काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

४४औँ बीपी स्मृति दिवस

महाधिवेशनलाई सर्वोच्च मान्ने, संस्थालाई व्यक्तिभन्दा माथि राख्ने र फरक मतलाई सम्मान गर्ने बीपीको राजनीतिक संस्कारबाट टाढिँदा कांग्रेसको वैचारिक तथा संगठनात्मक संकट गहिरिएको छ।

६ श्रावण २०८३
बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको बीचमा वसन्त भट्टराई। तस्बिर सौजन्य : वसन्त भट्टराई
अ+
अ-

पञ्चायती व्यवस्था चलिरहेका बेला बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा भारतबाट नेपाल फर्किनुभयो। त्यतिबेला उहाँ आफैँ गम्भीर बिरामी हुनुहुन्थ्यो। स्वास्थ्य उपचारका लागि विदेश जान आग्रह गर्दा बीपीले दिएको जवाफ आज पनि नेपाली राजनीतिक इतिहासको शक्तिशाली अभिव्यक्तिमध्ये एक मानिन्छ, ‘मेरो स्वास्थ्यको के कुरा भयो र, जब देशको स्वास्थ्य नै ठिक छैन।’

बीपी अन्ततः उपचारका लागि अमेरिका जानुभयो। उपचारपछि फर्केर भारतको पटनामा नेपाली कांग्रेसको सम्मेलन बोलाउनुभयो। त्यहाँ नेपालबाट सयौँ प्रतिनिधि पुगेका थिए।

त्यही सम्मेलनको प्रसंगमा मैले बीपीलाई सोधेको थिएँ, ‘यति ठूलो सम्मेलन किन आवश्यक परेको? तपाईं आफैँ पार्टीको सर्वोच्च नेता हुनुहुन्थ्यो।’

त्यसको जवाफमा बीपीले भन्नुभयो, ‘तिमीले कुरा बुझेनौ। महाधिवेशन पार्टीको शरीर हो, सर्वोच्च निकाय हो। यसले सभापतिलाई हटाउन पनि सक्छ। महाधिवेशनबाट अनुमोदित नेतृत्वलाई फेरि अर्को महाधिवेशनले मात्रै परिवर्तन गर्न सक्छ।’

यही सोचले बीपी व्यक्तिभन्दा संस्था र नेतृत्वभन्दा विधिलाई ठूलो मान्ने नेता हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ।

आज नेपाली कांग्रेसको अवस्था हेर्दा बीपीसँगको त्यही संवाद सम्झना हुन्छ।

व्यक्तिभन्दा संस्था

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक बीपी कोइरालाको विचार आज पनि नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ। विडम्बना, बीपीको नामलाई आफ्नो राजनीतिक पहिचान बनाउने नेपाली कांग्रेस नै अहिले विभाजन, वैचारिक अन्योल र नेतृत्व संघर्षको अवस्थामा पुगेको छ।

यस्तो बेला बीपीको विचारको जीवन्तता कांग्रेसका लागि मात्र होइन; लोकतन्त्र, सुशासन र आमनागरिकका आकांक्षाका लागि पनि थप अर्थपूर्ण बनेको छ।

बीपीले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा होइन, जनताको जीवन परिवर्तन गर्ने साधनका रूपमा व्याख्या गर्नुभएको थियो। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, विधिको शासन, आन्तरिक लोकतन्त्र र जनउत्तरदायित्व उहाँको राजनीतिक दर्शनका मूल आधार थिए।

बीपीको नाममा राजनीति गर्ने तर उहाँको लोकतान्त्रिक संस्कार र संगठनात्मक मूल्यलाई व्यवहारमा लागु नगर्ने प्रवृत्तिले पार्टीको विश्वसनीयता कमजोर बनाएको छ।

उहाँले पार्टीभित्र महाधिवेशन, बहस, फरक मत र संस्थागत निर्णयलाई लोकतन्त्रको अनिवार्य अभ्यास मान्नुभएको थियो। त्यसैले उहाँले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय मान्दै व्यक्तिभन्दा संस्थालाई माथि राख्नुभयो।

