दृष्टिकोण
नेताहरूका गैरजिम्मेवार बोली उत्तेजना र नकारात्मकताका औजार
जेन–जी आन्दोलनका क्रममा २३ भदौमा १९ जनाले सहादत पाए। देशमा व्याप्त भ्रष्टाचार र असमानताप्रति असन्तुष्टि पोख्दै सडकमा निस्किँदा नवयुवा पुस्तालाई शासकले गोलीले भुटेपछि देशव्यापी शोक, स्तब्धता र आक्रोश फैलियो। यसको भोलिपल्ट आक्रोशित भिड तोडफोड र आगजनीमा उत्रिँदा राज्यका प्रमुख तीन अंगका भौतिक संरचना, राष्ट्रपति कार्यालयदेखि विभिन्न सरकारी भवन, राजनीतिक दलका कार्यालय, नेताका निवास, व्यापारिक प्रतिष्ठान र विद्यालयसम्म जलाइए। केही घण्टाभित्रैको विध्वंसले अर्बौंको सम्पत्ति नष्ट गर्यो।
यस्तो विध्वंस मच्चाउने जेन–जी आन्दोलनकारी नभएर घुसपैठिया र अराजक तत्त्व भएको, घटना योजनाबद्ध भएको कुरा पनि आइरहेका छन्। तर यस लेखमा त्यस पाटोमा छलफल गरिएको छैन। यो अवस्था आउनुको चुरो कारण के हो त? यसको गहिरो विश्लेषण गर्न आवश्यक छ। सतही टीकाटिप्पणीले सत्य पत्ता नलाग्ने मात्र होइन, स्थितिलाई उत्तेजित पार्छ, समाजलाई अन्धकारतर्फ धकेल्छ।
जेन–जी आन्दोलनबारे बोलिरहेका कतिपयले आलोकाँचो उमेरका यो पुस्ता असावधान र हिंसात्मक रहेको र यसकै कारण विध्वंस भएको भनिरहेका छन्। तर, त्यस्तो होइन। आजको नवयुवा पुस्ता सडकमा उत्रिनुको कारण विगत तीन दशकदेखि मूलधारका नेताहरूले गरेका अन्टसन्ट भाषणमा लुकेको छ।
विगतमा राजनीतिक दलका नेतृत्वको जिम्मेवारहीन बोलीले हिंसा भड्किनुमा आधार तयार पारेको छ। केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, रवि लामिछानेदेखि दुर्गा प्रसाईं र बालेन्द्र साहसम्म सबै नेताले राजनीतिक भाषणलाई गम्भीरतापूर्वक होइन, प्रतिस्पर्धात्मक उत्तेजना सिर्जना गर्ने औजारका रूपमा प्रयोग गरे। प्रतिपक्ष र प्रतिद्वन्द्वीलाई बदनाम गर्ने, राज्यका सम्मानित निकाय तथा संस्थालाई अवमूल्यन गर्ने, अपमानित गर्ने र विगतलाई निहित स्वार्थ परिपूर्तिका लागि दुरुपयोग गर्ने शैलीले समाजमा अन्तहीन नकारात्मक सन्देश दिइरह्यो।
जब प्रधानमन्त्रीहरूले नै अदालतलाई दलाल भन्छन्, विपक्षीले सत्तामा रहेकालाई राष्ट्रघाती आरोप लगाउँछन्, नयाँ भनिएका दलका नेताहरूले सबै पुराना दलका नेताहरू भ्रष्ट छन् भन्ने सन्देश दिन्छन्, व्यवसायीलाई देशको आर्थिक विकासको मेरुदण्डका रूपमा नभई ठग र लुटेरा भनेर चित्रण गरिन्छ, तब आम नागरिक र त्यसमा पनि विकसित देशहरूको फड्को देखेर यहाँ पनि त्यस्तै अपेक्षा गर्दा निराश बनिरहेको नवयुवा पुस्ताको मानसिकतामा कस्तो असर पर्छ? राज्यका संस्थाहरू, शासक, दल र नेताहरूप्रति उनीहरूको विश्वास गुम्दै जान्छ। उनीहरूको नजरमा संस्था र नेतृत्वको गरिमा खस्किन्छ– त्यो राजनीतिक होस् वा राजनीति-इतरका।
विगतमा राजनीतिक दलका नेतृत्वको जिम्मेवारहीन बोलीले हिंसा भड्किनुमा आधार तयार पारेको छ। सबै नेताले राजनीतिक भाषणलाई गम्भीरतापूर्वक होइन, प्रतिस्पर्धात्मक उत्तेजना सिर्जना गर्ने औजारका रूपमा प्रयोग गरे।
