काठमाडौं। बढुवा भएका नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिन्ह दिइएको छ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच बढुवा भएका एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन्। मन्त्रिपरिषदको बिहीबारको बैठकले चारै जनाको बढुवा सिफारिस अनुमोदन गरेको थियो।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ आफ्नो अनुभव, विवेक र नेतृत्वबाट समग्र संगठनको विकास तथा संगठनको हितमा कार्य गर्न अनुरोध गरे। प्रहरी महानिरीक्षक खापुङ नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै भएको उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिस्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए।
बढुवा भएका अधिकृतहरूको तर्फबाट राठौरले नेपालको संविधान र विद्यमान ऐन कानुनको परिधिभित्र रहेर व्यावसायिक निष्ठाका साथ काम गर्ने प्रतिवद्धता जनाए।
बढुवा भएका चारै जनाको पदस्थापन भइसकेको छ। राठौर अपराध अनुसन्धान विभाग, चतर्वेदी कार्य विभाग, श्रेष्ठ प्रशासन विभाग र विक प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।