काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

सुटिङकै क्रममा एकदिन चिसो ह्वात्तै बढ्यो। होटलमा अहिलेजस्तो एसी थिएन। मकलमा कोइला बालेर कोठा कोठामा राखिएको थियो। अमिताभलाई दमको समस्या, कोइलाको धुवाँले राति नै इन्तु न चिन्तु

१८ आश्विन २०८२
अ+
अ-

३४ वर्षअघिको कुरा। त्यसबेला म मुस्ताङमा होटल व्यवसाय गरेर बसेको थिएँ। एकदिन तत्कालीन शाही नेपाल वायुसेवा निगमका क्याप्टेन सुधीर राई आइपुग्नुभयो र भन्नुभयो, ‘भाइ, एउटा हिन्दी फिल्मको सुटिङ गर्नु छ। सकिन्छ?’

घरमा आउन लागेको त्यत्रो ठूलो व्यापार! मैले नाइँ भन्ने कुरै भएन। सक्छु भनेँ। त्यतिबेला यस क्षेत्रको विकासमा अहोरात्र खटिएको थिएँ। सबैको साथ थियो, मलाई। मेरो सकारात्मक उत्तर सुनेर उहाँले फिल्म बनाउने युनिटका सदस्यलाई भन्नुभएछ– मजाले सकिन्छ।

वास्तविकता के रहेछ भने, भारतीय निर्देशक मुकुल आनन्दले अमिताभ बच्चन र श्रीदेवीको मुख्य भूमिकामा पाँच करोड ७० लाख भारु लगानीमा फिल्म निर्माण गर्ने भएछन्– खुदा गवाह। फिल्मको छायांकनका लागि अफगानिस्तान छानिएछ। त्यतिबेला अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजिबुल्लाह अमिताभका ‘डाइहार्ट फ्यान’ रहेछन्। उनैले उत्तरपूर्वी अफगानिस्तानको कायान उपत्यकामा छायांकनको व्यवस्था मिलाएछन्। अफगान वायुसेनाले १८ दिन सुरक्षा दिए पनि सुरक्षाकै कारण फिल्मको छायांकन बीचैमा रोकिएछ।

विष्णुराज हिराचन (बायाँ) र सुटिङ युनिट।

क्याप्टेन सुधीरका मिल्ने साथी डेनी डेन्जोङ्पा, अफगानिस्तानमा छायांकन रोकिएपछि डेनीले नै सोधेछन्, ‘अफगानिस्तानजस्तो भूगोल मिल्ने नेपालमा कुनै ठाउँ छैन र? नत्र त्यही सुटिङ गर्न पाए गज्जब हुन्थ्यो?’

नेपाली चलचित्र साइनो बनाउने क्रममा सुधीर र डेनीको मित्रता प्रगाढ बनेको रहेछ। उनीहरूबीच कुराकानी भइरहँदो रहेछ। मेरो उत्तर सुधीरमार्फत डेनी हुँदै मुकुलकहाँ पुगेछ।

एकदिन मुकुल आनन्द हतारिँदै मुस्ताङ आइपुगे। उनीसँग फिल्मका निर्माता मनोज देसाई र नाजिर अहमद पनि थिए। केही दिन यहाँको लोकेसन अध्ययन गरे। फर्किने बेला मुकुलले प्रस्ताव गरे– अरू कुरा ठीकै छ। होटलको हकमा पाँच वटा कोठामा एट्याच बाथरुम अनिवार्य हुनुपर्छ। कोठाको इन्टेरियरमा पनि केही सुधार गर्नुपर्छ।

त्योबेला मेरो होटलमा दुई वटा कोठामा मात्र एट्याच बाथरुम थियो। मुकुलको भनाइअनुसार अमिताभ, डेनी, श्रीदेवी, दक्षिण भारतका सुपरस्टार नागार्जुन र शिल्पा शिरोडकर सुत्ने कोठा अनिवार्य एट्याच हुनु आवश्यक छ।

त्यसपछि हामीबीच सम्झौता भयो– छायांकनमा संलग्न युनिटका सदस्यलाई प्रत्येक दिन एक जनाको चार सय रुपैयाँको दरले र स्टार तथा भीआईपीहरूका लागि एक हजार रुपैयाँको दरले खाना खुवाउनुपर्ने।

मुकुल फर्किएको तीन महिनाभित्र मैले पाँच वटा कोठाको इन्टेरियर ‘अपग्रेड’ गर्नेदेखि पोखराबाट सामान झिकाएर कमोड भएको बाथरुम तयार पारेँ।

५ अक्टोबर १९९१ मा फिल्मको पहिलो युनिट मुस्ताङको जोमसोम विमानस्थल अवतरण गर्‍यो। उनीहरू मुम्बईबाट दिल्ली हुँदै काठमाडौँ अवतरण गरेर सोझै मुस्ताङ आइपुगेका थिए। पछि अरू पनि आइपुगे, जम्मा ९२ जना थिए। सुटिङका लागि उतैबाट क्यामेरा र नाग्रा साउन्ड सिस्टम ल्याइएको थियो।

