काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

काठमाडौँको कश्मीरी मस्जिदमा सय वर्षदेखि समभावको फूल फुलाइरहेको शिव नर्सरीको कथा

१३ आश्विन २०८२
मोहन माली। तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपाली कामदारको १६ भदौ २०६१ मा बीभत्स हत्या गरियो। घटनाको जिम्मेवारी जमात अन्सर अल–सुन्ना समूहले लियो। नेपालमा यस घटनाको प्रतिक्रिया यति भयावह भयो कि भिडले विभिन्न म्यानपावर कम्पनीहरू मात्र होइन, मस्जिदहरूलाई समेत निसाना बनायो। चौतर्फी तोडफोडको शृंखला चल्यो।

यसक्रममा रानीपोखरीनजिकैको देशकै सबैभन्दा पुरानो कश्मीरी जामा मस्जिदमा पनि आगजनी प्रयास भयो। लुटपाटका क्रममा मस्जिदभित्रका सामानहरू दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकसम्म जथाभाबी तबरले लगियो।

हजारौँको संख्यामा बाटोमा उत्रिएको भिडले इराकमा भएको त्यस घटनालाई ‘मुस्लिम उग्रवाद’ सँग जोडेर हेर्‍यो। उनीहरूले अज्ञानतावश नेपाली मुसलमानहरूलाई पनि त्यही कोटिमा राख्ने प्रयास गरे।

तर, त्यो भिड शान्त पार्ने कडी बन्यो, कश्मीरी जामाभित्रको नर्सरी।

तोडफोडमा संलग्न केही व्यक्तिहरू चकित परे, जब उनीहरूले रिसको झोकमा घिसार्दै ल्याएका वस्तुहरूमा हिन्दु धर्मावलम्बीहरूको आराध्यदेव शिवको तस्बिर देखे। सँगै देवी कालीको पनि तस्बिर थियो।

मस्जिदमा हिन्दु देवी–देवताका तस्बिर रहेको सुन्दा सबैलाई अचम्म लाग्ला! तर, यो सत्य हो र सत्यकथाका नायक हुन्– मस्जिदभित्र नर्सरीको काम गर्दै आएका ६९ वर्षीय मोहन माली। बुवा र उनी मिलेर कश्मीरी ताकियालाई फूलको गुच्छाले सजाउन थालेको नै सय वर्ष बितिसकेको छ।

फेरि फर्कौं २१ वर्षअगाडिको त्यही त्रासदीपूर्ण घटनामा। इराकमा नेपालीको हत्यापछि मानिसहरू नेपाली मुस्लिम समुदायप्रति आगो भएका थिए। भनिन्छ नि– भिडको आँखा हुँदैन। सरकारलाई पनि स्थिति सम्हाल्न हम्मेहम्मे परिरहेको थियो।

दरबारमार्गस्थित कश्मीरी ताकिया मस्जिदको बगैँचामा मोहन माली। तस्बिर : बिक्रम राई/नेपालन्युज

यति नै बेला मौलानाहरूलाई मोहन मालीको सम्झना आयो। मौलानाहरू सञ्चारमाध्यममा आए र नेपालमा सदियौँदेखि सबै धर्म-समुदायले एकअर्काको कला–संस्कृतिको उच्च सम्मान गर्दै आएको बताउन भुलेनन्। उनीहरूले मोहन मालीको उदाहरण दिँदै भने, ‘मस्जिदभित्र उहाँलाई आफ्नो धर्म–परम्परा, चाडपर्व मान्न हामीले रोकटोक गरेका छैनौँ। मिलेर बसेका छौँ।’

असोज पहिलो साता यो पंक्तिकार एकाबिहान कश्मीरी ताकिया पुग्दा माली पूजापाठ सिध्याएर फूलबिरुवाको हेरचाहमा लागेका थिए। भन्न थाले, “बुवा र मैले यहाँ काम गरेको समय जोड्दा सय वर्ष नाघिसक्यो। यहाँ हामीलाई आफ्नो धर्मसंस्कृति मान्न बन्देज छैन। निर्धक्क यहीँ चाडपर्व मनाउँछौँ, पूजापाठ गर्छौं।”

कश्मीरी ताकियाभित्र मालीले सञ्चालन गरिरहेको नर्सरीको नाम नै शिव नर्सरी। देवको नाम पनि शिव, उनका बुवाको नाम पनि शिव। बुबाकै नामबाटै उनले नर्सरीको नाम राखेका हुन्। मस्जिद भएकाले उनले बुझेरै बाहिर बोर्ड भने राखेका छैनन्।

अहिले धर्मको नाममा विश्व विभाजित भइरहँदा कश्मीरी ताकिया मस्जिद ‘गंगा जमुना तहजीब’ को गतिलो उदाहरण बनेको छ। जहाँ राम पनि अटाएका छन्, रहीम पनि।

