काठमाडौं । भारतसँग एशिया कपमा पराजय भोगेपछि विदेशमा क्रिकेट खेलिरहेका पाकिस्तानी खेलाडीको एनओसी (नो अब्जेक्सन लेटर) रोक्ने निर्णय पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गरेको छ ।
पीसीबीको यो निर्णयसँगै बाबर आजम, शाहिन अफरिदी, मोहम्मद रिजवान र फहिम अशरफ जस्ता खेलाडीले आर्थिक नोक्सानी भोग्नुपर्ने देखिन्छ । यी सबै खेलाडी विदेशी फ्रेञ्चाइज लिगमा जमेका खेलाडी हुन् ।
पीसीबी अधिकारी सुमैर अहमद सैयदले २९ सेप्टेम्बरदेखि लागु हुने गरि यो निर्णय गरिएको बताए । यसपालिको एशिया कपको फाइनलमा भारतले ५ विकेटले पाकिस्तानलाई हराउँदै नवौं पल्ट उपाधि जितेको थियो ।
पाकिस्तानविरूद्ध भारतको यो लगातार तेस्रो जित थियो । पाकिस्तानका खेलाडी मुलत अस्ट्रेलियाका बिग ब्यास लिग र आइएलटी–२० मा अनुबन्धित छन् । पाकिस्तानमा आउदो अक्टोबरदेखि घरेलु क्रिकेट सुरू हुँदैछ ।