टिपोट
घाइते र परिवारजनसँगको कुराकानी सूचनाको संकलनभन्दा धेरै मानवीय बन्यो
२३ भदौको जेन–जी प्रदर्शन। संघीय संसद् भवनअगाडिको दृश्य मेरो मानसपटलमा अहिले पनि त्रासदी बनेर छापिएको छ। सरकारले सामाजिक सञ्जाल बन्द गर्दा बढेको असन्तुष्टिको पृष्ठभूमिमा भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै नवयुवाहरूले गरेको प्रदर्शनको सुरुआत शान्तिपूर्ण थियो। माइतीघर मण्डलबाट नयाँ बानेश्वर पुग्दा केही समयकै अन्तरालमा सडक रणमैदानमा बदलियो। प्रहरीले प्रदर्शनकारीलाई गोलीको वर्षा गर्यो। केही घण्टामा १९ जनाको प्राण ढल्यो। कैयौँ घाइते भए।
भोलिपल्ट झनै उग्र बनेको आन्दोलनले विनाशको ताण्डव नृत्य देखायो। आँखैअघि संसद् भवन जलिरहेको थियो। त्यसरी नै जल्दै गए, सिंहदरबार, सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय र निजी घरहरू। खरानीको थुप्रो र गन्धका बीच रिपोर्टिङ गर्न मेरो मनस्थितिले साथ दिएन।
त्यो बिथोलिएको दृश्यबाट किनार लागे पनि पत्रकारिताको धर्मले चुप बस्न मलाई दिएन। म अस्पतालतिर लागेँ, जहाँ गोली लागेर घाइते भएका जेन-जीहरूको चीत्कारले बोलाइरहेको थियो। उनीहरू किन ज्यानको परवाह नगरी सडकमा उत्रिए? यो प्रश्नको जवाफ खोज्नु मेरो पेसागत दायित्व पनि थियो। तर, त्यो यात्रा सूचनाको संकलनभन्दा धेरै मानवीय बन्यो।
ट्रमा सेन्टरको छैटौँ तलाको बेड नं. ५०२ मा नेपाली सुपर लिग (एनएसएल) च्याम्पियन ललितपुर सिटी एफसीका २५ वर्षीय पवन शाही पल्टिएका थिए। उनी मेरो समाचारका पात्र थिए, तर उनको गम्भीर अवस्था देख्दा मैले आफ्नो परिचय लुकाउनुपर्यो। छेउमा उभिएका एक व्यक्तिसँग सामान्य कुराकानीबाट मैले उनको अवस्था पत्ता लगाएँ, आन्दोलनमा गोली लागेको।
तीन दिनसम्म भेन्टिलेटरमा राखेपछि उनको होस खुलेको थियो। अनुहारमा जीवन र मृत्युको संघर्षले कोरेको रेखा देखिन्थ्यो। पत्रकारको धर्म सूचना दिनु हो, तर यस्तो विपत्तिमा पीडित परिवारको घाउमा प्रश्नको नुन छर्किनु कत्तिको न्यायसंगत हुन्छ? यो आन्तरिक द्वन्द्वले मलाई असमञ्जस बनायो।
त्यो वार्डमा पीडाले थिचिएका पवनका आमाबुवा र आफन्तको भिड थियो। म पनि भिडमा मिसिएँ। तर, मैले पत्रकारको परिचय दिन सकिनँ। अस्पतालको सुरक्षागार्डले भिड हटाउन अनुरोध गर्दा म पनि भिडसँगै बाहिर निस्किएँ। पीडामा डुबेकी आमासँग कुरा गर्ने हिम्मत जुटाउन निकै गाह्रो भयो।
आधा घण्टा बाहिर बिताएपछि बल्ल मैले पवनकी आमा मिठूसँग आफ्नो परिचय खुलाए र कुरा गर्न आँट बटुलेँ। मेरो बारम्बारको अनुरोध र दुई घण्टा लामो पर्खाइपछि बल्ल उनी बोल्न राजी भइन्।
