स्थलगत
कर्णालीका १० जिल्लाको २ हजार २ सय ५० हेक्टर जमिनमा ओखर खेती
चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँका कार्मा बुढाले २०७७ सालमा ओखरका ५०० बिरुवा लगाए। च्याङ्ला प्रजातिका ती बिरुवा स्थानीय हावापानीसँग मेल नखाँदा सोचेजस्तो हुर्केनन्। तापनि उनले हरेस खाएनन्। तीन वर्षअघि स्थानीय प्रजाति (दाँते)का १०० बोट रोपे। हुर्किंदै गरेका ती बोटमा फल लाग्न सुरु भएको छ।
बगैँचामा स्याउका बिरुवा लगाइए पनि उनको ध्याउन्न ओखरमा ज्यादा देखिन्छ। “ओखरका बिरुवा हुर्केर फल दिन सुरु गरेपछि जिन्दगीभर ढुक्कसँग खान–बस्न पुग्छ,” बुढा भन्छन्, “स्याउजस्तो समयमै बिक्री नहोला, सडेर नोक्सान होला भन्ने चिन्ता छैन।”
सय बोटबाट कति कमाइ हुन्छ? उनको जवाफ छ, “पूर्णरूपमा हुर्किएर फल दिन थाले भने वर्षमा १०–१५ लाख रुपैयाँ आम्दानी हुन्छ।”
बिरुवा हुर्किंदै गएपछि फल पनि बढ्दै जाने भएकाले बर्सेनि आम्दानी वृद्धि हुने अनुभव उनको छ। यो कुहिने, सड्ने जोखिम पनि हुँदैन। उनी जिल्ला समन्वय समिति जुम्लाका पूर्वउपसंयोजक हुन्। उनले उक्त पदमा रहेकै बेला दीर्घकालीन आम्दानीको स्रोतका रूपमा ओखर खेती गर्ने निधो गरेका थिए।
जुम्लाका बुढाजस्ता किसान स्याउ छाडेर ओखरतिर आकर्षित छन्। फलस्वरूप जंगलमा पाइने ओखरका बोट किसानका बगैंचा र बारीमा हुर्किन थालेका छन्। बुढाको भनाइमा पछिल्लो ५–६ वर्षमा यसको व्यावसायिक खेती यसरी फैलिएको छ कि केही वर्षभित्र जुम्लाको पहिचान नै बदलिने सम्भावना छ।
“जुम्लालाई अहिलेसम्म स्याउ र मार्सीले चिनाएका थिए। अब ओखरले चिनाउने भएको छ,” उनी भन्छन् ।
जुम्लामा आव २०८०/८१ सम्म ५९० हेक्टर जमिनमा ओखर खेती गरियो। एक हजार मेट्रिक टन उत्पादन भयो। यो कृषि विकास कार्यालयको तथ्यांक हो। कर्णाली प्रदेशभर आव २०७९/८० मा दुई हजार २५० हेक्टरमा खेती गरिएको थियो। त्यसमध्ये ८०६ हेक्टरमा तीन हजार ३४१ मेट्रिक टन उत्पादन भयो। कर्णालीका १० वटै जिल्लामा ओखरको व्यावसायिक विकास भइरहेको बताउँछन्, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखतबहादुर खड्का। सूर्य सोसल सर्भिस सोसाइटीको सहजीकरणमा जिल्लाभर २०० किसानले समूह बनाएर व्यावसायिक खेती गरिरहेका छन्। उनीहरूले गत वर्ष ४०० मेट्रिक टन उत्पादन गरे। त्यसबाट करिब तीन करोड २० लाख रुपैयाँ आम्दानी भयो।

जुम्लामा किसानले लगाएको ओखर। तस्बिर- नेपालन्युज।
“हाम्रो जानकारी र सम्पर्कमा नरहेका अरू पनि थुप्रै किसानले ओखर खेती गरिरहनुभएको छ। त्यस्तो संख्या आधिकारिक तथ्यांकभन्दा धेरै छ,” उक्त संस्थाका अध्यक्ष घनश्याम नगरकोटी भन्छन्।
तातोपानी गाउँपालिका–२ सुन्दर गाउँका अमृत सार्कीले छिमेकी आकर्षित भएको देखेर बिरुवासमेत उत्पादन गरी बिक्री गरिरहेका छन्। उनको बगैँचामा बिरुवाको व्यावसायिक उत्पादनसँगै ओखरमा फलसमेत लाग्न थालिसकेको छ।
“अब स्याउ खेती छोडेर ओखरमै लाग्ने सोच बनाएको छु,” उनी भन्छन्, “ओखरका बिरुवा हुर्काउन मिहिनेत लाग्छ। हुर्किसकेपछि ढुक्कसँग बसीबसी पैसा फल्छ।”
हुन पनि जुम्लाकै उर्थुमा ओखर खेती लोभलाग्दो गरी फस्टाएको छ। त्यहाँका किसानले समूह बनाएरै खेती गरिरहेका छन्। समूहकी सदस्य माघी विष्टले २०८१ सालमा ओखर र त्यसको तेल बेचेर १२ लाख रुपैयाँ कमाइन्।

