काठमाडौँ। गोल्याण ग्रुपले भदौ २३ र २४ को जेन–जी आन्दोलनमा सहिद भएका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार प्रेस विज्ञप्तिमार्फत गोल्याण ग्रुपले यस्तो घोषणा गरेको हो। ‘भावनात्मक रुपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सहिदका परिवारप्रति सहकार्यको हात अघि बढाउन चाहन्छौं।’
सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने र छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुची र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने गोल्याण ग्रुपले बताएको छ। त्यसैगरी, शैक्षिक सहयोग आवश्यक नपर्ने सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरुको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने गोल्याण ग्रुपको भनाइ छ।
‘यस कार्यक्रमअन्तर्गत शैक्षिक शुल्क व्यहोर्नुका साथै बालबालिकाको रुची र क्षमता पहिचान गरी अन्य अतिरिक्त क्रियाकलापमा पनि सहयोग गरिनेछ,’ कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले भनिन्, ‘हरेक बालबालिकामा साहसका साथ नेतृत्व गर्ने, समाजलाई रुपान्तरण गर्ने प्रतिभा हुन्छ, हामी उनीहरुमा निहीत प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौं ।’
शैक्षिक सहायतामा नसमेटिएका सहिदका अभिभावकलाई स्वास्थ्य बीमामार्फत उनीहरुको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने उनले बताइन्। ‘कतिपय सहिदका अभिभावकहरु सन्तानविहीन अवस्थामा पुगेका छन्, उनीहरुलाई दीर्घकालीन स्वास्थ्यको खाँचो छ,’ उनले भनिन्, ‘त्यसैले हामीले स्वास्थ्य बीमा कार्यक्रम पनि सँगसँगै ल्याएका छौं।’
गोल्याण ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनियता र मर्यादालाई उच्च प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने जनाएको छ। सबै सहिद परिवारसँग सम्पर्क गरी सहयोग कार्यक्रममा समावेश गरिरहेको गैह्रेले बताइन्। ‘उनीहरूको जीवनमा अपार सम्भावना थियो । शिक्षक, इन्जिनियर, कलाकार, वैज्ञानिक र भावी नेतृत्वकर्ताको रूपमा उभिन सक्ने सक्षमता थियो,’ गैह्रैले विज्ञप्तिमार्फत भनेकी छन्, ‘परिवारले माया र आशा दिएर हुर्काएका ती युवाहरु गुमाउनुको पीडा शब्दमा समेट्न कठिन छ, हामी अहिले राष्ट्रिय र व्यक्तिगत रुपमा दीवंगत युवाका परिवारसँगै शोकमा छौं।’
गोल्याण ग्रुपले कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन नसक्ने भन्दै पीडित परिवारसँग हातेमालो गरेर दुःखमा साथ दिन चाहेको बताएको छ। ‘यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो।’