काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दसैँ अनुभूति

दसैँ–तिहारसम्मै बस्नुभयो, लाटे मामा। तिहार सकिएलगत्तै फेरि ‘लाहुर’ फर्किनुभयो। त्यसपछि पनि दसैँ–तिहार आए, लाटे मामा भने आउनुभएन। स्मृतिमा मात्र आइरहनुभयो, हरेक दसैँ–तिहारमा।

१४ आश्विन २०८२
अ+
अ-

जब दक्षिण–विन्दुको अग्लो ठाउँमा विराजमान गढीडाँडा सर्वांग खुल्दथ्यो, अचल एवं अटल उभिइरहेको ताडको अग्लो वृक्ष दृष्टिगोचर हुन्थ्यो अनि चपौलीका मनोहर डाँडा–शृंखलालाई रेसमी ढाँचाका पातला बादलले स्वागतद्वार टाँग्न थाल्दथे।

लाग्थ्यो– ‘अब दसैँ आयो!’

जब उत्तरी थाप्लोतिर, निकै टाढा अवस्थित शैलुङको उत्तुङ लेकहरूसमेत बर्सातका दिनहरूसँग ‘पारपाचुके’ गरेर बिस्तारै खुल्न थाल्दथे र गौरीशंकर हिमशृंखलालाई कुनै नवदुलहीझैँ लालिमाले सिँगारपटार गर्न थाल्थ्यो।

लाग्थ्यो– ‘अब दसैँ आयो!’

जब सुनकोसी, तामाकोसी, सिद्धिचरण श्रेष्ठले भनेझैँ ‘गिरि फोरी बहने रोशी’ का साथै महाभारत पर्वत–शृंखलाबाट प्रवाहित अँधेरी, चपौली, बन्दीजोर, वाक्सुलगायत खोलाले आफ्नो प्रवाहलाई कुनै न कुनै तरिकाले मत्थर तुल्याउन ‘एक्सरसाइज’ गर्न थाल्थे, खानीनिगालेको पट्यारलाग्दो ओरालो झर्दै फेदी खोलामा लाहुरबाट फर्किएकाहरूको अचम्मलाग्दो ‘क्याराभान’ देखिन्थ्यो।

लाग्थ्यो– ‘अब दसैँ आयो!’

एकान्त झाडीबीच लमतन्न पसारिएको कुनै तृप्त अजिंगरजस्तै पसारिइएको दक्षिण–पश्चिमको पर्वत शृंखलामा बादलका मसिना फुर्काहरूसमेत विलीन हुन थालेपछि दसैँ भित्रिएको आभास हुन्थ्यो। दसैँको मिहिन गन्ध थाहा पाउनेबित्तिकै अनेकादि उत्साह, उमंग र उल्लासरूपी सघन बाछिटाले निथ्रुक्कै भिजाउँथ्यो।

साँच्चै अनुभूत हुन्थ्यो, ‘अब चाहिँ पक्कै दसैँ आयो!’

नयाँ लुगा

म राति बुवासँगै सुत्थेँ। तर, त्यसरात बुवा घरमा देखिनुभएन। अरू समय बेँसीको खेतमा जाँदा, धारा खोलाको खेतमा जाँदा वा कतै जाँदा मलाई पूर्वसूचना मिल्थ्यो। त्यस दिन भने विनासूचना कता जानुभयो होला? यस्तै प्रश्नको घेराबन्दीबीच मेरो मन–मस्तिष्क पूरै अशान्त रह्यो। रातभरि नै।

‘बा, कहाँ जानुभो?’ बिहान आँखा उघ्रिनेबित्तिकै आमालाई सोधेँ।

‘हिजै तिमेरूलाई दसैँको लुगा सिलाउन भनी बाराहा जानुभएको थियो, अझैसम्म फर्किनुभएन। अब लुगा सिलाएरै फर्किनुहुन्छ होला।’ आमाले सहज रूपमा जवाफ दिनुभयो।

अहा! नयाँ लुगा!

मेरो मन हिउँदको बेला आकाश–वृत्तभरि बतासिएर उड्ने पक्षीहरूझैँ उड्न थाल्यो। मैले आमासामु जिज्ञासा पोखेँ, ‘कसकहाँ सिलाउन जानुभएको हो, लुगा?’

