आवरण
यो नेपाली शिर झुकाई शरणार्थी बन्न लम्कन्छ!
‘एसिया, अफ्रिका र दक्षिण अमेरिकाका केही देशपछि दुनियाँको सबैभन्दा डरलाग्दो अमेजन पनामा जंगल पार गरेर मेक्सिको हुँदै दुई वर्ष लगाएर अमेरिका पुगियो। दुःख कष्ट सहेर भए पनि अमेरिका पुग्न पाउँदा खुसी लागेको थियो तर समय र भाग्यले ठग्यो।’
२५ जेठ २०८२ को साँझ अमेरिकाबाट नेपाल फर्काइएका रुकुमका युवाले आफ्नो गाउँ फर्किएपछि नेपालन्युजलाई पठाएको आफ्नो भोगाइको सानो अंश हो यो।
एक करोड खर्च गरेर अनेक कष्ट झेल्दै दलालमार्फत ‘तल्लो बाटो’ (पनामा जंगल हुँदै मेक्सिको पार गरेर अमेरिका छिर्ने अवैध बाटो) बाट असाध्यै मुस्किलले अमेरिका प्रवेश गरेका उनी त्यहाँ पुग्नेबित्तिकै पक्राउ परे। जेलमा आठ महिना राखेपछि अमेरिकाले उनलाई निष्कासन गरेर नेपाल फर्काइदियो। उनी लेख्छन्, ‘अमेरिका त पुगियो तर अमेरिकाको बाहिरी संसार कस्तो थियो, थाहै भएन। जेल बसाइपछि अमेरिकाको टेक्ससदेखि सिकागो विमानस्थलबाट युरोप, भारत हुँदै काठमाडौं विमानस्थल आइपुग्न २८ घन्टा लाग्यो।’
२५ जेठको साँझ ओम्नी एयरलाइन्सको उडान नम्बर ‘ओवाई ३१४६’ बाट उनीसहित अमेरिकाबाट निष्कासित ३७ जना नेपाली काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए। काठमाडौं ओर्लिंदा उनीसँग एक जोर कपडाबाहेक केही थिएन।
कतिसम्म भने त्यो दिन विमानस्थलबाट बाहिरिँदै गर्दा केहीले भने पिठ्युँमा बोरा बोकेका थिए। अमेरिकाबाट निष्कासनमा परेकाहरूले बोरा बोकेका तस्बिरहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कारुणिक देखिए। नेपाल फर्काइएकाहरू अनुहार लुकाएर, छलिएर हिँडिरहेका थिए।
जेसुकै गरेर शरणार्थी बन्न चाहने नेपालीको पहिलो गन्तव्य मुलुक अमेरिका हो। ज्यान र धन दुवै जोखिममा राखेर अमेरिका पुग्न मरिहत्ते गर्ने नेपालीहरूमध्ये कतिपय सुरुमा अन्य देशमा शरणार्थी बन्छन्, त्यसपछि अमेरिका पुगेर फेरि त्यहाँ शरणार्थी बन्ने गरेका छन्।
रुकुमका ती युवाले आफूहरूलाई त्यस्तो व्यवहार गर्नेप्रति गुनासो पोखे, ‘जहाजमा आउँदा अरू मान्छेको अनुहारमा हर्ष, खुसी थियो। आफूलाई भने मनमा त्रास थियो। अनुहार घोप्टो बनाएर बसिरहेँ। सबैले मलाई हेर्दै थिए। सामाजिक सञ्जालमा पनि अवैध बाटो गएका भनेर खिसिट्युरी गरेको देखेँ। त्यस्तो देख्दा मन झन् पोल्छ, थप पीडा हुन्छ।’
त्यसदिन अमेरिकाबाट फर्काइएका ३७ जनामध्ये ३५ जनालाई मानव तस्करको गिरोहमार्फत मेक्सिको हुँदै ‘तल्लो बाटो’ अमेरिका पुगेको नेपाल प्रहरीको मानव अधिकार बेचबिखन ब्युरोको अनुसन्धानबाट खुलेको छ। नेपाल, भारत र पाकिस्तानका मानव तस्करहरूको सञ्जालले उनीहरूलाई अमेरिका पुर्याएर नक्कली शरणार्थी बनाउन खोजेको थियो। प्रतिव्यक्ति १ करोड ४० लाख रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका उनीहरूलाई अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) प्रहरीले पक्राउ गरेर जेलमा राखेको थियो।
मरिहत्ते गरेर अमेरिका पुग्नेहरूले पासपोर्ट लगायतका सबै कागजात फ्याँकेर शरणार्थी दाबी गर्छन्। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर भन्छन्, “उनीहरूले कागजात फालेर शरणार्थी दाबी गर्ने योजना रहे पनि पक्राउ परेपछि दाबी गर्न भने पाएनछन्।”
