२० आश्विन २०८२
अ+
अ-

विराटनगर। दुई दिनको अविरल वर्षासँगै बाढी र पहिरोले देशका १७ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्। दुई वटा राजमार्ग एकतर्फी खुलेका छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय कोशीका अनुसार लामो दुरीका सवारीसाधन छोडिएको छैन। मधेस र बागमती प्रदेशमा जोखिम रहेको खबर आएपछि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

“वर्षा र पहिरो पूर्णरुपमा रोकिएर जोखिम कम भएपछि मात्रै लामो दुरीका सवारीसाधन छोड्ने भनी मधेस र बागमती प्रदेश प्रहरीसँग समन्वय भएको छ,” कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले भने।

छोटो दुरीमा चल्ने सवारीसाधन भने निर्वाध चलिरहेका छन्। कोशी प्रदेशमा अवरुद्ध नभएका सडकमा सवारीसाधन चलिरहेको गिरीले बताए।
यस्तै, कोशी ब्यारेजबाट मधेस प्रदेश जाने छोटो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन।

गृह मन्त्रालयले असोज २० गतेसम्म लामो दुरीका सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको थियो। भारी वर्षा रोकिएपछि भने लामो दुरीका सवारीसाधन चल्ने अनुमान गरिएको थियो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लामो दुरीका सवारीसाधन सञ्चालनबारे असोज २१ गते निर्णय हुन्छ। “नारायणगढ-मुग्लिनमा पुगेर अवरुद्ध हुने, भिमानमा पुगेर यात्रु अलपत्र पर्ने अवस्था नहोस् भनेर लामो दुरीका सवारीसाधन छोडिएको छैन,” उनले भने, “आज दिन-रातको अवस्था हेरेर भोलिबाट यातायात सञ्चालन गर्नेबारे निर्णय हुन्छ।”