विराटनगर। कोसी प्रदेश सरकारका बारेमा निर्णय लिन बसेको नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठकले नेकपा (एमाले) सँगको सहकार्य टुंगिएको निष्कर्ष निकालेको छ।
विराटनगरमा सोमबार बसेको बैठकले वर्तमान सरकारबाट बाहिरिने तयारी गरे पनि केन्द्रीय नेतृत्वको निर्देशनपछि मन्त्री फिर्ता बोलाउने औपचारिक निर्णय भने तत्कालका लागि स्थगित गरेको छ।
कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी थापा र केन्द्रीय सदस्य एवं प्रदेश सांसद अमृत अर्याललाई दिएको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलका नेता थापाले एमालेसँगको सत्ता साझेदारी अब समाप्त भएको बताए। ‘एमालेसँगको सहकार्य टुटेको छ। अब हामी तीनवटा विकल्पमा छलफल गरिरहेका छौँ,’ थापाले भने, ‘एमालेसँग पुनः सहकार्यको प्रयास गर्ने, नेकपासहितका दलहरूसँग मिलेर नयाँ समीकरण बनाउने वा प्रतिपक्षमा बस्ने विकल्पबारे हामी खुला छौँ।’
यसअघि बैठकले आजै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको थियो। तर, छलफल जारी रहँदा केन्द्रबाट नेताहरूको फोन आएपछि अन्तिम निर्णय रोकिएको थापाले जानकारी दिए। ‘केन्द्रीय नेताहरूले फोन गरेर तत्काल निर्णय नगर्न भन्नुभएको छ,’ उनले थपे, ‘केन्द्रीय कार्यसमितिले स्पष्ट निर्देशन पठाएपछि हामी पुनः बैठक बसेर मन्त्रीहरूबारे औपचारिक निर्णय गर्नेछौँ।’
संयन्त्रको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति थियो।
हाल कोसी सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्रायल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोसीमा पनि कांग्रेस सरकारबाट बाहिरिने निश्चित भए पनि औपचारिक प्रक्रियाका लागि केन्द्रको ‘ग्रिन सिग्नल’ पर्खिएको बुझिएको छ।