नियात्रा
ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर लोमान्थाङ राजदरबार। कुनै समय निकै शक्तिशाली आस्थाको केन्द्र रहेको यो स्थल अहिले कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ।
३० वैशाख २०८२। हिमालपारिको शक्तिको एक परम्परागत सत्ता अर्थात् विगतको शक्तिशाली राज्य लोमान्थाङ आइपुग्दा साँझको करिब साढे ५ बजेको थियो। जीवनमा आजको दिन सार्थक बनेको अनुभूति सँगाल्न पाउने अनुभव कम महत्त्वपूर्ण थिएन।
ओहो! केटाकेटी उमेरदेखि नै नाम सुनेको ठाउँ लोमान्थाङ! माटाको भव्य पर्खालभित्र माटाकै घर अनि माटाकै सभ्य दरबार। लोमान्थाङ सभ्यतासँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर चानचुने थिएन।
हिमाली भूगोलका बीचमा एक सानो बस्ती। बस्तीको छेउमा सानो खोला। निश्चय पनि त्यसबेला यो सानो खोलाले बस्तीलाई सुरक्षित बनाउन सघाउने गरेको थियो होला। सानो बजार। बजारका सामग्रीका मूल क्रेता स्थानीयभन्दा पर्यटक हुन् भन्दा असंगत ठहर्दैन।
खोलापारि थुम्काथुम्की आकारका साना साना नांगा पहाड। पहाडमा न हरियाली न हिउँ। पछि थाहा भयो, मूल लोमान्थाङ अहिले हामीले देखेको बस्ती र बजार होइन रहेछ। मूल लोमान्थाङ त माटा र ढुंगाको बडेमानको पर्खालभित्र पो रहेछ। अहिले यो पर्खाललाई रातो र सेतो रङले रंग्याइएको छ। बाहिरबाट हेर्दा राम्रै देखिँदो रहेछ। अबको जिज्ञासा र उत्कण्ठा पर्खालभित्र प्रवेशको थियो। सँगै रहेका विरही दाइ र अग्रज तारानाथ दाहाल अनि म त्यसैको व्यग्र प्रतीक्षामा थियौँ।
जोमसोमबाट यहाँसम्म आउँदाको निष्कर्ष थियो– जलवायु परिवर्तनले सबैभन्दा बढी असर उच्च हिमाली क्षेत्रमा पारेको रहेछ। समग्रमा भन्ने हो भने, जलवायु परिवर्तनले वातावरणीय असर मात्र पारेको छैन, मानवीय संकट पनि पैदा गरेको छ। युगौँदेखिको परम्परा र संस्कृति लोपोन्मुख भइरहेको छ। सायद रैथाने कृषि प्रणाली तथा प्रविधि र खानाका परम्परागत परिकार पनि लोप हुँदै गएका छन्।
खलबलिएको जलजीवन
मानवीय सम्बन्ध, सामाजिक अन्तरसम्बन्ध तथा भौगोलिक सम्पन्नता पनि जलवायु परिवर्तनले प्रभावित बनाएको छ। मानव र वन्यजन्तुबीचको सम्बन्ध पनि खलबलिएको छ, र जलवायु परिवर्तनले परम्परा र आधुनिकताबीचको नवीन संघर्ष जन्माएको छ। लोमान्थाङ र समग्रमा मुस्ताङ यसको अपवाद छैन।
नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको एक सहभागीका रूपमा यहाँसम्मको यात्रा गर्दा जलवायु परिवर्तनका सम्बन्धमा मेरो बुझाइ निकै फराकिलो भएको मैले पाएको थिएँ। हो नि, किताब अध्ययन गर्नु र भोगेर अध्ययन गर्नुमा बुझाइको निकै अन्तर हुने गर्दछ। त्यति मात्र होइन, अध्ययन गरेर अवस्थाको मूल्यांकन गर्नु र त्यसअनुरूप कार्यान्वयनको रणनीति तय गर्नु फेरि अलग पक्ष हो।
