काठमाडौँ
००:००:००
२५ कार्तिक २०८२, मंगलवार

सेयर बजारअनुकूल सबै नीतिनियम आइसक्दा पनि बजार प्रभावित भइरहनुको एउटै कारण हो– बाटो पहिल्याइनसकेको राजनीति

२४ आश्विन २०८२
अ+
अ-

अर्थतन्त्रको ऐना मानिने पुँजी बजार सुधारका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको छ। अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल पुँजी बजारमैत्री नीति ल्याउन कुम जोडेर खटेका छन्। तर, उनीहरूको प्रयासलाई बजारले खासै पत्याएको देखिँदैन।

दसैँको लामो बिदापछि २१ असोजमा सेयर बजार खुलेयता नेप्से उकालो लाग्न सकेको छैन। दसैँ बिदामा १३ असोजदेखि बन्द भएको सेयर बजार २१ असोजबाट खुलेको थियो।

नियमित रूपमा त बजार १९ असोजबाटै खुल्नुपर्ने थियो। तर, अति भारी वर्षाका कारण सरकारले दिएको बिदाका कारण बजार थप दुई दिनपछि खुलेको थियो। बजार खुलेको पहिलो दिन नै सेयर बजारमा ठूलो पहिरो गयो। नेप्से ५८.५५ अंकले घट्यो। बजार घट्ने क्रम भोलिपल्ट बुधबार पनि रोकिएन। त्यस दिन ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ मा सीमित भयो। दुई दिनमा नेप्से करिब १०४ अंकले ओरालो लाग्यो।

बिहीबार भने बजार खुलेको तीन मिनेटमै नेप्से १०२ अंकले उकालो लागेको थियो। तर, यो रौनक बजार बन्द हुने बेलासम्म कायम रहन सकेन। नेप्से बढ्ने क्रम २२.५९ अंकमा सीमित भएर २५८२.१८ बिन्दुमा रोकिएको छ।

जेन-जी आन्दोलनअघि नेप्से परिसूचक २७०० विन्दु नजिक थियो। गत साउन १३ गते ३००२ अंक पुगेर सेयर बजारले चार वर्षअघिको उच्च विन्दुलाई भेटेको थियो। तर, पछिल्ला दिनमा सेयर बजारमा खासै सुधार आउन सकेको छैन।

यसअघिका अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि पूर्वअर्थसचिव रामेश्वर खनालको साथ लिएका थिए। खनालको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाइएको थियो। खनाल नेतृत्वको आयोगले अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव समेटिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

खनाल आफैँ पनि खुला बजार अर्थतन्त्रका पक्षपाती हुन्। सेयर बजारलाई प्रभावित गर्ने मुख्य निकायमध्येको राष्ट्र बैंकका गभर्नर विश्व पौडेल र अर्थमन्त्री खनालको अर्थतन्त्रप्रतिको धारणा खासै फरक पाइँदैन। अर्थतन्त्रका मुख्य सिटमा रहेका यी दुई पात्र समग्र अर्थतन्त्र र सेयर बजार सुधार्न एक भएर लागेका छन्। त्यसको प्रभाव दसैँपछिको सेयर बजारमा देखिने कतिपय लगानीकर्ताको अपेक्षा थियो। तर, तीन दिनको बजार हेर्दा त्यो अपेक्षा पूरा हुनेमा आशंका देखिएको छ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको बलमा वर्तमान सरकार गठन भएलगत्तै सेयर बजार राताम्मे भएको थियो। बजार सुधारका लागि अर्थमन्त्री खनालले ३ असोजमा पूँजी बजार सुधार सुझाव कार्यदल गठन गरेका थिए। कार्यदलले ८ असोजमा बुझाएको प्रतिवेदनमा तत्काल, मध्यकाल र दीर्घकालमा सुधार गर्नुपर्ने विषय समेटिएको थियो।

त्यसमध्ये लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको सेयर धितो कर्जाको सीमा थियो। यसअघि राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो राखेर दिइने कर्जाको सीमा २५ करोड रुपैयाँमा सीमित गरेको थियो। सुझाव कार्यदलकै सिफारिसमा राष्ट्र बैंकले यस्तो सीमा हटाइदिएको छ। त्यस्तै, सेयर बजारलाई नियमन गर्न भन्दै २०७८ सालयता ल्याइएका सबै कठोर नियम राष्ट्र बैंकले हटाइसकेको छ।

