काठमाडौं। असोज १७, १८ र १९ गतेको अविरल वर्षापछिको बाढी-पहिरोका कारण देशभरिका सडकमा तथा पुलमा ७ अर्ब ९१ करोडको क्षति भएको छ।
सडक विभागका अनुसार सडकमा मात्रै ७ अर्ब क्षति भएको छ भने पुलहरूमा ९१ करोड क्षति भएको छ। यो सबै पुनस्निर्माण गर्दा १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।
“वर्षा र पहिरो रोकिएपछि क्षतिको विवरण आउँदा अब ती संरचना बनाउन १० अर्ब ६८ करोड खर्च लाग्ने अनुमान गरिएको छ,” झाले नेपालन्युजलाई भने।
अविरल वर्षापछि बाढी-पहिरोले देशभरिका सडकका २३७ ठाउँमा क्षति पुर्याएको थियो। सबैभन्दा बढी क्षति मेची राजमार्ग र मेची करिडोरमा भएको प्रवक्ता झाले बताए।
उनका अनुसार मेची राजमार्गको माइखोला राजदुवाली सडकमा २८ करोड ८० लाख क्षति भएको छ। राजदुवालीदेखि इलाम बजारसम्मको सडकमा १८ करवड ५० लाखको क्षति भएको छ।
धोबिधारा-नेपालटार सडकमा ६० करोडको क्षति भएको छ। यस्तै, नेपालटार-राँके सडकमा ५४ करोड र राँके-फिदिम सडकमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। नारायणगढ-मुग्लिन सडकमा करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
यसैगरी, जोरकलास-फिक्कल राजमार्गमा ५ करोड ५० लाख, फिक्कल-गोदक सडकमा १२ करोड ८० लाख, गोदक-माइखोला सडकमा १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
गल्छी-रसुवागढी सडकमा १० करोड, बिपी हाइवेको बार्खे खोला-धुलिखेल खण्डमा १२ करोड, पकली-चतारा सडकमा ९ करोड, दमक-चिसापानी सडकमा १ करोड ८० लाख, कमला-बालन सडक जनकपुरमा ८ करोड क्षति भएको छ।
यस्तै, ग्वार्को-लुभु सडकमा ७ करोड, अरनिको राजमार्गमा २८ करोड बराबरको क्षति भएको छ। बेनी-जोमसोम-कोरोला सडकमा ६८ करोड बराबरको क्षति भएको विभागले जनाएको छ।
यसैगरी, चापागाउँ-बज्रबाराही-सन्तानेश्वर-बाडेगाउँ सडकमा २ करोड ४९ लाख, सातदोबाटो-सुनाकोठी-टिकाभैरब सडकमा १३ करोड २० लाख, सातदोबाटो-गोदावरी-पुलचिकी सडकमा २ करोड १२ लाख, ग्वार्को-लाकुरीभञ्ज्याङ सडकमा १ करोड २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। अविरल वर्षाका कारण कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, लेगुवाघाट-भोजपुर, भोजपुर-चखेवालगायत सडकमा क्षति पुगेको थियो।