काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। जेन-जी समूहको आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको छ। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार प्रहरीले हवाई फायर गरिरहेको छ।

कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले हवाई फायर गरिरहेको हो। “न्यूनतम् बल प्रयोगको सिद्धान्त अपनाएर भिड नियन्त्रणको प्रयास भइरहेको छ,” एसएसपी अधिकारीले भने।

जेन-जी समूहको आन्दोलनमा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर गरिरहेको हव।

सरकारले फेसबुक, ट्वीटर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रिएको जेन-जी समूहमाथि नयाँ बानेश्वर प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ।

जेन-जी समूह संसद भवन छिरेर प्रदर्शन गर्न थालेपछि काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू लागेको छ। कर्फ्यू आदेश जारी भए पनि ठूलो संख्यामा जेन-जी समूहले प्रदर्शन जारी राखेका छन्।

शनिबारदेखि सरकारले फेसबुक, ट्वीटर, ह्वाट्सएपलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। त्यसको बिरोधमा जेन-जी समूहले सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन थालेका थिए। प्रदर्शन माइतीघरबाट नयाँबानेश्वर केन्द्रित भएको थियो।

कर्फ्यू आदेश बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुली बजार पुल, बानेश्वर चोकदेखिपूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म लगाइएको छ।

यसैगरी, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यम विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालोसम्म कर्फ्यू लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।