‘त्यैँ माइला दमैकहाँ त हो नि! अरू कसकहाँ सिलाउन जानुहुन्थ्यो र?’ आमाको जवाफ जहिल्यै सिधा–सपाट हुने गर्थ्यो।

म जुन सामाजिक, सांस्कृतिक एवं आर्थिक हिसाबले बाँडिएको थातथलोमा जन्मिएँ, हरेक जातीय एवं सांस्कृतिक रूपले शक्तिशाली समुदाय–पंक्तिको बाक्ला–पातला उपस्थिति देखिन्थ्यो। बहुसंख्यक नेवारका घर, क्षेत्रीका आठ–दश घर, एक घर ब्राह्मण–जैसी, एक घर मगर, एक घर हायु, यस्तै–यस्तै…। गाउँभन्दा केही उँधो पर्दथ्यो, बाराहाको फाँट। खुर्कोटभन्दा केही दूरी माथि। गढी डाँडा (सिन्धुलीगढी)बाट प्रवाहित अँधेरी खोलाले छुट्याएको बेँसीको दुई बेग्लाबेग्लै भूभागमध्ये पश्चिमतिर हरिया फाँटहरू ओगटेर ‘हुने–खाने’ तप्काका मानिसहरू बस्दथे भने पूर्वतिर अवस्थित उब्जनी खासै नहुने भिरालो भिरालो पाखामा बस्दथे, दलित समुदायका दमाईं जातिका मानिसहरू। उनीहरूले कथित ‘विष्ट’ हरूका शरीरलाई चिरिच्याट्टै पार्ने ठेक्का लिन्थे अर्थात् लुगा सिलाउँथे। र, बिहे–बटुलमा तिनै ‘विष्ट’ हरूका निम्ति सांस्कृतिक धुन पस्किन्थे। अर्थात्, कथित माथिल्ला–जातका मानिसहरूका सांस्कृतिक उत्सवहरू एवं समारोहहरूलाई झकिझकाउ तुल्याउन उनीहरूकै गहन भूमिका हुन्थ्यो।

हो, त्यही समय लाटे मामाको प्रवेश भयो, हाम्रो घरभित्र। कुनै सिने नायकको फिल्ममा ‘इन्ट्री’ भएझैँ। सिने नायकको ‘इन्ट्री’ त पटकथाअनुरूप पूर्वनिर्धारित हुन्थ्यो, लाटे मामाको आगमन भने ‘स्क्रिप्ट’ भन्दा बिल्कुलै बाहिरको थियो।

अर्जुने दमाईं र माइला दमाईं– यिनै दुई दलित परिवारका सदस्यहरूले वरपर गाउँबस्तीका बासिन्दाहरूको लुगा सिलाउने जिम्मेवारीबोध ग्रहण गरेका थिए। अरू बेला त खासै काम हुँदैनथ्यो उनीहरूको। किनभने, त्यस समयताका लुगा सिलाउने मौसम दसैँछेक मात्र आउँथ्यो। दसैँमा भने पूरै भ्याइनभ्याई! एउटा गाउँमा छिर्दा उनीहरूले १५–२० दिनसम्मै समय दिनुपर्थ्यो। हरेक परिवारका १०–२० जनाको लुगा सिलाउनुपर्थ्यो। कसरी भ्याउनु! एउटा प्राचीन ढाँचाको कल, सिलाउनुपर्ने लुगाको थाक। साँच्चै, कसरी ‘व्यवस्थापन’ गर्थे होलान्, बरा!

मसँग एक शब्दसमेत नसोधी बुबाले आफूखुसी लुगा सिलाउन जानुभएकोमा मलाई पटक्कै मन परेन। मनमनै मुर्मुरिएँ म। हामीकहाँ प्रत्येक वर्षजसो नै माइला दमाईं र कहिलेकाहीँ मात्र उनका जेठा वा माइला छोरा आउँथे, कल बोकेर। सल्लेवासको उकालो चढ्दै। लुगा सिलाउनका लागि तिनीहरूलाई थप्य्रेङमा ‘विशेष व्यवस्था’ मिलाइएको हुन्थ्यो। आखिर, दसैँको लुगा–सिलाइ ‘झुर–पटास’ त हुनु भएन नि! बिहान उठेदेखि राति अबेरसम्म तिनीहरू कलका ‘खटट्ट’ आवाजसँगै आफ्नो पेसागत धर्म निर्वाह गर्न तम्तयार देखिन्थे।

