काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

हाम्रा अधिकांश सरकारी अधिकारीहरूमा अर्काले गरेका राम्रा काम आफ्नो तजबिजमा भएको भनेर जस लिने मपाइँवाद छ। त्यसैको ज्वलन्त उदाहरण हो- पुरातत्त्व विभाग र अभिलेखालय बचाउनेहरूलाई गरिएको बेवास्ता।

७ आश्विन २०८२
तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

पालीमाथि सुकाइराखेको सग्लो देखिने तर भित्रभित्रै कुहिएको फर्सीजस्तो देशको बाहिरिया आवरण बडो चिरिच्याट्ट थियो र त जेन-जी आन्दोलनको दोस्रो दिन नै सरकार ढल्यो। दोस्रो रात कुर्नुनपर्ने गरी देशको हविगत आन्दोलनले छर्लङ्ग पाऱ्यो।

जेन-जी आन्दोलनमा नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय सिंहदरबार, ट्राफिक कार्यालय, बबरमहलको मुख्य भवनको सडक विभाग, त्यसै परिसरको भवन विभाग, अलि पर थापाथलीस्थित कान्तिपुर पब्लिकेसन रहेको भवन आदि आगजनी हुँदा बिचमा रहेको सानो कुच्रुक्क परेको पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालय जलेन। आन्दोलन चलिरहेकै बेला अनलाइन मिडियाहरूले यसबारे समाचार प्रसारण गरिरहेका थिए- प्लेकार्ड बोकेर आगजनीबाट भवन बचाउन धर्ना दिइरहेका मूलतः कला क्षेत्रका कलाकारहरूको तस्बिरसहित।

ती कलाकारहरू राष्ट्रिय अभिलेखालय भवनको करिब २०० पाइलापूर्वमा ‘स्पेस ए’ आर्ट स्टुडियोमा अघिल्लो दिनको आन्दोलनमा सहादत प्राप्त गरेका १९ जनाको शवको रेखाचित्रमाथि सुतेर प्रतीकात्मक इन्स्टलेसन आर्ट प्रदर्शनको तयारी गरिरहेका थिए। अचानक सिंहदरबार मात्र होइन सर्वोच्च अदालत, बार एसोसिएसन, स्वास्थ्य मन्त्रालय तोडफोड र आगजनी भएको समाचार र प्रत्यक्ष दर्शनले ती कलाकारले आर्ट प्रदर्शन स्थगित गरे र अभिलेखालय जोगाउने अभियानमा जुटे।

त्यतिन्जेल आन्दोलनमा घुसपैठ गर्नेहरूले अभिलेखालय भवनमा लगाइराखेको ताल्चा फोडिसकेका थिए। कलाकार जुपिटर प्रधान नेतृत्वमा कलाकारहरूले सबैभन्दा पहिले स्टुडियोबाट माइक लगेर अभिलेखालय जोगाउन माइकिङ गरे र भवनअगाडि छेकबार लगाएर त्यहाँ उभिए। स्टुडियोकै कागत र सामग्री लगेर प्लेकार्ड बनाउन थाले। अनि अभिलेखालयमै सहयोगी तहका कर्मचारी र सुरक्षापङ्क्ति पनि सामेल भएर ठुलै जमातले आगो झोस्न खोज्नेहरूलाई रोके। यसरी प्रतिरोध हुन थालेपछि प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर आइपुगे।

३० भदौमा सरकारी मिडिया गोरखापत्रको पहिलो पृष्ठमा पत्रकार वीरेन्द्र ओलीको रिपोर्टिङ छापियो। रिपोर्टिङमा राष्ट्रिय अभिलेखालयका प्रमुख फोटोग्राफर कुमार श्रेष्ठले गोरखापत्रलाई भनेका छन्, ‘संस्कृतिकर्मी, सम्पदा अभियन्ता र कर्मचारीले ऐतिहासिक सम्पदा जोगाउन अत्यन्तै अनुरोध गर्नुभयो (आन्दोलनकारीहरूलाई) । कर्मचारी साथी बिहानैदेखि परिचालन हुनुभएको थियो । कार्यालयमै प्लेकार्ड लेखेर बाहिर प्रदर्शन गरियो।’

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पनि संस्कृतिकर्मी र कर्मचारीको पहलमा देशको पाँचौँ शताब्दीसम्मका अभिलेख संरक्षण गरेर राख्न सफल भएको बताउँदै भनिन्, ‘संस्कृति र सम्पदाप्रेमी साथीको सहयोग माग्यौँ । उहाँहरू १५/२० जनालाई फोनमार्फत सम्पर्क गऱ्यौँ । खबर गर्नेबित्तिकै उहाँहरू आउनुभयो।’