नक्कली शरणार्थी बनेर अमेरिका छिर्ने अधिकांश नेपालीको कथा रुकुमको युवाको जस्तै दर्दनाक लाग्छ। पश्चिम नेपालका रुकुम, दाङ, पर्वत, स्याङ्जा लगायतका गाउँबाट हिँडेर अमेरिका जाने युवाको संख्या बढ्दो छ। गाउँ नै रित्याएर गएका युवाहरूको आधिकारिक तथ्यांक उपलब्ध नभए पनि १० हजारभन्दा बढी नेपाली ‘तल्लो बाटो’ अमेरिका पुगेको अनुमान छ। अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता मात्र १ सय ६० जनाभन्दा बढी नेपाली निष्कासनमा परिसकेका छन्। जोखिमपूर्ण तरिकाले अमेरिका जाने क्रममा बाटैमा मृत्यु हुने नेपाली युवाको संख्या दर्जनको हाराहारीमा पुगिसकेको छ। जसरी पनि अमेरिका छिर्ने प्रवृत्ति आम भएकाले कलाकारले गीतमा समेत यो समस्या अभिव्यक्त गर्न थालेका छन्। नेत्र अर्यालको शब्दमा खेम सेन्चुरी र शान्तिश्री परियारले गाएको एउटा गीत नै छ :
अमेरिका आएँ म त तल्लो बाटो हुँदै
घर सम्झेर, गाम् सम्झेर, देश सम्झेर रुँदै।
पहिले शरण दिने, अहिले लिने
कुनै बेला नेपाल विदेशीलाई शरण दिने देशका रूपमा चिनिन्थ्यो। अहिले पनि तिब्बत, भुटान, म्यानमार लगायत आठ देशका १९ हजार ५ सय ५५ शरणार्थीलाई नेपालले शरण दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को तथ्यांकमा उपलब्ध छ। पछिल्लो समय नेपाल शरण दिने मात्र होइन, अन्यत्र शरण लिन हत्ते गर्ने देशका रूपमा चिनिन थालेको छ।
नक्कली शरणार्थी बनाउने र बन्न हदैसम्मको हत्ते गर्नेहरूको कथा यतिमा मात्र सीमित छैन। नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पुर्याउने धन्दामा देशका उच्च तहका नेता, कर्मचारीदेखि पूर्वमन्त्रीसम्मको गठजोड रहेको तथ्य तीन वर्षअघि सार्वजनिक नक्कली भुटानी शरणार्थी प्रकरणबाट खुलेको थियो। पूर्वमन्त्रीहरू बालकृष्ण खाँड र टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र बिचौलियाहरूको मिलेमतोमा ५ सय जना नेपालीसँग मोटो रकम असुलेर नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्च गरिएको थियो।
जेसुकै गरेर शरणार्थी बन्न चाहने नेपालीको पहिलो गन्तव्य मुलुक अमेरिका हो। ज्यान र धन दुवै जोखिममा राखेर अमेरिका पुग्न मरिहत्ते गर्ने नेपालीहरूमध्ये कतिपय सुरुमा अन्य देशमा शरणार्थी बन्छन्, त्यसपछि अमेरिका पुगेर फेरि त्यहाँ शरणार्थी बन्ने गरेका छन्। त्यसमध्येको एउटा ट्रान्जिट देश हो, ब्राजिल।

डिपोर्ट गरिएका नेपालीले संवाददातालाई पठाएका मेसेज।
ब्राजिल प्रहरीको इन्टेलिजेन्स डेटा एनालिसिस सेन्टरले सन् २०२३ को जनवरीदेखि सन् २०२४ को जुलाईसम्म अध्ययन गरेर तयार पारेको प्रतिवेदन अनुसार ब्राजिलमा डेढ वर्षमा शरण माग्ने ८ हजार ३ सयमध्ये करिब १ हजार ९ सय नेपाली थिए। यसको अर्थ ब्राजिलमा शरणार्थी बन्न चाहनेमध्ये २० प्रतिशतभन्दा बढी नेपाली छन्। यूएनएचसीआरको तथ्यांक अनुसार नेपालीले ब्राजिलमा शरणार्थी बन्नका लागि आवेदन दिन थालेको सन् २०१२ देखि हो। त्यसबेला ३२ जनाले आवेदन दिएकामा सन् २०२३ मा यो संख्या १ हजार ३०३ थियो। २०२४ को अन्त्यसम्ममा त्यो संख्या घटेर १ सय ५१ मा झरेको छ। नेपालीले ब्राजिलमा शरणार्थी दाबी गर्नुमा ब्राजिल रोजाइको देश भएर होइन, त्यहाँ शरणार्थी भएपछि त्यहाँबाट अमेरिका लगायत मुलुक छिर्न सजिलो हुन्छ। सन् २०२४ सम्म ब्राजिलमा ८ जना नेपालीले शरणार्थीको मान्यता पाएका छन्।
