काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उच्च संवाद समिति गठन गर्ने निर्णय गरेको छ। वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक-राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिने तथा वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले बैठकले २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवार छनोट विधि परिवर्तन गर्न भन्दै सहमहामन्त्री विपिन आचार्य नेतृत्वमा सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
‘एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न’ सहमहामन्त्री आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । “उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय भयो‚” उनले भने।
यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया प्रारम्भ गर्दै विज्ञ, लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई परिषदमा मनोनयन गर्ने निर्णय गरेको छ । प्रवक्ता झाका अनुसार उक्त समितिमा
चितवनका वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाल भूमि ललितपुरका शोभा जोशी बिजुक्छे, तथा महोत्तरीका इन्जिनियर बुद्धिलाल विश्वकर्मालाई मनोनित गरिएको छ ।
बैठकले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने र केन्द्रीय सदस्य एवं पूर्व सांसद श्री हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।