काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई यथास्थितिबाट अघि बढाउन विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत ७ बुँदामा वर्तमान परिस्थितिलाई सम्बोधन गर्दै उनले विधानअनुसार पार्टीको विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने बताए।
पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमनजस्ता विविध माग सामाजिक सञ्जालमा आउन थालेको भन्दै उनले सो सुझाव अघि सारेका हुन्।
‘पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपयुक्त देखेको छु’‚ उनले लेखेका छन्।
साथै उनले यो संकटमा पार्टीले देशैभरिका पार्टीका ध्वस्त भएका संरचना साथै सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यका लागि ‘एक-एक मुठीदान नेपाली कांग्रेस राष्ट्र निर्माण अभियान’ गर्न ढिलो गर्न नहुने पनि उल्लेख गरेका छन्।
यस्ता छन् सहमहामन्त्री परियारले उठाएका विषयहरू
१. यही भाद्र २३ र २४ गते नवयुवा (Gen Z) हरूले भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको माग राखी गरेको देशव्यापी प्रदर्शनका क्रममा आजसम्म प्रहरीसहित झन्डै ७३ जनाले ज्यान गुमाउनुभएको छ। यस दुःखद घडीमा दिवंगत हुनुभएका प्रति पुन: भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु। उक्त प्रदर्शनका क्रममा घाइते हुनभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
२. प्रदर्शनका क्रममा घुसपैठ गरी नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथि भएको सांघातिक हमलाको भ्रत्सना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
३. यस विषम् परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूको सुझबुझपूर्ण पहलकदमीप्रति आभार प्रकट गर्दछु।
४. पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आई नै सकेको छ। अब यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको आगामी रणनीतिबारे आम नेपाली जनतासमक्ष औपचारिक धारणा सार्वजनिक गर्न ढिलाइ गर्नु हुँदैन।
५. अनायास देशले भोग्नुपरेको यस कठिन परिस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूले ढिलाइ नगरिकन ‘राष्ट्रिय विपद्को घोषण’ गरी आगजनी र तोडफोड भएका संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशैभरिका सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य प्रारम्भ गर्नु पर्दछ। साथै एक राष्ट्रिय विपद् कोष निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल गर्न आग्रह गर्दछु।
६. नेपाली कांग्रेस पार्टीले यो संकटको अवस्थामा विगतमा भूकम्प र कोरोना महामारीमा खेलेको भूमिका जस्तै पार्टी केन्द्रीय कार्यालय, देशैभरिका पार्टीका ध्वस्त भएका संरचना साथै सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यका लागि ‘एक-एक मुठीदान नेपाली कांग्रेस राष्ट्र निर्माणको अभियान‘ सञ्चालन गर्न ढिलाइ गर्नु हुँदैन।
७. यस कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरू सामाजिक सञ्जालमा आउन थालेको सन्दर्भमा मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ’ भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपयुक्त देखेको छु।