ब्राजिलमा शरणार्थी दाबी गर्नेहरू अधिकांश अमेरिका छिर्न चाहन्छन्। जस्तो, २०८१ को भदौमा १ सय ७६ जना नेपाली सहित विभिन्न देशका सात सय जना ब्राजिलको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल साओ पाउलोमा अलपत्र परेको खबर सार्वजनिक भएको थियो। मानव तस्करको सन्जालमा परेर ब्राजिल पुगेका ती नेपालीहरूले त्यहाँ शरणार्थी दाबी गरेका थिए। उनीहरूको गन्तव्य मुलुक भने अमेरिका थियो।
अमेरिकामा शरणार्थी बन्न आवेदन दिनेहरूमा पछिल्लो समय सिंगापुर प्रहरीमा रहेका नेपालीहरू पनि भेटिन्छन्। नेपालबाट बेलायती सेनामा भर्ती भएर जानेले पछि परिवारसमेत लैजान र आवासीय सुविधा पाउँछन् तर सँगै भर्ती हुने सिंगापुर प्रहरीले भने त्यस्तो सुविधा पाउँदैनन्। अवकाशपछि उनीहरू नेपाल फर्किनु पर्छ। पेन्सन पनि एउटा पुस्ताले मात्र पाउँछन्। त्यसैले पनि पछिल्लो समय सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरू नेपाल नआई उतैबाट अमेरिका जान थालेका छन्।
१३–१८ अगस्ट २००६ मा क्यानाडाको टोरन्टोमा भएको अन्तर्राष्ट्रिय एचआईभी र एड्स सम्मेलनमा सहभागिताका लागि जान खोज्दा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भिसा नदिइएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहजीकरण गरेको बताइन्छ। त्यसपछि ८० जनाको भिसा लाग्यो। त्यतिबेला गएका ८० प्रतिशत फर्किएनन्।
सिंगापुर प्रहरीको जागिर सकिन केही महिनाअघि उनीहरू भिजिट भिसामा अमेरिका जान्छन्। त्यसपछि सिंगापुरको जागिर माया मारेर भिसा फालेर अमेरिका बस्छन्। ६ महिना कटेपछि अमेरिकामा शरणार्थी आवेदन दिएर उतै पलायन हुन्छन्। सिंगापुर प्रहरीले सजिलै अमेरिकाको भिजिट भिसा पाउने भएकाले उनीहरूलाई जान सजिलो भएको छ।
वैदेशिक रोजगारविज्ञ तथा समाजशास्त्री गणेश गुरुङको अध्ययन अनुसार सिंगापुर प्रहरीमा काम गर्ने नेपालीमध्ये ९० प्रतिशत अमेरिका, अस्ट्रेलिया र क्यानाडा प्रवेश गर्छन्। अमेरिकामा शरणार्थी बन्न कागजात पेस गर्दा राजनीतिक कारण देखाए पनि उनीहरू आर्थिक कारणले शरण खोजिरहेको गुरुङ बताउँछन्। भन्छन्, “मेरो अध्ययनमा अन्य देशमा गएर शरणार्थी आवेदन दिने नेपालीमध्ये ९९ प्रतिशत रोजगारीका लागि गएका हुन्।”
त्यसो त इजरायल लगायतका देशमा केयरगिभरका रूपमा काम गर्ने नेपालीले पनि उतैबाट अमेरिकाको भिसा लगाएर शरणार्थी हुने आवेदन दिन्छन्। अमेरिकामा नेपालीलाई शरणार्थी बनाउन नेपाल र अमेरिका दुवैतिर गिरोह सक्रिय छ। यी गिरोहले नक्कली कागजात बनाएर १८–२० देखि ६० वर्ष कटेकासम्मलाई पनि अमेरिका पुर्याउने गरेका छन्।
सन् १९९५ मा १७ जना नेपाली अमेरिकामा शरणार्थी रहेकामा सन् २०२४ को अन्त्यसम्म ६ हजार १ सय २४ जना पुगेको यूएनएचसीआरको तथ्यांकमा पाइन्छ। अमेरिकामा शरणार्थीका लागि आवेदन दिनेको संख्या १३ हजार १ सय ५६ छ। यो तथ्यांकले नेपालीहरू अमेरिकामा शरणार्थी बन्न कति लालायित छन् भन्ने प्रस्ट पार्छ।
