काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। २०२६ को फिफा विश्वकप सुरु हुन अब एक वर्षभन्दा कम समय बाँकी छ। फुटबल प्रतियोगिताको यो महाकुम्भ नजिकिँदै जाँदा फिफाले प्रतियोगिताको आधिकारिक बल सार्वजनिक गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिन ब्रिज पार्कमा आयोजित भव्य कार्यक्रममा नयाँ बलको अनावरण गरिएको हो। सो अवसरमा जर्मनीका युर्गेन क्लिन्समान, ब्राजिलका काफु, इटलीका आलेसान्द्रो डेल पिएरो, स्पेनका जाभी हर्नान्डेज र फ्रान्सका जिनेदिन जिदानजस्ता पाँच विश्वकप विजेता स्टारहरू उपस्थित थिए।

यसपटकको बलको नाम राखिएको छ ‘ट्रायोन्डा’। यो बल विश्वविख्यात खेल सामग्री निर्माता एडिडासले तयार पारेको हो। एडिडासले लगातार १५औँ पटक विश्वकपमा आफ्नो बल खेलाउने भएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, “ट्रायोन्डा प्रस्तुत गर्न पाउँदा म खुशी र गर्वित छु। एडिडासले फेरि एकपटक विश्वकपका लागि ऐतिहासिक बल तयार पारेको छ, जसको डिजाइनमा क्यानडा, मेक्सिको र अमेरिकाको एकता र उत्साह झल्काइएको छ।”

‘ट्रायोन्डा’ नाम दुई शब्दबाट बनेको हो–‘ट्राय’ अर्थात् तीन र ‘ओन्डा’ जसको अर्थ छाल वा लहर। बलमा रातो, हरियो र नीलो रंगका तीन लहरमार्फत आयोजक तीन देशलाई प्रतिनिधित्व गरिएको छ। २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।

बलको डिजाइनमा तीनै देशका राष्ट्रिय प्रतीकहरू पनि राखिएका छन्। अमेरिकाको तारा, क्यानडाको म्यापल पात र मेक्सिकोको गरुड। यी प्रतीकहरूलाई ग्राफिक्स र खाँदिएको शैलीमा राखिएको छ। साथै बलमा सुनौलो रङ पनि मिसाइएको छ, जसले विश्वकप ट्रफीप्रति सम्मान प्रकट गर्ने र यसलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चका लागि बनेको विशेष बल सम्झाउने काम गरेको छ।

ट्रायोन्डामा नयाँ चार प्यानलको संरचना बनाइएको छ। यसले अझ स्थिर र टिकाउ बनाएको छ। बाक्ला टाँका र सटीक रेखाहरूले हावामा बलको गति स्थिर राख्नेछन्। भिजेको अवस्थामा पनि बलमा राम्रो ग्रिप रहने बताइएको छ।

सबैभन्दा ठूलो विशेषता भनेको एडिडासको ‘कनेक्टेड बल टेक्नोलोजी’ हो। बलको भित्रपट्टि राखिएको ५०० हर्ज सेन्सरले भिएआर प्रणालीलाई रियल टाइम सूचना दिनेछ। खेलाडीहरूको पोजिसनको डेटा र एआईको सहयोगमा यसले अफसाइड वा ह्यान्डबलजस्ता निर्णय लिन छिटो र सजिलै बनाउन सहयोग गर्ने बताइएको छ ।

एडिडासका महाप्रबन्धक स्याम ह्यान्डीले भने, “सानो–सानो कुराले पनि ठूलो प्रभाव पार्छ। खाँदिएको डिजाइन, तहगत ग्राफिक्स र चम्किला रंगहरूले यो बललाई अरू सबैभन्दा फरक बनाएका छन्। यही अहिलेसम्म हामीले तयार पारेको सबैभन्दा सुन्दर र आकर्षक फिफा विश्वकप बल हो।”