काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दसैँ धुनका रूपमा हाम्रो मनमा बसेको छ मालश्री

१४ आश्विन २०८२
काठमाडौँको हनुमानढोका परिसरमा मालश्री बजाउँदै नेपाली सेनाको शार्दूल जंग गुल्म। तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

एउटा धुन छ, जो पुस्तौँदेखि हामीभित्र सर्दै आएको छ। दसैँ शब्द उच्चारण नहुँदै यो धुन हाम्रो कानमा स्वतः गुन्जिन थाल्छ। दसैँको माहोलको कल्पना गर्दा यसको साउन्डट्र्याक अटोप्ले मोडमा पुग्छ। दसैँ धुनका रूपमा हाम्रो मनमा बसेको त्यो धुन हो, मालश्री।

जसै मालश्री बजेको सुनिन्छ, दसैँसँग जोडिएका भावनात्मक र अनुभवजन्य सम्झना सक्रिय हुन थाल्छन्। अनि, खुला आकाशमा उडेको चंगाझैँ मनमा उमंगको बयली खेल्छ। संगीतकार तथा अनुसन्धाता बुलु मुकारुङका अनुसार मालश्री शरद् ऋतुको धुन हो। “मालश्री बज्नेबित्तिकै दसैँ आएको अनुभूति हुन्छ,” उनी भन्छन्।

यतिबेला देशभरिका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। एकाबिहानैदेखि सांस्कृतिक बाजाहरूको धुनमा देशभरका भजनगृह मालश्रीमा डुब्न थालेका छन्। मालश्री बज्न थालेसँगै सम्पूर्ण परिवेशमा हर्ष र उल्लास थपिन्छ। अहिले हामी यही उल्लासमय समयमा छौँ। मन्दिर, डबली, पाटीपौवा, सार्वजनिक यातायातदेखि मोबाइल रिंगटोनसम्म मालश्री गुन्जिरहेको छ।

निश्चित समयमा बजाइनु यसको विशेषता हो। अनुसन्धाता रामशरण दर्नालले संगीत परिक्रमा पुस्तकमा लेखेका छन्, ‘नेपालमा मालश्री गाउने खास समय शारदीय ऋतुको मनोरम वातावरणमा जगत्जननी दुर्गा भवानीकै आराधनामा दसैँभरि मात्र हो। हुन त मालश्री नेपालमा कागे–अष्टमीकै दिनदेखि गाउने चलन छ, तथापि यसको बढी महत्त्व घटस्थापनादेखि नै भएको पाइन्छ।’

मालश्री बज्न थालेसँगै हाम्रो मनमा मात्रै खुसी छाउँदैन, सम्पूर्ण परिवेशमै हर्ष र उल्लास थपिन्छ। अहिले हामी यही उल्लासमय समयमा छौँ।

मालश्री पूर्णिमासम्म गाइने परम्परा छ। पूर्वदेखि पश्चिमसम्मका विविध ठाउँमा दुर्गाभवानीको आराधना र नारीशक्तिको उपासना गर्दै गुन्जिने मालश्रीमा भूगोल-संस्कृति विशेषका भिन्नता पाइन्छन्। त्यसैले ताल-भाका र बाजागाजा पनि फरक हुन्छन्। मुकारुङका अनुसार सनईले घटस्थापनादेखि नै मालश्री धुनको एकतमास राग छोड्छ। गन्धर्वले मालश्री गाउने भाका पिङ्लु हो। सारंगीले कालीको मंगल गाउँछ।

काठमाडौँ उपत्यकाको नेवार समुदायमा ऋतुअनुसार गीत–संगीत गाउने/बजाउने परम्परा छ। वैशाखको शीतलामाजुदेखि सुरु भएर चैतमा गाइने घाटुसम्म ऋतुचक्रअनुसारकै गीत-संगीत गुन्जिन्छन्। मुकारुङ बाह्रमासे धुन मल्लकालमा बनेको बताउँछन्।

काठमाडौँको हनुमानढोका परिसरमा मालश्री बजाउँदै नेपाली सेनाको शार्दूल जंग गुल्म। तस्बिर : बिक्रम राई/नेपालन्युज।