अमिताभ र श्रीदेवीजस्ता स्टार कलाकार हेर्न पहिलो दिन जोमसोम विमानस्थलमा स्थानीयवासीको भिड लागेको थियो। तर, त्यस दिनबाहेक स्थानीयहरूले खासै चासो राखेनन्। अमिताभ भन्ने गर्थे, ‘मलाई यहाँको सबैभन्दा मन परेको कुरा नै स्थानीयको व्यवहार हो। उता (भारत) भएको भए यसरी खुला कसरी सुटिङ गर्न सकिन्थ्यो?’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटिङका क्रममा कलाकारहरू नागार्जुन र श्रीदेवी।

सुटिङका लागि भारतको राजस्थानबाट दुईवटा घोडा झिकाइएको थियो। घोडा ‘क्लाइमेक्स’ का लागि रहेछ। तर, पुनहिलको घोडेपानी आएपछि ती घोडा उकालो चढ्न सकेनन्। घोडालाई जोमसोमसम्म ल्याउन धेरै मान्छे प्रयोग गरियो। अतिरिक्त खर्च पनि भयो। तर पनि घोडा आइपुगेन। फिल्मका द्वन्द्व निर्देशक टिनु बर्मा रिसले आगो भए। उनले घोडा ल्याउने जिम्मा लिएको युनिटका सदस्यलाई मारसँग हपारे। त्यसपछि मैले आफ्नै तीन वटा घोडा उपलब्ध गराएँ। सुटिङमा जम्मा ८२ वटा घोडाको प्रयोग भएको थियो। यी सबैको व्यवस्थापन मैले नै गरेको थिएँ। घोडाका लागि उनीहरूले थप पाँच सय रुपैयाँ खर्चिए।

नेपालका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि १० फाइटरसहित मुस्ताङ आएका थिए। सुटिङ अवधिमा घोडाबाट लडेर एक जनाको हात नै भाँचिएको थियो।

करिब एक महिना लामो सुटिङका क्रममा केही अविस्मरणीय घटना भए। फिल्मकै लागि भनेर मुस्ताङमा पहिलोपल्ट पोखराबाट मिनरल वाटर भित्रियो। यस्तै, फ्रिज पनि पहिलोपल्ट मुस्ताङ ल्याउने काम भयो।

अमिताभ बच्चनलाई खाना तयार पार्न मैले पोखराको फिस्टेल होटलका कुकलाई बोलाएको थिए। श्रीदेवी भने साउथ इन्डियन खाना खाँदी रहिछन्। उनले मुम्बईबाटै कुक लिएर आएकी थिइन्। मैले पहिलोपल्ट आफैँ ‘साइड चेन्ज’ हुने सीडी प्लेयर पनि देखेँ।

मुस्ताङमा भर्खरै बिजुली पुगेको थियो। मैले सोलारको सानो प्यानल पनि हालेको थिएँ। त्यसैले बत्तीको त्यति असुविधा भएन। एन्टेना लगाएर भारतीय च्यानल दुरदर्शन हेरिन्थ्यो। उनीहरू पनि खुबै हेर्थे।

शिल्पा शिरोडकरसँगै उनकी आमा पनि आएकी थिइन्। मुकुलका भाइ राहुल पनि आएका थिए। अमिताभका लागि तीन वटा कोठा उपलब्ध गराइएको थियो। जसमध्ये एउटामा उनी र बाँकी दुई वटामा मेकअपम्यान दीपक र म्यानेजर प्रवीण जैन बस्थे।

११ अक्टोबर अमिताभको जन्मदिन रहेछ। उनी ५१ वर्ष लाग्दै थिए। त्यसको एकदिनअघि उनकी श्रीमती जया बच्चन र अमर सिंह (उत्तर प्रदेशका समाजवादी पार्टीका नेता) मुस्ताङ आइपुगे। उनीहरूले मुम्बईबाटै ‘बर्थडे–केक’ ल्याएका रहेछन्। राति धुमधामका साथ जन्मदिन मनाइयो। दुई–तीन दिन यहाँ बसेर उनीहरू फर्किए।

कलाकारहरू दिनभरि सुटिङमा व्यस्त हुन्थे। राति भएपछि हल्का पिउनुपर्ने। मुम्बईबाटै बकार्डी रम र ह्विस्की ल्याएका रहेछन्। खुब रमाइलो गर्थे। एकदिन डेनीले अमिताभसँगै बसेर ह्विस्की पिउने प्रस्ताव गरे। नाइँ कसरी भन्ने? खुब रमाइलो भयो।

