काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

नागवंशका राजामध्ये कर्कोटकलाई प्रमुख मानिन्छ, जसको राजधानी अहिलेको नागदह र टौदह क्षेत्र रहेको मानिन्छ। रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन देखाइने भोटो कर्कोटक नागराजको भएको विभिन्न किंवदन्तीमा उल्लेख छ।

२० आश्विन २०८२
अ+
अ-

प्राचीन नेपालको मुख्य दुई स्तम्भका रूपमा नागवंशको तान्त्रिक शैव शासन तथा लिच्छविवंशको वैदिक राजसत्तामा आधारित शासनलाई लिइन्छ। दुइटै परम्परा एकअर्कासँग सांस्कृतिक, सत्ता, धर्म र सामाजिक व्यवस्थाको मूलभूत सिद्धान्तभन्दा भिन्न थिए। यही भिन्नता नेपालको महत्त्वपूर्ण र निर्णायक सत्तासंघर्षको कारण बन्यो।

नागवंश परम्परामा जनजातीय गणतान्त्रिक ढाँचा, शैव–शाक्त धर्म तान्त्रिक आराधना, न्याय लोकमान्यता र तान्त्रिक गुरुपरम्परा, स्त्रीस्थिति मातृसत्तात्मक झुकाव, शक्ति आराधना थियो। तराई–मधेसको क्षेत्र मात्र नभई काठमाडौँ र पोखरा क्षेत्र नागवंशको अधीनस्थ रहेको देखाउँछ। नागवंशको प्रसिद्ध राजामध्ये कर्कोटकलाई प्रमुख मानिन्छ। जसको राजधानी अहिलेको काठमाडौँस्थित नागदह र टौदह क्षेत्र रहेको मानिन्छ। रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन जावलाखेलमा देखाउने भोटो जात्राको भोटो यही कर्कोटक नागराजको रहेको विभिन्न किंवदन्तीमा उल्लेख छ।

तराई–मधेसमा बच्चाको छठिहार संस्कारमा भोटो लगाइदिने चलन छ। भोटोको रङ प्रायः पहेँलो हुने गरे पनि अहिले आफूखुसीको कपडा र रङ प्रयोग गर्न थालिएको छ। नागपञ्चमीको दिन पूजा गरिने अष्टनागमा अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, शङ्‌ख र कर्कोटकलाई मानिस अथवा नागराजाहरूभन्दा वनजंगल क्षेत्रमा पाइने सर्प मानेर पूजा गर्नेको संख्या अधिक छ।

हाल भारतको बिहार राज्यको वैशाली क्षेत्रमा रहेको वैशाली गणराज्यका लिच्छविहरू इसापूर्व २५० मा मधेस क्षेत्रबाट काठमाडौँ उपत्यकामा प्रवेश गरेको देखिन्छ। काठमाडौँबाट बर्दिबास हुँदै वैशालीसम्मको दुरी बढीमा ४०० किलोमिटर छ। नेपालमा भन्सारको इतिहास पुस्तक अनुसार मध्यकालीन समयमा भारतसँग व्यापार गर्न सिन्धुलीगढी र महोत्तरीको बाटो पनि लोकप्रिय थियो।

धार्मिक ग्रन्थ तथा पुस्तकहरूमा नागराजहरूलाई भगवान् शंकर, विष्णुलगायत देवतासँग जोडेर सर्पका रूपमा व्याख्या गरिएको छ। सर्प र नागवंशका राजाहरू फरक फरक रहेको विषयलाई नगण्य रूपमा प्रस्तुत गरिएको पाइन्छ। जसले गर्दा नागवंशको इतिहास मासिएको देखिए पनि यस वंशको प्रतिनिधित्व गर्ने जातिहरू नेपालकै तराई, मधेस क्षेत्रमा समेत बसोबास गरिरहेका छन्।

इतिहासकारहरूले किरातीहरूलाई विस्थापन गरी लिच्छविले शासन गरेको लेखेका छन्। लिच्छविको प्रमुख राजाका रूपमा पाँचौँ शताब्दीका मानदेव प्रथम (४६४ ई.)लाई मानिन्छ। यसको पुष्टि चाँगुनारायणको शिलालेखले गर्छ। प्राचीन नेपाल जर्नलमा प्रकाशित हरिराम जोशीको ‘विरूपाक्ष’ शीर्षकको लेखमा नागहरूको प्रमुखका रूपमा विरूपाक्ष रहेको र पुजिने गरेको तर्क गरेका छन्। लेखमा मानदेव प्रथमकी पत्नी श्री भोगीनी नागकन्या रहेको उल्लेख छ। मानदेवले प्रचलनमा ल्याएको मुद्रामा श्री भोगीनी लेखिएको छ।

