काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

काठमाडौँमा डरलाग्दो गरी बढ्यो सट्टेबाजी, १० महिनामा २० अर्बभन्दा बढीको कारोबार

२२ आश्विन २०८२
एआईसिर्जित अनलाइन बेटिङको सांकेतिक तस्बिर।
अ+
अ-

२५ माघ २०८१ मा प्रहरीले काठमाडौँ महानगरपालिका-१ चारढुंगास्थित होटल इम्पेरियलमा छापा मार्‍यो। त्यहाँ चार भारतीय नागरिक अनलाइन जुवा (सट्टेबाजी) खेलाइरहेका थिए। होटलको कोठा नम्बर १०४ बाट प्रहरीले राजस्थान प्रदेश चित्तोरका भेम्का रतनसिंह रावत, नमन शर्मा, गोविन्द सिंह रावत र रविकुमारलाई पक्राउ गर्‍यो।

राजस्थानकै ३६ वर्षीय पवन भनिने खमबहादुर शाही फरार छन्। उनी समूहका मुख्य व्यक्ति भएको प्रहरी दाबी छ। उनीभन्दा माथिल्लो तहमा को-को थिए, पत्ता लागेको छैन।

पवन समूहले वानहन्ड्रेड प्यानल डटकम (100panel.com) र एमडी२४७२ डट विन (md247.2win) बेटिङ वेबसाइट चलाउँथे। यो समूहले एक वर्षमा चार अर्ब ७३ करोड ३८ लाख ५४ हजार ७७० रुपैयाँको कारोबार गरेको थियो।

नेपालमा अनलाइन जुवा खेलाई अर्बौं रुपैयाँको कारोबार गरेको यो पहिलो घटना होइन। माघमै प्रहरीले काठमाडौँ बूढानीलकण्ठ-३ गैरीगाउँस्थित एक घरबाट बिहार, कटोरियाका वकिलकुमार यादवसहित २४ भारतीयलाई पक्राउ गरेको थियो। पक्राउ परेका अधिकांश बिहार प्रदेशकै थिए। यो समूहले तीन अर्ब तीन करोड ६५ लाख रुपैयाँको कारोबार गरिसकेको अनुसन्धानले देखायो। प्रहरीले छापा मार्नुअघि नै सबै रकम भारत पुगिसकेको थियो।

जुवाको पैसा क्रिप्टोमा ट्रान्सफर

सट्टेबाजहरूले कारोबारको रकम क्रिप्टो खरिद गरी ट्रस्ट वालेटमार्फत लेनदेन गरेको प्रहरीको निष्कर्ष छ। ट्रस्ट वालेट भनेको सबै किसिमका क्रिप्टोकरेन्सी र मूल्यवान् वस्तुको डिजिटल संग्रह राख्ने सुरक्षित वालेट हो। यसले फरक फरक ब्लकचेन नेटवर्कलाई जोड्छ। क्रिप्टो प्लेटफर्महरूमा छरिएको सम्पत्ति एकै ठाउँबाट सुरक्षित कारोबार गर्न सघाउँछ। बूढानीलकण्ठबाट पक्राउ परेकाहरूले कारोबार गरेको तीन अर्ब तीन करोडमध्ये एक करोड ६२ लाख रुपैयाँ क्रिप्टोतर्फ गएको प्रहरीको निष्कर्ष छ।

इन्टरनेटको सुलभता र व्यापकतासँगै सट्टेबाजी साइट नेपालीका हात हातमा आइपुगेका हुन्। यो गैरकानुनी खेल भर्चुअल कारोबारमा रूपान्तरण भएको हो।

“सट्टेबाजीको पैसाले क्रिप्टो किन्ने र त्यसलाई सावधानीपूर्वक ट्रस्ट वालेटमा पुर्‍याई कारोबार गर्ने प्रवृत्ति देखिएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहरा बताउँछन्।

