दसैँ विशेष
सुदूरपश्चिमका पहाडमा विजयादशमीको दिन टीका लगाउनुअघि शक्तिपीठ पुज्ने परम्परा
मन्दिर र घरका पूजास्थलमा जमरा रोपेर सुरु हुने सुदूरपश्चिमेली पहाडको दसैँघरमा पुगेको आभास त्यतिबेला हुन्छ, जब डडेल्धुराको अमरगढीमा फूलपातीको दिन नेपाली सेनाको टुकडी हर्षबढाइँ गर्दै यहाँको टुँडिखेल पुग्छ। अमरगढी किल्लाबाट पाँच मिनेटको पैदल दूरीमा रहेको टुँडिखेल गोर्खाली सेनाको कवाज खेल्ने ठाउँ हो। जहाँबाट अमरसिंह थापाले कालीपारि काँगडासम्म विजय अभियान थालेका थिए, २०० वर्षअघि।
थापाकालीन मानिने सदरमुकाम खलंगानजिकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर छ। यहाँ देवीको पूजापछि पाइने कालो टीका (तिलक) लगाएपछि मात्र यस भेगका मानिस दसैँको दिन आआफ्ना घरमा मान्यजनबाट रातो टीका थाप्छन्। विजयादशमीको मुख्य कुलपूजाको दिनबाहेक बाँकी चार दिन आफन्तसँग टीका लगाउन टाढा जान सबै स्वतन्त्र हुन्छन्।
महाअष्टमीमा छिमेकी चार गाउँ दमडा, खनमडा, जिलोडा र छचोडाबाट देवीको सम्मानमा बाजागाजा र ध्वजासहितको शोभायात्रा उग्रतारा मन्दिर पुर्याइन्छ। यात्रामा प्रयोग भएका सबै वस्तु र देउताको प्रतीक अष्टमी र नवमीमा माताको दरबारमै राखिन्छ। दशमीका दिन देवीको पूजापछि शोभायात्रा जसरी आएको थियो, त्यसरी नै सम्बन्धित गाउँको देवस्थलमा पुर्याएर घरको टीका लगाउने चलन छ।
डडेल्धुराका अधिकांश गाउँमा स्थानीयवासीले आआफ्नो कुलदेउताका मन्दिरमा घटस्थापनामा रोपिएको जमरा काटेर पहिले भगवान्लाई अर्पित गरेर टीका लगाइन्छ। त्यहीँको केही जमरा लगेर घरका जमरामा मिसाएर टीका लगाउने चलन चलिआएको छ।
यो दृश्य देवलोकमा गएर आम नागरिकले आफ्ना पीडा र खुसी देउतासँग साटिरहेको र आफ्ना अपुग माग र इच्छा उनीसामु पोखिरहेको जस्तै हुन्छ। जुन दृश्य सुदूर पहाडमा दसैँका बेला आम हो।
यहाँको अर्को प्रसिद्ध धार्मिकस्थल घटालस्थान मन्दिर हो, जहाँ कलियुगका देउता मानिने हिडम्बापुत्र घटोत्कचको पूजा गरिन्छ। यस स्थानसँग जोडिएको असिग्राममा भने घरको टीका लगाएर खानपान गरी दशमीकै दिन मेला जाने चलन छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा प्रायः विजयादशमीको दिन एक अर्थमा देउताको दसैँ मनाइन्छ। घरका अगुवाहरू देउताको टीका नलगाउन्जेल भोकै बस्छन्। विजयादशमीमा अछामको वैद्यनाथदेखि दार्चुलाको मलिकार्जुनसम्म, बैतडीकी त्रिपुरा सुन्दरीदेखि डोटीकी शैलेश्वरीसम्म सबै जिल्लाका शक्तिपीठ र देवस्थल पहिले पुजिन्छन्। मानिसहरू देउतासामु आफ्नो पीडा पोख्छन्। गल्तीका लागि माफी मागिन्छ। जीवनमा शान्तिको उपाय सोधिन्छ। मन हलुका पारिन्छ।