नागकन्या भोगिनीको मातापिताबारे खोजी जारी छ। तिब्बती यात्री ह्वेनसांगले नागवंशको समयमा नेपाल राजनीतिक रूपले संगठित एवं सांस्कृतिक रूपले जीवन्त रहेको चर्चा गरेका छन्। ह्वेनसांगले सन् ६२९ देखि १२ वर्षसम्म हालको भारतीय क्षेत्र र सोभन्दा बाहिर पनि यात्रा गरेका थिए।

नागवंशको तन्त्र र शिव एवम् नागपूजामा आधारित सत्ता क्षीण गरेर लिच्छविहरूले वैदिक ब्राह्मणवाद, विष्णु आराधना र न्याय धर्मशास्त्रमा आधारित शासनको अभ्यास गरेका थिए। पितृसत्तात्मक संरचनालाई बढावा दिने कार्य काठमाडौँ, पाटन र भक्तपुर क्षेत्रबाट सुरु गरियो। वर्णाश्रम निर्धारण गरिएको समय पनि लिच्छविकाल हो। यसै कालमा जातीय र मनुष्य वंश नागलाई सर्पको भाष्य निर्माण गरिएको आरोप लाग्ने गर्दछ।

लिच्छविहरूले नागवंशले निर्माण गरेको तान्त्रिकस्थललाई वैदिक देवीदेवतासँग प्रतिस्थापित गरी नागकुण्डलाई राजकीय जलकुण्ड एवम् परम्परागत शक्तिपीठलाई राजाको देवी अर्थात् राजदेवीका रूपमा नामकरण गरिदिएका थिए। जलेश्वरको राजदेवी मन्दिरमा अहिले पनि नागको चित्र अंकित छ। त्यसमुनि मुख्य प्रतिमासहित नौ वटा देवीको मुखाकृति छ।

नागवंशको राजा कर्कोटकको पूजनस्थल नागदह, नागपोखरी, सिद्धपानी र बल्खुलाई मानिन्छ। कीर्तिपुर, बागमती, गुह्येश्वरी क्षेत्र, तिलगंगा–गौशाला क्षेत्रहरूको वैज्ञानिक उत्खनन भए प्राचीन नागराजहरूले निर्माण गरेको तान्त्रिक व्यवस्थाको अवशेष पाउन सकिने विश्वास गरिन्छ।

कर्कोटकका बुवा ऋषि कश्यप र आमा नागकन्या कद्रु हुन्। हुनत नागपञ्चमीमा अष्टनागराजाहरूको मात्र पूजा हुन्छ। महाभारत ग्रन्थको वन पर्वमा कर्कोटक र राजा नलको कथा छ। नारदमुनिको श्रापका कारण नागराजा कर्कोटक धेरै समयदेखि एकै ठाउँमा स्थिर थिए। जंगलमा भीषण आगलागी भएको बेला राजा नल त्यही बाटो गइरहेका थिए। कर्कोटकले राजा नललाई बचाउन आग्रह गरे। कर्कोटकले दश पाइला अगाडि बढाएपछि राजाको शरीरमा विष प्रवेश गराइदिए। जसका कारण उनी श्यामवर्णमा परिणत भए। दुइटा वस्त्र दिएर मुक्तिको उपाय सुझाउँदै कर्कोटकले अयोध्यापुरी राजा ऋतुपर्णकहाँ गएर सुरक्षित रहन भने।

खाण्डव वनमा नागराज तक्षक बस्दथे। त्यहीँ दानवराज मायासुर पनि बस्दथे। दुवैबीच मित्रता थियो। हस्तिनापुरको विभाजनपछि कृष्णको सहयोगमा अर्जुनले खाण्डव वनमा आगो लगाइदिए। त्यसमा तक्षककी पत्नीसँगै धेरैको मृत्यु भयो। उनका छोरा अश्वसेन र मायासुर बाँच्न सफल भए। महाभारत युद्धमा कर्णको विशेष वाणमा आफूलाई राखेर अर्जुनलाई मार्ने प्रयास गरेका थिए। अर्जुनको नाति परीक्षितको मृत्युको कारण तक्षक नै थिए। परीक्षितका छोरा जन्मेजयले नागदाह यज्ञ गरी नागवंशका धेरैलाई मारे। बालमुनि आस्तिकको कारण यज्ञ समाप्त भएपछि तक्षक र कर्कोकट बाँच्न सफल भए।