तर, आजको कांग्रेसमा व्यक्तिकेन्द्रित राजनीति संस्थागत प्रक्रियाभन्दा हाबी छ। नियमित महाधिवेशनसम्बन्धी विवाद, नेतृत्वको शक्तिसंघर्ष, गुटगत प्रतिस्पर्धा र अन्ततः पार्टी विभाजनको अवस्थाले कांग्रेस बीपीले परिकल्पना गरेको संगठनात्मक संस्कृतिबाट टाढिँदै गएको देखिन्छ।

बीपीको नाममा राजनीति गर्ने तर उहाँको लोकतान्त्रिक संस्कार र संगठनात्मक मूल्यलाई व्यवहारमा लागु नगर्ने प्रवृत्तिले पार्टीको विश्वसनीयता कमजोर बनाएको छ।

महाधिवेशन विवाद

अहिले पार्टीमा विखण्डन आउनुको मुख्य कारण महाधिवेशनसम्बन्धी विवाद हो। शेरबहादुर देउवाले सुरुमा समयमै महाधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तर, उहाँले बोलेको कुरा पूरा गर्नुभएन।

महाधिवेशनको समय नजिकिँदै जाँदा कार्यवाहक जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर उहाँ केन्द्रीय समितिको बैठकमा आउन छाड्नुभयो। कार्यवाहक सभापतिको हैसियतमा बैठक बोलाउने र नियमित महाधिवेशन गर्ने विषय टर्दै गए। तीनतीन महिनासम्म बैठक लम्बिन थाल्यो।

यसरी नियमित महाधिवेशन अनिश्चित भएपछि विशेष महाधिवेशनको माग अघि बढ्यो। विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर दर्ता नभएको भए परिस्थिति अर्कै हुन पनि सक्थ्यो।

कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। विशेष महाधिवेशनको मागमा आधाभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका थिए।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि विवाद निर्वाचन आयोग र अदालतसम्म पुग्यो। निर्वाचन आयोगले नयाँ नेतृत्वलाई आधिकारिक मान्यता दियो। त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पनि आयोगको निर्णय सदर गरिसकेको छ।

सुन्दरीजलस्थित बीपी कोइराला संग्रहालयमा प्रदर्शनका लागि राखिएको २०३० सालमा अपहरण गरिएको  ट्विनअटर  विमानसँग तस्बिर खिचाउँदै वसन्त भट्टराई।

कानुनी विवाद टुंगिए पनि राजनीतिक र भावनात्मक असन्तुष्टि अन्त्य भएको छैन। यसले समस्या विधानमा भन्दा राजनीतिक इच्छाशक्ति र संस्थागत निर्णय स्वीकार गर्ने संस्कारमा रहेको देखाउँछ।

नेपाली कांग्रेसको संगठनात्मक आधारमा बीपीले स्थापित गरेको संस्थागत परम्परा र महाधिवेशनलाई सर्वोच्च मान्ने सिद्धान्त अझै कायम छ। विडम्बना, पार्टी विधानको शपथ खाने नेताहरू नै आज त्यसको फरक फरक व्याख्या गर्दै समानान्तर राजनीतिमा उभिएका छन्।

बीपीको विचार आत्मसात् गर्छु भन्नेले सिद्धान्तको भाषण मात्र गरेर पुग्दैन। विधानअनुसार आधिकारिक कांग्रेस जहाँ छ, सबै त्यहीँ आएर पार्टीभित्र आफ्नो मत राख्नुपर्छ।

बीपीको पालामा पनि विशेष महाधिवेशन भएको थियो। तर, त्यो सहमति र संस्थागत संस्कृतिका आधारमा सम्पन्न भएको थियो। अहिले भने कांग्रेस सहमति र असहमतिका दुई ध्रुवमा विभाजित छ।

नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जाने सार्वजनिक धारणा बनाएका नेताहरू प्रक्रिया सुरु भएपछि पछि हटे। संस्थागत प्रक्रियामा सहभागी हुने तर त्यसको परिणाम प्रतिकूल आए स्वीकार नगर्ने प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन।