बेलायतमा पनि माओवादी द्वन्द्वकालमा कैयौं नेपाली शरणार्थी बनेर गएका थिए। सन् २००२ मा ६५ जना नेपाली शरणार्थी रहेको बेलायतमा सन् २०२४ को अन्त्यसम्ममा १ सय २ जना शरणार्थी पुगे भने ९ सय ९८ जनाले शरणार्थी बन्न आवेदन दिएका छन्। त्यस्तै दक्षिण कोरियामा ५ सय ७९, ग्रीसमा ८ सय २८, अस्ट्रेलियामा १ हजार ३ सय ५३, फ्रान्समा १ सय ६० जना शरणार्थी बन्न आवेदन दिएका छन्।
दक्षिण अफ्रिकासम्म शरणार्थीको आवेदन दिन नेपाली पुगेको तथ्यांक उपलब्ध छ। दक्षिण अफ्रिकामा हालसम्म एकै जना शरणार्थी नभए पनि बर्सेनि ५० देखि सय जनासम्मले आवेदन दिन्छन्। यीमध्ये अधिकांशले दक्षिण अफ्रिकामै बस्नका लागि आवेदन दिएका होइनन्। मानव तस्करको समूहले उनीहरूलाई दक्षिण अफ्रिकाको बाटो हुँदै अमेरिका, क्यानाडा र विभिन्न युरोपेली देश पुर्याउने गरेका छन्।
संयुक्त राष्ट्र संघको सन् १९५१ को शरणार्थी सम्बन्धी महासन्धिले जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचारका कारण देशमा बस्न सक्ने अवस्था नभएकाहरू पनि शरणार्थी बन्न सक्ने उल्लेख गरेको थियो। त्यसैले हाल देशभित्रको आन्तरिक द्वन्द्व, हिंसाजस्ता कारणले मात्र नभई विविध कारणले शरणार्थी बन्नेहरू बढिरहेको पाइन्छ। पछिल्लो समय शरणार्थीको परिभाषा अझ फराकिलो बन्दै गएको छ। राजनीतिक अस्थिरता, जलवायु परिवर्तन, ठूला विपददेखि घरेलु हिंसाका कारण पनि शरणार्थी बन्ने क्रम बढ्न सक्ने एसिया प्यासिफिक रिफ्युजी राइट्स नेटवर्कका निवर्तमान अध्यक्ष डा.गोपालकृष्ण सिवाकोटी बताउँछन्।
पहिला माओवादी सशस्त्र द्वन्द्व, मधेस आन्दोलन, लिम्बुवान र थारु आन्दोलनका कारण विस्थापित भएकाहरूले शरणार्थी दाबी गर्थे। तर अहिले नेपालमा व्यक्तिगत कारण बाहेक ठूला द्वन्द्व वा अन्य खतराको अवस्था नरहेकाले अहिले नेपालीहरूले अरु देशमा शरण लिनु पर्ने अवस्था छैन। सिवाकोटी भन्छन्, “नेपालीहरू जुन हिसाबले विभिन्न देशमा शरणार्थी दाबी गरिरहेका छन्, त्यो स्वाभाविक देखिँदैन।”
शरणार्थी बनाइदिने धन्दा
नेपालीहरूले शरणार्थी बन्न मरिहत्ते गर्ने अर्को देश क्यानाडा पनि हो। क्यानाडामा विभिन्न तरिकाले प्रवेश गरेका नेपालीहरू उतै लुकेर शरणार्थी हुने आवेदन दिने गरेका छन्। काठमाडौंको ग्रेट नटराज फिल्मस् प्रालिले २८ मे २०२३ मा क्यानाडाको टोरन्टोमा आयोजना गरेको दोस्रो संस्करणको स्टार म्युजिक भिडियो अवार्डमा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाएका हेरुका लामा नेपाल फर्किएनन्।
अवार्ड कार्यक्रमको बहानामा क्यानाडा पुगेर उतै हराउने उनी एक्ला होइनन्। कार्यक्रममा जान ४२ जनाले आवेदन दिए पनि ३८ जनाको मात्र भिसा लागेको थियो। आयोजक कम्पनीकै अध्यक्ष अशोक विश्वकर्माको भने भिसै लागेन। भिसा लागेका मध्ये ३३ जना क्यानाडा गएका थिए। तर कार्यक्रम सकिएपछि आधाजति उतै बसे। कार्यक्रमको उद्घोषक नरेश भट्टराईका अनुसार कलाकार र अतिथिहरू बेग्लाबेग्लै समूहमा गएका थिए। उनी आफ्नो समूहमा गएका पाँचै जना फर्किएको तर अरू समूहका को फर्किए, फर्किएनन् भन्न नसक्ने बताउँछन्। आयोजक कम्पनीका अध्यक्ष विश्वकर्मा भने केही मान्छेहरू उतै लुकेको स्विकार्छन्। भन्छन्, “मेरा मान्छे सबै आएका छन्, दुई–चार जना साथीले घात गरे। म सोझो भएकाले अरुले फाइदा उठाए।”
