काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

भारतमा ‘अंग्रेज हटाओ’ आन्दोलन सुरु भइसकेको थियो । बनारसमा ठूल्ठूला सभा–सम्मेलनको आयोजना हुन्थ्यो । मदनमोहन मालवीयले निम्तो गर्ने, महात्मा गान्धी, जवाहरलाल नेहरु, राजेन्द्र प्रसाद, राममनोहर लोहिया, जयप्रकाश नारायणजस्ता नेताहरू आइरहने।

२१ भाद्र २०८२
अ+
अ-

राणाकालमा तराईमा बसोबास गर्ने हामी नेपालीका लागि बनारस जान सजिलो थियो, राजधानी काठमाडौंको तुलनामा। भारतीय सीमा फुत्त कट्यो, ट्रेन चढ्यो, भोलिपल्ट बनारस। काठमाडौं पुग्नै दुई दिन लाग्ने।

१९९९ सालमा मैले विराटनगरको आदर्श स्कुलबाट म्याट्रिक पास गरेँ। त्यो स्कुल स्थापना गर्नुभएको थियो, नेपालका तीन पूर्वप्रधानमन्त्री मातृका, बीपी र गिरिजाप्रसादका बुवा कृष्णप्रसाद कोइरालाले। म चार कक्षादेखि स्कुल भर्ना भएँ। बीपी कोइरालाकी श्रीमती सुशीला मेरो सहपाठी। बीपी स्कुल समितिको सचिव हुनुहुन्थ्यो।

म्याट्रिक पास गरेपछि घरमा गाइँगुइँ चल्यो, मलाई पढाउन कता पठाउने? दाजुहरू पहिलेदेखि बनारस बसेर पढिरहेको, छुट्टीमा घर फर्किंदा बनारसको खुब बखान गर्ने। त्यसैले मेरो झुकाव त्यहीँ बसेर पढ्ने भयो।

लीलाप्रसाद लोहनी

ओहो! ऊबेलाको बनारस। हुनेखाने सबैका छोराहरू त्यहीँ बसेर पढ्ने। राणाका छोराहरू (शासक) कोलकाता, हामीजस्ता जनताका छोराहरू बनारसमा। सानो नेपालभन्दा फरक पर्दैन्थ्यो, बनारसलाई। चोक र गल्लीमा नेपाली नभेटिएको दिनै नहुने। दशाश्वमेघघाट वरिपरि प्रायः सबै घर नेपालीले भाडामा ओगटेका। नेपालीहरू बंगाली टोलदेखि लंकासम्म फैलिसकेका थिए। स्कुल–कलेज पनि नेपाली विद्यार्थीले भरिभराउ। त्यसैले स्थानीय पसले पनि नेपाली भाषा राम्रोसँग बोल्थे।

बनारस विश्वविद्यालयका संस्थापक पण्डित मदनमोहन मालवीयको नेपालीहरूप्रति विशेष स्नेह थियो। पूरै भारतमा उहाँको उच्च सम्मान थियो तर हामीलाई भेटेपिच्छे सोध्ने, “बेटा पढाइ कैसे चल रहा है?” उहाँलाई भेट्न गाह्रै थिएन। कसैको दुःख सुन्नेबित्तिकै उहाँको आँखा रसाइहाल्ने। मैले आफ्नो जीवनमा उहाँजत्तिको विनम्र मान्छे भेटेको छैन। बीपीदेखि सारा व्यक्तिहरू त्यही विश्वविद्यालयका उत्पादन त हुन्। मेरा काकादेखि दाजुहरू सबैले त्यहीँबाट अध्ययन पूरा गरे।

म्याट्रिक पास गरेपछि मैले आईएस्सीमा भर्ना लिनुको कारण थियो, काका काशीराज पाण्डे। उहाँ मेरो बुवाको मामाका छोरा। राणाकालमा उहाँको खुब इज्जत थियो। बीएचयूबाटै इन्जिनियरिङ सकेपछि इन्जिनियरिङ शाखामा जागिरे हुनुहुन्थ्यो। उहाँका दाजु रुद्रराज पाण्डे, दरबार हाइस्कुलका प्रधानाध्यापक, पछि त्रिचन्द्र कलेजको पनि हुनुभयो। तर, यी दुई दाजु-भाइबीचको भिन्नता- समाजमा काशीराजको ‘फूर्तीफार्ती’ नै बेग्लै।

रेडियो–टेलिफोन बिग्रियो भने सबै राणाजीलाई उहाँ नै चाहिने। श्री ३ को महलबाट तारन्तार बोलावट भइरहने। केही समस्या भयो कि राणाजीहरू गाडी चढेर उहाँको घर आइहाल्ने। घरबाहिर गाडीको भीड लाग्थ्यो। रेडियो बनाउन घरमै दुईवटा कोठा छुट्याउनु भएको थियो। ऊबेलाको रेडियो, कहाँ अहिलेजस्तो सानो हुने, बडेमानका, ठूल्ठूला। यता पनि रेडियोको टाइँटुइँ बजेको छ, उता पनि। खुब रमाइलो लाग्थ्यो, हामीलाई।

त्यसैले हाम्रो घरमा सबैको एकमत बनेको थियो- पढाइ त काशीराजको जस्तो हुनुपर्छ। उहाँको त्यही ‘रवाफ’ देखेर म पनि लोभिएको थिएँ। तर, आईएस्सीको पढाइ चर्को रहेछ। ओहो! ठेलीका ठेली पढ्नुपर्ने। फिल्म हेर्न फुर्सद नपाइने। प्रोफेसरहरूले घोकाएका घोकाइ।

