काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। अन्तरिम सरकार गठनको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने सहमति भएको छ।

तर, संसद् विघटन गर्ने वा नगर्ने विषयमा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गएराति शितल निवासमा विभिन्न पक्षसँग मध्यरातिसम्म गरेको छलफलमा कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने विषयमा सहमति भए पनि प्रक्रिया अघि बढाउने तरिका विवादमा परेको हो।

यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए।

जेनजी पक्षले संसद् विघटनविना नयाँ सरकार सम्भव नभएको अडान लिएको छ भने पुराना दल र राष्ट्रपति पौडेल संसद् नै कायम राखेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

गएराति करिब साढे १० बजेदेखि ४ घण्टा लामो छलफलमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र कानुनी सल्लाहकार बाबुराम कुँवरबीच संवैधानिक प्रावधानका विषयमा गहन बहस भएको थियो।