पर्यटक भिसा, श्रम स्वीकृति वा विद्यार्थीका रूपमा क्यानाडा जानेहरूमध्ये कतिपयले आफू नेपाल फर्किन सक्ने अवस्था नरहेको, ज्यानको खतरा रहेको जस्ता कथा बुनेर शरण माग्दै आवेदन दिने क्रम बढिरहेको क्यानाडाको सरकारी तथ्यांकले नै देखाउँछ। सन् २०२५ को जनवरीदेखि मार्चसम्म तीन महिनाको अवधिमा मात्रै क्यानाडामा ‘शरणार्थी बन्न पाऊँ’ भनेर ३ सय ४० जना नेपालीले आवेदन दिए। क्यानाडाको आप्रवासन तथा शरणार्थी बोर्डको त्रैमासिक तथ्यांक अनुसार आफूलाई शरणार्थी दाबी गरेका मध्ये १ सय १० जनाले शरणार्थी बन्ने अनुमति पाइसकेका छन्।
अघिल्लो वर्ष सन् २०२४ सम्म १ हजार २५ नेपालीले क्यानाडामा यसरी शरणार्थी बन्न आवेदन दिएका थिए। हाल ७ सय ६३ जना नेपाली शरणार्थी रहेका छन्। दुई वर्षअघि सन् २०२३ मा ४ सय ४८ ले आवेदन दिएकामा १ सय २० जना शरणार्थी हुन सफल भएका थिए। अझै पनि क्यानाडामा १ हजार १ सय ५७ जना नेपाली क्यानाडाको शरणार्थी बन्न दौडधुप गरिरहेका छन्।
हङकङमा नेपालीलाई रोजगारी र विद्यार्थी भिसा बन्दसँगै हाल नयाँ शरणार्थीले आवेदन दिनसमेत पाउँदैनन्।
नेपालीहरू क्यानाडा पुगेर शरणार्थी बन्ने प्रचलन पुरानै हो। १३–१८ अगस्ट २००६ मा क्यानाडाको टोरन्टोमा भएको अन्तर्राष्ट्रिय एचआईभी र एड्स सम्मेलनमा सहभागिताका लागि जान खोज्दा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भिसा नदिइएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहजीकरण गरेको बताइन्छ। त्यसपछि ८० जनाको भिसा लाग्यो। त्यतिबेला गएका ८० प्रतिशत फर्किएनन्। नेपालीले जस्तै एड्स सम्मेलनमा गएका धेरै देशका मान्छेले शरणार्थी दाबी गरेका थिए। सम्मेलनमा सहभागी विभिन्न देशका १ सय ५१ जनाले क्यानाडामा शरण खोजेपछि सम्मेलन विवादमा मुछिएको थियो।
त्यसपछि पनि बर्सेनि विभिन्न बहानामा क्यानाडा पुगेका नेपालीले शरणार्थी दाबी गरेर आवेदन दिने गरेका छन्। क्यानाडाको सरकारी निकाय इमिग्रेसन रिफ्युजी एन्ड सिटिजनसिप क्यानाडा (आईआरसीसी) बाट सन् २०२२ देखि २०२४ सम्म ४० हजार नेपाली विद्यार्थीले अध्ययन अनुमति लिएका थिए। तीमध्ये अधिकांशको स्थायी बसोबास अधिकार (पीआर) हुँदैन। उनीहरूले पनि अन्तिममा शरणार्थीमा आवेदन गर्छन्।
यूएनएचसीआरको तथ्यांक अनुसार आजभन्दा तीन दशकअघि सन् १९९४ देखि नै नेपालीहरू क्यानाडामा शरणार्थी बन्न थालेका थिए। त्यसबेला क्यानाडामा ५ जना नेपाली शरणार्थी रहेकामा सन् २०२४ को अन्त्यसम्ममा ७ सय ६३ जना पुगिसकेका छन्। हाल शरणार्थी बन्न आवेदन दिनेको संख्या १ हजार २५ छ।
क्यानाडामा नेपालीलाई शरण दिन मिल्ने नीति सहज भएकाले पनि धेरैले नक्कली कारण देखाएर आवेदन दिने गरेका छन्। त्यसरी आवेदन दिनेमा सिधै नेपालबाट जाने मात्र नभएर विभिन्न देशबाट आउनेहरू पनि छन्। विशेषगरी नेपालबाट केयर गिभरमा इजरायल, यूएई, कतार जाने र त्यहाँ काम गरेर मालिकलाई खुसी बनाएर क्यानाडाको भिसा लगाउने अनि उतै बसेर शरणार्थी आवेदन दिनेहरू पनि भेटिन्छन्।
