काठमाडौं। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ टारीमा जिप दुर्घटना हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य २४ जना घाइते भएको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिवशबहादुर जिसीले बताए।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने गाउँफालिका-७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन्।
सन्धिखर्कबाट गुल्मी पुर्कोटतर्फ जाँदै गरेको लु१ज ४७२४ नम्बरको जिप सोमबार बिहान साढे ३ बजे टारीस्थित सडकबाट करिब ७० मिटर तल खसेको थियो। उनीहरूलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा गुल्मी मदाने गाउँपालिका-६ का ३२ वर्षीय तारा सेन केसी गम्भीर घाइते छन्। उनलाई उपचारको लागि बुटवल पठाइएको छ। सामान्य घाइते भएका अन्य २३ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।