काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

विचार

एआई जनताको हितमा प्रयोग होस् भन्ने सपना सरकारी नीतिबाट होइन, संघर्षबाट मात्र सम्भव छ।

मानव जनशक्ति प्रतिस्थापन गरिरहेको रोबोट। तस्बिर : सटरस्टक
अ+
अ-

परम्परागत कम्प्युटर प्रोग्रामहरू निश्चित नियम अनुसरण गर्छन्। तर, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) र मेसिन लर्निङ (एमएल)मा यस्ता नियमहरू पहिल्यै दिइँदैन, बरु कम्प्युटरले ती नियम आफैँ सिक्छ।

एआईका दुई मुख्य घटक छन्: वास्तु (आर्किटेक्चर) र प्रशिक्षण तथ्यांक (ट्रेनिङ डेटा)। वास्तु मेसिन लर्निङ मोडलको आधारभूत संरचना हो। सुरु न्युरल नेटवर्कबाट भयो, त्यसपछि कन्भोल्युसनल नेटवर्कहरू आए। अहिले हामी ट्रान्सफर्मर मोडलको युगमा प्रवेश गरिरहेका छौँ, जुन प्रविधिले च्याटजीपीटीजस्ता ठूला भाषा मोडलको विकासलाई गति दिएको छ।

भविष्यमा प्रशिक्षण तथ्यांक वृद्धि हुने सम्भावना कम छ। त्यसैले एआईको भावी विकास प्रायः नयाँ मोडल वा वास्तुहरूमा आधारित हुनेछ। तर, कम्प्युटेसनल क्षमता र दक्षतामा हुने प्रगतिको भूमिका पनि महत्त्वपूर्ण हुन सक्छ। केही समयअघि एक चिनियाँ कम्पनीले डिपसिक नामक नयाँ एआई भाषा मोडल सार्वजनिक गर्‍यो, जसले प्रविधि क्षेत्रलाई नै चकित पार्‍यो।

कम्पनीहरूले सैद्धान्तिक रूपमा खुला बजारको गुणगान गाए पनि व्यवहारमा तिनीहरू राज्यको सक्रिय सहयोगमै निर्भर छन्।

डिपसिकले विभिन्न प्रदर्शन मापदण्डहरूमा सबैजसो ठूला मोडल ‍ओपनएआईको च्याटजीपीटीसमेतलाई उछिन्यो। अझ अचम्मको कुरा के भने, यसको लागत खर्च अमेरिकी कम्पनीहरूले खर्च गर्ने रकमको सानो अंशमा सीमित थियो। यसको असर तुरुन्तै देखियो। करिब एक ट्रिलियन डलर बराबरको प्रविधि सेयर मूल्य बजारबाट गायब भयो र सिलिकन भ्यालीका अधिकारीहरू चीनले एआई दौड जित्ने सम्भावनाले आतंकित भए। यस घटनापछि यस क्षेत्रका धेरै कार्यकारीहरूले अमेरिकाले चीनमा अत्याधुनिक चिप्सको निर्यातमा लगाएको प्रतिबन्धको समर्थन गरे।

गुगलका पूर्वसीईओ एरिक स्मिटले लामो समयदेखि एआईलाई भूराजनीतिक युद्धका रूपमा चित्रण गर्दै आएका छन्। उनले भनेकै छन्- भविष्यमा ज्ञानमा प्रभुत्व कायम गर्ने अमेरिकी र चिनियाँ प्रतिस्पर्धा नै सबैभन्दा ठूलो लडाइँ हुनेछ। अहिले यो धारणा नीतिमा परिणत भएको छ। चिप कानुनले चीनमा उच्चस्तरीय एनभिडिया चिप बिक्रीमा प्रतिबन्ध लगाएको छ। स्मिटले आशा गरेका थिए कि यसले चिनियाँ एआई विकासलाई १० वर्षले ढिलो गर्नेछ। तर डिपसिकको सफलताले यी प्रयासलाई चुनौती दिएको छ।