तर, सरकारी मिडियाका पेसेवार पत्रकारले कसलाई फोन गर्नुभएको थियो, फोन गरेपछि आएका संस्कृतिकर्मी को को थिए भन्ने सोधेर जिम्मेवारीपूर्ण पत्रकारिताको जवाफदेही निर्वाह गर्न आवश्यक ठानेनन्।

सरकारका उच्च पदाधिकारीमा यस्तो कृतघ्नता र मपाइँपन चुलिएको छ र तिनीहरू आत्मरतिमा मैमत्त छन्। जेन-जी पुस्ताको परिकल्पनाको राज्य व्यवस्थापन पक्कै यस्तो होइन।

वास्तवमा प्रधानाङ्गको फोन पाएर कलाकारहरू अभिलेखालय जोगाउन पुगेका होइनन् र त्यहाँ विशुद्ध ललितकलाकारबाहेक अरू कुनै क्षेत्रका संस्कृतिकर्मी थिएनन्। अभिलेखालयका प्रमुख फोटोग्राफर पनि त्यहाँ थिएनन् जसले ‘कार्यालयमै प्लेकार्ड लेखेर बाहिर प्रदर्शन गरियो’ भने, मानौँ आफैले प्रदर्शन गरेका हुन्।

त्यहाँको यथार्थ विवरण दिन उकालो अनलाइनका संवाददाता प्रबिता श्रेष्ठ निरन्तर मोबाइल फोन सम्पर्कमा थिइन् र उनले २५ भदौमा घटनाको यथार्थ विवरणका साथ समाचार छापिन्- ‘जसले जोगाए राष्ट्रिय अभिलेखालय’।

गोरखापत्रमा रिपोर्टिङ छापिनुअघि सेतोपाटीले २९ भदौमा सविना श्रेष्ठको रिपोर्टिङ छापिसकेको थियो अभिलेखालय बच्नाको कारणका साथ ‘जसले तोडफोड र आगजनीबाट बचाए पुरातत्त्व विभाग’।

३० भदौको गोरखापत्रको रिपोर्टिङपछि सायद आफ्नो रिपोर्टिङभन्दा विपरीत रिपोर्टिङ पाएर होला सविना श्रेष्ठले पुरातत्त्व विभागका महानिर्देशक प्रधानाङ्गसित अन्तर्वार्ता लिइन् र पुरातत्त्व विभाग अब के गर्ने सोचमा छ र के-के गर्नुपर्छ भन्ने विषयसमेत समेटेर २ असोजमा अर्को रिपोर्टिङ छापिन्- ‘पुरातत्त्व विभाग जोगिँदा नेपालको इतिहासका के-के चिज जोगिए?’ जसमा महानिर्देशक सौभाग्य प्रधानाङ्ग ‘मानिसहरू पुरातत्त्व विभाग जोगाउनुपर्छ भनेर स्वस्फूर्त आउनुभएकाले यो आक्रमणबाट जोगिन सम्भव भएको हो। त्यस्तो त्रासदीपूर्ण समयमा उहाँहरूले जुन संयमता अपनाएर सुरक्षा दिई बसिदिनुभयो, त्यसका लागि जति धन्यवाद भने पनि कम हुन्छ’ भन्न बाध्य भइन्। यसरी आफ्नो अघिल्लो मपाइँ अंशतः सच्याइन् ।

हाम्रा अधिकांश सरकारी अधिकारीहरूमा अर्काले गरेका राम्रा काम आफ्नो तजबिजमा भएको भनेर माथिल्लो तहमा रिपोर्टिङ गरेर जस लिने र नराम्रो काम फलानोले गरेको भनेर अर्काको टाउको थोपर्ने मपाइँवाद छ। अनि उसले पनि आफूभन्दा माथि त्यस्तै रिपोर्टिङ गर्छ। एवं रीतको मपाइँ रिपोर्टिङ राष्ट्रपति कार्यालयसम्म पुग्छ। र, सरकारले अभिलेखालय बचाएबापत भन्दै तक्मा दिन्छ।

अर्काको पसिनाको कमाइ खाने यस्तै सामन्ती प्रवृत्तिले लिप्त भएकाले प्रशासनका उच्च पदाधिकारीले आफ्नो मातहतमा कसरी काम भइरहेको छ थाहा पाउँदैनन् अथवा थाहा पाउन चाहँदैनन्। यही प्रवृत्तिका कारण राजनीतिक पार्टीहरूले पनि सच्चा कार्यकर्ता चिन्न सकेनन्। त्यसैले जेन-जी जमात देशको चिन्तामा पड्क्यो। जबसम्म काम गर्ने भुइँमान्छेको कदर गर्ने प्रवृत्तिको विकास हुँदैन र खास काम गर्ने मानिसले स्याबासी र प्रोत्साहन पाउँदैन देश र समाज उँभो लाग्दैन।