तिनीहरूले मेरा निम्ति सिलाएका लुगा भने म प्रत्यक्ष रूपमा बसेर हेर्ने गर्थेँ। आफ्नो पोसाक कसरी सिलाउँदा रहेछन् भन्ने उत्सुकताले भरिपूर्ण हुन्थेँ। कहिलेकाहीँ तिनीहरूले जिस्किँदै सियोले घोचिदिन्थे, हामी रमाइलो मान्दै परपर सर्थ्यौं। अहा! कति स्मरणयोग्य थिए ती दिनहरू।

त्यस वर्षको दसैँमा भने आफ्ना पोसाक सिलाइएको दृश्यको ‘लाइभ प्रसारण’ देख्न नपाइने भएपछि म छट्पटिन पुगेँ। बिहानको खाना खाएपछि आमासँग कुनै संवाद नै नगरी म बाराहातिर झरेँ, माइला दमाईंको घरतिर, जहाँ मेरो लुगा सिलाइने सम्भावना थियो।

थाहा–पत्तो नै थिएन, माइला दमाईंको घर। ‘त्यहीँ बाराहातिर त होला नि!’ भन्ने चाहिँ थाहा थियो। मूलतः बाराहाको फाँटमा थापाहरूको बस्ती थियो। भित्तामा रहेको त्यो टोलमा दलित समुदायका मानिसहरू बस्दथे। बीचमा पर्दथ्यो, एउटा सानोतिनो खोल्सी।

माइला दमाईंको घरमा एउटी महिला उभिइरहेकी थिइन्। मैले खोल्सीपारिबाटै सोधेँ, ‘मेरो बुबा लुगा सिलाउन आउनुभएको थियो, त्यहाँ हुनुहुन्छ त?’

ती महिलाले टड्कारो स्वरमा जवाफ फर्काउँदै भनिन्, ‘अहिले घरमा कोही पनि हुनुहुन्न, उहाँ पनि पलाँसेको तित्रीबोटेको घरमा लुगा सिलाउन जानुभएको छ।’

ती महिलाले ‘तित्रीबोटे’ भनेकी रहिछन्, मैले चाहिँ ‘चित्रे भोटे’ भन्ने सुनेछु। म पलाँसेमा ‘चित्रे भोटेको घर कता पर्छ?’ भन्दै गएँ। आखिरमा तित्रीबोटेको घरमा माइला दमाईं जानुभएको रहेछ र बुबा सोही घरमा हाम्रा लागि लुगा सिलाउन पूरै ‘धर्ना’ कसेर बस्नुभएको रहेछ।

विक्रमाब्द ३० वा ४० को दशकताका ग्रामीण भेगमा जीवन धानेर बसिरहेकाहरूका निम्ति आम्दानीको कुनै निश्चित स्रोत–आधार थिएन। अधिकांशले पशुपालन र खेतीपातीबाटै जीवन निर्वाह गरिरहेका हुन्थे। एकाध घरका मानिस वैदेशिक रोजगारका निम्ति जान्थे, पूर्वोत्तर भारतीय सहरहरूमा। खासगरी कलकत्तातिर। अझ परका असम, मेघालयतिर। कलकत्ताबाट फर्किएका ‘लाहुरे’ हरूका सान, मान र रवाफको बेग्लै धरालत निर्माण भइरहेको आभास मिल्थ्यो।

आज सामाजिक एवं सांस्कृतिक वृत्तमा जुन भयावह र क्रूर दृश्य–विम्बहरूका गाढा प्रभाव स्थापित हुँदै गइरहेका छन्, करिब चार दशकअघिका सांस्कृतिक परिदृश्यहरूमा त्यस्ता दृश्यहरू कमै दृष्टिगोचर हुन्थे।