रूखो र कटु वचन बोल्न माहिर मानिने नेकपा (एमाले)का अध्यक्ष र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीका कारण विवादले घेरिइरहन्छन्। विगतका उनका कतिपय भाषण अपाच्य छन्। अरूलाई होच्याउन र खिसी गर्न कुनै कसर बाँकी छाड्दैनन्। एमालेमा सँगै हुँदा वरिष्ठ नेता माधवकुमार नेपाललाई बसिखान नदिएका ओलीले एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बनेपछि नेता नेपालविरुद्ध विषवमन नै गरे। एक कार्यक्रममा उनले नेपालको नाम लिएमा मुख कुल्ला गर्छु भन्ने अभिव्यक्ति दिएका थिए। न्यूनतम मानवीय मर्यादा नराखिएको उक्त बोलीको सर्वत्र आलोचना भएको थियो। यस्तै, भीम रावल र घनश्याम भुसालप्रतिको कटाक्ष तथा राजेन्द्र लिङ्देन र कमला थापाप्रतिको मोह एमालेकै कतिपय कार्यकर्तालाई चित्त बुझेको थिएन।
जब एमाले र कांग्रेसको गठबन्धनपछि २७ असार २०८१ मा पुष्पकमल दाहाल ‘म्याजिक नम्बर’ को खेल सकिएर सत्ताबाट बाहिरिए, तब आफूले कति घातक कुरा बोलेँ भन्ने हेक्का नराखी मनलाग्दी बोल्न थाले। बाङ्लादेश र श्रीलंकामा जनताको असन्तोष विस्फोट भएको देखाउँदै उनले नेपालमा पनि त्यही अवस्था आउने, जनताले सिंहदरबारदेखि बालुवाटारसम्म घेर्ने र सत्तामा बसेकाहरूलाई देखाइदिने भन्ने जस्ता भड्काउने अभिव्यक्ति दिए। कांग्रेस र एमालेको काँध पालैपालो फेरेर सत्ता हाँकिरहेका उनले हुन त सत्ताबाट हठात् हट्नुपर्दाको आवेश र आक्रोश पोखेका थिए, तर एक वर्षमै उनले भनेजस्तै उलटफेर भइदियो। जेन–जी आन्दोलनको बलमा जननिर्वाचित सरकार अपदस्थ भयो। आक्रोशको तारो बनेका नेताका घर जले, नेताहरूले भाग्नुपर्ने अवस्था आयो।
१६ भदौ २०८० मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नी श्रीमती चढेको महानगरको गाडी प्रहरीले रोकेर चेकिङ गरेको झोकमा सामाजिक सञ्जालमा लेखिदिए– ‘भोलिबाट हाम्रो महानगरको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु!’ उनले सरकारको सेखी झार्न मात्र यति खतरनाक आक्रोश पोखेका थिए होलान्, तर र्याप संगीतबाट युवा पुस्तामाझ लोकप्रिय मेयरको फेसबुक स्टेटसले यो पुस्तामा कस्तो असर पार्यो होला? पक्कै पनि सिंहदरबार त जलाउनुपर्ने रै’छ भन्ने छाप पर्यो। नभन्दै बालेनको धम्कीको दुई वर्षपछि नवयुवा आन्दोलनकै बीचमा सिंहदरबारसहितका सार्वजनिक संरचना खरानी भए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले अदालतको निर्णय प्रक्रियामा असहमति जनाउँदै उनीविरुद्ध अदालतले गरेको निर्णय पूर्वाग्रही भएको आरोपमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेर अदालतको साख गिराए। पत्रकारिताबाट ख्याति कमाएका र त्यसैको कारण जनताले छोटो समयमा रुचाएका उनले यसको दीर्घकालीन प्रभावको हेक्का नराखी बोले। उनको तमाम गल्ती हुँदा पनि उनलाई राज्यले फसाइएको विश्वास गर्ने लाखौँ युवाले रविले अदालतको विरुद्धमा गराएको हस्ताक्षर अभियानमा दस्तखत गरे। अदालतले रविप्रति पूर्वाग्रह लिएको भाष्यको निसानामा सम्मानित अदालत पर्यो। अनि न्यायको आस्थाको धरोहर सर्वोच्च अदालत जल्यो।
