काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको सिनेमा

२१ भाद्र २०८२
तस्बिरहरू : चलचित्र माग्ने राजाको ट्रेलर र टिजरबाट
अ+
अ-

निर्देशक : ऋषि लामिछाने
निर्माता : मुनाल घिमिरे
पटकथा : सामीप्यराज तिमल्सिना
कलाकार : केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङदेल, शारदा गिरी, आर्यन सिग्देललगायत
संगीत : बाबुल गिरी र दीपक शर्मा
छायांकन : नरेन्द्र मैनाली
सम्पादक : मित्र डी गुरुङ

समीक्षामा पाँच विधा समेटी विधागत रूपमा अंक प्रदान गरिएको छ। जसअनुसार अंक १ कमजोर, २ औसत, ३ राम्रो, ४ उत्तम र ५ अति उत्तम हो।

कथा/पटकथा – अंक २.५
२०७९ को स्थानीय तहको निर्वाचनमा दलीय पृष्ठभूमि बाहिरका बालेन्द्र साह, हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवार मेयर निर्वाचित भएपछि राजनीतिमा नयाँ तरंग फैलियो। त्यो तरंगको असर सिनेमामा पनि देखिन थाल्यो। त्यसयता बनेका सिनेमामा संघीय संरचना, पालिका प्रमुख वा मेयर प्रमुख पात्रका रूपमा आउन थाले। दीपेन्द्र लामा निर्देशित नाङ्गो गाउँ, निश्चल बस्नेतको दिमाग खराब, निर्माणको क्रममा रहेको दीपेन्द्र के खनालको मेयर केही उदाहरण हुन्।

नाङ्गो गाउँको मुख्य पात्र इमानदार शिक्षक हो, जो परिबन्धमा परेर गाउँपालिका प्रमुखको निर्वाचनमा उठ्छ। दिमाग खराबमा देश छोड्ने संघारमा पुगेका युवा नगर प्रमुखको लागि उम्मेदवारी दिन बाध्य हुन्छ। राजनीतिबाट टाढा माग्ने राजाको मुख्य पात्र मगन्त नारायण पनि अकल्पनीय रूपमा मेयरको प्रतिस्पर्धामा उत्रन्छ।

मगन्त नारायणको कथा भने पैसा बाँड्दै गरेको दिवास्वप्नबाट सुरु हुन्छ, जो वास्तवमा ऋण तिर्न नसकेर लुक्दै भाग्दै हिँड्छ। ऋण तिर्न नसकेर खाल्डोमा लुकेका बेला संयोगवश बहुमूल्य सी माला भेटेपछि एकाएक उसको धनी बन्ने सपना साकार हुन्छ। ‘माग्ने’ अब ‘राजा’ बन्छ।

मगन्त नारायणबाट कुवेर शर्मा बन्ने क्रममा आमा र गाउँ छोडेर सहर पस्छ। ऊ काठमाडौंको मेयरकै छिमेकी बनेपछि फिल्ममा राजनीति घुस्छ। अनि मेयरसँग मुठभेड र द्वन्द्वको शृंखला सुरु हुन्छ। कि मेयर सकिने, कि कुवेर सकिने द्वन्द्वको सेरोफेरोमा कथा घुम्छ।

आफूसँग जोरी खोजेपछि मेयरले कुवेरको घरमा डोजर चलाउँछ। सम्पत्ति शुद्धीकरण विभागमा मुद्दा हाल्छ र सम्पत्ति रोक्का गरिदिन्छ। त्यसपछि कुवेरले के गर्ला? उनीहरूको द्वन्द्वको अन्त कसरी होला? यही नै फिल्मको कथा हो।

पैसालाई केन्द्रमा राखिएको फिल्मको नाम अर्थपूर्ण लाग्छ। मुख्य पात्र गरिब हुँदा मगन्त नारायण र धनी हुँदा कुवेर शर्मा पनि सोचेरै राखिएको छ। कुवेरकी सहायक वर्षाको नाम श्री र मेयर (शिशिर) को नाम धनपति राखिनु पनि संयोग होइन। नाममा जस्तै अन्य पक्षमा भने यस्तो संगति महसुस हुँदैन।

फिल्ममा दर्शक हसाउने संवाद र दृश्य प्रशस्त छन्। तर ती दृश्यसँग जुन रूपमा चरित्र स्थापित हुनुपर्ने हो, जुन ढंगले कथानक कसिलो हुनुपर्ने हो, त्यो देखिन्न। फिल्ममा माग्ने बुढाको मेरी बास्सै शैलीकै अनुप्रास मिलेका तुक्काको पुनरावृत्ति छ।

कुवेर र मेयरबीचको द्वन्द्वको पृष्ठभूमि स्थापित नगरी फिल्म गम्भीर राजनीतिक मुद्दामा प्रवेश गर्छ। मध्यान्तरपछि सहकारी पीडित, गरिबी र भ्रष्टाचारजस्ता मुद्दामा ‘हल्का चेतना’ पनि बाँड्न थालेपछि फिल्मले झनै लय गुमाउँदै जान्छ।