“यो देखेर यहाँ आउने अरू पनि चकित पर्छन्। मलाई पूजा गर्नेदेखि आफ्नो धर्म–संस्कृतिअनुसार सबै कुरा खाने छुट छ,” माली गर्वका साथ भन्छन्। उनी बस्ने कोठामा विभिन्न देवीदेवताको फोटो झुन्ड्याइएको देख्न सकिन्छ।

मालीका बुवाले मस्जिदभित्र नर्सरी सुरु गर्दा चार रोपनीजति जग्गा थियो। तर, अहिले विभिन्न भौतिक संरचना निर्माण भएकाले नर्सरीका लागि डेढ रोपनी जग्गा मात्र बाँकी छ। नर्सरीमा एक सयभन्दा बढी जातका फूलहरू छन्। उनले हुर्काएको फूल नै वर्षको दुईपल्ट यहाँ हुने विशेष पूजाका लागि मजारमा चढ्ने गर्छ। “बुवाले मलाई यहीँ नर्सरीको काम सिकाउनुभएको हो। मस्जिद व्यवस्थापनले जहिलेसम्म तिमीलाई इच्छा लाग्छ गर भन्नुभएको छ,” उनी सुनाउँछन्।

५० वर्षअघि बुवासँग यहाँ उनले काम सिक्दा ५०० भन्दा बढी जातका फूल थिए। तर, अहिले धेरै मासिइसकेको छ। कनकन चम्पा, चिनियाँ चम्पा, अफिम, फूलकस, लासकल, एन्टिसमनजस्ता फूलहरू कुनैबेला उनको नर्सरीका शोभा हुन्थे। गुराँसको फूल मात्र ५० भन्दा बढी प्रजातिका थिए। “बौद्धदेखि मानिसहरू फूल किन्न आउँथे। अब त्यो जमाना रहेन,” उनी भन्छन्।

२४ भदौ २०३३ मा चिनियाँ नेता माओत्सेतुङको मृत्यु भयो। यतिबेला माओलाई श्रद्धाञ्जली दिन भनेर चिनियाँ दूतावासले यही मस्जिदमा फुलेका ५०० भन्दा बढी सेतो फूल लिएर गएको थियो। त्यतिबेला मालीलाई चीनमै नर्सरीको काम गर्न प्रस्ताव पनि आएको थियो। तर, मानेनन्।

कश्मीरी ताकिया मस्जिद परिसरमा रहेको शिव नर्सरीको कार्यालयमा माेहन माली। तस्बिर : बिक्रम राई/नेपालन्युज।

“माओको निधनपछि काठमाडौँमा सेतो फूल खोजेछन्। कतै नभेटेपछि मकहाँ आइपुगे। सेतो फूलको बीचमा पहेँलो थियो। मैले ५००–६०० वटा उपलब्ध गराइदिए। प्रत्येक फूल एक रुपैयाँमा उपलब्ध गराएका थिए। अहिले त्यो फूल हरायो,” ४९ वर्षअघिको कुरा कोट्याउँदै माली भन्छन्।

मालीलाई जर्मनी जाने पनि प्रस्ताव आएको थियो। ४० सालतिर जर्मनीको फुटबल टिम मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको थियो। उनी फूलको बुके बोकेर खेलाडीलाई स्वागत गर्न पुगेका थिए। उनको फूलबाट जर्मन खेलाडीहरू यति प्रभावित भएछन् कि दूतावाससँग कुरा गरेर उनैलाई जर्मनी लैजानेसम्मको कुरा उठेछ। तर, बुबाआमाले मानेनन्। “मैले बियर र चुरोट पिउन सिकेको उनीहरूकै संगतले हो। जर्मनी दूतावासमा कुनै कार्यक्रम भयो कि फूल बोकेर जाने व्यक्ति म नै हुँ,” उनले सुनाए।

२०२० सालमा रत्नपार्क स्थापना हुँदा बगैँचा बनाउने काममा उनकै बुवा खटिएका थिए। त्यतिबेला उनी गबहालस्थित आदर्श विद्यालयमा अध्ययनरत थिए। बुवा रत्नपार्क बनाउने काममा व्यस्त रहँदा मस्जिदको काम प्रभावित बन्ने देखेपछि मोहनले पढाइ हापेका थिए। त्यसपछि बुवालाई सघाउन मस्जिदको नर्सरीमा सक्रिय भए।

“मस्जिदमा मलाई कसैले कहिल्यै कुरान पढ्नुपर्छ भनेर जिद्दी गरेनन्,” उनी भन्छन्। त्यसैले त अहिले धर्मको नाममा विश्व विभाजित भइरहँदा कश्मीरी ताकिया मस्जिद ‘गंगा जमुना तहजीब’ को गतिलो उदाहरण बनेको छ। जहाँ राम पनि अटाएका छन्, रहीम पनि।