यसलाई संयोग नै मान्नुपर्छ, करिब चार महिनाअघि प्रेस युनियनले लोमान्थाङमा जारी गरेको २० बुँदे घोषणापत्रमा उल्लिखित विषय आज यो सामग्री तयार गर्ने बेलामा अत्यन्तै सान्दर्भिक बन्न पुगेको छ। घोषणापत्रमा वातावरणीय विषयका साथै एउटा बुँदामा उल्लेख थियो– राजनीतिक नेतृत्वप्रति निराशा र आक्रोश तथा राजनीतिक प्रणालीप्रति बढ्दो उपेक्षाका कारण लोकतन्त्रलाई जनउत्तरदायी र परिणाममुखी बनाउन सुधार आवश्यक छ। ३० वैशाखमा जारी घोषणापत्रको उक्त बुँदालाई सायद समय छँदै सम्बोधनको प्रयत्न गरिएको भए जेन–जी आन्दोलनपछि शासनको अदूरदर्शिताका कारण देशले २३ र २४ भदौमा ७४ जनाको भौतिक अवसान र थप जनधनको जुन क्षति बेहोर्न बाध्य हुनुपर्यो, त्यसलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्थ्यो कि? दुर्भाग्य, राज्यले यस विषयलाई कहिल्यै गम्भीरतापूर्वक लिन तयार नहुँदा एक भयानक त्रासदीको ऐतिहासिक साक्षी बन्न हामी बाध्य भयौँ।

घोषणापत्र जारी हुनुअघि र पछि हामीले लोमान्थाङ दरबार क्षेत्र भित्र र बाहिरको अवलोकन भ्रमण गरेका थियौँ। त्यो रात हाम्रो बास होटल मिस्टिकमा थियो। होटलमा बास बस्न आउँदा करिब साढे ७ बजिसकेको थियो। चिया–कफी ग्रहणपश्चात् केही समय त्यहीँ बिताएर हामी गाउँपालिका प्रमुख टासी नोर्बु गुरुङ, स्थानीय बुद्धिजीवी कर्मा बांगेल, होटल सञ्चालक रामबहादुर र कर्चुङं ल्हामो गुरुङसँग केही बेर लोमान्थाङको इतिहास र सभ्यता तथा जलवायु परिवर्तनको प्रभावबारे गफिएका थियौँ।
माटाले बनेको दरबार भएकाले कसैले यसलाई माटाको सहर पनि भन्छन्। ऐतिहासिक र पुरातात्त्विक महत्त्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारको पर्खाइमा छ, तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ।
जलवायुसम्बन्धी विषयको सन्दर्भमा कुरा चल्दै गर्दा केही समयअघि मैले सञ्चारकर्मी लोकराज अवस्थीमार्फत जानकारी प्राप्त गरेको म्यान्ग्रोव फाउन्डेसनको अध्ययन सम्झेँ। अध्ययनअनुसार उच्च पहाडी भेगमा पछिल्ला केही दशकमा नाटकीय परिवर्तन आएका छन्। पहिले वर्षभरि हिउँले ढाकेका पहाडहरू अहिले खाली र सुक्खा हुँदै गएका छन्। अध्ययनमा हिमाली क्षेत्रमा हिमनदी, बरफ र हिउँले ढाकिएको क्षेत्र विश्वको औसतभन्दा धेरै छिटो घटिरहेको जनाइएको छ। हिमाली क्षेत्र, अरू क्षेत्रभन्दा दुई गुणा छिटो तात्दै गएको र विश्व तापमानले हिउँ र बरफको मात्रामा गम्भीर प्रभाव पारेको अध्ययनमा उल्लेख छ। यसले हिमाली क्षेत्रमा मानवीय संकट पैदा गरेको तथा यो अवस्था मानव जाति र प्रकृति दुवैका लागि समस्या बन्न पुगेको उल्लेख छ। अध्ययनका आधारमा विश्लेषण गर्ने हो भने, लोमान्थाङ अनि मुस्ताङ पनि जलवायु परिवर्तनको असरबाट प्रत्यक्ष प्रभावित भइरहेको मान्न सकिन्छ।
होटल मिस्टिकमा आगो ताप्दै गफ गर्दैगर्दा रोमाञ्चको पारो पनि बढिरहेको थियो। हामी जानकारी प्राप्त गरिरहेका थियौँ– पानी नपर्ने तर हिउँ पर्ने भनेर चिनिएको हिमालपारिको जिल्ला मुस्ताङमा नियमित हिउँ पर्न छोडेको वर्षौं भयो। हिउँमै जन्मीहुर्की खेलेका मुस्ताङीलाई हिउँ नै बिरानो बन्न थालेको छ। कहिलेकाहीँ देखिने हिउँले जिस्क्याइरहेको आभास हुन्छ उनीहरूलाई। उनीहरूको मनमा अनेकन् प्रश्न छन्– किन अचेल उहिलेको जस्तो हिउँ पर्दैन? किन पहिलेको जस्तो खेतीपाती हुँदैन? किन अहिले हावामा पहिलाको जस्तो चिसोपन छैन? पछिल्ला दिनमा यहाँको भूमि किन तातो हुँदै छ?
