जेन-जी आन्दोलनपछि चर्चामा आएका सुधनको विगत
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति भएको भन्दै कहिले धरानवासी र सरोकारवाला आन्दोलनमा उत्रिन्छन्, कहिले सेवासुविधा कम भयो भन्दै प्रतिष्ठानभित्रकै चिकित्सक तथा कर्मचारी प्रदर्शन गर्छन्। यस्तो क्रम लामो समयदेखि चलिरहेकै छ।
२०७८ सालको अन्तिमतिर भने प्रतिष्ठानसँग प्रत्यक्ष सरोकार नदेखिने एउटा समूह एकाएक ‘प्रतिष्ठानको चरम बेथिति र विसंगतिका विरुद्ध’ आन्दोलन गर्ने भन्दै काठमाडौँबाट धरान आइपुग्यो।
ठेगाना काठमाडौँ रहेको संस्था ‘हामी नेपाल’ को टोली निसान कम्पनीको सेतो रङको गाडी लिएर आन्दोलन गर्न धरान पुगेको थियो। टोलीको नेतृत्वकर्ता थिए, संस्थाका अध्यक्ष सुधन गुरुङ, जो जेन-जी आन्दोलनपछि चर्चामा छन्।
उनीहरूले करिब पाँच महिना होटलमा बसेर धरानमा आन्दोलन सञ्चालन गरेका थिए।
धरानमा स्थानीयवासी र बीपी प्रतिष्ठानका चिकित्सक, कर्मचारीको आन्दोलन सकिएर सरकारले छानबिन समिति बनाइसकेको र प्रतिवेदनसमेत सार्वजनिक भइसकेको अवस्थामा काठमाडौँको सामाजिक संस्था खर्चिलो आन्दोलन गर्न किन धरान आयो भन्ने विषय त्यतिबेलादेखि अहिलेसम्म पनि चर्चा हुने गरेको छ। किनकि, त्यसबेलाको घटनाक्रम अलि अनौठो छ।

धरानमा सञ्चालन भएको घोपा बचाउ अभियान। तस्बिर : हामी नेपाल
२६ चैत २०७६ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. ज्ञानेन्द्र गिरीलाई प्रतिष्ठानको उपकुलपति नियुक्त गरेका थिए। तर, नियुक्तिलगत्तै विवादमा परेका गिरीविरुद्ध चिकित्सक र कर्मचारी पटक पटक आन्दोलनमा उत्रिए।
२०७८ मा पनि प्रतिष्ठानका चिकित्सक र कर्मचारीले अस्पतालको सेवा र शिक्षामा समेत प्रभाव पर्ने गरी आन्दोलन गरेका थिए। त्यसबेलाको आन्दोलनका क्रममा प्रतिष्ठानका उपकुलपति गिरीको राजीनामा मागिएको थियो। गिरीले नामका अगाडि प्राध्यापक लेख्ने गरेका थिए, तर उनले प्राध्यापक पद कतैबाट नपाएको भेटिएपछि कीर्ते गरेको भन्दै राजीनामा मागिएको थियो।
प्रतिष्ठानको समग्र बेथिति अन्त्य गर्ने नारासहित आएको सुधनको टोलीलाई धरानका युवापुस्ता र सामाजिक संघसंस्थाले खुलेर साथ दिए। त्यसपछि ‘हामी नेपाल’ र स्थानीय संघसंस्थाका प्रतिनिधि समेटेर सुरु भयो- घोपा बचाउ अभियान।
सरकारले प्रतिष्ठानको समस्या पहिचान गरेर छानबिन गर्न समिति नै बनायो। अदालतले पनि अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन नगर्न आदेश दिएपछि चिकित्सक र कर्मचारीको आन्दोलन सेलायो।