जेन–जी पुस्ताको दृष्टिकोण मूलतः सामाजिक सञ्जालले निर्धारण गर्ने गरेको पाइन्छ। जेन–जी पुस्ता इन्टरनेटमा हुर्किएको, विश्वमा भएका विद्रोह र न्यायको बहससँग जोडिएको पुस्ता हो। उनीहरू छलछाम र चलखेलमा विश्वास गर्दैनन्, सहँदैनन्। जे हो त्यही र जस्ताको त्यस्तै बुझ्ने पुस्ता हो। उनीहरूले पारदर्शिता, जवाफदेही र परिवर्तन खोज्छन्। तर नेपालको राजनीतिक नेतृत्वले दिएको सन्देश नेपालको सबै प्रणाली फेल छ, सबै नेता भ्रष्ट छन्, सबै संस्था अयोग्य छन् भन्ने दियो।
नवयुवाहरूले यो कुरा शब्दश: ग्रहण गरे। जब आन्दोलन भड्कियो, उनीहरूका लागि संसद् भवन, अदालत, राजनीतिक पार्टीका कार्यालयहरू, नेताका घरहरू, प्रहरी वा निजी व्यापारिक भवन सबै एउटै संरचनागत अन्यायका प्रतीकजस्तै बने। जसका कारण नवयुवाहरूको निसानामा परी जलेर ध्वस्त भए।
नेतृत्वमा बस्नेहरूको भाषणको शक्ति कति हुँदो रहेछ भन्ने कुरा जेन–जी विद्रोहमा नेताले गरेको भाषणको नवयुवा मस्तिष्कमा परेको जबर्जस्त छाप नै हो। तसर्थ राजनीतिमा भाषण केवल विचार व्यक्त गर्ने साधन होइन, सामाजिक आस्था निर्माण गर्ने शक्तिशाली औजार हो। नेल्सन मन्डेला, मार्टिन लुथर किङ तथा आङ सान सूचीजस्ता नेताहरूको भाषणले न्याय र अहिंसाको बाटो देखाएको इतिहास हामीलाई थाहा छ। तर नेपालमा उल्टो भएको छ। नेताहरूको बोलीले असहिष्णुता, अविश्वास र घृणा फैलायो। त्यसैले अहिले भड्किएको अराजकता केवल जेनजीको लापरवाही होइन, विगतका अविवेकी भाषणहरूको समग्र परिणाम पनि हो।
नेतृत्वको असफलताका कारण राज्यले नसोचेको हिंसा भोग्नुपर्यो। हिंसा रोक्ने जिम्मेवारी राज्यको हो। तर राज्यका शीर्ष नेताहरूले आक्रोश बुझ्नेभन्दा पनि सडकमा उत्रेका नवयुवाहरूलाई अवमूल्यन गरिरहेको देखिन्छ। घटना भइसकेपछि यसको चुरो पत्ता लगाउन, पत्ता लगाउन लाग्नु, आफू सच्चिनुभन्दा पनि उनीहरू अराजक र आपराधिक देशीविदेशी तत्त्वहरूले उपद्रव मच्चाएको आरोपमा मुख्य विषयवस्तुलाई विषयान्तर गर्ने प्रयास भइरहेको छ। यसले कदापि राम्रो सन्देश दिँदैन र अहिले पनि दिइरहेको छैन। समस्याको संरचनागत चुरो कुरोलाई पन्छाएर खालि नष्ट भौतिक संंरचनाको विषयलाई जोडतोडका साथ उठाइएको छ। त्यसका अलावा मानवीय क्षतिप्रति संवेदनहीनताको अवस्था बनाइएको छ। यसले नवयुवा र राजनीतिक दलहरूप्रति दूरी झन् बढाउँछ।
नेल्सन मन्डेला, मार्टिन लुथर किङ तथा आङ सान सुकीजस्ता नेताहरूको भाषणले न्याय र अहिंसाको बाटो देखाएको इतिहास हामीलाई थाहा छ। तर, नेपालमा उल्टो भएको छ। नेताहरूको बोलीले असहिष्णुता, अविश्वास र घृणा फैलायो।