म सम्झिन्छु– हाम्रो घरमा ‘दुहुना’ टुटेन कहिल्यै। एउटा दुहुना भैँसी हुन्थ्यो सदैव। यदि भैँसी थारो बसिन् भने बुबाले दुहुना भैँसी गोठमा भित्र्याइहाल्नुहुन्थ्यो। केही बाख्रा, खसी, कुखुराहरूले पनि घरलाई शोभायमान तुल्याउन भूमिका खेल्थे। दुहुना भैँसी नै आम्दानीको मुख्य स्रोत थियो। २०४० को दशकताका फेदीखोलास्थित गोविन्द काका र खपांगी काकाको पसलमा दूध बेच्ने गरिन्थ्यो। पछिल्लो समय भने ठाँटीको माइला साहुको पसलमा लगेर दूध बेचिन्थ्यो। त्यही दूध बेचेको पैसाले घरखर्च टर्नुका साथै हाम्रा पढाइलाई पनि ‘सपोर्ट’ पुग्थ्यो। पसलेहरू भने सस्तो दाममा दूध खरिद गर्न चाहन्थे। बिहानै दुहेको भैँसीको दूध सस्तो दाममा किन्ने भएपछि दूधमा टन्नै पानी मिसाइन्थ्यो। यो कुरा ती पसलेहरूले पनि थाहा पाउँथे। दूधवाला र पसले दुवै नाफाखोरी!

दसैँका निम्ति लुगाफाटा, मरमसला र तेल किन्ने एउटै मात्र आर्थिक स्रोत थियो– घिउ। वर्ष दिनभरि टिनको बट्टामा थुपारिएको घिउ दसैँको पूर्वसन्ध्यामा बेच्नका निम्ति ‘नेपाल जाने बाटो’ अर्थात् खुर्कोट, मुलकोट, रातमाटा, झाँगाझोली बजार, मंगलटारसम्मै लगेर बेच्ने गरिन्थ्यो। ती व्यापारिक ठाउँहरूमा घिउ बेच्न जाँदाखेरि थाकेर आउनुभएका बुबाले भन्नुहुन्थ्यो, ‘झाँगाझोलीका व्यापारीहरू चाहिँ ठीक छन्, उनीहरूले राम्रै पैसा दिएर घिउ किन्छन्।’

लाटे मामाले भित्र्याइदिएको दसैँ

सम्भवतः यो २०३९ सालतिरको कुरा हुनुपर्छ। त्यस वर्षको दसैँछेक ‘लाहुर’ बाट फर्किनेहरू धमाधम घर फर्किंदै थिए। अधिकांशतः हरेक वर्ष दसैँ–तिहारको माहोललाई सम्झिएर घर फर्किने अनुहारहरू नै हुन्थे। त्यस वर्षको दसैँमा घर फर्किनेमध्ये एउटा नितान्त नयाँ अनुहार झुल्किए– हाम्रै लाटे मामा। अभूतपूर्व र अकल्पनीय रूपमा समेत।

कसैले ‘लाटे दाइ’, कसैले ‘लाटे सालो’, कसैले ‘लाटे मामा’ भने पनि उनी लाटा चाहिँ थिएनन्, पटक्कै। निकै बाठा र फुर्तिलासमेत देखिन्थे। ‘देश खाई शेष भइसकेका’ जस्ता लाग्थे। नभए, एउटा पिछडिएको ग्रामीण भेकबाट कलकत्ता गएका मानिस त्यस थातथलोमा कसरी वर्षौंवर्ष टिक्न सक्थे र! ‘बाठा’ नभएका भए! किन उनलाई ‘लाटे’ भनी अवमूल्यन गरे होलान्? मैले बुझ्न सकिनँ।

बिहानीपखको समय। दसैँ भित्रिन भित्रिन लागेको थियो। पल्लवित हुँदै थिए– सयपत्री, गोदावरी र मखमलीका बोटहरू। बारीका पाटामा जुनार, सुन्तला, भोगटे, ज्यामिर, चाक्सी, कमलाहरू पाक्ने उपक्रममा देखिन्थे। हावामा चिसोपन झाँगिँदै थियो। पश्चिमतिरको बाटो निगाले र खानीनिगालेमा पनि दसैँ भित्रिन थालेको आभास मिल्थ्यो।