उनले छोरालाई गोली लागेको दिनको कहालीलाग्दो भावदशा सुनाइन्। चिकित्सकले जिउँदो वा मृत छुट्याउन नसकेको अवस्था, मामा पर्ने गणेश शाहीले छाती छामेर सास चलेको पत्ता लगाएको क्षण, त्यो सुन्दा मेरो हृदय काँप्यो।

६ घण्टाको शल्यक्रियापछि पवनको छियाछिया भएको आन्द्रा र गोलीले छेडिएको करङको उपचार भएको रहेछ। आन्दोलनका घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरू एकपछि अर्को घाइतेको जटिल अवस्था, शल्यक्रिया गर्दा निकालिएका गोली, घाउ र घाइतेका बयानले मानसिक आघातमा पुगेका रहेछन्। यो कुरा ट्रमा सेन्टरका प्रमुख बद्री रिजालले बताएका थिए।
यी सबै दृश्यबाट आफू पनि आघातमा परेको उनले सुनाएका थिए। उनका कुरा सुन्दा मेरो पनि आङ जिरिंग भयो।
पवनको होस खुले पनि उनी बोल्न सक्ने अवस्थामा छैनन्। त्यसैले उनी त्यो आन्दोलनमा कसरी होमिए, गोली खान किन तयार भए भन्ने प्रश्नको उत्तर पाउन सकिनँ। ती प्रश्न अधुरै छाडेर ट्रमा सेन्टरबाट बाहिरिएँ।
पवनको कथाले मलाई विचलित बनाएको थियो। यद्यपि, म अर्का घाइते प्रसन्न काफ्लेलाई भेट्न मीनभवनस्थित निजामती अस्पताल पुगेँ।
काभ्रेपलान्चोकका २५ वर्षीय प्रसन्न बेडमा पल्टिएका थिए। उनको देब्रे खुट्टामा गोली लागेको थियो। आन्दोलनको दिन करिब १ बजे संसद् भवनको गेटअगाडि गोली लागेपछि खुट्टा घिसार्दै अस्पताल आएका थिए।
आन्दोलनमा सहभागी हुन टिकटकमा गरिएको आह्वानलाई पछ्याएर उनी सडकमा उत्रेका थिए। आन्दोलन अशान्तिपूर्ण हुँदैन भन्ने अनुमान लगाएर प्रदर्शनमा आएका उनी अस्पतालको बेडमा सुकेको आफ्नै रगतको टाटा हेर्दै थिए। उनी स्वयम् पनि आन्दोलन कसरी उग्र बन्यो भन्ने प्रश्नको उत्तर खोजिरहेका थिए।
अस्पतालको बेडमा पल्टिएका अधिकांश जेन-जी घाइतेको जीवनकथा एउटै थियो। कोही गाउँबाट उन्नत भविष्यको आशा बोकेर पढ्न आएका विद्यार्थी थिए त कोही परिवार पाल्न रोजगारीको खोजीमा। उनीहरूको हेरचाहका लागि अहिले आफ्नो परिवार छैन। केवल साथीहरूको सहयोग र भरोसा छ। कतिपयसँग त रगतले लतपतिएको एकसरो कपडाबाहेक केही छैन।
केही संघसंस्थाले दिएको खाना, खाजा र कपडाले प्राण धानेका घाइतेहरूका लागि अस्पतालबाट डिस्चार्ज हुनु राहत होइन। डिस्चार्ज भएर कोठामा पुगेपछि खान रासनसम्म नभएको कुराले उनीहरू पीडामा थिए। प्रदर्शनका बेला सरकारले चलाएको गोलीले उनीहरूको शरीर मात्र होइन, मनमा पनि खत बसालेको छ। उनीहरूको कुराले मेरो मन अहिले पनि बेचैन भइरहेको छ।
आन्दोलनपछिको त्रासदीपूर्ण रिपोर्टिङको अनुभवले मलाई एउटा पाठ सिकाएको छ– पत्रकारिता सूचनाको सम्प्रेषण मात्र होइन, यो मानवीयताको पुल पनि हो। यस्ता विपत्तिका रिपोर्टिङमा मानवीय संवेदनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ। अन्यथा पत्रकारकै मन अशान्त भइदिन्छ।