काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सपथ ग्रहण गराएका छन्। राष्ट्रपति पौडेलले संविधानअनुसार कार्कीको अन्तरिम सरकारको प्रमुख रूपमा सपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले कार्कीको नियुक्तिसँगै प्रतिनिधिसभा विघटन गरेका छन्। प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति मन्त्रिपरिषद्को बैठकले तोक्ने छ।
जेन-जीको आन्दोलनको कारण मंगलबार केपी शर्मा ओलीले राजीनामा दिएपछि नेपाली सेनाको सहजीकरणमा आन्दोलानकारी पक्ष र राष्ट्रपति पौडेलबीच वार्ता भएको थियो। सो क्रममा आन्दोलनरत पक्षले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रमुख बनाउने सिफारिस गरेका थिए।