प्रतिष्ठानभित्रको आन्दोलन सुस्ताएको केही महिना बित्न नपाउँदै काठमाडौँबाट सुधनको टोली आएर प्रतिष्ठानको गेटबाहिर आन्दोलन सुरु गरेको थियो। ‘हामी नेपाल’ ले १९ चैत २०७८ देखि धरानको भानुचोकबाट आन्दोलन सुरु गरेको थियो। त्यसपछि हरेक दिन बीपी प्रतिष्ठानको डेन्टल विभागको गेटअगाडि धर्ना कार्यक्रम हुन्थ्यो।
काठमाडौँबाट आएको टोलीले एक्कासि आन्दोलन सुरु गर्दा कतिपयले प्रतिष्ठानभित्रैबाट उनीहरूलाई कसैले परिचालन गरेको आरोप लगाउँथे भने कतिपयले माथिबाटै नेता र व्यापारीले पठाएको भन्ने गरेका थिए।

घोपा बचाउ अभियानको पत्रकार सम्मेलन। तस्बिर : गोपाल दाहाल/नेपालन्युज
आन्दोलन अघि बढ्दै जाँदा सुधनको टोलीबारे यस्तो आशंका बाहिरबाट मात्र होइन, आन्दोलनकारीको टिमभित्रैबाट पनि भयो। प्रतिष्ठानको बेथिति अन्त्यका लागि भनेर सुरु भएको आन्दोलनको उद्देश्य र माग बीचैमा मोडिन थाल्यो। अभियानका संयोजक सुधनले समूहमा छलफल नगरी एकल निर्णय गरेको भन्दै समूहभित्रै असन्तुष्टि बढ्यो। सुधन नेतृत्वको आन्दोलनमा सुरुदेखि नै सहभागी नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठलगायतले केही साता नबित्दै उनीहरूको साथ छाडे। श्रेष्ठ भन्छन्, “सुरुमा बीपीको बेथिति हटाउने नारा भएकाले साथ दिएका थियौँ, तर बीचमा सुधनले टिमभित्र कसैसँग सल्लाह नगरी प्रतिष्ठान व्यवस्थापनसँग विभिन्न माग राख्न थाले। टिममा सल्लाह गरेर अघि बढौँ भन्दा माथिको कोर ग्रुपबाट आएको कुरा हो भन्थे। त्यसपछि यो कतैबाट परिचालित आन्दोलन रहेछ भनेर साथ छाडेका हौँ।”
त्यसबेला आन्दोलनमा सहभागी भएकाहरूका अनुसार सुधनको त्यतिबेला नै तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता गगन थापासम्म पहुँच थियो। तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडासँग पनि उनी सम्पर्कमै हुन्थे। नेवार एकता समाजका अध्यक्ष श्रेष्ठ भन्छन्, “सुधन बेलाबेला देउवा र गगनलाई भेटेको कुरा गर्थे। आन्दोलनबारे मन्त्रीसँग कुरा भइरहेको भनेर हामीलाई सुनाउँथे।”
जेन-जी आन्दोलनपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा सुधन जसरी अस्पष्ट छन्, धरान आन्दोलनमा पनि त्यस्तै थिए। बेलाबेला मुद्दा नै परिवर्तन गरिरहन्थे। धरानमा आन्दोलन सुरु गर्दा उनको माग बीपी प्रतिष्ठानको बेथिति अन्त्य गर्नु थियो, तर आन्दोलन समापन हुने बेला उनले एमआरआई मेसिन खरिद गर्न टेन्डर गर्नुपर्नेजस्ता सामान्य विषयमा सम्झौता गरे।

