काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दसैँ विशेष

वर्ष दिन पर्खेर नयाँ लुगा पाउँदा, गाउँटोलमा सामूहिकतामा रमाउँदै दसैँ मनाउँदाको मिठास अहिले कहाँ!

१५ आश्विन २०८२
चाँगुनारायणको नारायणटार चउरमा हालिएको पिङ। तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

दसैँ नेपाली जनजनको मनको गहिराइमा बसेको चाड हो। यो उत्सव मात्र होइन, परिवार, समुदाय र संस्कृतिले बाँधिएको सौहार्दपूर्ण बन्धन हो।

दसैँको प्रतीक्षा गर्नु, तयारी गर्नु र रमाइलोसँग मनाउनु मेरो जीवनको अभिन्न हिस्सा हो। बाल्यकालमा बिताएका दसैँका पलहरू अहिले सम्झँदा दन्त्यकथाझैँ लाग्छन्। ती दिनको सम्झनाले अझै रोमाञ्चित बनाउँछ।

समयको बहावसँगै आधुनिकताले दसैँको स्वरूप फेरिएको छ। सुविधाले जीवन सजिलो बनाए पनि त्यसबेलाको आत्मीयता र मिठासलाई आधुनिकताले केही हदसम्म छोपेको छ। मेरो बाल्यकालको दसैँ र अहिले मध्यम उमेरमा भोगिरहेको दसैँमा आकाश-पातालको फरक छ।

नयाँ कपडाले बुनेको उमंग

मेरो बाल्यकालमा दसैँमा नयाँ कपडा लगाउनु केवल परम्परा थिएन, यो त उत्सवजस्तै थियो। रेडिमेड कपडाको चलन थिएन। नापकाट गरेर दर्जीले सिलाएको लुगा लगाइन्थ्यो। मलाई अझै याद छ, बुवा कपडा लिन सिन्धुलीको बितिजोरजस्तो दुर्गम गाउँबाट सामल बोकेर जनकपुर जानुभएको थियो।

त्यसबेला दसैँमा नयाँ लुगा हाम्रा लागि आङ ढाक्ने बोक्रा हैन, ‘सपना’ नै हुन्थ्यो। दसैँ कहिले आउला र नयाँ लुगा लगाउन पाइएला भन्दै हामी औँलामा दिन गन्थ्यौँ। हाम्रा सपना सिलाउने जिम्मा लिन्थे, गाउँभरिका कपडा सिलाउने दर्जीले।

कपडा सिलाउन खुब उत्साहले दर्जीको घरमा पुगिन्थ्यो। दर्जीले कपडा काटेको, मेसिनमा धागो हालेको, टाँक लगाएको हरेक कुरा रोमाञ्चक लाग्थे। कहिलेकाहीँ दर्जीले ‘आज सकिएन’ भन्दा मन अमिलो भएर फर्कनुपर्थ्यो। एक वर्ष दर्जीले कपडा सिलाउन नभ्याउँदा हजुरबा-हजुरआमाको हातको टीका लगाउन च्यातिएको लुगा लगाएर जानुपर्‍यो। त्यसबेला मन असाध्यै दुखेको थियो, त्यो पीडा ताजै छ।

दसैँमा साथीसँगातीहरूबीच नयाँ कपडा-जुत्ता देखाउने होड नै चल्थ्यो। गाउँका साथीहरूबीच कसको लुगा र जुत्ता राम्रो भन्ने रमाइलो बहस हुन्थ्यो। नयाँ जुत्ता लगाएर गाउँ डुल्दा लाग्थ्यो, सारा संसार मेरै पोल्टामा छ।

चिउरा, केरा र मासुको स्वाद

दसैँको भान्सा चिउरा, केरा र मासुबिना अधुरो हुन्थ्यो। आमाले खड्कुँलामा धान भिजाउनुहुन्थ्यो। अनि माटाकै हाँडीमा भुटेर ढिकी वा ओखलमा चिउरा कुट्नुहुन्थ्यो। घरमा ढिकी नहुनेहरू छिमेकीको घरमा पालो कुरेर चिउरा कुट्न जान्थे। माटाको हाँडीमा भुटेर कुटिएको चिउराको स्वाद अझै जिब्रोमा झुन्डिएको छ। बगैँचामा केराको घरी साँचेर राखिन्थ्यो। धेरै घरी काटेर माटाको घ्याम्पो वा खाल्डामा पकाइन्थ्यो। खसीको मासु, पक्कु, भुटुवा, मुटुभित्राँस, भुटन, सेकुवा, रक्तिका परिकार र झोल बनाएर चिउरासँग खाँदा पेट भरिने त भइगयो, मन प्रफुल्लित हुन्थ्यो। घरमै खसी काटिने र प्रशस्त मासु हुने भएकाले अनेक परिकार बनाइन्थ्यो। सबै जनाको घरमा मासु छेलोखेलो हुन्थ्यो, र पनि छिमेकीहरूलाई बोलाएर मासुका परिकार खुवाएर उत्सवको आत्मीयता साटिन्थ्यो।