जुनबेला म अध्ययनका लागि बनारस पुगेँ, भारतमा ‘अंग्रेज हटाओ’ आन्दोलन सुरु भइसकेको थियो। बनारसमा ठूल्ठूला सभा-सम्मेलनको आयोजना हुन्थ्यो। बनारस उतिबेला शिक्षाका लागि प्रख्यात थियो। फेरि हिन्दीभाषीको वर्चस्व अन्य सहरको तुलनामा बढी थियो। यसैले महात्मा गान्धी, जवाहरलाल नेहरु, राजेन्द्र प्रसाद, डा. राममनोहर लोहिया, जयप्रकाश नारायणजस्ता नेताहरू आइरहने। मालवीयले निम्तो गर्ने, उहाँहरू आइहाल्ने।

मेरो हात अनायास उठ्यो र उनलाई नमस्ते गरेँ। सबै चिनिरहेको। एकातिर गान्धीजी। अर्कोतिर मालवीयजी। राधाकृष्णनन् पनि। त्यो घटनाबाट उम्किएपछि सिधै कक्षा कोठातर्फ लागेँ र रसायनशास्त्रका प्राध्यापकलाई सविस्तार बताएँ।

एकदिन म केमेस्ट्री (रसायनशास्त्र)को कक्षा लिन साइकल तुफान चलाएर विश्वविद्यालय जाँदै थिएँ, गेटमा ठूलो भीड जम्मा भएको रहेछ। विश्वविद्यालय आउन–जान सय रुपैयाँमा एउटा साइकर किनेको थिएँ। त्यो दिन अलिक ढिलो भएको थियो, डेराबाट निस्किँदा। कलेजको मुख्य द्वारमा मानिसहरूको पेलाम–पेल हुँदा साइकलसहित म एउटा गाडीमा चेपिन पुगेँ। त्यो गाडीमा को बसेका थिए, मलाई थाहा थिएन। मेरो सम्पूर्ण ध्यान कक्षा ढिलो भयो भने प्रोफेसरले कक्षा कोठामा प्रवेश गर्न नदेलान् भन्नेमा केन्द्रित थियो।

यति नै बेला गाडीभित्रबाट एउटा मधुरो आवाज सुनियो, “बच्चा! देखो, देखो। गिर जाएगा, उसको चोट लगेगी।” उनको त्यो आवाजसँगै कार हाँकिरहेका चालक हतार–हतार गाडीबाट उत्रिएर मेरो उद्धार गर्न आए। मलाई सान्त्वना दिने व्यक्ति पनि कारबाट उत्रिए। उनी थिए, भारतीय राजनीतिका शीर्ष नेता महात्मा गान्धी। उनी भाषण गर्न आएका रहेछन्। उनीसँगै कारमा विश्वविद्यालयका संस्थापक मालवीय र उपकुलपति राधाकृष्णनन् थिए। राधाकृष्णनन् पछि भारतको दोस्रो राष्ट्रपति पनि बने।

विश्वविद्यालयमा एक्कासि त्यो भीड उनीहरूलाई सुन्न जम्मा भएको रहेछ। अगाडि बसेर सुन्न पाइँदैन भनेर सबैले ठेलम्–ठेल गर्दा मेरो साइकलले गान्धी चढेको गाडीलाई छोएको थियो। यो घटनामा मलाई चोट लाग्यो भन्ने गान्धीको बुझाइ रहेछ। उनी गाडीबाट तल ओर्लिए। सोधे, “चोट तो नही लगी बच्चा?”

लीलाप्रसाद लोहनी

उनलाई देख्ने बित्तिकै मैले सबै कुरा बिर्सिएँ। मेरो हात अनायास उठ्यो र उनलाई नमस्ते गरेँ। सबै चिनिरहेको। एकातिर गान्धीजी। अर्कोतिर मालवीयजी। राधाकृष्णनन् पनि। त्यो घटनाबाट उम्किएपछि सिधै कक्षा कोठातर्फ लागेँ र रसायनशास्त्रका प्राध्यापकलाई सविस्तार बताएँ। प्रोफेसर थिए, बंगाली। उनी गान्धीका ठूला प्रशंसक। मैले गान्धीजी आफूलाई उठाउन आएको के भनेको थिएँ, उल्टै भने, “गान्धीजी ने ऐसा कहाँ? बडा भाग्य हे तुम्हारा।”

बनारसमा अध्ययनरत रहँदा यस्ता थुप्रै घटनाको साक्षी बनेँ। तर, सबैभन्दा खल्लो त्यतिबेला लाग्यो, जब १७ माघ २००४ सालमा महात्मा गान्धीको हत्या दिल्लीको बिड्ला हाउसमा भएको समाचार सुनेँ। गान्धीको हत्या हुँदा अर्थशास्त्रमा एमए गरेर नेपाल फर्किसकेको थिएँ। एक दिन साँझ नयाँ रेडियो किन्न असन पुगेको मात्र के थिएँ, भारतीय समाचारमा सुनियो- राष्ट्रपिता महात्मा गान्धीको हत्या।

समाचार सुनेर नरमाइलो लाग्यो। मलाई त्यतिबेला बनारस विश्वविद्यालयको त्यही घटना याद आयो। महात्मा गान्धीको हत्याको समाचार सुनेर असनमा किनमेल गर्न आउने केही नेपाली रोएका थिए। गान्धीको प्रभाव त्यतिबेला भारतमा मात्र थिएन, नेपालमा पनि उत्तिकै थियो।

(नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक १०३ वर्षीय लोहनीसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)