काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लामा ‘अपरेसन ३६५’ सञ्चालन गरेको छ। यो अपरेसनमा स्वरुप परिवर्तन गरी चर्को आवाजमा मोटरसाइकल हुइँक्याउने व्यक्तिहरू निशानामा परेका छन्।
कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार उक्त अपरेसन चलाइएको दुई दिनमा ६० वटा मोटरसाइकल र चालक नियन्त्रणमा लिइएको छ। प्रहरीले सोमबारदेखि ‘अपरेसन ३६५’ सञ्चालन गरेको थियो।
शान्ति सुरक्षामा खलल पार्न सक्ने अन्य गतिविधिसमेत यो अपरेसनमा समावेश गरिएको कार्कीले बताए। रातको समयमा हो-हल्ला गर्ने, झै(झगडा गर्ने किसिमका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिने उनले बताए। यो अभियान वर्षभरि नै सञ्चालन गरिने कार्की बताउँछन्।
“रातको एकै समय प्रहरी परिचालन हुन्छ, शान्ति सुरक्षामा असर पार्दै हिँड्ने जोकोही व्यक्ति पक्राउ गरिन्छ,” कार्कीले भने।
उनका अनुसार यसक्रममा पक्राउ परेका २१ जना व्यक्तिलाई अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयबाट थुनामा राख्ने अनुमति लिइएको छ। अन्य व्यक्तिलाई स्वरुप परिवर्तन गरेको कसुरमा जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ।
“नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झगडा र विवाद गरेका व्यक्तिलाई अभद्र व्यवहारको मुद्दा चलाई कारबाही थालिएको छ,” कार्कीले भने।
नियन्त्रणमा लिइएका अधिकांश मोटरसाइकल बुलेट छन्। जेन(जी आन्दोलनपछि स्वरुप परिवर्तन गरी चर्को आवाजमा मोटरसाइकल हुइँक्याइएको पाइएपछि कारबाही थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस सञ्चालकहरूलाई चेतावनी समेत दिएकव छ। स्वरुप परिवर्तन गराइएको पाइए धनीसँगै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिने कार्कीले बताए।