यसमा प्रस्ट हुनुपर्छ- हामी अहिले कुनै नयाँ आविष्कारको महान् युगमा छैनौँ। यो त पुँजीवादी संकटको समय हो। एआईको बबल फुटिसकेको छ वा फुट्ने अवस्थामा छ, र कम्पनीहरू राज्यशक्तिको उपयोग गरेर यसलाई पुन: फुलाउन हतार गरिरहेका छन्। सिद्धान्तमा ‘खुला बजार’ को नारा दिए पनि उनीहरू राष्ट्रवादी भावनावरिपरि जुटिरहेका छन्।

साम्राज्यवाद र एआई

डिपसिक विवादलाई अमेरिका र चीनबीचको प्राविधिक प्रभुत्वको प्रतिस्पर्धा भनेर चित्रण गरिएको छ। तर, यस्तो दृष्टिकोणले संरचनात्मक तर्क साम्राज्यवादलाई बेवास्ता गर्छ, जुन निजी पुँजी र राज्यशक्तिको अन्तरक्रियाबाट उत्पन्न हुन्छ। जब ठूला कर्पोरेट कम्पनीको नाफा खतरामा पर्छ, सरकारहरूले प्रतिबन्ध, शुल्क र अनुदानहरू लागु गर्छन् र कर्पोरेटहरू सरकारसमक्ष आफ्ना माग उपयुक्त ठहर गर्न राष्ट्रवाद र ‘सुरक्षा चिन्ता’ मा केन्द्रित हुन्छन्।

क्रिस हर्मनले द स्टेट एन्ड क्यापिटलिज्म टुडे पुस्तकमा भनेझैँ पुँजीका समूह र उनीहरूसँग सम्बन्धित राज्यले एउटा प्रणाली बनाउँछ जसमा प्रत्येक पक्षले अर्कोलाई प्रभाव पार्दछन्, एकअर्कासँग यसरी गाँसिएका हुन्छन् कि प्रत्येकले अर्काबाट आहारा लिइरहेका हुन्छन्। हामीले यस्तो अवस्था पहिले पनि देखिसकेका छौँ। सन् १९८० को दशकमा जापानी गाडी कम्पनीहरूले अमेरिकी बजारको ठूलो हिस्सामा कब्जा जमाएपछि जेनेरल मोटर्स, फोर्ड र क्राइसलरजस्ता कम्पनीहरूले वासिङ्‌टनमा आयात सीमित गर्न दबाब दिए। कम्पनीहरूले राष्ट्रवादी भावनामा आधारित ‘बाई अमेरिकन’ अभियान सुरु गरे। र, अन्ततः नाफा संरक्षणका लागि राज्यको समर्थन प्राप्त गरे। कम्पनीहरूले सैद्धान्तिक रूपमा खुला बजारको गुणगान गाए पनि व्यवहारमा तिनीहरू राज्यको सक्रिय सहयोगमै निर्भर छन्।

एआई प्रविधिको तीव्र प्रतिस्पर्धाले साम्राज्यवादी राष्ट्रहरूबीचको संघर्षलाई तीव्र मात्र बनाइरहेको छैन, पुँजीवादका विरोधाभासलाई समेत गति दिइरहेको छ।

तर, यो केवल अर्थतन्त्रको कुरा होइन; सैन्य र राजनीतिक प्रभुत्वको विषय पनि हो। अमेरिका र चीन दुवैले बुझिसकेका छन् कि एआई स्वचालित युद्ध, निगरानी र श्रम नियन्त्रण अबको केन्द्रमा हुनेछ। अमेरिकाले पहिल्यै आफ्नो सैन्य रणनीतिमा एआईलाई समाहित गरिसकेको छ। पेन्टागनले अर्बौं डलर स्वचालित हतियार, साइबर युद्ध प्रविधि र एआईआधारित युद्ध प्रणालीमा लगानी गरिरहेको छ। ‘नैतिक एआई’ को कुरा गर्ने गुगल र ओपनएआईसमेत सैन्य सम्झौतामा संलग्न छन्। अमेजोन र उबरले एआई प्रयोगबाटै कामदारहरूलाई निगरानी र नियन्त्रण गर्छन्।