स्थानीय जनता आफ्नै आँखाअगाडि हिमाल नांगा डाँडामा परिणत भएको देखिरहेका छन्। कृषि उत्पादन भूमि सुक्खा बगरमा परिणत भएको/भइरहेको छ। वरिपरिका डाँडामा बेमौसममा पहिरो गएको आफ्नै आँखासामु देखेका छन्। यति मात्र होइन, गाउँको पानीको मूलमा पानी आउन छोडेको छ। हिमालबाट आउने पानीका मुहान पनि सुक्दै छन्। लोमान्थाङलगायत मुस्ताङबासीले यस्तै परिवर्तन भोग्दै/देख्दै आएका छन्। सायद यो सबैको कारण जलवायु परिवर्तन नै हो।
सुत्न कोठामा जाँदा करिब १० बजिसकेको थियो। खाना खानुअघि केही साथीले जाडो भगाउन अलिकति झोल चाख्ने कि भन्ने प्रस्ताव राखेका थिए, तर होटल सञ्चालिका कर्चुङले चेतावनीको भाषामा भनेकी थिइन्– विचार गर्नुहोला है, यो लेक लाग्ने ठाउँ(समुद्री सतहदेखि तीन हजार ८५० मिटर) हो। तपाईंहरू यहाँ नयाँ हुनुहुन्छ, अप्ठ्यारो होला है। उनको चेतावनीयुक्त सल्लाहपछि कसैले झोल चाख्ने आँट गरेनन्। बरु, भोलि बिहानै कोरला जाने थाहा पाएर उनले हामी सबैलाई लसुन दिएकी थिइन्। उनले भनेको म अहिले पनि सम्झन्छु– यसले लेक लाग्नबाट बचाउँछ।
बिहानै उठेर म र विरही दाइ होटलबाहिर निस्केर लोमान्थाङ बस्ती एकपटक चक्कर लगायौँ र दरबार क्षेत्रको पुनः अवलोकनको प्रयास गर्यौँ।
पहिले संरक्षण
ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार। मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो। त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ।

६०० वर्षअघि सैनिकहरूले पहरा दिइरहने दरबारको रक्षा यतिबेला एउटा घरपालुवा कुकुरले गरिरहेझैँ देखिन्छ। १५औँ शताब्दीमा माटो, ढुंगा र दाउराले बनेको यो दरबार टास्सी ध्याफेल दरबारका नामले चर्चित छ। जसको अर्थ भाग्यमानी दरबार भन्ने हुन्छ।
बुद्धिजीवी वांगेलका अनुसार यहाँका पहिलो राजा आमेपालले बाहिरी आक्रमणबाट बच्न नौ मिटर अग्लो र ५६३ मिटर लामो पर्खाल निर्माण गरेका थिए। यही बन्द पर्खालभित्र जनताका घर, गुम्बा र बीच भागमा काँचो माटोले बनेको भव्य दरबार अझै देख्न सकिन्छ। पर्खालभित्र १६० वटा घरसम्म थिए भन्ने गरिएको छ। त्यतिबेला राज्य सञ्चालनका लागि दरबारनजिकै मन्त्रालयहरू हुन्थे। आआफ्नो जिम्मेवारी बाँडफाँट गरिन्थ्यो।
अहिले पनि ती मन्त्रालयका भवन दरबार क्षेत्रमा देख्न सकिन्छ। तत्कालीन समयमा पर्खालभित्र मात्रै घर निर्माण गर्ने चलन थियो। मुलुकमा गणतन्त्र आइसकेपछि पर्खालबाहिर पनि बस्ती विस्तार भइरहेको छ। बस्ती दरबारबाट टाढिँदै गर्दा दरबारको रेखदेखमा पनि कमी आएको छ। यसले दरबार एक्लिँदै गएको भान हुन्छ।
माटाले बनेको दरबार भएकाले कसैले यसलाई माटाको सहर पनि भन्छन्। ऐतिहासिक र पुरातात्त्विक महत्त्वको यो दरबार हाल संरक्षण, संवर्द्धन र प्रचारको पर्खाइमा छ, तर दरबार संरक्षणका लागि राज्यस्तरबाट कुनै सहयोग प्राप्त नभएको स्थानीयको गुनासो छ।
भूकम्पपछि बाहिरी मानिसलाई दरबारभित्र प्रवेश निषेध गरिएकाले भित्रको अवस्था कस्तो छ भनेर धेरैलाई थाहा हुन सकेको छैन। यहाँका अन्तिम राजा जिग्मे दोर्जे पलबर विष्टलाई स्थानीयले अहिले पनि निकै श्रद्धापूर्वक सम्मान गर्दै आएका छन्। ‘लोमान्थाङ दरबार यहाँको इतिहाससँग जोडिएको छ। यो ऐतिहासिक र पुरातात्त्विक महत्त्वको दरबारको संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकियो भने यहाँको जीवनस्तर उकास्न सकिन्छ भन्ने लाग्छ। यहाँको आर्थिक गतिविधि बढाउन पर्यटक ल्याउनुको विकल्प छैन,’ गाउँपालिका अध्यक्ष गुरुङले भने।
पर्यटकको पर्खाइ