क्यानाडामा शरणार्थी बन्न चाहनेका लागि फर्जी कागजात तयार पारिदिने नेपालीकै एक समूह रहेको बताइन्छ। उनीहरूले नै शरणार्थी बन्न खोज्नेका लागि झूटो कथा लेखिदिन्छन्। त्यस्तो झूटो कथामा पहिला माओवादीले दुःख दिएको कथा लेखिन्थ्यो भने अहिले नेत्रविक्रम चन्द समूहले धम्की दिएको, आफ्नो ज्यान खतरामा परेको जस्तो मनगढन्ते कथा तयार पारिन्छ। त्यही आधारमा वकिलहरूले उनीहरूलाई शरणार्थीका लागि आवेदन दिन सहयोग गर्छन्। नेपालबाट विभिन्न अवार्ड र कार्यक्रमको बहानामा क्यानाडा लैजाने आयोजक र प्रायोजकलाई उतै बस्न चाहनेले ३० देखि ५० लाखसम्म तिर्ने गरेका छन्। मानव तस्करीको धन्दा चलाउनेहरूको जालमा परेर शरणार्थी बन्नेहरू धेरै भए पनि नेपाल प्रहरीको मानव अधिकार बेचबिखन ब्युरोमा खासै उजुरी पर्दैनन्। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर भन्छन्, “विदेश जाँदा रोजगारी, शिक्षाजस्ता कारण देखाएर गएका हुन्छन्। उतै लुकेर शरणार्थी बन्नेहरूले उजुरी गर्दैनन्। कसैले बेचिएँ भनेर उजुरी गरेमा अनुसन्धान गर्छौं।”
हङकङ : शरणार्थीका कारण ढोकै बन्द
विगतमा नेपालीहरू कामदार भिसामा हङकङ जान पाउँथे। तर, त्यसरी जाने नेपालीले शरणार्थी आवेदन दिएर उतै बस्ने जुक्ति निकालेपछि त्यहाँको सरकारले ६ जुन २००५ बाट नेपालीका लागि कामदार र विद्यार्थी भिसा बन्द गरिदियो।
यूएनएचसीआरको तथ्यांक अनुसार सन् २००३ मा ६ नेपालीले शरणार्थीका लागि आवेदन दिएकामा त्यसपछि बढ्दै वार्षिक २ सय ५१ जनासम्म पुगेका थिए। हङकङ प्रशासनले कामदार र विद्यार्थी भिसा बन्द गरे पनि पर्यटक भिसामा गएर शरणार्थी आवेदन दिने तथा मानव तस्करको सञ्जालबाट छिर्नेहरूले शरणार्थी आवेदन दिने क्रम भने सन् २०१५ सम्म रहेको यूएनएचसीआर को तथ्यांकमा छ। अहिले हङकङले नेपालीहरूको शरणार्थी आवेदन स्विकार गरेको छैन। बरु पहिलादेखि शरणार्थीका रूपमा रहेकाहरूलाई पनि फिर्ता पठाइरहेको छ। सन् २०२४ सम्म हङकङमा ८ जना नेपाली शरणार्थीका रूपमा बसिरहेको तथ्यांक छ।
हाल चीनको विशेष प्रशासकीय क्षेत्रका रूपमा रहेको हङकङ बेलायतको अधिनस्थ रहेका बेलादेखि नै गोर्खा सैनिकमा रहेका नेपालीहरू बसोबास गर्न थालेका थिए। हङकङले सन् १९९४ मा सन् १९८३ अघि अर्थात् बेलायतको अधीनमा रहेकै बेला जन्मिएकाहरूले स्थायी रूपमा बसोबास गर्न पाउने सुविधा प्रदान गर्ने निर्णय गरेपछि नेपालीहरूको संख्या ह्वात्तै बढ्यो। सन् १९९७ ताका धेरै नेपाली रोजगारीका लागि हङकङ पुगेका थिए। त्यसपछि विकृति बढ्यो। हाल हङकङमै रहेका पत्रकार डम्बरकृष्ण श्रेष्ठको पुस्तक नेपाली प्रवासन : नियति र रहरमा लेखिएको छ, ‘पछिल्लो समय वैदेशिक रोजगार दलालबाट ठगिएका नेपालीहरू शरणार्थी हौं भन्दै बस्न थालेपछि भने नेपालीको प्रवेशमै समस्या आउन थाल्यो।’
यही क्रम बढ्दै जाँदा हङकङमा नेपालीलाई रोजगारी र विद्यार्थी भिसा बन्दसँगै हाल नयाँ शरणार्थीले आवेदन दिनसमेत पाउँदैनन्। विगतमा माओवादी द्वन्द्व र अन्य कारणले ज्यानमा खतरा रहेको भन्दै आवेदन दिए पनि हाल नेपालमा त्यस्तो अवस्था नरहेकाले पनि शरणार्थी बन्न चाहनेको निवेदन अस्विकार हुन्छ। अहिले थोरै संख्यामा बसिरहेका पुरानै शरणार्थी हुन्। उनीहरूका लागि पनि अहिले नियमित हाजिर गराउनेदेखि विभिन्न कडा नियम बनाइएको छ।
