एसिया कपको फाइनल सकिए पनि विवाद भने सकिएको छैन। एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नाक्वीको हातबाट ट्रफी लिन भारतले अस्वीकार गरेको घटनाले पछिल्ला केही दिनदेखि व्यापक चर्चा पाएको छ। अहिले त्यो विवादलाई नयाँ मोड दिएका छन् भारतीय कप्तान सूर्यकुमार यादवले। उनको दाबीअनुसार भारतीय टोली पर्खिरहेको अवस्थामा एसीसीा अधिकारीहरू नै ट्रफी लिएर भागेका हुन्।
गत आइतबार फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराएको भारतले नवौंपल्ट एसिया कप जितेको थियो। जितलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी )का अध्यक्षसमेत रहेका नाक्वी मञ्चमा पुगेका थिए। तर, उनको हातबाट ट्रफी लिन भारतीय टोलीले अस्वीकार गरेको थियो।
एक चरणमा नाक्वी ट्रफी नदिई नै मैदान छाडेका थिए। त्यसबेलादेखि नै क्रिकेट संसारमा चर्चा चल्यो– भारत सरकारले वा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले निर्देशन दिएकै कारण यस्तो कदम चालिएको हो।
तर, यी सबै अडकलबाजीका बीच सूर्यले इन्डियन एक्सप्रेससँग भने,‘पूरा प्रतियोगितामा बीसीसीआई वा सरकारले हामीलाई केही पनि भनेको थिएन। त्यो निर्णय मैदानमै खेलाडीहरूले आफैं गरेका हुन्।’
त्यस दिनको घटना स्मरण गर्दै उनले थपे,‘हामी ड्रेसिङरुममा गएको थिएनौं, मैदानमै उभिएका थियौं। त्यहाँ अधिकारीहरू आपसमा कुरा गरिरहेका देखिन्थे। एक चरणमा दर्शकदीर्घाबाट हुटिङ सुरु भयो। त्यसपछि मैले एउटा प्रतिनिधि ट्रफी लिएर हिँडेको देखेँ। सत्य के हो भने उनीहरू ट्रफी लिएर भागेका हुन्।’
यस घटनाबारे एसियन क्रिकेट काउन्सिल (एसीसी) वा नाक्वीको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर, क्रिकबजको रिपोर्टअनुसार नाक्वी भारतलाई ट्रफी र पदक दिन तयार थिए। तर, उनले ट्रफी र पदक आफ्नै हातले भारतलाई दिने शर्त राखेका छन्। त्यसका लागि विशेष समारोह गर्नुपर्ने बताएका छन्।
तर, बीसीसीआईको वर्तमान अडान हेर्दा त्यस्तो कार्यक्रम गर्ने सम्भावना निकै न्यून देखिन्छ। त्यसैले कहिले, कहाँ र कसरी ट्रफी भारतलाई दिने भन्ने प्रश्न अझै अनुत्तरित छ।