सुदृढ बनाउन दुवै पक्ष सक्रिय रहने सहमति भएको सचिव राईले जानकारी दिए। प्रधानमन्त्री ओलीले लिपुलेकको विषयमा नेपालको अडान दृढ रहेको र यसमा चीनको समर्थन अपेक्षित रहेको पनि बताए।