काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
तस्बिर- बिजेपी सांसद राजु बिस्टको वालबाट।
अ+
अ-

काठमाडौँ। शनिबार परेको भारी वर्षाले दार्जिलिङमा सातजनाको निधन हुनुका साथै सिलिगुडी र मिरिक जोड्ने एक मात्र दुधेको फलामे पुल भत्किएको छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले हिल स्टेसनमा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना नभएसम्मका लागि सबै पर्यटकीय स्थलहरू बन्द गर्ने घोषणा गरेको छ।

वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। जिल्ला प्रशासनले स्थानीय र पर्यटक दुवैलाई घरभित्रै रहन र अत्यन्त आवश्यक परेमा मात्र बाहिर निस्कन आग्रह गरेको छ।

दार्जिलिङलाई सिलिगुडीसँग जोड्ने प्रमुख मार्गहरू काटिएका छन्। पहिरोले खर्साङको डिलाराम र व्हिसल खोलामा मुख्य सडक अवरुद्ध गरेको छ भने अर्को महत्त्वपूर्ण बाटो जोड्ने रोहिणी मार्ग नराम्ररी क्षतिग्रस्त भएको छ। त्यस्तै, पुलबजार पुल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ, जसले थानालाइन र बिजनबारीका अन्य भागहरूलाई दार्जिलिङबाट काटेको छ।

पहिरोका कारण चित्रेमा राष्ट्रिय राजमार्ग–१० पनि बन्द गरिएको छ। दार्जिलिङका प्रहरी उपरीक्षक प्रवीण प्रकाशले मुख्य सडकहरूमा पुनःस्थापनाको काम भइरहेको बताए।

‘व्हिसल खोला र दिलारामका सडकहरू खाली गरिँदैछन्। खुलेपछि, हामी सवारी साधनलाई खर्साङबाट हिल कार्ट रोड प्रयोग गर्न अनुमति दिनेछौँ। त्यतिन्जेल यातायात बन्द रहनेछ’ उनले भने।