हङकङमा मात्र होइन, अहिले अन्य देशहरूमा पनि शरणार्थी नीतिमा कडाइ गर्न थालिएको छ। पहिले नेपालीलाई ‘अन अराइभल भिसा’ दिने अधिकांश देशले अहिले भिसा अनिवार्य गर्न थालेका छन्। परिणाम, नेपालको राहदानी कमजोर बन्दै गएको छ। हाल विश्वव्यापी राहदानी ग्लोबल पासपोर्ट वरीयतामा नेपाल ९९ औं स्थानमा छ।
पछिल्लो समय विश्वमै शरणार्थी तथा आप्रवासीप्रति त्यहाँका सरकारहरू अनुदार बन्दै गएका छन्। त्यसबाट नक्कली मात्र होइन, सक्कली शरणार्थीलाई पनि गाह्रो हुने निश्चित छ। युरोपको पोर्चुगलमा आप्रवासीको आगमन बन्द गरिनुपर्ने माग लिएर सन् २०१९ मा चेगा नामक राष्ट्रवादी पार्टी नै खुलेको छ। युरोपियन युनियनले आप्रवासी र शरणार्थीलाई दिने कोटा प्रणालीको विरोध गर्दै आएको यो दल पोर्चुगलको प्रमुख प्रतिपक्षी दल हो। त्यस्तै जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स लगायतका देशमा पनि चुनावका बेला आप्रवासीहरूको विषय ठूलो मुद्दाका रूपमा उठ्ने गरेको छ।
पहिला विभिन्न देशमा पुगेर अलपत्र परेका नेपालीहरूलाई एनआरएनएले सहयोग गर्ने गरेको थियो। तर मानवीयताका नाताले गरिने त्यही सहयोगलाई पनि दलालले दुरुपयोग गर्न थाले।
त्यसो त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं पनि आप्रवासी तथा शरणार्थीको विपक्षमा छन्। पछिल्लो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले ‘यूएस रिफ्युजी एड्मिसन प्रोग्राम’ मा रोक लगाएका थिए। त्यसयता पनि अमेरिकी प्रशासनले अवैध रूपमा बसोबास गरिरहेका अन्य देशका नागरिकलाई पक्राउ गरेर फिर्ता पठाइरहेको छ। अमेरिकामै कानुन अध्ययन तथा अभ्यास गरेका वरिष्ठ अधिवक्ता गान्धी पण्डित अमेरिका लगायतका देशमा अब पहिला जस्तो शरणार्थी बनेर जान सजिलो नभएको बताउँछन्। भन्छन्, “पहिला शरणार्थी आवेदन दिनेलाई सहज तरिकाले स्विकार गरिन्थ्यो तर अहिले वास्तविक शरणार्थी होइनन् भन्ने बुझेपछि कडाइ गरिएको छ।’
युरोपियन युनियनले पनि अब शरणार्थीको भार थेग्न नसक्ने निष्कर्षसहित जुन देशबाट युरोप आउन खोज्नेहरू धेरै छन्, त्यहीँ रोजगारी सिर्जना गर्न सहयोग गर्ने नीति लिएको छ। शरणार्थी अभियन्ता डा. सिवाकोटी पश्चिमा देशहरूले नेपालीका लागि शरणार्थी कोटा घटाउँदै लगेको र अन्य ठूला कारण पनि नभएको अवस्थामा समेत यति धेरै नेपाली शरणार्थी बनेर देश छाड्न लालायित हुनुलाई सरकार र राजनीतिक दलको शीर्ष नेतृत्वले गम्भीरताका साथ लिनुपर्ने बताउँछन्। भन्छन्, “देश माया मारेर शरणार्थी बन्नेहरूको लहरले देशमा सुशासन र रोजागारीको अवस्था राम्रो छैन भन्ने बुझ्न सकिन्छ। जिउनु भनेको गाँस, बास, कपास पनि हो। उनीहरूलाई देशमै जीउन सक्ने व्यवस्था गरेर शरणार्थी हुनबाट रोक्ने विषयमा सबैले गम्भीर रूपमा सोच्नु आवश्यक छ।’
दलालको फन्दामा
