काठमाडौं। पाँच वर्षपछि भारत र चीनबीच सिधा उडान सुरू गर्ने कुरामा सहमति जुटेको छ। भारतको विदेश मन्त्रालयले बिहीबार यसको घोषणा गर्दै यही महिनाको अन्त्यदेखि उडान सुचारु हुन लागेको जानकारी दियो।
भारत र चीनबीचकाे सिधा हवाई उडान कोभिड महामारीपछि बन्द भएकाे थियो। सन् २०२० देखि बन्द भएको हवाई सेवा सुचारु हुन लागेको हो। भारत र चीनको तनावपूर्ण सम्बन्धका कारण पनि सिधा हवाई सेवा सुचारु हुन सकेको थिएन। तर पछिल्लो समय दुवै देशको सम्बन्ध सुमधुर हुँदै गइरहेको छ। यसैको एउटा कडीको रूपमा दुवै देश पुनः हवाई सेवा सुचारु गर्ने विषयमा सहमत भएका हुन्।
इन्डिगोले २६ अक्टोबरदेखि कोलकाता–ग्वान्झाउसम्म दैनिक उडान गर्न लागेको जानकारी पनि दिइएको छ । यो कम्पनीले दिल्ली र ग्वान्झाउबीचको यात्राका लागि पनि प्रयास जारी राखेको बताइएको छ। चीनसँगको व्यापारलाई नयाँ आयाम दिन र दुई देशको पर्यटन प्रवर्द्धन गर्न हवाई यात्राले महत्वपूर्ण योगदान गर्ने बताइएको छ।
त्यसबाहेक, एअर इन्डियाले पनि दिल्लीबाट सांघाइकाे लागि सिधा उडान सुरु गर्ने आन्तरिक तयारी थालेको छ।