व्यापारीहरू ओखर संकलन गर्न जुम्लाका गाउँमै पुग्छन्। उनीहरूले वैशाख–जेठमा उत्पादन–लागत सम्झौता गर्छन्। असोज–कात्तिकमा किनबेच हुन्छ। विष्ट भन्छिन्, “पहिला स्याउको भर पर्दा कहिले कुहिने त कहिले राम्रो भाउ नपाउने समस्या थियो। ओखरतिर लागेपछि घाटा हुने चिन्ता सकिएको छ।”
हाडेबाट तेल
जुम्लाकै पातारासी गाउँपालिकाको उर्थु र तातोपानी गाउँपालिकाको गिडीखोलामा ओखरको तेल पेल्ने मेसिन राखिएका छन्। ती मेसिनबाट हाडे ओखरको तेल निकालिन्छ। सोसाइटीका अध्यक्ष नगरकोटीको भनाइमा यी दुई पालिकाबाटै वार्षिक करिब ४०० लिटर तेल निकाल्ने गरिएको छ।
कर्णालीको हाडे ओखर गुणस्तरीय त छ नै। त्यससँगै महँगो पनि छ। जुम्लामा दाँतेको खुद्रा मूल्य प्रतिकिलो ६ सय र हाडेको १६ सय छ। तेलको खुद्रा मूल्य प्रतिलिटर दुई हजार रुपैयाँ पर्छ।
ओखरको तेल स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। ओमेगा–३, फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरमा खराब कोलेस्ट्रोल (एलडीएल) घटाएर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। छालाका लागि फाइदाजनक ओखर तेल भिटामिन ई र प्रोटिनको पनि राम्रो स्रोत हो। यसमा क्याल्सियम, मिनरल्स, आइरन, फस्फोरस र एन्टिअक्सिडेन्ट पनि प्रचुर मात्रामा पाइन्छ।
किसान स्याउको बजारीकरणमा समस्या भएपछि ओखरमा आकर्षित भएको तातोपानीका गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं बताउँछन्। उनले पनि ८२ बोट रोपेका छन्। गाउँपालिकाले पहिले स्याउलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याउँथ्यो। अहिले ओखर प्राथमिकतामा देखिन्छ।

ओखर किसान अमृत सार्की। तस्बिर- नेपालन्युज।
कालीकोट भर्ताका रंगराज धितालले ओखरमा सम्भावना देखेर व्यावसायिक खेती थालेका छन्। उनको बगैँचामा पाँच वर्षअघि लगाइएका करिब ५० बोट छन्। “हुन त ओखरलाई बाबुले रोपेर छोराले खाने फल भन्छन्। तर, मैले आफ्नै जीवनकालमा फलको स्वाद चाख्ने आस गरेको छु,” धिताल भन्छन्।
ओखरको व्यावसायिक खेती गर्ने किसानले कलमी बिरुवा लगाउने गरेका छन्। यस्तो बिरुवाले राम्रो माटोमा पाँचदेखि आठ वर्ष र जराबाट उम्रेको बिरुवाले सात देखि १० वर्षमा फल दिन थाल्छ। एउटा वयस्क बोटले राम्रो माटो र उपयुक्त मलजल पाए सय वर्षसम्म फल दिन सक्ने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बागवानी अधिकृत मुकुन्द शर्मा बताउँछन्। स्वस्थ बोटमा प्रतिवर्ष १०० देखि २०० किलोसम्म फल लाग्छ।
कर्णाली पहाड ओखर, स्याउजस्ता फलफूलका लागि प्राकृतिक रूपमै उर्वर मानिन्छ। “कहाँ के फल्छ भन्ने पहिचान गरेर प्रदेश सरकारले पनि किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ,” शर्मा भन्छन्।
गाउँमा सडक सञ्जाल पुगेपछि किसानलाई थप सहज भएको छ। गाउँघरमै व्यापारी नपुगे उनीहरूले समूह बनाएर बजारसम्म पुर्याउने गरेका छन्। उनीहरू यसका लागि सहकारी संस्थाको सहयोग लिन्छन्।
किसान गाउँमा व्यापारी नआए आफैँ संकलन गरी समूहमार्फत बजारसम्म पुर्याउन सक्रिय रहेको हिमालयन सहकारी संस्थाका अध्यक्ष मायादत्त आचार्य बताउँछन्। यो संस्था चन्दननाथ नगरपालिकामा छ। “यही गतिमा ओखर खेती विस्तार भयो र व्यवस्थित बजारीकरण हुन सक्यो भने ओखर खेती जुम्लाका किसानको प्रमुख आयस्रोत बन्छ,” उनको आकलन छ।