काम गर्नेको कदर कसरी गर्नुपर्छ भन्ने नमुना ‘नइ’ का नरेन्द्र प्रसाईं र इन्दिरा प्रसाईंले देखाए। उनीहरू पत्रकार सविना श्रेष्ठको २९ भदौको रिपोर्टिङ पढेलगत्तै कदरस्वरूप सरकारले टक मारेको ‘नइ’ अङ्कित चाँदीको कदर-सिक्का उपहार दिन कलाकार जुपिटरको घरैमा पुगे र आफ्नो फेसबुक स्टेटस पनि त्यही दिन प्रकाशित गरी सयौँबाट तत्काल वाहवाही पाए। २ असोजमा इतिहासको खोजबिनमा रुचि राख्ने राजकुमार दिक्पालको लेख नेपालन्यूजमा छापियो– ‘पुरातत्त्व विभाग जोगाउनेहरूलाई सलाम!’ जसमा उनले अभिलेखालयको छोटो इतिहास दिनुका साथै इतिहास जोगाउनेहरूलाई भने, ‘…उनीहरू नेपाल आमाका सच्चा सन्तान रहेको स्पष्ट भयो। उनीहरूको काम देखेर नतमस्तक भइयो। त्यो जोखिम उठाउन यी युवालाई इतिहासप्रेमले आत्मबल प्रदान गरेको थियो। … मलाई उनीहरूलाई भेटेरै सलाम गर्ने मन छ, ढोग्ने मन छ।’

अरूले कदर र सम्मान भाव प्रकट गरे पनि पुरातत्त्व विभागले दुई सय पाइला पूर्व मात्र रहेका आफ्ना गुणकारक प्रधानलाई औपचारिक रूपमा दुई शब्द धन्यवाद भनेको छैन। त्यति मात्र होइन पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालयका वेबसाइटमा समेत यो लेख लेखुन्जेल आफ्नो सम्पत्ति जोगिएकोबारे कुनै चाइँचुइँ बोलेको छैन। सरकारका उच्च पदाधिकारीमा यस्तो कृतघ्नता र मपाइँपन चुलिएको छ र तिनीहरू आत्मरतिमा मैमत्त छन्। जेन-जी पुस्ताको परिकल्पनाको राज्य व्यवस्थापन पक्कै यस्तो होइन।

२४ भदौमा राष्ट्रिय अभिलेखालय जोगाउने सलामयोग्य कर्मठहरू जान्न सकिएसम्म निम्न थिए– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाका सदस्य  जुपिटर प्रधान, अमेरिकाली स्पेनिस, ललितकलाकार खावियार गार्सिया सान्चेज, सिंहदरबारमा भएको आगजनी रोक्ने भरमग्दुर कोसिस गर्दा पनि असफल भएपछि भाग्यवश राष्ट्रिय अभिलेखालय परिसर आइपुगेकी क्यानडा निवासी अन्तर्राष्ट्रिय एनआरएन महिला संयोजक रश्मि थापा, कलाकार अस्मिता रञ्जित, अभियन्ता वसन्त रञ्जित, सञ्चारकर्मी सुव्रत आचार्य र उनकी श्रीमती जया शर्मा, लेखक रत्न श्रेष्ठ, जुपिटरका भाइ, बहिनी र भान्जी क्रमश: सुशील, प्रधान र अद्भिका, पुरातत्त्व विभाग तथा राष्ट्रिय अभिलेखालयका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर, प्रेमराज पोखरेल, ड्युटीमा रहेका अभिलेखालयका सुरक्षा गार्डहरू (अनौपचारिक पोसाकमा) र सहयोगी कर्मचारीहरू।

त्यस अभियानको उत्तरार्ध, मूलतः बेलुकीको लाइभ भिडियो खिचेका थिए प्रतीक श्रेष्ठले। बेलुका धेरैजसो घर फर्किसक्दा पनि रश्मि थापा अबेरसम्म त्यहाँ डटेर बसेकी थिइन्। रामबहादुर कुँवरले अबेरसम्म बसी पुरातत्त्व विभाग र अभिलेखालयको सुरक्षाको बन्दोबस्त मिलाएर त्यहाँ बचाउ अभियन्ताहरूलाई बिदाइ गरेका थिए। यसबाहेक अभियानमा विभिन्न घडीमा केही बेर साथ दिने अरू अभियन्ताहरूको नाम यहाँ छुटेको छ, यसका लागि लेखक क्षमाप्रार्थी छ।