हामी तीनजना दाजुभाइ मझेरीमा बसिरहेका थियौँ। एउटी दिदीको भने बिहे भइसकेको थियो। घरभित्रको मूल खाँबोमा बुवाले मही पारिरहनुभएको थियो। हो, त्यही समय लाटे मामाको प्रवेश भयो, हाम्रो घरभित्र। कुनै सिने नायकको फिल्ममा ‘इन्ट्री’ भएझैँ। सिने नायकको ‘इन्ट्री’ त पटकथाअनुरूप पूर्वनिर्धारित हुन्थ्यो, लाटे मामाको आगमन भने ‘स्क्रिप्ट’ भन्दा बिल्कुलै बाहिरको थियो।

अचेल समयको दीर्घाबाट नियाल्दा म यस्तो महसुस गर्छु– पूर्ववर्ती समयको दसैँ सामाजिक–सांस्कृतिक, धार्मिक–आध्यात्मिकलगायत हिसाबले नियाल्दा गुणात्मक रूपमा भिन्न र समृद्धसमेत थियो।

‘ए, सालो पो आएछन् त!’ मोही पारिरहेकै बेला ‘नेती’ को ‘गति’ लाई क्षणभरका निम्ति स्थगित तुल्याउँदै बुवाले भन्नुभयो। मदानीले पनि विश्राम पायो केही क्षण। नजिकै बस्नुभएकी आमाले पनि आश्चर्यचकित नजरले हेर्नुभयो। आमा–बुबालाई ढोग दिनुभयो, लाटे मामाले। चिन्नुभएको रहेछ, दाइहरूले त। मैले कसरी चिन्नु? कहिल्यै देखेको भए पो! म नजन्मिँदै परदेसिएका लाटे मामा। त्यस वर्षको दसैँमा ‘बाटो बिराएर’ आएजस्तै लाग्यो।

‘यिनी चाहिँ कान्छा भतिजा?’ मतिर हेर्दै सोध्नुभयो।

पछिल्लो समय पत्तो पाएँ– उहाँ आफ्नै मामा त हुनुहुँदो रहेनछ। मामा पर्ने। उहाँ गाउँमा फर्किँदा भने हाम्रो परिवारभित्र एक किसिमको नौलो रौनक छाउन पुग्यो। धेरै वर्ष कलकत्तालगायत भारतका विभिन्न ठाउँमा रुमल्लिनुभएका लाटे मामा अविवाहित हुनुहुँदो रहेछ।

त्यस वर्ष दसैँको पूर्वसन्ध्यामा पाँच रुपैयाँको नयाँ नोट निस्किएको थियो। चिल्लो र सुकिलो नोट। टक्टक् बज्नेसमेत। लाटे मामाले पाँच रुपैयाँको नोटको बिटा नै बोकेर ल्याउनुभएको रहेछ। दसैँको बेला गाउँमा नयाँ नोट भित्र्याउनेहरूमा परदेशबाट फर्किएकाहरू नै हुन्थे। लाटे मामाले ल्याएका नयाँ र टक्टकाउँदा नोटहरू हाम्रा लागि निकै आकर्षक र ‘प्रिय’ समेत रहे। किन ‘प्रिय’ रहे भने तिनै नोटहरू त्यस वर्षको दसैँमा हाम्रा खल्तीलाई सुशोभित तुल्याउन सक्षम ठहरिएका थिए।

लाटे मामा टेकबहादुर काकाको घरमा बस्नुहुन्थ्यो। हरेक बिहान दूध पिउन चाहिँ हामीकहाँ आउनुहुन्थ्यो र हरेक दिनजसो नै पाँच रुपैयाँको नयाँ नोट लिएर आउनुहुन्थ्यो। म लाटे मामाको ‘प्यारो भान्जा’ भइसकेको थिएँ। म उहाँको काखमा बस्न जान्थेँ र मलाई हरेकपटक पाँच रुपैयाँको नोट हातमा थमाइदिनुहुन्थ्यो। यसरी केही दिनको अन्तरालमा मसँग ३५ रुपैयाँ जम्मा हुन पुग्यो।

दसैँ–तिहारसम्मै बस्नुभयो, लाटे मामा। तिहार सकिएलगत्तै फेरि ‘लाहुर’ फर्किनुभयो। त्यसपछि पनि दसैँ–तिहार आए, गए– लाटे मामा भने आउनुभएन। बस्, स्मृतिमा मात्र आइरहनुभयो, हरेक दसैँ–तिहारमा…।

