काठमाडौँ। लगातार वर्षा र पहिरोका कारण आज देशभर ११ प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
आज सांखुवासभाको कोशी राजमार्ग, रसुवाको नेपाल–चीन पुल र पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग र जाजरकोट–डोल्पा सडक पूर्णरूप अवरुद्ध भएका छन्।
त्यस्तै, धार्चे सडक (काठमाडौँ), मध्यपहाडी लोकमार्ग (तेह्रथुम), गल्छि–त्रिवेणी–मैलुङ–स्याफ्रु सडक (रसुवा), कालीगण्डकी करिडोर (बागलुङ, नवलपरासी पूर्व), पृथ्वी राजमार्ग (तनहुँ), राप्ती राजमार्ग (दाङ) र सालझण्डी–ढोरपाटन सडक (अर्घाखाँची)मा अहिले एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
प्रहरीले अवरुद्ध मार्गमा पहिरो हटाएर यातायात पुनः सुचारु पार्ने काम जारी रहेको जनाएको छ।