त्यसैगरी, दलहरूले पार्टीमा आन्तरिक सुधार नगरी पुरानै शैलीमा रमाउने लक्षणहरू देखाइसकेका छन्। औँलामा गन्न सकिने नेताहरूबाहेक मूल नेतृत्वले जेन–जी आन्दोलनको दोष अरू कसैलाई दिएर ‘कन्स्पिरेसी’ को प्रयोग गरी आफू साखुल्ले बनिरहेका छन्। आफ्नो अक्षमतामा कुनै आत्मग्लानि नै छैन, युवा पुस्तासँग माफी माग्ने त टाढाको विषय छ। सरकारको नेतृत्व म्युजिकल चेयर खेलेजस्तो बनाए, कहिले देउवा, कहिले दाहाल त कहिले ओली। घिउ तीन दलका तीन नेताको घिउदानीमा पर्ने गरी सोली थापे। जसको कारण पुराना संरचना नै नष्ट गर्नुपर्छ भन्ने जेन–जी पुस्ताको विचारलाई बलियो बनाइदियो।
संकटलाई हिंसा वा दमनले मात्र समाधान गर्न सकिँदैन। नवयुवाहरूलाई सम्बोधन गर्न अहिलेको आवश्यकता, जिम्मेवार भाषण र नवयुवाहरूसँग अग्रगामी परिवर्तनका लागि सकारात्मक व्यवहार र संवादको संस्कृतिको पुनःस्थापना हो। यसका लागि नेतृत्वको आत्मसमीक्षा जरुरी छ। विगतमा बोलेका अन्टसन्ट भाषणप्रति नेताले आत्मालोचित हुनुपर्छ। सार्वजनिक रूपमा जिम्मेवारी स्विकार्नुपर्छ। जेन–जीको आन्दोलनको स्वरूप हेर्दा उनीहरूको सामूहिक र समावेशी नेतृत्व देखिन्छ। तसर्थ संवाद र समावेशी प्रक्रियामार्फत जेन–जीका मागलाई राजनीतिक एजेन्डामा रूपान्तरण गर्न नागरिक सरकार तथा राजनीतिक दलहरूले पहल गर्नुपर्छ। नवयुवाहरूले गरेको सबैभन्दा अविश्वास भनेको राज्यका संरचना तथा राजनीतिक नेतृत्वको भ्रष्टीकरण हो। त्यसलाई सम्बोधन गर्न संस्थागत विश्वासको पुनर्निर्माण आवश्यक छ। जसमा आगामी दिनमा अदालत, संसद्, सिंहदरबार, प्रहरी प्रशासन, राजनीतिक दल सबैलाई निष्पक्षता र जवाफदेहीको बाटोमा फर्काउन जरुरी छ।
डिजिटल युगमा व्यक्त गरेको कुनै पनि विषय सेकेन्डभरमा लाखौँ श्रोता तथा पाठकसम्म पुग्छ। तसर्थ भाषण तथा बोलीमा संयम जरुरी छ। भाषण वा बोलीको विषय नेता मात्रलाई लागू हुने होइन, सामाजिक सञ्जालमा सक्रिय सार्वजनिक व्यक्तिहरूले समेत आफूले प्रयोग गर्ने शब्दप्रति जिम्मेवार हुनुपर्छ र पोस्ट गर्नुअघि दशपटक सोच्नुपर्छ।
नेपालमा अहिले देखिएको अराजकता कुनै आकस्मिक विस्फोट होइन। यो दशकौँदेखि सञ्चित हुँदै गएको निराशा, असन्तोष र विशेषगरी नेतृत्वको बोली, व्यवहार र भाषणले फैलाएको नकारात्मक ऊर्जाको परिणाम हो। जेन–जी पुस्ताले त्यो बोलीलाई प्रत्यक्ष कार्यमा उतार्यो र खराब भनिएका, जुन समय समयमा सबै दलका नेतृत्वले आरोप लगाएका थिए, संस्थामाथि आक्रमण गर्यो। अब समय आएको छ, राजनीतिक नेताहरूले बुझून् कि भाषण केवल राजनीतिक प्रतिस्पर्धाको हतियार होइन, समाजलाई दिशा दिने आधार हो। यदि उनीहरूले शब्दमा संयमता र जिम्मेवारी देखाएनन् भने हिंसा र अराजकता अझ गहिरो बन्नेछ। नेपाललाई अहिले आवश्यकता छ, सचेत, जिम्मेवार र भविष्यमुखी नेतृत्व निर्माण व्यक्ति र दलको। अन्यथा, जेन–जी पुस्ताको विद्रोहले इतिहासमा केवल विनाशको कथा लेख्नेछ।
-अधिकारी मानवअधिकार, लोकतन्त्र र नागरिकका आधारभूत स्वतन्त्रताका पक्षपाती हुन्।