मेलमिलापको दर्शन

बीपीको विचारको अर्को महत्त्वपूर्ण पक्ष राष्ट्रिय मेलमिलाप थियो। पञ्चायती शासनकै बेला उहाँले व्यक्तिगत जोखिम मोलेर राष्ट्रिय सहमतिको राजनीति अघि सार्नुभयो। उहाँका लागि प्रतिद्वन्द्वीलाई शत्रु बनाउने होइन, संवादमार्फत राष्ट्रिय सहमति खोज्ने राजनीति महत्त्वपूर्ण थियो। अहिले कांग्रेसभित्र देखिएको ध्रुवीकरण र परस्पर अविश्वासको वातावरणमा बीपीको यही मेलमिलापको दर्शन अझ सान्दर्भिक देखिन्छ।

विचारमा असहमति हुन सक्छ तर संस्थागत एकता र लोकतान्त्रिक प्रक्रियालाई जोगाउनुपर्छ भन्ने बीपीको सन्देश थियो। राष्ट्रिय मेलमिलापको अर्थ आफ्नो विचार र सिद्धान्त त्याग्नु होइन। असहमतिको बीचमा पनि राष्ट्र, लोकतन्त्र र संस्थाको हितमा संवादको ढोका खुला राख्नु हो।

कांग्रेसको एकता असम्भव छैन। तर, त्यसको आधार व्यक्तिको अडान होइन, राजनीतिक निर्णय र विधानको सम्मान हुनुपर्छ। जो पार्टीमा आउन तयार हुन्छ, उसलाई सम्मानका साथ समेट्नुपर्छ। तर, संस्थाभन्दा माथि व्यक्ति हुन सक्दैन।

जनविश्वासको संकट

निर्वाचन अभियानका क्रममा देशका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा खटिँदा कांग्रेसप्रति जनविश्वास कमजोर भएको मैले प्रत्यक्ष अनुभव गरेको छु।

जनतामाझ केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले प्रजातन्त्रलाई कमजोर बनाएको भाष्य बलियो बनेको थियो। कांग्रेसभित्रै पनि पुरानै नेतृत्व लिएर चुनावमा जान नसकिने आवाज उठिरहेको थियो। त्यही असन्तुष्टिबीच नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र परिवर्तनको सन्देश गएको हो। तर, नेतृत्व परिवर्तन हुँदैमा जनविश्वास स्वतः फर्किँदैन। पार्टीको व्यवहार, नीति, निर्णय र जनतासँगको सम्बन्धमा पनि परिवर्तन देखिनुपर्छ।

नयाँ दलहरूको उदय यही जनअसन्तुष्टिको परिणाम हो। घन्टी चुनावचिह्न बोकेको दलका उम्मेदवारहरू धेरै ठाउँमा अपरिचित अनुहार हुँदाहुँदै ठूलो मतान्तरले विजयी भए। त्यसले परम्परागत दलप्रतिको जनविश्वास खस्किएको स्पष्ट संकेत दिन्छ।

जस्तोसुकै शासन व्यवस्था आए पनि अन्ततः लोकतन्त्रलाई बलियो बनाउन बीपीका विचारतर्फ फर्किनैपर्छ। आज बीपीको विचारको सबैभन्दा ठूलो परीक्षा कांग्रेसभित्रै भइरहेको छ। यदि कांग्रेसले बीपीलाई स्मृति दिवस, जयन्ती र नारामा सीमित राख्छ भने उहाँको विचार क्रमशः औपचारिकतामा सीमित हुनेछ।

आमनागरिक अहिले महँगी, बेरोजगारी, सुशासनको अभाव, भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट निराश छन्। यस्तो अवस्थामा जनमुखी लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समानता र नागरिक स्वतन्त्रताप्रति बीपीले दिएका अवधारणाले आज पनि समाधानको मार्ग देखाउन सक्छन्।