इजरायलले एआई प्रयोग गरेर प्यालेस्टिनीहरूलाई निगरानी र युद्ध अभियान सञ्चालन गर्छ। चीन पनि यही बाटोमा छ। विशेष गरी सिन्जियाङमा उइगुरहरूलाई नियन्त्रण गर्न अनुहार पहिचान प्रविधि र अन्य एआई उपकरण प्रयोग गरिरहेकै छ, जहाँ यस्ता कम्पनीहरू राज्य अनुदानबाट फस्टाइरहेका छन्।

यो केवल भूराजनीतिक प्रतिस्पर्धा होइन, विश्वव्यापी प्रणाली हो, जहाँ सत्ताधारीहरूले एआई प्रयोगमार्फत शोषण बढाउनेछन्, विरोध दबाउँछन् र युद्धहरूको तयारी गर्छन्। जनतालाई चाहिँ स्वास्थ्य सेवा वा उचित पारिश्रमिक दिन नसक्ने बहाना गर्छन्।

झन्डामा ‘मेड इन अमेरिका’ लेखिएको होस् वा ‘मेड इन चाइना’, परिणाम एउटै हुन्छ- बढ्दो सैन्यवाद, घट्दो अधिकार र गहिरिँदो अस्थिरता।

पुँजीवादमा एआई

एआई प्रविधिको तीव्र प्रतिस्पर्धाले साम्राज्यवादी राष्ट्रहरूबीचको संघर्षलाई तीव्र मात्र बनाइरहेको छैन, पुँजीवादका विरोधाभासलाई समेत गति दिइरहेको छ। एआईले मानवीय श्रम व्यापक रूपमा घटाउन, उत्पादन प्रक्रिया कुशल बनाउन र आधुनिक समाजका धेरै कामलाई स्वचालित गर्न सक्ने सम्भावना बोकेको छ। तर, यिनै प्रविधिले श्रमिकका लागि भय, बेरोजगारी र असमानता बढाइरहेका छन्।

हालैको अध्ययनले के देखाएको छ भने, दक्षिण कोरियामा मात्र करिब ३० लाख रोजगारी एआईको जोखिममा छन्। प्रभावित हुनेमा धेरैजसो उच्चशिक्षित, श्वेतपोस कर्मचारीहरू-जस्तै डाक्टर, लेखापाल, वकिल र वित्तीय विश्लेषक छन्। यसले प्रविधिले मुख्यतः न्यून तलब र शारीरिक श्रममा आधारित कामहरूलाई मात्र असर गर्छ भन्ने पुरानो मान्यता तोड्ने देखिन्छ। तर, असर समान छैन। प्रविधि कम्पनीका सीईओहरू अर्बौं कमाइरहेका छन्, तर श्रमिकहरू झनै अस्थिरता र बेरोजगारीको डरमा बाँचिरहेका छन्। एउटा यस्तो प्रविधि जसले मानिसलाई श्रमबाट मुक्ति दिलाउन सक्थ्यो, तर त्यही श्रमिकलाई हुने शोषणको कारक बनिरहेको छ। एउटा विरोधाभास त यही हो।

यदि एआई पुँजीपतिको नियन्त्रणमा रहिरह्यो भने भविष्य स्पष्ट छ— एक यस्तो संसार जहाँ स्वचालित दमन हुन्छ, असमानता बढ्छ र साम्राज्यवादी युद्ध एआईद्वारा लडिन्छ। एआई श्रमिक वर्गको नियन्त्रणमा रह्यो भने यो मुक्ति र स्वतन्त्रताको शक्तिशाली साधन बन्न सक्छ।

