काठमाडौं। इजरायलमा अपहृत नेपाली विद्यार्थी विपिन जोशीको नियन्त्रणमा रहेको भिडियो सार्वजनिक भएको छ।
अक्टोबर ७, २०२३ मा विपिन जोशीलाई इजरायलको किबुट्ज अलुमिमबाट हमासले अपहरण गरेको थियो। यो अपहरण भएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेपछि सार्वजनिक भएको पहिलो भिडियो क्लिप हो।
२०२३ को अन्त्यतिर खिचिएको उक्त भिडियो इजरायली सेनाले फेला पारेको र इजरायली गुप्तचर निकायमार्फत परिवारसम्म पुर्याइएको जनाइएको छ। केही महिनासम्म सेनाको गोप्य निगरानी अन्तर्गत राखिएको भिडियो हालमात्र सार्वजनिक गर्न अनुमति प्राप्त भएको परिवारले बताएको छ।
परिवारले यो भिडियो हमास हमलाको दोस्रो वार्षिकीमा सार्वजनिक गरेका हुन्, जसले गाजा संकट र बन्धक अवस्थामा रहेका नेपाली विद्यार्थीप्रति विश्वव्यापी ध्यानाकर्षण गराउँछ।
इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। अपहरणको केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको हो।
३३ सेकेन्ड लामो भिडियो क्लिपमा भनेका छन् -“मेरो नाम बिपिन जोशी हो। म नेपालबाट आएको हुँ। म २३ वर्षको हुँ। म २५ दिनअघि इजरायल आएको थिएँ। ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ। म सुन्तला र कागतीको कृषि फार्ममा काम गर्छु।” भिडियोको अन्त्यतिर उनी स्क्रिन बाहिर केही हेर्दै छन्। जोशीको परिवारले भिडियोलाई “बिपिन अझै जीवित हुनुको दृढ विश्वास” भनेका छन्।