बैंकबाट धेरै रकम एकैपटक कारोबार गर्दा शंकास्पद देखिने हुँदा उनीहरूले क्रिप्टो प्लेटफर्ममा पैसा लगेको तथ्यले पुस्टि गर्छ। अमन जैसवालले बिट क्वाइन खरिद, बाइनान्स अकाउन्टमा ट्रान्सफर र ट्रस्ट वालेटमार्फत कारोबार गरेको प्रहरीको निष्कर्ष छ।

नेपालमा १० महिनायता २० अर्ब रुपैयाँभन्दा बढी अनलाइन सट्टेबाजी कारोबार भएको प्रहरी अनुसन्धानले देखाउँछ। यस अवधिमा ६९ जना पक्राउ परे, तर सट्टेबाजीका मुख्य व्यक्ति पक्राउ परेका छैनन्। मुख्य नाइके भारतमा बस्छन्। एजेन्टले यहाँ काम गर्छन्। पक्राउ पर्ने तिनै मात्र हुन्।

२०८१ साउनयताको तथ्यांक हेर्दा सट्टेबाजीको पैसा भारतका केन्द्रीय र प्रदेशस्तरीय बैंकहरूमा ट्रान्सफर भएको देखिन्छ। नेपालबाट ट्रान्सफर भएर पैसा जाने भारतका बैंकहरूमा कर्नाटक, बन्धन, बैंक अफ महाराष्ट्र, फिनो पेमेन्ट्स र जाना स्माइल फाइनान्स छन्। यसैगरी एयू स्माइल फाइनान्स, उत्कर्ष स्माइल फाइनान्स, युनियन, एस, क्यानरा, इन्डियन, पन्जाब एन्ड सिन्ड, यूसीओ र आईडीबीआई बैंकमा पनि अनलाइन जुवाको पैसा जाने गरेको छ। पक्राउ परेकाहरूबाट एसबीआई र पन्जाब नेसनलसहितका चलेका बैंकहरूका चेकबुक, एटीएम कार्ड भेटिएका छन्।

कानुन फितलो, सहज आवागमन

प्रहरीको पछिल्लो अनुसन्धानले काठमाडौँ सट्टेबाजहरूको ट्रान्जिट जोन मात्र नभई केन्द्र नै बनेको देखाउँछ। जिल्ला प्रहरी परिसर काठमाडौँको तथ्यांकअनुसार कोभिड-१९ पछि नेपालमा अनलाइन बेटिङ तथा क्रिप्टो कारोबार बढेको हो। भारतमा भने यो पहिलेदेखि नै चल्दै आएको थियो। विश्वकप, आईपीएलजस्ता लोकप्रिय खेल प्रतियोगिता हुँदा मौखिक रूपमा बाजी लगाए पनि संस्थागत रूपमा नेपालमा बेटिङ हुँदैनथ्यो। इन्टरनेटको सुलभता र व्यापकतासँगै सट्टेबाजी साइट नेपालीका हात हातमा आइपुगेका हुन्। यो गैरकानुनी खेल भर्चुअल कारोबारमा रूपान्तरण भएको हो।

अनलाइन जुवाका लागि नेपालमा एक दर्जनभन्दा बढी वेबसाइट चलेका छन्। सरसर्ती हेर्दा ती कुन देशबाट सञ्चालित हुन् भन्ने खुल्दैन। आईपी एड्रेस र लोकेसन ट्र्याक गर्दै प्रहरीले अनुसन्धान गरेको पनि छैन।

भारतीय नागरिकका लागि भाषा, संस्कृति र आउजाउका हिसाबले नेपाल सजिलो ठाउँ हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत भन्छन्, “उनीहरूलाई यता कोठा भाडामा लिन गाह्रो छैन। भाषा पनि लगभग बुझिन्छ, खुला सिमाना र आवतजावत सजिलो हुँदा बेटिङको अखडा यहाँ बनाएको हुन सक्छ।”