प्रतिष्ठानको टोली र आन्दोलनकारीबीचको वार्ता। तस्बिर : हामी नेपाल
घोपा बचाउ अभियानमा सुरुदेखि अन्तिमसम्मै सहभागी भएका धरानका देवलाल श्रेष्ठ भन्छन्, “उनीहरू टाढाबाट आएर आन्दोलन गरे भनेर हामी पनि सहभागी भयौँ। तर, सोचेजस्तो परिवर्तन भएन। सामान्य कुरामा सुधार भए पनि मुख्य समस्या अहिले पनि जस्ताको तस्तै छ।”
सुधन नेतृत्वको टोलीले १९ चैत २०७८ मा प्रेस विज्ञप्ति जारी गरेर प्रतिष्ठानको बेथिति अन्त्य नहुन्जेल निरन्तर शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै आन्दोलन सुरु गरेको थियो। त्यसबेला ‘हामी नेपाल’ ले प्रतिष्ठानमा गरिने नियुक्ति मापदण्डअनुसार हुनुपर्ने, भ्रष्ट र गैरजिम्मेवार कर्मचारीलाई कारबाही गरिनुपर्ने, एमआरआईलगायत आवश्यक मेसिन खरिद प्रक्रिया अघि बढाउनुपर्ने, अस्पतालमा पारदर्शिता कायम हुनुपर्ने, उपचार पद्धति र औषधि खरिदबिक्री व्यवस्थित हुनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालको फोहोर व्यवस्थापन गरिनुपर्नेजस्ता सात बुँदे माग राखेको थियो।
प्रतिष्ठानको समग्र बेथिति अन्त्य गर्ने नारासहित आएका सुधनको टोलीलाई धरानका युवापुस्ता र सामाजिक संघसंस्थाले खुलेर साथ दिए। त्यसपछि ‘हामी नेपाल’ र स्थानीय संघसंस्थाका प्रतिनिधि समेटेर सुरु भयो- घोपा बचाउ अभियान। अभियानअन्तर्गत बीपी प्रतिष्ठान परिसरमा आन्दोलनकारीहरू धर्ना बस्न थाले।
त्यसबेला २०७९ सालको स्थानीय तह निर्वाचन नजिक आइरहेको थियो। हाल धरानका मेयर रहेका हर्क साम्पाङ चुनावी अभियानमा लागिसकेका थिए। उनले आफू बीपी प्रतिष्ठान सुधारको पक्षमा रहेको र आफूले जिते प्रतिष्ठान सुधार्ने भन्दै धर्नास्थलमा पुगेर भोट मागे। धरानका तत्कालीन मेयर तिलक राईले पनि आन्दोलनस्थलमा पुगेर प्रतिष्ठानका बेथिति अन्य गर्न सबै लाग्नुपर्ने भाषण गरेका थिए। अन्य राजनीतिक दलका नेता-कार्यकर्ता पनि बेलाबेला धर्नास्थल पुगेर भाषण गर्थे, भोट माग्थे। तर, आन्दोलन चलेको एक महिना पुग्दा पनि प्रतिष्ठान प्रशासनले संवाद र समस्या समाधानको कुनै पहल गरेन।
एक महिनापछि १९ वैशाख २०७९ मा अभियानले प्रतिष्ठानका उपकुलपति गिरीसमक्ष ३२ वटा माग लिखित रूपमा पेस गरेको थियो। जसमा भ्रष्टहरूलाई कारबाही गर्नुपर्ने, आवश्यक मेसिन खरिद गर्नुपर्ने, चिकित्सक पलायन रोक्नुपर्ने, आन्तरिक व्यवस्थापन सुधार्नुपर्नेदेखि २०७८ सालमा वैकुण्ठ अर्याल नेतृत्व कार्यदलको प्रतिवेदनले दिएको सुधारको खाका अक्षरश: लागू गरिनुपर्नेसम्मका माग थिए।

