काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२१ भाद्र २०८२
अ+
अ-

काठमाडौं। अनुवाद तथा भाषा सेवाको क्षेत्रलाई सुदृढ, संगठित र व्यावसायिक बनाउने लक्षका साथ नेपालको पहिलो अनुवादक भेला आज काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका ३० भन्दा बढी सक्रिय अनुवादकहरू सहभागी थिए।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरद्वारा उदघाटन गरिएको भेलाको अध्यक्षता अनुवादक मोदनारायण झाले गरेका थिए।

कार्यक्रमका एक आयोजक ठाकुर अंगाईले भेलाको आवश्यकता औंल्याउँदै भने, “वर्षौंसम्म हामी अनुवादकहरू संगठित नभई आ-आफ्नै रूपमा काम गर्दै आएको पृष्ठभूमिमा साझा मञ्च बनाई व्यावसायिक प्रवर्द्धन गर्न, मापदण्ड बनाउन र आफ्नो कामको सम्मान कायम गर्न कठिन हुँदै आएको छ।

आज हामीले त्यो अभावलाई पूरा गर्न महत्त्वपूर्ण कदम चालेका छौँ। नेपालमा अनुवाद तथा भाषा सेवालाई अत्यावश्यक सेवाका रूपमा स्थापित गर्न यो भेला महत्त्वपूर्ण हुने अपेक्षा गरेका छौँ।”

भेलामा नेपालमा अनुवाद पेशाको इतिहास र वर्तमान अवस्था, व्यावसायिक संगठनको महत्त्व, र अन्तर्राष्ट्रिय अनुभव र अभ्यासका पाठ लगायतका विषयमा प्रस्तुति तथा छलफल भएको थियो। भेलाले एक तदर्थ समिति र विधान मस्यौदा समिति गठन गरेको छ जसले नेपालकै पहिलो व्यावसायिक अनुवादक संघ स्थापनाको प्रक्रिया अघि बढाउनेछ।

१५ वर्षदेखि अनुवाद कार्यमा सक्रिय एरिका अधिकारीले भनिन्, “हाम्रो काम प्रायः पर्दा पछाडि हुन्छ, तर यसको प्रभाव महत्वपूर्ण हुन्छ। संगठित बनेपछि हामीले सामूहिक रूपमा व्यावसायिकता, आचारसंहिता र पेशागत अधिकारका बारेमा बोल्न सक्नेछौं। यो हाम्रो पेशाको लागि ठूलो कदम हुनेछ।”

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भेलालाई शुभकामना दिँदै भन्नुभयो, “सङ्गठित भएर काम गर्दा तनाव कम गर्न सकिन्छ र त्रुटी कम गर्न सकिन्छ।”

भेलाले ठाकुर अंगाईको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति र प्रसुन सिंहको अध्यक्षता तीन सदस्यीय विधान मस्यौदा उपसमिति गठन गरि, नेपालमा अनुवाद तथा भाषा सेवा क्षेत्रलाई सुदृढ र औपचारिक बनाउने साझा संकल्प पारित गर्यो।