काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले नेपालमा हालैका घटनाक्रम र त्यसमा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। उनले स्थिति नियन्त्रण र थप हिंसा रोक्नका लागि संयम अपनाउन, गहन छानबिन गर्न र रचनात्मक बाटो खोज्न संवादको आवश्यकता रहेको बताएका छन्।
महासचिव गुटेरसले नेपाली अधिकारीहरुलाई मानवअधिकार कानुनको पूर्ण पालना गर्न आग्रह गरेका छन्। साथै, उनले विरोध प्रदर्शन शान्तिपूर्ण तरिकाले हुनुपर्ने र जीवन तथा सम्पत्तिको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
“नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको छु र यहाँ भएको जनधनको क्षतिप्रति मलाई गहिरो दुख लागेको छ,” महासचिवको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। “हिंसालाई रोक्न संयम, छानबिन र संवादमार्फत रचनात्मक बाटो खोज्न म आह्वान गर्छु।”
नेपालमा हालैका दिनमा भएका प्रदर्शन र त्यसबाट उत्पन्न तनावलाई मध्यनजर गर्दै उनले सबै पक्षलाई शान्ति कायम राख्न र मानवअधिकारको सम्मान गर्न अपिल गरेका छन्।