अब एआई राष्ट्रिय सर्वोच्चताको प्रतिस्पर्धा होइन, यो त साम्राज्यवादको उपकरण हो, जसलाई निजी पुँजी र राज्यसत्ताको गठबन्धनले चलाइरहेका छन्। जब नाफा खतरामा पर्छ, राज्यहरू शुल्क, प्रतिबन्ध र अनुदानमार्फत हस्तक्षेप गर्छन्। कर्पोरेटहरूले आफ्नो स्वार्थलाई राष्ट्रिय सुरक्षाको झन्डामा लुकाएर प्रस्तुत गर्छन्।

समाजवादी बनाउने चुनौती
पुँजीवादमा एआई-संकट अड्कलबाजीको विषय होइन। यो त प्रत्यक्ष नै देखिन थालेको छ। मानव मुक्तिको उपकरणको साटो एआई अहिले श्रमशोषणलाई गहिरो बनाउने, सामूहिक बेरोजगारी ल्याउने र आर्थिक अस्थिरता बढाउने माध्यम बनेको छ। तर, एआई आफैँमा स्वतन्त्र शक्ति होइन।

मुख्य प्रश्न के हो भने, एआईलाई कसले नियन्त्रण गर्छ र किन?

पुँजीवादी व्यवस्थामा एआई लाभ अधिकतम गर्ने, निगरानी विस्तार गर्ने र साम्राज्यवादी प्रतिस्पर्धा बढाउने उपकरण हो। तर, समाजवादी प्रणालीमा यही प्रविधि कामको समय घटाउन, अभाव हटाउन र उत्पादनलाई जनताको आवश्यकताअनुसार पुनःसंरचना गर्न प्रयोग गर्न सकिन्छ। त्यसैले एआईको चुनौतीलाई सम्बोधन गर्न नियमन, नैतिक मार्गनिर्देशन वा सामाजिक सुरक्षाका नीतिहरू पर्याप्त हुँदैनन्। पुँजीपति वर्गले स्वेच्छाले यस्तो प्रणाली सिर्जना गर्दैन, जसले कामदारलाई सशक्त बनाओस्।

एआई जनताको हितमा प्रयोग होस् भन्ने सपना सरकारी नीतिबाट होइन, संघर्षबाट मात्र सम्भव छ।

तर, हरेक संकट प्रतिरोधको अवसर पनि हो। एआईको भविष्य श्रमिक वर्गकै प्रतिक्रियाद्वारा निर्धारण हुनेछ। उदाहरणका लागि, दक्षिण कोरियामा गिग अर्थतन्त्रमा काम गर्ने श्रमिकहरू एआईद्वारा गरिने शोषणविरुद्ध संगठित भइसकेका छन्। एआईले कार्यभार बढाएको तर पारिश्रमिक घटाएको भन्दै संघर्ष गरिरहेका छन्।

एआई यस्तो उपकरण हुनुपर्छ जसले कामको घण्टा घटाओस्, श्रमको अवस्था सुधारोस् र सामाजिक आवश्यकता पूरा गरोस्, न कि मुनाफाका लागि कामदारलाई अनुशासित पारोस्। हाम्रो उद्देश्य केवल रोजगारी जोगाउने होइन, यस्तो समाज निर्माण गर्नु हो जहाँ प्रविधिको प्रयोगबारे निर्णय गर्ने अधिकार श्रमिकहरूसँग होस्, न कि अर्बपति वा प्रविधिका प्राधिकारहरूसँग।

यदि एआई पुँजीपतिको नियन्त्रणमा रहिरह्यो भने भविष्य स्पष्ट छ— एक यस्तो संसार जहाँ स्वचालित दमन हुन्छ, असमानता बढ्छ र साम्राज्यवादी युद्ध एआईद्वारा लडिन्छ। एआई श्रमिक वर्गको नियन्त्रणमा रह्यो भने यो मुक्ति र स्वतन्त्रताको शक्तिशाली साधन बन्न सक्छ। तर, एआईको तालाचाबी कोसँग हुनेछ निश्चित छैन। र, यो भविष्यको प्रश्न होइन, जारी संघर्ष हो।

– पौडेल दक्षिण कोरियास्थित योन्सी विश्वविद्यालय र साबिउ युनिभर्सिटी अफ सोलमा प्राध्यापन गर्छन्।