काठमाडौं टोखामा ओखलमा चिउरा कुट्दै।

दसैँको रौनक भन्नु घर र गाउँ सरसफाइ-लिपपोत गरेर चिटिक्क पार्ने परम्परा पनि थियो। रातो, पहेँलो र सेतो (कमेरो) माटो जोहो गरेर घर लिपपोत गरिन्थ्यो। आँगनलाई माटाले पोतेर सजाउँदा घरै उज्यालो हुन्थ्यो। गाउँलेहरू मिलेर बिग्रे-भत्केका बाटाहरू मर्मत गर्थे। खाल्डाखुल्डी पुर्ने, झार उखेल्ने र बाटो सफा गर्ने काममा सबै जुट्थे। मलाई यो सामूहिक काममा भाग लिन निकै रमाइलो लाग्थ्यो। गाउँलेहरूको सहकार्यले गाउँलाई एकताको सूत्रमा बाँध्थ्यो। आमाहरू मिलेर माटो लिन जानुहुन्थ्यो। हामी बच्चाहरू घर रंग्याउन सघाउँथ्यौँ। यो कामले हामीलाई ठूलो जिम्मेवारी बोकेको अनुभव हुन्थ्यो।

फूलपातीको दिन फूलपाती भित्र्याएर पूजा गरिन्थ्यो। गाउँभरि लिंगे पिङ र रोटे पिङ हालिन्थे। लिंगे पिङको डोरीका लागि खर जम्मा गर्न सबै जुट्थे। सबै जना मिलेर लठारो बाटिन्थ्यो। बाँसका लिंगा गाडेर पिङ हालेपछि बल्ल दसैँको हाहु गाउँमा छिर्थ्यो। सानादेखि ठूलासम्मले पिङमा झुल्दै गाउँ गुन्जायमान बनाउँथे।

मालश्री धुनले दसैँको आगमनको संकेत गर्थ्यो। घर घरमा जमरा राखिएको हुन्थ्यो। जमरा उम्रियो कि उम्रिएन भनेर अधैर्य भई हरेक दिन हेर्थ्यौं। दसैँको बिहान घर-आँगन लिपपोत गरेर सजाउँदा मनमा छुट्टै उमंग आउँथ्यो। चंगा उडाउने प्रतिस्पर्धा पनि कम रमाइलो थिएन। गाउँका साथीहरूसँग कसको चंगा लामो समयसम्म आकाशमा रहन्छ भन्ने होडबाजी चल्थ्यो।

बाल्यकालको दसैँमा मलाई सबैभन्दा रमाइलो लाग्ने कुरा थियो, गाउँमा हुने सामूहिक तमासा। दसैँको नवरात्रिमा हामी साथीहरू मिलेर गाउँको चौरमा लंगुरबुर्जा खेल्थ्यौँ। यस खेलमा को लामो समय टिक्छ भन्ने प्रतिस्पर्धा हुन्थ्यो। जसले जित्थ्यो, गर्वका साथ पैसा देखाउँदै गाउँ डुल्थ्यो।

टीकाको दिन हजुरबा-हजुरआमाको हातबाट टीका लगाइन्थ्यो। रातो टीका र पहेँलो जमराले छुट्टै ऊर्जा दिन्थ्यो। त्यसपछि मामाघर गइन्थ्यो। मामाघरमा आशीर्वादसँगै दक्षिणा पाइन्थ्यो। त्यसले दसैँमा अतिरिक्त खुसी ल्याउँथ्यो। दक्षिणा जम्मा गरी कसको पैसा धेरै भनेर साथीहरूसँग फुर्ती लगाउँदा सान बेग्लै हुन्थ्यो।

रोटे पिङ। तस्बिर- रासस

गाउँमा दसैँको बेला हुने तासको खेल पनि कम रोचक थिएन। ठूलाहरूले तास खेल्दा हामी बच्चाहरू छेउमा बसेर हेरिरहन्थ्यौँ। गाउँको मन्दिरमा नवदुर्गाको पूजा गर्न जान्थ्यौँ। ती पलहरूले दसैँलाई मेरो मनमा अमिट बनाए।