लोकतन्त्र चुनाव जित्ने प्रणाली मात्र नभई जनताको जीवनस्तर सुधार्ने माध्यम हुनुपर्छ भन्ने उहाँको दृष्टिकोण अझै अपूरो कार्यसूचीका रूपमा उभिएको छ।

विचार र व्यवहारबीच दूरी

बीपीको वैचारिक तथा सैद्धान्तिक योगदान आज पनि उत्तिकै जीवन्त छ। कांग्रेस लामो समयसम्म बीपीकै विचार र सिद्धान्तलाई आधार बनाएर अघि बढेको थियो।

तर, १४औँ महाधिवेशनपछि पार्टी बीपीको वैचारिक मार्गबाट टाढिँदै व्यक्तिकेन्द्रित र मनोमानी शैलीमा सञ्चालन हुन थालेपछि अहिलेको संकट पैदा भयो। नाम कांग्रेस रह्यो, तर बीपीको विचार कमजोर बनाइयो। त्यसैले पार्टीभित्र वैचारिक संकट र संगठनात्मक समस्या देखियो।

बीपीको सिद्धान्तअनुसार चलेको भए आज यस्तो अवस्था आउने थिएन। बीपीले प्रतिपादन गरेका लोकतन्त्र, संस्थागत निर्णय, विधिको शासन र आन्तरिक लोकतन्त्रका सिद्धान्त कुनै एक दलका लागि मात्र होइन, हरेक लोकतान्त्रिक व्यवस्थाका लागि मार्गदर्शक हुन्।

राजनीतिक उत्तराधिकार जन्म वा पारिवारिक सम्बन्धबाट होइन, विचार, त्याग र राजनीतिक कर्मबाट स्थापित हुन्छ। बीपीको नामसँग पारिवारिक सम्बन्ध हुनु र बीपीको राजनीतिक विचारको प्रतिनिधित्व गर्नु फरक विषय हुन्।

जस्तोसुकै शासन व्यवस्था आए पनि अन्ततः लोकतन्त्रलाई बलियो बनाउन बीपीका विचारतर्फ फर्किनैपर्छ। आज बीपीको विचारको सबैभन्दा ठूलो परीक्षा कांग्रेसभित्रै भइरहेको छ। यदि कांग्रेसले बीपीलाई स्मृति दिवस, जयन्ती र नारामा सीमित राख्छ भने उहाँको विचार क्रमशः औपचारिकतामा सीमित हुनेछ।

तर, पार्टीले आन्तरिक लोकतन्त्र, संस्थागत निर्णय, विधिको शासन, वैचारिक स्पष्टता र राष्ट्रिय मेलमिलापलाई व्यवहारमा उतार्न सके बीपीको विचार फेरि जीवन्त बन्न सक्छ।

कांग्रेस विभाजनको अवस्थामा पुगेका बेला बीपीको विचार पार्टीलाई पुनः संस्थागत बनाउन, लोकतन्त्रलाई बलियो बनाउन र जनविश्वास फर्काउन मार्गदर्शक बन्न सक्छ।

संगठनको आधुनिकीकरण

पार्टीभित्र देखिएको अर्को विवाद क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक हो। यो संगठन आधुनिकीकरणको अपरिहार्य प्रक्रिया हो। करिब आठ लाख क्रियाशील सदस्यलाई डिजिटल माध्यमबाट केन्द्रसँग जोड्न सके पार्टीका निर्णय र सूचना तत्काल देशभर पुग्न सक्छन्। क्रियाशील सदस्यको पारदर्शी र प्रमाणीकरणयोग्य विवरण राख्दा सदस्यतासम्बन्धी विवाद पनि घट्न सक्छ।

डिजिटल माध्यमबाट पार्टीलाई प्रत्यक्ष सदस्यसँग जोड्ने व्यवस्थाको विरोध गर्नु समयको आवश्यकतालाई नबुझ्नु हो। तर, त्यस्तो प्रणाली पारदर्शी, सुरक्षित र सबै सदस्यको पहुँचमा हुनुपर्छ।