शिवपुराणमा भगवान् शंकरपुत्री मनसा (नागको देवी)बारे चर्चा छ। नागवंशी राजाहरूले शंकरसँगै मनसाको पनि पूजा गर्थे। मधेसमा केही जातिविशेषले मनाउने मधुश्रावणी पर्वमा भगवान् शंकरको पाँच  नागपुत्रीको जन्मकथा सुनाउने गरिन्छ। पार्वतीसँग जलक्रीडाको समयमा स्खलन भएको वीर्यलाई पातमा राखेर छाडेपछि जया, विषहर, शामिलवारी, देव र दोतलीको जन्म भएको मानिन्छ।

लिच्छविले शासन गरेको वैशालीभन्दा लगभग ६० किलोमिटर पश्चिममा चिरान्द नामको ठाउँ छ। यहाँ चार हजार वर्ष पुरानो सभ्यता रहेको बताइन्छ। नवपाषाण, चाल्कोपाषाण र फलामयुगका बस्तीहरू र २५ सय ईपुदेखि सन् ३० को अवशेष भेटिएको छ। गंगा, घाघरा, सोन र गण्डक नदीको संगम क्षेत्रमा रहेको मानव सभ्यताबारे निकै कम चर्चा हुने गरेको छ। यस क्षेत्रलाई भारतले संरक्षणमा राखेको छ। यो सिन्ध सभ्यताको समानान्तर मानिन्छ।

नागवंशको राजा कर्कोटकको पूजनस्थल नागदह, नागपोखरी, सिद्धपानी र बल्खुलाई मानिन्छ। कीर्तिपुर, बागमती, गुह्येश्वरी क्षेत्र, तिलगंगा–गौशाला क्षेत्रहरूको वैज्ञानिक उत्खनन भए प्राचीन नागराजहरूले निर्माण गरेको तान्त्रिक व्यवस्थाको अवशेष पाउन सकिने विश्वास गरिन्छ।

प्रारम्भिककालमा लिच्छविवंशका शासकले नागवंशको तान्त्रिक स्थलहरूलाई वैदिक परम्पराअनुसार परिवर्तन गरेका थिए। तर, आठौँ र नवौँ शताब्दीपछि दुवै वंशको परम्परामा मिश्रण भएको पाइन्छ। नागवंशका शासकहरूलाई सर्प अथवा मानव शरीर र सर्पको टाउको भएको रूपमा प्रस्तुत गर्न थालियो। भगवान् शंकरको घाँटीमा रहेको सर्पलाई नागराज वासुकिको नामबाट सम्बोधन गर्न थालियो।

तराई–मधेसमा नागवंशको अवशेष रहेको ठाउँ वा सर्प देखिने ठाउँहरूमा विषहरा देवता भनेर पूजापाठ गरिन्छ। भगवान् विष्णुको शय्यामा रहेको सर्पलाई नागवंशको राजा शेषनागको नामले सम्बोधन गरिन्छ। कृष्णसँग भएको नागराजको युद्धलाई कृष्ण र कालिया नाग(सर्प)को लडाइँ भनेर प्रस्तुत गरियो। बलरामलाई शेषनागको अवतारका रूपमा पूजा गर्न थालियो। शरीर त्याग गर्दा सर्प बनेर आत्मा बाहिरिएको कथाहरू पढ्न पाइन्छ।

महाभारतमा चर्चा गरिने नागराज कर्कोटकलाई शिवको गणमा सामेल गरेर गणेश आराधनाको अंग बनाइयो। भगवान् कृष्णलाई जन्मेपछि नन्दगाउँ लैजाने बेला नदी तार्न सहयोग गर्ने नागराज शेषनागलाई सर्पका रूपमा प्रस्तुत गरियो। कृष्णको शरीरमा विषको मात्रा नभए पुतना, बकासुर (बकुलाको शरीरवाला), अघासुर (अजिंगरको शरीरवाला)लाई मार्न सम्भव थिएन। कालिया नागसँग द्वन्द्व गर्न पनि विना विषवाला शरीरको सम्भव देखिन्न।

तर, यस विषयबारे कुनै ग्रन्थमा चर्चा गरिएको छैन। धार्मिक ग्रन्थ तथा पुस्तकहरूमा नागराजहरूलाई भगवान् शंकर, विष्णुलगायत देवतासँग जोडेर सर्पका रूपमा व्याख्या गरिएको छ। सर्प र नागवंशका राजाहरू फरक फरक रहेको विषयलाई नगण्य रूपमा प्रस्तुत गरिएको पाइन्छ। जसले गर्दा नागवंशको इतिहास मासिएको देखिए पनि यस वंशको प्रतिनिधित्व गर्ने जातिहरू नेपालकै तराई, मधेस क्षेत्रमा समेत बसोबास गरिरहेका छन्।