काठमाडौं । बेलायती कम्पनी डियाजियो पीएलसीले आइपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) मा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बेच्न लागेको बताइएको छ ।
बेलायती अखबार ब्लुमबर्गको रिपोर्ट अनुसार कम्पनीले दुई अर्ब डलर अर्थात लगभग १७ हजार करोडमा आफ्नो स्वामित्व छोड्न लागेको हो ।
डियाजियोले आफ्नो भारतीय कम्पनी युनाइटेड स्पिरिट्स लिमिटेडमार्फत आरसीबीलाई नियन्त्रण गर्छ । आरसीबी बेच्ने हल्लाले युनाइटेड स्पिरिट्सको शेयर तीन दशमलव तीन प्रतिशतले बढेको पनि समाचारमा उल्लेख छ । तर, भारतीय कम्पनीले आरसीबीको स्वामित्व बेच्ने खबर अस्विकार गर्दै भनेको छ– मिडिया रिपोर्टहरू अनुमानका आधारमा आएका छन् ।
यस विषयमा कुनै कुरा अगाडि बढेको छैन । भारतको स्वास्थ्य मन्त्रालयले क्रिकेटमार्फत सुर्ती र मदिराजन्य प्रचार रोक्न दबाब दिइरहेको बेला यस्तो खबर बाहिर आएको हो । हाल मदिराको विज्ञापनमा प्रतिबन्ध लागे पनि डियाजियो जस्ता कम्पनीले शीर्ष खेलाडीको प्रयोग गरेर सफ्ट ड्रिग्सको विज्ञापन गरिरहेको छ ।
आरसीबी पहिले भारतमा मदिराको राजा भनेर चिनिने विजय माल्याको स्वामित्वमा थियो । उनले २००८ मा १११.६ मिलियन डलरमा आरसीबीको स्वामित्व आफ्नो हातमा पारेका थिए ।
२०१६ मा उनीमाथि वित्तियगमनको मुद्दा परेपछि आरसीबी छोड्नु पर्यो। त्यसयता डियाजियोको कब्जामा यो फ्रेन्चाइज छ । आरसीबीमा पहिलेदेखि स्टार खेलाडी विराट कोहली आवद्ध छन् । १८ वर्षपछि यो क्लबले आइपीएल ट्रफी जितेको थियो । यसको इन्स्टाग्राममा फलोअर दुई करोड २० लाखको वरिपरि छन् ।