संगठन आधुनिकीकरणलाई पनि गुटगत लाभ र हानिका आधारमा हेर्नु हुँदैन।

बीपी कुनै परिवारका पेवा होइनन्

बीपीलाई कुनै पारिवारिक सम्पत्ति बनाउन खोज्ने प्रवृत्ति पनि हाबी छ। बीपी कोइराला, गणेशमान सिंह वा महेन्द्रनारायण निधिका परिवारका सदस्य हुनु मात्र कांग्रेसको वैचारिक उत्तराधिकारी बन्न पर्याप्त आधार होइन।

बीपी अन्तर्राष्ट्रिय स्तरका नेता हुन्, कुनै परिवारका पेवा होइनन्। राजनीतिमा अब अंश खोज्ने संस्कृति स्वीकार गर्न सकिँदैन।

बीपीले छाडेको सबैभन्दा ठूलो बिरासत चारतारे झन्डा होइन, लोकतान्त्रिक चरित्र हो। कांग्रेसले त्यो चरित्र जोगाउन सकेन भने बीपीको नाम र तस्बिर त रहनेछन्, तर उहाँको राजनीति रहनेछैन।

राजनीतिक उत्तराधिकार जन्म वा पारिवारिक सम्बन्धबाट होइन, विचार, त्याग र राजनीतिक कर्मबाट स्थापित हुन्छ। बीपीको नामसँग पारिवारिक सम्बन्ध हुनु र बीपीको राजनीतिक विचारको प्रतिनिधित्व गर्नु फरक विषय हुन्।

उहाँका विचारको वास्तविक उत्तराधिकारी त्यो हो, जसले लोकतन्त्र, विधिको शासन, आन्तरिक लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय मेलमिलापलाई व्यवहारमा उतार्छ।

तस्बिर होइन, लोकतान्त्रिक चरित्र

बीपीको ४४औँ स्मृति दिवसका अवसरमा सबै नेता एउटै मञ्चमा उभिएर संवाद सुरु गरेको भए पार्टी एकताको वातावरण बन्न सक्थ्यो। समानान्तर कार्यक्रमले दूरी अझ बढाउन सक्छ।

बीपीको स्मृति मनाउने अधिकार सबैलाई छ। तर, उहाँको स्मृति दिवसलाई पनि गुटगत शक्ति प्रदर्शनको अवसर बनाउनु हुँदैन।

आज कांग्रेसको संकट नेतृत्वको मात्र होइन, संस्थागत संस्कारको संकट हो। बीपीले स्थापित गरेको राजनीतिक संस्कृति कमजोर बन्दै गएको छ। यही कारण कांग्रेसमा विवाद महाधिवेशनको भन्दा बढी विधान मान्ने वा नमान्ने विषय बनेको छ।

यदि कांग्रेसले साँच्चै बीपीको सम्मान गर्न चाहन्छ भने त्यो स्मृति दिवस, जयन्ती र भाषणबाट होइन, महाधिवेशनलाई सर्वोच्च मान्ने, संस्थालाई व्यक्तिभन्दा माथि राख्ने, फरक मतलाई सम्मान गर्ने र विधानलाई सबैका लागि समान रूपमा लागु गर्ने संस्कृतिबाट मात्र सम्भव छ।

बीपीको वास्तविक सम्मान उहाँको तस्बिरमा माल्यार्पण गर्नुमा होइन, उहाँले प्रतिपादन गरेका लोकतान्त्रिक मूल्य र सिद्धान्तलाई राजनीतिक व्यवहारमा उतार्नुमा निहित छ।

बीपीले छाडेको सबैभन्दा ठूलो बिरासत चारतारे झन्डा होइन, लोकतान्त्रिक चरित्र हो। कांग्रेसले त्यो चरित्र जोगाउन सकेन भने बीपीको नाम र तस्बिर त रहनेछन्, तर उहाँको राजनीति रहनेछैन।

(पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसले गरेको २०३० सालको विमान अपहरणमा सहभागी वसन्त भट्टराईसँग खिलानाथ ढकालले गरेको कुराकानीमा आधारित।)