गाउँमा अभावमा हुर्केको मगन्त नारायण सहरमा गरिबको दुःख देखेर एकाएक समाजसेवी बनेको देखाइँदा चरित्रमाथि लेखक हाबी भएको भान हुन्छ। मनोरञ्जक कथामा राजनीतिक लेपन गरिँदा कथा, पात्र र उपकथाहरूको संयोजन बिग्रेर फिल्म ‘हल्का रमाइलो’मै सीमित बनेको छ।

अभिनय – अंक २.५
माग्ने बुढा पात्रको पृष्ठभूमिमै अतिरञ्जना छ। माग्ने राजा त्यही अतिरञ्जनाको उत्कर्ष हो।

फिल्मभरि माग्ने र राजा दुवै अवतारमा केदारले छाउने अवसर पाएका छन्। तर, उनको अभिनयले खास छाप भने छोड्दैन।

चरित्र चित्रणलाई माग्ने राजाले नजरअन्दाज गरेको भान हुन्छ। मगन्त नारायण र उनकी आमा (शारदा) बीचको सम्बन्धको चित्रण राम्रो हुँदाहुँदै अपूरो लाग्छ।

मगन्त नारायणकी सेक्रेटरीको भूमिकामा वर्षाको अभिनय ठीकठाक देखिए पनि यो बलियो चरित्र होइन। मितभान्जा बनेका (विल्सन) को अवस्था पनि यस्तै छ। एकातिर, फिल्मले श्री र मितभान्जाको सम्बन्ध अस्पष्ट छाडेको छ भने अर्कोतिर, मितमामाको पैसामा आाँखा गाड्ने मितभान्जाको नियत पनि प्रस्ट छैन। त्यसैले माग्ने राजाबाहेकका चरित्र हलबाहिर निस्केपछि स्मृतिमा बस्दैनन्।

मेयरको भूमिका निर्वाह गरेका शिशिर निःसन्देह सशक्त अभिनेता हुन्। तर उनी नाङ्गो गाउँमा पनि यस्तै चरित्रमा देखिएका थिए। उनी ‘टाइपकास्ट’ भइसके।

मिस पबीले अभिनय गरेको फिल्म भनेर हल्लाखल्ला मच्चाइए पनि फिल्ममा उनको उपस्थिति नाममात्रको छ। आर्यन सिग्देलको चरित्र पनि स्थापित नभई आउँछ, जान्छ।

संगीत – अंक २.५
ऋणैऋणको दलदलमा फसेको मान्छेले एकाएक सपना देखेभन्दा बढी पैसा पायो भने के गर्ला? उसले यस्तै गीत गुनगुनाउला— जिन्दगी चल्दैछ ऐशमा, म त सुतेर उठेको पैसामा

बाबुलको शब्द, संगीत र स्वरको यो शीर्ष गीत रमाइलो त छ नै, कथावस्तुसँग पनि मेल खान्छ। फिल्मका अन्य गीत भने सामान्य छन्।

प्राविधिक पक्ष – अंक २
काभ्रे र काठमाडौंमा खिचिएका फिल्मको छायांकन औसत छ। उनले केही ड्रोन सटमा भने राम्रो काम गरेका छन्। इन्डोर दृश्य र आउटडोर दृश्यबीचको रंग तथा प्रकाश संयोजनमा एकरूपता नहुँदा धेरै आँखा बिझाउँछ। पार्श्वसंगीत बेलाबेला फिल्मको मुख्य पात्रजस्तै चर्को सुनिन्छ। हास्ने दृश्य र गम्भीर दृश्यको जोडघटाउमा सम्पादकले प्रशस्तै काम गर्नुपर्ने ठाउँ छोडेका छन्।

फिल्ममा मगन्त नारायण धनी भएपछि कुवेर शर्मा बनेर उसले लगाउने रंगीचंगी पहिरनको छनोट भने प्रशंसनीय छ।

निर्देशन – अंक २
प्रस्तुति, संवेदना र मुद्दा सबै कोणबाट निर्देशक ऋषिको काम औसत छ। त्यसैले यो निर्देशकको भन्दा पनि ‘माग्ने बुढा’को फिल्म भन्दा अत्युक्ति नहोला।

दिमाग खराबले बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षपोषण गरेको आक्षेप खेपेको थियो। माग्ने राजाले बालेन्द्रको झल्को दिने गरी मेयर पात्रलाई ‘खलनायक’ बनाएर कतै दिमाग खराबजस्तै खास राजनीतिक विचारधाराको पक्षपोषण गरेको त होइन? प्रशस्त प्रश्न उठाउने ठाउँ दिएको छ।

रोचक कुरा, यस फिल्मका निर्माता आफैं दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का एमालेका निर्वाचित वडाध्यक्षसमेत हुन्।