त्यति मात्र होइन, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट हुनुपर्ने सुधारका विषय पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले समेटेका सुझावहरू क्रमशः कार्यान्वयन हुँदै जाने ती निकायहरूले बताएका छन्। सेयर बजारमा लगानीकर्ताले मागेका सबै नीतिगत सहजीकरण हुँदा पनि बजार किन प्रभावित भइरह्यो त? लगानीकर्ता एवं नेपाल धितोपत्र दलाल व्यवसायी संघका पूर्वअध्यक्ष भरत रानाभाट भन्छन्, “सेयर बजार राजनीतिक अन्योलको सिकार भएको छ। राजनीति कता जाने भन्ने तय नहुँदासम्म बजार पनि अन्योलमै रहने देखिन्छ।”

हुन पनि नेपालको सेयर बजार राजनीतिक घटनाक्रमबाट प्रत्यक्ष प्रभावित हुने गरेको छ। सरकारले लिने निर्णयहरूबाट लगानीकर्ता प्रभावित हुने गरेका छन्।

अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ। तर, राजनीतिक दलहरू निर्वाचनमा जाने हुन् वा होइनन्, यकिन भइसकेको छैन। जेन-जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने विषय उठेको छ। मुख्य राजनीतिक दलहरूले यसको प्रतिवाद गरेका छन्। सरकार र दलहरूबीच प्रत्यक्ष संवाद हुन सकेको छैन। जसका कारण देशको राजनीतिक परिदृश्य स्पष्ट हुन सकेको छैन।

भोलिको राजनीतिक वातावरण कस्तो हुने भन्ने अनुमान गर्न सक्ने अवस्था नभएकाले लगानीकर्तामा पनि आत्मविश्वास नदेखिएको लगानीकर्ता रानाभाटको बुझाइ छ। भन्छन्, “लगानी गर्ने भनेको प्रतिफल लिनकै लागि हो। तर, अहिले गरेको लगानीले प्रतिफल दिन्छ कि दिँदैन भन्नै सकिने अवस्था छैन। लगानीकर्ताले भविष्यको अनुमान गर्नै सकेका छैनन्। त्यसको प्रभाव सेयर बजारमा देखिएको हो।”

अर्का लगानीकर्ता अमृत रेग्मी भने सेयर बजार अनुकूलका नीतिनियम आएकाले बिस्तारै बजार बढ्दै जाने बताउँछन्। “लगानीकर्ताले माग्दै आएको २५ करोडको सीमा हटेको छ, यसकै कारण बिहीबारको बजार सम्हालिएको हो। अब बिस्तारै उकालो लाग्छ,” उनी भन्छन्।

कात्तिक लागेपछि बजार सुधारिएको देख्न पाइने उनको विश्लेषण छ। भन्छन्, “अब बजारले सधैँ राजनीतिक विषयलाई प्राथमिकता दिने होइन। देशको अर्थतन्त्रको अवस्था हेरेर लगानी गर्ने हो। अहिले सबै कुरा सेयर बजारमैत्री छ। आत्तिनुपर्ने अवस्था नै छैन।”

लगानीकर्ता रानाभाट भने बजार घट्दा नयाँ लगानीकर्तालाई बजारमा आउने अवसर भएको बताउँछन्। “बजार घट्नु भनेको नयाँ लगानीकर्ताका लागि अवसर हो। लगानी गरेकाहरूले केही समय पर्खन पनि सक्नुपर्छ। बजार घटेको बेला पनि फाइदा देख्न सक्नेले मात्रै सेयर बजारमा लगानी गरेर कमाउन सक्छ,” उनी भन्छन्।

नयाँ राजनीतिक परिवर्तनलाई आत्मसात् गरिनसकेको भाष्य बनाएको अहिलेको सेयर बजार आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने बुझ्न आइतबार खुल्ने बजार नै पर्खनुपर्ने हुन्छ। मुख्य राजनीतिक दलहरू आन्तरिक छलफलमा रहेको र निकासको नीति बनाउने क्रममा रहेकाले त्यसको प्रभाव पनि आगामी दिनमा पर्ने नै छ।

सेयर बजारमैत्री अर्थमन्त्री र गभर्नरको सहकार्यले बजारलाई फलदायी बनाउँछ वा निरुत्साहित भन्ने कुरा आगामी साताको सेयर बजारले बताउँछन्।