आधुनिकताले छोपिएको दसैँ

अहिले दसैँको तयारी त सजिलो भएको छ, तर पहिलेको उत्साह हराएको छ। रेडिमेड कपडाले बजार लिएको छ। सस्तो चिनियाँ कपडा गाउँघरमा समेत सजिलै पाइन्छ, दसैँ कुर्नै पर्दैन। अनलाइनबाट अर्डर गरेर खसीदेखि कपडासम्म घरमै आइपुग्छन्। पहिले टाढा टाढा पुगेर कपडा ल्याउँदा अनुहारमा देखिने रौनक अहिले मोबाइलको स्क्रिनमा हराउँछ। सामाजिक सञ्जालमा फेसबुक, ट्विटर र टिकटक दसैँको शुभकामनाले भरिन्छन्। इ-कार्ड र इमेलबाट शुभकामना आउँछन्। विदेशमा बसेका आफन्तले भिडियो कलमार्फत टीका लगाउँछन्, तर हजुरबाको काखमा बसेर टीका लगाउँदाको न्यानोपन कहाँबाट पाउनु! अहिले कपडा र जुत्ताको प्रतिस्पर्धा सहरमा ब्रान्डेड सामानमा सरेको छ।

मासुका परिकारहरू दसैँको भान्साको आत्मा हुन्। तर, घरमा खसी काटिँदैन। बजारबाट ल्याउने क्रम बढेको छ। कतिपयले रेस्टुरेन्टमा गएर दसैँको खाना खान्छन्। मलाई अझै आमाले पहिल्यै बनाएको काँक्राको अचार (खल्पी)को स्वादले पुरानो दसैँको झल्को दिन्छ।

दसैँका परम्परा आधुनिकताको रङमा रंगिएका छन्। जमराको परम्परा कायमै छ, तर धेरैले बजारबाट तयारी जमरा किन्छन्। मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन पनि बढ्दै छ। रातो र कमेरो माटाले घर लिपपोत गर्ने चलन गाउँमा मात्र सीमित छ। शहरमा रङ (पेन्ट)ले घर सजाइन्छ। गाउँका बाटाहरू मर्मत गर्ने परम्परालाई मेसिनले विस्थापन गरेका छन्। लिंगे पिङको ठाउँ मनोरञ्जन पार्क र मलहरूले लिएका छन्। मालश्री धुन युट्युब र स्पोटिफाईमा सुन्न सकिन्छ, गाउँमा मालश्री बजाउँदै रमाउने चलन हराएको छ। टीका र आशीर्वादको महत्त्व अझै छ, तर भौतिक दूरी र व्यस्तताले परिवारको जमघट कम भएको छ। मन्दिर जाने चलन अहिले पनि छ, तर व्यस्तताका कारण पहिलेजस्तो हरेक दिन मन्दिर पुग्न सकिँदैन।

आधुनिक सुविधा र अर्थतन्त्र

अनलाइन किनमेलले दसैँको तयारी सजिलो बनाएको छ। इ-कमर्स साइटहरूले खसी, कपडा र खाद्य सामग्री ढोकामै पुर्‍याउँछन्। विदेशबाट रेमिटेन्समार्फत दसैँ खर्च आउँछ, जसले बजारमा रौनक थप्छ। दसैँमा कर्मचारी तथा श्रमिकले एक महिनाबराबरको पर्व खर्च पाउँछन्। यस्तो रकमले अर्थतन्त्र चलायमान बनाउँछ। तर, यो आर्थिक रौनकले मनको खालीपनलाई भर्न सक्दैन। मैले पनि अनलाइनबाट सामान मगाउन थालेको छु। यसले पहिलेको जस्तो बजार गएर किनमेल गर्दाको उत्साह-उमंग हराएको छ।

दसैँको आत्मा अझै जीवित छ, तर यसको रङ फेरिएको छ। पहिले मिहिनेत र मायाले दसैँ मनाइन्थ्यो। ढिकीमा चिउरा कुट्दा, केरा पकाउँदा, मासुका परिकार बनाउँदा, घर लिपपोत गर्दा र पिङमा झुल्दा हरेक पलमा भावना मिसिन्थ्यो। गाउँलेहरूको सहकार्य, मालश्रीको धुन र टीकाको न्यानोपनले दसैँलाई आत्मीय बनाउँथे। अहिले अनलाइन किनमेल, रेडिमेड कपडा, तयारी खानेकुरा र रङले घर सजाउने चलनले समय त बचाएको छ, तर त्यो मिठास हराएको छ। आज अनलाइनबाट सामान मगाइन्छ, तर बजार गएर पसलबाट सामान छामेर किन्दा र झोलासँगै खुसीको ठूलो पोको घरमा भित्र्याउँदाको त्यो अनुभूति हराएको छ।

तैपनि, दसैँको आत्मा परिवार, माया र एकतामा बाँचिरहन्छ। नयाँ पुस्तालाई पुराना कथाहरू सुनाउँदा उनीहरूको आँखामा चमक देखिन्छ। आधुनिकताले दसैँको बाहिरी रङ छोपे पनि मनको गहिराइमा त्यसबेलाको मिठास अझै जीवित छ।

-घिमिरे अधिवक्ता हुन्।