आन्दोलनको एक महिनापछि बुझाइएको ३२ बुँदे मागपत्र।
३१ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्यालको संयोजकत्वमा बीपी प्रतिष्ठानका विषयमा समस्या पहिचान तथा छानबिन कार्यदल गठन गरेका थिए। चिकित्सक र कर्मचारीको लामो आन्दोलनपछि गठन भएको उक्त कार्यदलले १८ साउनमा बुझाएको प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति गिरीले लेख्ने गरेको प्राध्यापक पदको प्रमाण पेस गर्न नसकेको, कार्यालयमा मदिरा सेवन गरेर आएको जस्ता विषयमा कानूनी कारबाहीको सिफारिस गरेको थियो। ‘हामी नेपाल’ समूहले राखेका अधिकांश माग त्यही प्रतिवेदनमा आधारित थिए।
नेकपा (एमाले) सरकारले नियुक्त गरेका उपकुलपति गिरीलाई हटाउन चाहनेमा कांग्रेसका स्थानीय नेतादेखि केन्द्रीय नेतासम्म थिए। गिरी बारम्बार विवादमा परिरहेका बेला र देउवाले गठन गरेको कार्यदलले समेत उनलाई कारबाहीको सिफारिस गरेको अवस्थामा सोही प्रतिवेदनले उठाएका विषयलाई आफ्ना माग बनाएर सुधन नेतृत्वको टोली धरान आइपुगेको थियो।
भर्खर चुनाव जितेका साम्पाङको रापताप त्यसबेला बेग्लै थियो। उनका समर्थक धेरै थिए। उनले सार्वजनिक रूपमै सुधनको आलोचना गर्न थालेपछि उनका समर्थकहरू आन्दोलनमा सहभागी हुन छाडे।
आन्दोलनकै बीचमा स्थानीय तहको चुनाव सकियो। आन्दोलन भने कहिले सकिने टुंगो थिएन। आन्दोलन सुरु भएको झन्डै दुई महिनापछि १६ जेठ २०७९ मा आन्दोलनकारी र प्रतिष्ठानबीच आन्दोलनकारीले उठाएका ३२ बुँदे मागका विषयमा छलफल र सम्बोधन गर्न कार्यदल गठन गर्ने सहमति भयो। जसमा प्रतिष्ठानका तर्फबाट पाँच, आन्दोलनकारीका तर्फबाट पाँच र धरान उपमहानगरका एक जना प्रतिनिधि राखिएको थियो।
कार्यदलले लगातार ६ दिन बैठक बसेर रायसुझावसहित २३ जेठमा प्रतिवेदन बुझाएको थियो। तर, उपकुलपति गिरीले प्रतिवेदन कार्यान्वयन गरेनन्। त्यसपछि आन्दोलन झनै लम्बियो। आन्दोलनमा सिक्किम र दार्जिलिङतिरबाट पनि युवाहरू सहभागी भएका थिए। उनीहरूले धरानवासी जाग्नुपर्ने भन्दै आफ्नो परिचयसहित बोलेका भिडियो अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छन्। सिक्किमबाट आएका पदम तामाङले आन्दोलनस्थलमा भाषण गर्दै बीपी प्रतिष्ठानमा कसैको ज्यानमा खेलबाड भएकाले आन्दोलनमा सहभागी हुन धरानवासीलाई आग्रह गरेका थिए। उनले भनेका थिए, ‘म सिक्किमबाट आएर त बोल्दै छु भने तपाईंहरू किन बोल्नुहुन्न?’