भारतमा सट्टेबाजीको कानुन नेपालमा भन्दा कठोर छ। त्यहाँ प्रदेशअनुसार फरक फरक सजायको व्यवस्था छ। अनलाइन सट्टेबाजी गर्नेलाई अधिकतम तीन वर्ष जेल र पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। यदि सट्टेबाजी अन्य अपराध (ठगी, संगठित अपराध, अनलाइन सट्टेबाजी, विदेशी कनेक्सन आदि) सँग सम्बन्धित छ भने त्यसलाई अझ गम्भीर कसुरअन्तर्गत राखिन्छ। यस्तो कसुरमा सात वर्षसम्म कैद हुन सक्छ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी अनुकूलता देखेर नै कुनै पनि व्यक्ति/समूह अपराध गराउन नयाँ ठाउँमा जाने बताउँछन्। “नेपालको कानुन उदार देखिएकाले सट्टेबाजीको समूह नेपाल आइरहेको हुन सक्छ। यसलाई नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ। अनुसन्धानका लागि टेक्नोलोजी र जनशक्ति थप गर्नुपर्छ,” पूर्वडीआईजी मल्ल भन्छन्।

जुवासम्बन्धी नेपालको कानुन भारतभन्दा खुकुलो छ। ६२ वर्षअघि बनेको जुवा ऐन, २०२० अनुसार नेपालमा जुवा भन्नाले ‘सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल हो।’ 

हेर्नुहोस् नेपालको कानुन

नेपालको मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न पाइँदैन। यदि यस्तो कसुर गरेको भए कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ।

कालो धन कनेक्सनको जोखिम

बर्सेनि अर्बौं रुपैयाँमा भइरहेको अनलाइन बेटिङले गम्भीर खतराको संकेत गरिरहेको छ। नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले कालो धनलाई शुद्ध पार्ने सम्भावित सात क्षेत्रहरू पहिचान गरेको छ। क्यासिनो वा जुवा, रियल स्टेट, सुन जवाहरात, फर्जी कम्पनी, झुटो ऋण, व्यापारिक घोटाला र क्रिप्टोकरेन्सी कालो धनलाई शुद्ध पार्ने क्षेत्र हुन्। यी सातमध्ये क्रिप्टोकरेन्सी कारोबारमा कालो धन कारोबार भइरहेको हुन सक्छ। क्यासिनो सरकारसँग अनुमति लिएर राजस्व तिरेर सञ्चालन हुने वैधानिक जुवाघर हो भने अनलाइन बेटिङ पूरै अवैध कारोबार हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूको अनुसन्धान गर्ने एउटा निकाय नेपाल प्रहरी पनि हो। आफ्नो स्वतन्त्र संयन्त्रसँगसँगै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागसँग मिलेर प्रहरीले काम गर्छ। प्रहरीको रेकर्डअनुसार अहिलेसम्म अनलाइन जुवाको अर्बौं रुपैयाँको स्रोत के हो भनेर पहिचान हुन सकेको छैन।

अनलाइन जुवा र क्रिप्टो मुद्राको भूमिगत कारोबारलाई तत्कालै नियन्त्रण नगरे अर्थतन्त्रलाई अप्ठ्यारोमा पार्न सक्ने नेपाल राष्ट्र बैंकको विश्लेषण छ।

“अनलाइन जुवामा बरामद भएका जे-जति उपकरण छन्, तिनलाई फरेन्सिक जाँचमा पठाउँछौँ,” प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा भन्छन्, “ती सबैको रिपोर्ट आएपछि अनलाइन जुवामा प्रयोग भएको पैसाको सम्बन्ध कालो धनसँग छ/छैन भन्न सकिन्छ।”

­भारतीय बेटिङ साइटको बिगबिगी

भारतका धेरै बेटिङ साइटमध्ये टाइगर, सिल्भर ब्याड, सिल्भर एक्सचेन्ज, फ्युचरलगायत साइटहरू नेपालमा सहजै ‘एक्सेस’ हुन्छन्।

यी साइटमा भारत, नेपाल र पाकिस्तानसहित दक्षिण एसियाका प्रयोगकर्ता धेरै भेटिन्छन्। यसैगरी, बेट बार्टर, मजा प्ले नाममा बेटिङ साइट छन्। यी अनलाइन सट्टेबाजी र जुवाका प्लेटफर्म हुन्। यिनीहरूले स्पोर्टस् सट्टेबाजी, क्यासिनो र अन्य जुवा खेलाउँछन्।