मुस्ताङमा गीतको छायाङ्कन गर्दै अमिताभ र श्रीदेवी।

अमिताभसँग डेनीको ‘ट्युनिङ’ गजबको थियो। बिहान एक घण्टा दुवै टेबल टेनिस खेल्थे। मैले नै व्यवस्था मिलाएको थिएँ। डेनी निकै राम्रो खेल्थे, अमिताभ चाहिँ ठीकै।

एकदिन म काउन्टरमा बसिरहेको थिएँ। डेनीले सोधे– ठर्रा छैन, दाइ? उनलाई लोकल चाख्न मन लागेको रहेछ। मैले गाउँबाट झिकाइदिएँ। भोलिपल्ट भन्दै थिएँ, ‘मीठो रहेछ।’

उनी वेलावेला सोध्ने गर्थे, “कसैले तपाईंको पैसा नदिएको त छैन?” उनको भनाइको आशय थियो, युनिट दलका कसैले उधारो राखेका त छैनन्।

सुटिङकै क्रममा एकदिन चिसो ह्वात्तै बढ्यो। होटलमा अहिलेजस्तो एसी थिएन। काम गर्ने केटाले मकलमा कोइला बालेर कोठा कोठामा राखिदिएको रहेछ। अमिताभलाई दमको समस्या, कोइलाको धुवाँले राति नै इन्तु न चिन्तु भएछन्। आपत् परिहाल्यो नि!

त्यतिबेला जोमसोममा एक जना डाक्टर थिए। उनी आफूलाई भेट्नेजति सबैलाई ‘जय नेपाल’ भन्थे। त्यसैले उनको नामकरण भइसकेको थियो, ‘जय नेपाल’ डाक्टर। उनलाई रातारात उठाएर होटल ल्यायौँ। उनकै निर्देशनमा नेपाली सेनाका गुल्मपति मेजर ताजमानसिंह बस्नेतले ब्यारेकबाट अक्सिजन सिलिन्डरको व्यवस्था गरिदिए। यसपछि अमिताभको जीवन बँच्यो। यो घटनाको तीन दिनसम्म उनी सुटिङमा गएनन्।

जोमसोमबाट मुक्तिनाथतर्फ सुटिङ गर्न जाने क्रममा पनि अमिताभलाई धेरै गाह्रो परेको थियो। फिल्मको पूरै सुटिङ सकेर काठमाडौँतर्फ फर्किने अघिल्लो रात अमिताभले मलाई कोठामा बोलाए र भने, “मुक्तिनाथ जाने ठाउँमा पैदलयात्रुका लागि कतै बस्ने ठाउँ देखिनँ। कृपया, त्यहाँ बस्ने ठाउँको व्यवस्था गरिदिनू।”

यति भन्दै उनले मलाई १० हजार रुपैयाँ थमाए। सुटिङ सकेर सबैभन्दा पहिले श्रीदेवी र डेनीले मुस्ताङ छोडेका थिए। उनीहरूको अर्को फिल्म लम्हेको सुटिङ पोखरामा रहेछ। अमिताभ भने थप केही दिन बसे।

अमिताभले दिएको पैसाको विषयमा मैले तत्कालीन सीडीओलाई जानकारी गराएँ। अमिताभ फर्किसकेपछि हामीले पोखरा गएर बस्ने सिट बनायौँ। अमिताभ बच्चनद्वारा समर्पित भनेर लेख्न लगायौँ। बिसौनीको तस्बिर, सीडीओको हस्ताक्षरित पत्र अमिताभका म्यानेजर जैनमार्फत मुम्बई पठायौँ।

कलाकार डेनी र श्रीदेवी।

भारतीय फिल्मका महानायक अमिताभ बच्चनले बनाएको त्यो बिसौनी अहिले हटाएछन्, दुःख लाग्यो। यसको त हामीले विश्वभर प्रचारप्रसार गर्नुपर्थ्यो। भारतीय पर्यटकका लागि यो ठूलो महत्त्वको हुन सक्छ।

खुदा गवाहको सुटिङमा अमिताभसँग जोडिएको अर्को पनि रोचक कुरा छ। होटलको खाटबाट खुट्टा बाहिर निस्किन्थ्यो। खुट्टा नलत्रियोस् भनेर ‘एल’ आकारमा दुई वटा खाट नै जोड्नुपरेको थियो।

करिब एक महिना मुस्ताङ बस्दा हाम्रो आतिथ्य देखेर अमिताभ निकै खुसी भए। उनले होटलबारे राम्रो प्रतिक्रिया दिए। जसले मेरो होटललाई थप प्रसिद्धि दिलायो। अहिले मुस्ताङ आउने भारतीय पर्यटकहरू अमिताभ बच्चन सुतेको कोठामा सुत्न तँछाडमछाड गर्छन्। त्यसैले हामीले उनी सुतेको कोठाको मूल्य अरूभन्दा केही बढी राखेका छौँ।

(विष्णुराज हिराचनसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)