तर, आन्दोलन लम्बिँदै जाँदा आन्दोलनकारीबीच नै फाटो बढ्यो। प्रदर्शनमा सहभागीको संख्या घट्न थाल्यो।
धरानमा बसेर आन्दोलन हाँकिरहेको सुधनको समूहलाई हङकङ, बेलायतलगायत देशमा रहेका धराने र स्थानीयवासीले आर्थिक र भौतिक सहयोग पठाउने गरेका थिए। तर, कति रकम उठ्यो र कहाँ कसरी खर्च भयो भन्ने पारदर्शी नभएको भन्दै आन्दोलनका सहभागीहरूले नै असन्तुष्टि व्यक्त गरेका थिए। त्यसबेला आन्दोलनमा सहभागी रहेका देवलाल श्रेष्ठ भन्छन्, “स्थानीयवासी पानी, खानेकुरा उपलब्ध गराउने र आर्थिक सहयोग पनि गर्थे। हङकङ र बेलायतबाट पनि धेरै जनाले पैसा पठाएका थिए। हामीले हिसाब त हेरेनौँ, आन्दोलनमै खर्च भयो होला।”
स्थानीय तहको चुनाव अगाडि पटक पटक त्यही मञ्चलाई भोट माग्ने थलो बनाएका हर्क साम्पाङ त्यतिबेला धरानको मेयर बनिसकेका थिए। आन्दोलनकारीहरूले मेयर साम्पाङलाई पहिलेको वाचा सम्झाउँदै आन्दोलनको कार्यक्रममा सहभागी बन्न आग्रह गरे। तर, साम्पाङले जान मानेनन्। बरु उल्टै बाहिरबाट आएर धरानमा आन्दोलन गरेको भन्दै गाली गर्न थाले। सुधन र हर्क एकअर्काविरुद्ध आरोप र गालीगलौजमै उत्रिए। त्यसै क्रममा साम्पाङले सुधनलाई ‘भारतीय नागरिक’ भन्ने आरोपसमेत लगाएका थिए। १८ असार २०७९ मा सामाजिक सञ्जालमा साम्पाङले आन्दोलन लिक बाहिर जान थालेको र यसले अस्पताल सुधार हुनुको साटो अन्यत्र सर्ने खतरा रहेको लेखेका थिए। उनले आन्दोलनप्रति आफ्नो समर्थन नरहेको लेखेका थिए। राष्ट्रियताबारे आक्षेप आएपछि त्यसको प्रतिवाद गर्दै सुधनले आन्दोलन कार्यक्रममै आफ्नो नागरिकता प्रमाणपत्र देखाएका थिए।

सुधनको नागरिकताको फोटोकपी
भर्खर चुनाव जितेका साम्पाङको रापताप त्यसबेला बेग्लै थियो। उनका समर्थक धेरै थिए। उनले सार्वजनिक रूपमै सुधनको आलोचना गर्न थालेपछि उनका समर्थकहरू आन्दोलनमा सहभागी हुन छाडे।
करिब पाँच महिना निरन्तर प्रदर्शन भएपछि तत्कालीन संघीय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ धरान आएर आन्दोलनकारीसँग वार्ता गरी सहमति गरे। मन्त्री खापुङ, आन्दोलनकारीका तर्फबाट सुधन र प्रतिष्ठानका उपकुलपति गिरीबीच ५ भदौ २०७९ मा पाँचबुँदे सहमति भयो। जसमा डिजिटल एक्स-रे मेसिन जडान गर्ने, एमआरआई मेसिन खरिदका लागि टेन्डर आह्वान गर्ने, खरिद प्रक्रिया पारदर्शी बनाउने, चिकित्सक छनोट प्रक्रिया पारदर्शी बनाउने, व्यवस्थापन चुस्त बनाउने र सम्बन्धित निकायबाट अस्पतालको नियमित अनुगमन गर्नुपर्ने सामान्य विषय मात्र थिए। उनीहरूले सुरुदेखि उठाउँदै आएका बेथिति अन्त्यको कुरा सहमतिपत्रमा कतै थिएन।

५ भदौ २०७९ मा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र आन्दोलनकारीबीच भएको पाँचबुँदे सहमति।
यद्यपि, उनीहरूले पाँच महिना लामो आन्दोलनपछि गरेको सहमति हालसम्म पनि पालना भएको छैन। अहिले पनि एमआरआई मेसिन नहुँदा बिरामी विराटनगर जानुपर्ने अवस्था ज्युँका त्युँ छ। बीचमै आन्दोलन छाडेका महेश श्रेष्ठ भन्छन्, “पारदर्शिताको कुरा उठाएर आन्दोलन गर्ने मान्छे आफैँ चाहिँ आर्थिक वा अन्य कुरामा पारदर्शी थिएनन्। ठूला नेताहरूसँगको पहुँच, जीवनशैली हेर्दा उनी आफ्नै दिमागले चलेका होइनन्, अरू कसैले प्रयोग गरेको बुझ्न सकिन्थ्यो।”

