तियानजिन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा विश्वका सबै राष्ट्रहरूलाई आतंकवाद विरुद्ध एकजुट हुन आग्रह गरेका छन्।
हालैको पहलगाम आक्रमणको प्रसङ्ग उठाउँदै उनले आतंकवादको विषयमा कुनै पनि राष्ट्रले दोहोरो मापदण्ड स्वीकार्य नहुने बताएका छन्।
सम्बोधनको सुरुवातमा प्रधानमन्त्री मोदीले चीनका राष्ट्रपति सी जिनफिङलाई आतिथ्यका लागि धन्यवाद ज्ञापन गर्दै सम्मेलनमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले भारतको एससीओप्रतिको दृष्टिकोण “सुरक्षा, सम्पर्क र अवसर” मा आधारित रहेको पनि उल्लेख गरे।
उनले पछिल्ला चार दशकदेखि भारत निरन्तर आतंकवादको मारमा परेको भन्दै हजारौँ परिवार प्रभावित भएको र हजारौँ बालबालिका अनाथ बनेको बताए। पहलगाम आक्रमणले आतंकवादको भयावह स्वरूप पुनः उजागर भएको उनले स्मरण गरे।
मोदीले अन्त्यमा भने, “आतंकवाद कुनै एक देश वा धर्मसँग मात्र सम्बन्धित समस्या होइन, यो सम्पूर्ण मानव सभ्यतामाथिको आक्रमण हो। यसको हरेक रूप र स्वरूपलाई उन्मूलन गर्न सबै देश एकसाथ उभिनु अपरिहार्य भएको बताएका छन्।”