हुर्काउन सजिलो, मनग्गे पैसा
कर्णालीका किसान ओखरप्रति आकर्षित हुनुका मुख्य तीन कारण देखिन्छन्। पहिलो हो, हावापानी सुहाउँदो र राम्रो उत्पादन हुनु। ओखर महाभारत शृंखलादेखि उच्च पहाडी जिल्लाका एक हजारदेखि दुई हजार ५०० मिटर उचाइसम्म पाइन्छ। यस प्रदेशका जुम्ला, कालीकोट, मुगु, जाजरकोट, डोल्पा, रुकुम पश्चिम उपयुक्त क्षेत्र हुन्। यी जिल्लाका जंगलमा वर्षौंदेखि हाडे प्रजाति फल्ने गरेको पाइन्छ। यही क्षेत्रमा किसानले व्यावसायिक रूपमा दाँते रोप्दा राम्रो उत्पादन भइरहेको हो।
दोस्रो कारण हो, उत्पादनले राम्रो मूल्य र बजार पाउनु। फल त बिक्री हुन्छ नै। यसको बिरुवा र तेलको माग पनि उच्च छ। नर्सरीबाट उत्पादित बिरुवा ८०० देखि एक हजार रुपैयाँसम्म बिक्री हुन्छ। जबकि स्याउको बिरुवा ५० देखि १०० रुपैयाँमा पाइन्छ। ओखर दाना पाँच देखि १० रुपैयाँसम्म बिक्री हुन्छ। चन्दननाथका किसान बुढाको अनुभवमा एक वर्षमा एउटै रूखबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुन्छ।

ओखर किसान अमृत सार्की ओखरका विरुवा गोडमेल गर्दै। तस्बिर- नेपालन्युज।
तेस्रो कारण हो, बिरुवा हुर्काउन सजिलो हुनु। किसानले ओखर खेतीमा स्याउमा जस्तो समस्या झेल्नुनपरेको तातोपानी गाउँपालिकाकी कृषि शाखा प्रमुख दीपा पौडेल बताउँछिन्। विभिन्न किसिमका रोग–किरा लाग्ने जोखिम छैन। असिना–तुसारोले पनि क्षति गर्दैन। सामान्य गोडमेल र मलजल गर्दा बिरुवा हुर्काउन सहज छ। त्यसैले स्याउबाट आजित किसान ओखरमा आकर्षित छन्।
ब्रान्डिङ अबको खाँचो
संघ र प्रदेश सरकारले भने नीति तथा कार्यक्रम र बजेटमा ओखरलाई प्रोत्साहन गरेको देखिंदैन। कर्णाली प्रदेश सरकारले ओखर खेतीको प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न न्यून बजेट मात्र छुट्याउने गरेको छ। ओखरको व्यावसायिक खेतीले छोटो समयमा देखाएको समृद्धिको सम्भावनालाई प्रदेशले पहिचान गर्न सकेन। जस्तो कि आव २०८०/८१ को बजेटमा फलफूल उत्पादन र उत्पादकत्व वृद्धि तथा बजारीकरण गर्न जम्मा नौ करोड ६९ लाख रुपैयाँ विनियोजन गरियो।
तीनै तहका सरकारले ओखर खेतीको प्रचुर सम्भावनालाई पहिचान गर्न नसकेको बुढा बताउँछन्। सरकारले प्राथमिकताका साथ प्रोत्साहनका कार्यक्रम ल्याउन सके जनताको आयस्तरमा टेवा पुग्नुका साथै ओखरमा खेपिरहेको परनिर्भरता पनि घट्ने बुझाइ उनको छ। “सरकारले सहयोग गर्यो भने जुम्लाको ओखर विश्वबजारमा पनि ब्रान्डिङ हुन सक्छ। तर, त्यसको ठोस नीति र योजना चाहिन्छ,” उनी भन्छन्।
लुम्बिनी प्रदेशले भने रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकालाई ओखर खेतीको केन्द्र घोषणा गरेको छ। प्युठानमा तीन हजार बिरुवा रोपिएका छन्। लुम्बिनीका रोल्पा, रुकुम पूर्व र प्युठानमा यो खेतीको सम्भावना छ। नजिकै कर्णालीमा भने उत्साही किसानलाई सरकारले प्रोत्साहन गर्न सकेको छैन ।
सरकारको प्राथमिकतामा नपरेकाले सम्भावना भएर पनि देश ओखरमा आत्मनिर्भर हुन सकेको छैन। भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ मा मात्र एक अर्ब १४ करोड १३ लाख रुपैयाँको ३३ लाख किलो आयात भयो। देशमै पर्याप्त उत्पादन नहुँदा आयातले माग धान्नुपरिरहेछ। नगरकोटी भन्छन्, “सरकारले स्याउ खेतीलाई जति नै महत्त्व दिए केही वर्षभित्रै ओखरमा नेपाल आत्मनिर्भर हुन सक्छ।”