नेपालमा सट्टेबाजी गराउन 99exch.com प्रयोग भइरहेको देखिन्छ। यसको भौतिक ठेगाना, स्वामित्व र सञ्चालनबारे जानकारी छैन। 99Exchange.Com (Opc) Private Limited नामक कम्पनी भारतको दिल्लीमा दर्ता भएको देखिन्छ। यी दुवै वेबसाइटको डिजाइन, थिम र क्याटेगोरी मिल्दोजुल्दो देखिन्छन्।

नेपालको कानुनअनुसार क्रिप्टोजस्ता अभौतिक मुद्राको प्रयोग अवैध हो। कसैले त्यस्तो कारोबार गरेमा बिगो र सोबाट बढे-बढाएको सम्पत्तिसमेत जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था छ।

ललितपुरमा घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको गिरोहलाई गत माघमा पक्राउ गर्दा प्रहरीले बरामद गरेको मोबाइल र ल्यापटप। तस्बिर : नेपाल प्रहरी

अनलाइन जुवा र क्रिप्टो मुद्राको भूमिगत कारोबारलाई तत्कालै नियन्त्रण नगरे अर्थतन्त्रलाई अप्ठ्यारोमा पार्न सक्ने नेपाल राष्ट्र बैंकको विश्लेषण छ। बेटिङ साइट बन्द गर्न र कालो धन कारोबारलाई नियन्त्रण गर्न यतिबेला राष्ट्र बैंकले नेपाल प्रहरीसहितका संयन्त्रहरूसँग सहकार्य गरिरहेछ।

“कानुनी दायरामा नपर्ने अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार दुवै अवैध हुन्,” राष्ट्र बैंकका सूचना अधिकृत सुमन न्यौपाने भन्छन्।

अनलाइन जुवा र क्रिप्टोले आर्थिक अपराधको जोखिम बढाएको न्यौपानेको बुझाइ छ। “यसलाई समयमै नियन्त्रणमा नलिए भोलि हामीले अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्न पनि नपाउने अवस्था आउन सक्छ,” उनी भन्छन्।

सबैलाई छक्क पार्ने महादेव एप प्रकरण

भारतीय राजनीति, नियामक र अनुसन्धान संयन्त्रलाई दुई वर्षअघिको एउटा घटनाले चकित बनाइदियो, जुन अनलाइन जुवासँग जोडिएको प्रकरण थियो। त्यो ४० हजार करोड रुपैयाँको घोटाला थियो। महादेव बुक नामको सट्टेबाजी एपका खेलाडी खोज्दै भारतको सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो (सीबीआईले) छत्तीसगढ, मध्यप्रदेश, पश्चिम बंगाल र दिल्लीका ६० भन्दा बढी स्थानमा एकसाथ छापा मार्‍यो। यसबाट राजनीतिक, प्रशासनिक र प्रहरीको गहिराइमा पुगेको आपराधिक सञ्जालको पर्दाफास भयो। छत्तीसगढका पूर्वमुख्यमन्त्री भूपेश बघेल, कांग्रेस सांसद देवेन्द्र यादव, पूर्वआईएएस अधिकारी अनिल तुतेजसहितका बहालवाला र पूर्वहाई प्रोफाइल सरकारी अधिकारी पक्राउ परे।

‘महादेव बुक एप’ दुबईबाट सञ्चालित सट्टेबाजी गराउने एप हो। यसलाई दुबईमा सौरभ चन्द्राकर र उनका सहयोगी रवि उप्पलले सञ्चालन गर्थे। उनीहरूको घर छत्तीसगढ हो। एप सञ्चालकले सुरक्षा रकमको नाममा करोडौँ रुपैयाँ सरकारी अधिकारीहरूलाई नियमित रूपमा बाँड्दै आएका थिए।

४० हजार करोड (भारतीय रुपैयाँ) को घोटालामा बघेलले मात्रै ६ हजार करोड घोटाला गरेको अनुसन्धानले देखायो। यो भनेको भारतमा ४० वटा सुपर लक्जरी हस्पिटल निर्माण गर्न पुग्ने पैसा हो।