धेरै पछिसम्म लोमान्थाङ स्वतन्त्र राज्यका रूपमा चिनिन्थ्यो, तर जब ‘साल्ट ट्रेड रुट’ बन्द भयो र तिब्बतमा सांस्कृतिक आन्दोलन सुरु भयो, त्यसपछि व्यापार सुक्दै गयो। त्यसको असरले यहाँको आर्थिक अवस्था कमजोर भयो। जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरे, यहाँका राजाले दूत पठाएर एकीकरणमा ऐक्यबद्धता जनाएपछि यो नेपालमा गाभिएको इतिहास छ।
पाँचवटा वडा रहेको लोमान्थाङमा करिब दुई हजार जनसङ्ख्या छ। बस्ती प्राकृतिक सुन्दरताले जति आकर्षक छ, सांस्कृतिक सम्पदाले त्यत्ति नै भरिपूर्ण छ। यहाँका दरबार, गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङको पहिचान हुन्।
यहाँ दुई हजार वर्षभन्दा पहिले माटोको पहाड खोपेर बनाइएको ‘सिजा झोङ’ छ। गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार गुफाभित्र साना र ठूला गरी कम्तीमा ६० वटा कोठा छन्। ‘यहाँ आउने जोकोही पर्यटक पनि एकपटक गुफा नहेरी फर्कंदैनन्,’ उनले भने, ‘ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै सम्भावना भएको लोमान्थाङले यसबाट लाभ भने लिन सकेको छैन।’
लोमान्थाङ हजारौँ वर्ष पुरानो तिब्बती र बौद्ध संस्कृतिको केन्द्र हो। यहाँका गुम्बा, महलहरू र पुराना चित्रकलामा त्यो इतिहास देख्न पाइन्छ। यहाँ रहेको राजमहल र झम्पा, थुब्चेन, छोदे र छोपलाका गुम्बा धार्मिक तथा कलात्मक दृष्टिले विशेष छन्।

भौगोलिक रूपमा लोमान्थाङ सुक्खा भूभाग भएको ठाउँ हो। लोमान्थाङमा राजसी गुम्बा, हजारौँ वर्ष पुराना भित्तेचित्र, मूर्तिकला र बौद्ध ग्रन्थहरू पाइन्छन्। यहाँ आउने पर्यटकका लागि ‘लो राज्य’ छँदाका राजाहरूको ऐतिहासिक दरबार आकर्षणको केन्द्र बन्दै गएको छ। यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको केन्द्र बन्न सक्थ्यो। त्यसबाट स्थानीयले मात्र नभई राज्यले नै लाभ लिने भएकाले उचित ध्यान दिनुपर्ने धेरैको माग छ।
पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका कारण अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको उनीहरूको गुनासो छ। नजिकैका मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ मन्दिर दर्शनका लागि वार्षिक हजारौँ विदेशी पर्यटक आउँदा पनि जोमसोमबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको लोमान्थाङमा भने मुस्किलले विदेशी पर्यटक आउँछन्।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार विदेशी पर्यटक प्रवेशका लागि कडाइ गरिँदा यहाँको पर्यटनको अपेक्षाकृत विकास हुन नसकेको हो। ‘लोमान्थाङ र लो–धेकर दामोदरकुण्ड गाउँपालिकामा आउन विदेशी पर्यटकले १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ, यो व्यवस्थाका कारण हामीले चाहेजति विदेशी पर्यटक ल्याउन सकेका छैनौँ,’ गुरुङले भने।
अन्नपूर्ण र धौलागिरि हिमशृंखलाको बीचमा रहेको यो क्षेत्र अर्थात् लोमान्थाङ १४औँ शताब्दीमा लो राज्यको राजधानीका रूपमा स्थापना भएको इतिहास छ। लोमान्थाङ १५औँदेखि २०औँ शताब्दीसम्म भारत–नेपाल–तिब्बतबीचको व्यापारिक मार्ग थियो। तर अहिले यो नाका ठप्पप्रायः छ। स्थानीयले समेत व्यापार गर्न नपाउँदा समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ। अध्यक्ष गुरुङका अनुसार लोमान्थाङमा बिरामीको उद्धारका लागि पनि समस्या छ। यहाँ हेलिकप्टर उडानका लागि गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने अवस्था छ। कहिलेकाहीँ अनुमति लिँदा हुने ढिलाइका कारण बिरामीको ज्यानै जानेलगायत समस्या छ।
हामी चिया खान पुनः होटल फर्केका थियौँ। एकछिनको बसाइपछि त्यहाँबाट अगाडि बढ्यौँ। अबको गन्तव्य कोरला थियो।