यहाँका दाफा भजनमा समेत मौसमअनुसारको राग गाइन्छ। यस्ता मौसमी रागमा धार्मिक गतिविधिसम्बन्धी देवीदेवताको महिमा पाइन्छ। मालश्री पनि त्यस्तै मौसमी राग हो, जसमा धार्मिक स्तुतिसँगै शरद् ऋतुको विशेष वर्णन गरिएको हुन्छ।

मुकारुङका अनुसार मालश्री मूलत: शारदीय धुन भए पनि पछि मात्र देवीदेवताको प्रशस्ति र शक्तिसँग जोडियो।

गोरखा दरबारदेखि जुम्लाको दरबारमालिका वा कनकासुन्दरीदेवी थानसम्म मालश्री विस्तार हुनुमा गन्धर्व र बादी समुदायको भूमिका महत्त्वपूर्ण छ। तर, मालश्री कहिलेदेखि गाउन थालियो भन्ने यकिन छैन। जानकारहरू यसको इतिहास करिब ४०० वर्षभन्दा पुरानो रहेको बताउँछन्।

संगीतकार रामकृष्ण दुवाल मल्लकालीन राजाहरू महीन्द्र मल्ल र प्रताप मल्लले मालश्री गीत रचेको बताउँछन्। “तीमध्ये प्रताप मल्लको सिर्जना अहिलेसम्म धेरै प्रचलित छ,” उनी भन्छन्। मालश्री परापूर्वकालदेखि चलिआएको तर यसले मल्लकालमा राज्यबाटै प्रश्रय पाएको मुकारुङको मत छ।

अनुसन्धाता दर्नालले संगीत परिक्रमा पुस्तकमा मल्लकालका जितामित्र मल्लको १७३४ सालको अभिलेखमा मालश्रीबारे उल्लेख भएको बताएका छन्। जसमा लेखिएको छ–

प्रकट कटकट विकट झझम–झमझम झंपिनी,

विवुधवृन्द विवोध दायिनी तारिणी तनु धारिणी

कहीँ गीत त कतै धुनमा मात्रै गुन्जने मालश्री एउटा राग हो जसबाट धेरै धुन बन्न सक्छन्। पुस्तौँपुस्तादेखि नेपाली समाजमा लोकधुनका रूपमा समेत मालश्री लोकप्रिय छ। जस्तै,

आई हाल्यो दशैँ, फुलि हाल्यो भांगो ।

कोटका द्यौतालाई, सताहारको रांगो ।।

कोटका द्यौतालाई मेढाको रगत् ।

हुनेलाई मासु, बुंगालाई गहत् ।।

मालश्री कहीँ गीत त कतै धुनमा मात्रै गुन्जन्छ। नेपालका अन्य परम्परागत संगीतजस्तै मालश्रीसँग जोडिएका पुराना तथ्य र अभ्यासहरू हराउँदै गएका छन्। तर, मालश्री यस्तो धुन हो, जुन एक वा दुई परम्परागत बाजामा मात्र नभई धेरै आधुनिक बाजामा समेत बजाउन मिल्छ। नवीन प्रविधिमा बाँच्न सक्नु मालश्रीको विशेषता हो।

काठमाडौँको हनुमानढोका परिसरमा मालश्री बजाउँदै नेपाली सेनाको शार्दूल जंग गुल्म। तस्बिर : बिक्रम राई/नेपालन्युज।

सारंगी, बाँसुरी, सितार, सरोद, गितार, सनई, डमरुदेखि किबोर्ड, पियानो, कंगोजस्ता आधुनिक बाजाहरूमा गुन्जने मालश्री धुन देशभित्र मात्रै सीमित छैन। जहाँ जहाँ नेपाली समुदाय छन्, त्यहाँ उनीहरूलाई ‘नोस्टाल्जिया’ मा फर्काउने धुनका रूपमा पनि गुन्जिरहेको छ। जहाँसुकै जुन बाजा र माध्यमबाट बजे पनि मालश्रीले अहिले प्रतीकात्मक रूपमा आध्यात्मिक ऊर्जा छरिरहेको छ। नयाँ पालुवा पलाएको र नौलो उमंग छाएको सन्देश प्रवाह गरिरहेको छ।