अहिले देशमा राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्वजस्ता शरणार्थी बन्नुपर्ने कारक छैनन्। आफ्नो देश त्यागेर शरणार्थी बन्न लालायित बन्नुको कारण देशमा रोजगारीको अभाव र राजनीतिक अस्थिरता हो। देशमा राजनीति, कर्मचारीतन्त्रदेखि आमनागरिकसम्म भ्रष्टीकरण भएको अवस्थाले पनि अभिभावकहरू नै आफ्ना छोराछोरीलाई देशमा राख्न चाहँदैनन्। त्यसपछि युवापुस्ता जुनसुकै उपाय लगाएर भए पनि विदेश पस्न चाहन्छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य राजकुमार थापा नेपालीहरू मूलतः रोजगारीका लागि विदेश जाने र बीचमा दलालहरूको फन्दामा परेर शरणार्थी बन्न पुग्ने गरेको बताउँछन्। भन्छन्, “सुरुमा शरणार्थी बन्ने भनेर आउँदैनन् तर जाने क्रममा दलालहरूसँग फस्दै शरणार्थी बन्न पुग्छन्।’
यूएनएचसीआरको तथ्यांक अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वका २३ देशमा नेपालका ७ हजार ८ सय ४० जना शरणार्थीका रूपमा रहेका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि भएको हो। जसमा सबैभन्दा बढी अमेरिकामा ६ हजार १ सय २४ जना छन्। यो अवधिसम्म विश्वका ३१ देशमा शरणार्थी बन्न आवेदन दिएका नेपालीको संख्या १९ हजार ६ सय १९ छ। यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो।
नेपालमा अवसर नपाएका, पैसा कमाउन नसकेका, धनी बन्ने सपना देखेकाहरूलाई विदेशमा राम्रो कमाइ हुने लोभ देखाएर दलालले विभिन्न देश पुर्याउने र त्यहीँबाट शरणार्थीको आवेदन दिन लगाउने गरेका छन्। एनआरएनएका सचिव नवराज रोस्यारा शरणार्थी बनेर विदेश जानेमध्ये थोरै मात्र वास्तविक शरणार्थी हुने गरेको बताउँछन्। अधिकांश अवसरको खोजीमा जसरी भए पनि विदेश जाने ध्याउन्नमा दलालको फन्दामा परेर शरणार्थी बन्न पुग्ने उनको भनाइ छ। “शैक्षिक अवस्था राम्रै भएकाहरू पनि शरणार्थी बनेर विभिन्न देशमा पुगेका छन्,” उनी भन्छन्, “नेपालबाट जाँदा कोही पनि शरणार्थी बन्छु भनेर गएका हुँदैनन्, अवसरको खोजीमा मात्र गएका हुन्छन् तर दलालहरूको फन्दामा परेर उनीहरू शरणार्थी बन्न पुग्छन्।”
पहिला विभिन्न देशमा पुगेर अलपत्र परेका नेपालीहरूलाई एनआरएनएले सहयोग गर्ने गरेको थियो। तर मानवीयताका नाताले गरिने त्यही सहयोगलाई पनि दलालले दुरुपयोग गर्न थाले। उनीहरूले ‘एनआरएनएले सहयोग गर्छन्’ भनेर पीडितसँग उल्टै पैसा लिने र विदेश लगेर छाड्ने गरेको थाहा पाएपछि सतर्कता अपनाइएको एनआरएनएका सचिव रोस्यारा बताउँछन्। “दलालहरूले लुप होल प्रयोग गरेर शरणार्थी बनाउने धन्दा चलाएका छन्। हामी पनि मिसयुज भइएछ, दलालको योजनामा,” उनी भन्छन्।
अमेरिकामा ‘विनोद रोका एन्ड एसोसिएट’ सञ्चालन गरिरहेका आप्रवासन कानुनका जानकार विनोद रोकाले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार शरणार्थीको दर्जा पाउनका लागि जात, धर्म, राष्ट्रियता, राजनीतिक विचारधारा तथा निश्चित वा चिनिन सकिने सामाजिक समूहको सदस्य भएको आधारमध्ये कुनै एक वा सबैमा जोडिएको छ भनी प्रमाणित गर्नु पर्दछ। शरणार्थी बन्न चाहनेले यिनै विषयमा कथा र विवरण प्रस्तुत गरेर निवेदन दिने गरेका छन्। तर, त्यस्तो कथा र विवरण प्रस्तुत गर्ने धेरैजसो नेपालका कथा र विवरण नक्कली हुन्छन्। वरिष्ठ अधिवक्ता पण्डित नेपालीहरू विभिन्न देशमा पुगेर शरणार्थी दाबी गर्नुको प्रमुख कारण रोजगारीको प्रलोभन देखिएको बताउँछन्। भन्छन्, “यसरी शरणार्थीको आवेदन दिनेमध्ये अधिकांश वास्तविक शरणार्थी होइनन्। यसबाट वास्तविक शरणार्थीका लागि विश्वमा जुन संरक्षणको व्यवस्था गरिएको छ, त्यसको दुरुपयोग भइरहेको छ।”