आमाको निधार

‘कसैका निधारमा विजयादशमीको दिन लगाइएको टीका पूर्णिमाको दिनसम्म रह्यो भने ती मानिस ‘सौभाग्यशाली’ हुन्छन्।’ यस्तै भन्थे, पूर्ववर्ती पुस्ताका मानिसहरूले। हो जस्तै लाग्थ्यो हामीलाई। आमाको निधार ‘सौभाग्यशाली’ थियो वा थिएन? तर, आमाले टीकाको दिन निधारमा लगाउनुभएको अक्षता पूरै पूर्णिमाको दिनसम्मै टिक्थ्यो। पूर्णिमामा मात्र उहाँ निधारबाट टीका पखाल्नुहुन्थ्यो।

सायद, हाम्रो निधार भने ‘अभाग्यशाली’ थियो कि! जुन दिन टीका लगाइएको हुन्थ्यो, त्यही दिन नै पूरै निधार खाली। म गाउँभरिका मानिसहरूका निधार नियाल्थेँ, उनीहरूको निधारमा टीका हुँदैनथ्यो। आमाको निधारमा भने पूरै दसैँभरि अक्षता!

आमा, जेठी छोरी। मामा हुनुहुन्नथ्यो। बेपत्ता। धेरैपछि मात्र आफ्नो थातथलोमा फर्किनुभयो, आमा बित्नुभएपछि। मावल जाने खासै अवसर जुर्दैनथ्यो। कुनै कुनै दसैँमा मामा पर्नेहरूका घरमा जान्थ्यौँ। तर, आफ्नो मावलीमा जस्तो आत्मीय र आतिथ्यभाव देखिँदैनथ्यो।

जुनार व्यापार

नौरथा भित्रिएपछि दसैँको रमझमलाई आफ्नै घर–गाउँका आँगनमा सिँगार्नका लागि परदेश गएकाहरू लहरबद्ध रूपमा फर्किन्थे, पुर्ख्यौली थलो, अभिभावक, आफन्त, साथीसंगीहरूलगायत सम्झिएर। शरदकालीन ऋतु आरम्भ भएपछि गाउँमा जुनार–सुन्तलालगायत अमिलो जातका फलफूलहरू बोटै नथेग्ने गरी पाक्न थाल्दथे। सुन्तला चाहिँ केही ढिलो पाक्थ्यो। जुनारमा चाहिँ गुलियोपन भित्रिइसकेको हुन्थ्यो।

तल्लो बारीमा जुनारको दुइटा बोट थिए। फल्थे लटरम्मै। सुन्तलाको ९–१० बोट थियो। दसैँमा घर फर्किनेहरूका लागि व्यापार–लक्षित गर्दै जुनार बेच्नका लागि अँधेरी खोलाको ढुंगे बगरतिर झर्दथेँ म। पूरै एक बोरा जुनार बोकेर। दाना हेरीहेरी मूल्य निर्धारण हुन्थ्यो। ठूलालाई तीन मोहर, सानालाई एक रुपैयाँ। बिहानदेखि दिउँसोसम्म एक बोरा जुनार सिनित्तै हुन्थ्यो।

यसरी, दसैँको पूर्वसन्ध्यामा करिब दुई–चार सय रुपैयाँजतिको जुनार बेचिन्थ्यो। दसैँखर्च उठ्थ्यो। घिउ बेचेको रकमले कपडा, नुन–तेल किन्न ठिक्क। जुनार बेचेको रकमले दसैँमा अरू गर्जो टर्ने निश्चितप्रायः। यही नै थिए, हाम्रो आम्दानीका मुहानहरू।

अचेल समयको दीर्घाबाट नियाल्दा म यस्तो महसुस गर्छु– पूर्ववर्ती समयको दसैँ सामाजिक–सांस्कृतिक, धार्मिक–आध्यात्मिकलगायत हिसाबले नियाल्दा गुणात्मक रूपमा भिन्न र समृद्धसमेत थियो। आज सामाजिक एवं सांस्कृतिक वृत्तमा जुन भयावह र क्रूर दृश्य–विम्बहरूका गाढा प्रभाव स्थापित हुँदै गइरहेका छन्, करिब चार दशकअघिका सांस्कृतिक परिदृश्यहरूमा त्यस्ता दृश्यहरू कमै दृष्टिगोचर हुन्थे।

अब त्यो समय कहाँ पाउनु?