देउताले तोकिएका धामीमार्फत सबैका माग पूरा गर्ने समय तोक्छन्। समाधानका उपाय बताइदिन्छन्। गल्ती गरेकालाई दण्ड-जरिवानाको पनि हुकुम हुन्छ। अधिकांश मन्दिरमा यतिबेला देउता र मनुवाको दोहोरो वार्तालाप हुन्छ, अदालतमा जस्तै। यो धार्मिक सभामा देउताको आदेश मान्नैपर्ने सामाजिक कर लाग्छ। पहिले आफूले गरेका कामना पूरा भएकाहरूले घण्ट, तरबार, त्रिशूल, सालका स्तम्भ, बिगुल, तामा-पित्तलका बाघ, सर्पका आकृतिदेखि वस्त्र, ध्वजा र सुन-चाँदीसम्म यसै दिन देउतालाई चढाउँछन्। माग्ने र माग पूरा हुनेले लाखबत्ती पूजा पनि यसै दिन राखेका हुन्छन्। यो दृश्य देवलोकमा गएर आम नागरिकले आफ्ना पीडा र खुसी देउतासँग साटिरहेको र आफ्ना अपुग माग र इच्छा उनीसामु पोखिरहेको जस्तै हुन्छ। जुन दृश्य सुदूर पहाडमा दसैँका बेला आम हो।
रीतिरिवाज र सामाजिक कारणले रोकिएका विवाह, व्रतबन्ध, पास्नीलगायत शुभकार्य र छुटेका पूजा अनुष्ठान दसैँका दिन गर्न कसैलाई सोध्नुनपर्ने मान्यता छ।
रोजगारीका लागि प्रायः भारतमा भर पर्दै आएको सुदूरपश्चिमका पहाडी जिल्लाको ग्रामीण अर्थतन्त्र पछिल्लो समय खाडीलगायत परदेशको भरमा चलेको पाइन्छ। जसले ग्रामीण जीवनलाई केही सहज पारेको महसूस हुन्छ। गाउँघरमा युवाहरू देखिँदैनन्। फाट्टफुट्ट रूपमा घर फिर्नेहरूले दसैँ रमाइलो पार्छन्।

दार्चुलाको मलिकार्जुन मन्दिर।
शक्तिको उपासना हुने दसैँअघिको नवरात्रि अवधिभर एक छाक खाएर नौ दिन मन्दिरमै बस्ने जमात बिस्तारै कम हुँदै गएको मानिन्छ। तराई, काठमाडौँ हुँदै भारत र तेस्रो मुलुक जाने क्रम र पुस्तान्तर यसको प्रमुख कारण हो। यस्ता धार्मिक रीतिरिवाजमा युवा पुस्ताको रुचि कमै देखिन्छ।
अधिवक्ता हरि भट्ट दशवर्षे सशस्त्र द्वन्द्वकाल र यसपछिको समयमा सुदूरपश्चिमका धेरैजसो रीतिथिति र चलनमा परिवर्तन भएको, आधुनिकताको प्रवेश भएको बताउँछन्। द्वन्द्वकालमा त्रासका कारण खुम्चिएको तथा रूप फेरिएको धार्मिक अभ्यास पुरानै स्वरूपमा फर्कने छाँट देखिँदैन।
कुनै समयमा नुन लिन कञ्चनपुरपारि भारतको सीमावर्ती शहर टनकपुरसम्म पैदल जाने सुदूरपश्चिमका पहाडेहरू अहिले कञ्चनपुरबाटै बस र माइक्रोबसमा ३०० किमिभन्दा लामो बाटो छिचोल्दै साँझपख दार्चुला र बझाङको आफ्नो घर पुग्छन्। दसैँ नजिकिएसँगै बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा घर फिर्नेहरूको भीड हुन्छ।
दसैँको आगमनले सुदूर पहाडका शक्तिपीठमा वार्षिक लाग्ने मेलाको मौसम पनि सुरु हुने संकेत दिन्छ। यस्ता शक्तिपीठमा डोटीको शैलेश्वरी, बैतडीको त्रिपुरा सुन्दरी र मेलौली अनि डडेल्धुराका उग्रतारा र नवदुर्गा विशेष छन्। शक्ति उपासनाका प्रतीक मानिने यी देवीका मन्दिर क्षेत्रमा लाग्ने मेलामा देश–परदेशका हजारौँको जमघट हुन्छ।
दसैँ र तिहारका लागि भनेर घर फिरेकाहरू यिनै मेलामा रामरमाइलो गरी आफ्नो कर्मभूमि फर्कन्छन् र पहाडी गाउँहरू फेरि सुनसान बन्छन्।