मन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा भएको आन्दोलनको समापन। तस्बिर : हामी नेपाल
पहिला डिजे, पछि अभियन्ता
सुधनको धरान र धनकुटासँगको सम्बन्ध पुरानै हो। उनले आन्दोलनकै क्रममा सार्वजनिक गरेको नागरिकता प्रमाणपत्रअनुसार उनी गोरखाको चुमनुव्री गाउँपालिका–३ का दिलबहादुर गुरुङका छोरा हुन्। दिलबहादुरकी दोस्री श्रीमती ज्ञानु लामा तामाङ सुधनकी आमा हुन्।
आफूलाई ‘ज्वालादेवी चण्डी माता’ बताउने काठमाडौँ बौद्धकी ज्ञानु २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृह जाँदा समर्थक र प्रस्तावक नपाएपछि चौरमै रोईकराई गरेको भिडियो मिडियामा सार्वजनिक भएको थियो। उनले स्थानीय तहको चुनावमा पनि काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। चुनावैपिच्छे उम्मेदवारी दिने ज्ञानु राजावादीका कार्यक्रमहरूमा सहभागी हुने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
सांगीतिक क्षेत्रमा रहँदा बालेन (हाल काठमाडौँका मेयर बालेन्द्र साह)सँग पुरानै चिनजान रहेका सुधन रातारात नेपाली सेनासँग वार्ता गर्नेदेखि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, संसद् विघटन गर्नेजस्ता बालेनकै एजेन्डा लिएर अघि बढे।
काठमाडौँमै जन्मिएका सुधन भने सानो छँदा धनकुटास्थित आफन्तको घरमा बस्न थाले। उनले केही वर्ष धनकुटाको बाल संसार स्कुलमा अध्ययन गरेका थिए। भेडेटार होटल एसोसिएसनका पूर्वअध्यक्ष विष्णु श्रेष्ठ सुधनको बुढो मावलीतर्फका हजुरबुवा नाता पर्ने आफन्त हुन्। उनकै घर धनकुटामा बसेर केही वर्ष बाल संसारमा पढेको विष्णु बताउँछन्। बाल संसारका सञ्चालक नवीन राउतले पनि सुधन सानोमा त्यहाँ पढेको बताए। उनी भन्छन्, “धनकुटामा अहिले पनि सुधनसँग पढेकाहरू धेरै छन्।”
आमा ज्ञानुले सुधनलाई धरानमा रहेका आफन्तका घरमा पनि सानैदेखि ल्याउने गरेकी थिइन्। धरानका रुपम लामा, अनुप लामा ज्ञानुका आफन्त थिए।
धनकुटापछि उनी चितवन गए र उतै पढे। त्यसपछि काठमाडौँ गए। काठमाडौँका क्लब र होटलतिरको मनोरञ्जन दुनियाँमा रमाउन थाले।
२०६४/६५ सालताका धरानमा ठूला डान्स पार्टी आयोजना हुन्थे। लामो कपाल पालेका सुधन त्यसबेला डान्स पार्टीमा नचाउने डीजे (डिस्क जक्की)का रूपमा धरान आउन थाले। एकपटक उनले धरान-१५ को स्विमिङ पुलमा डान्स पार्टी गरेका थिए, त्यो कार्यक्रममा फेसन-सो पनि भएको थियो। फेसन-सोको कोरियोग्राफी धरानकै मोडल भगवती लिम्बूले गरेकी थिइन्। त्यसपछि सुधनले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको तत्कालीन निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टको खुला मैदानमा मास्क डान्स पार्टी गरेका थिए। ‘ओएमजी’ नामको उनको कम्पनीले यस्ता कार्यक्रम आयोजना गर्ने गरेको थियो। धरानका पुराना डीजे ललित राई सुधनले धरानमा दुईतीन वटा पार्टी आयोजना गरेको सम्झना गर्छन्। भन्छन्, “पहिला डान्स पार्टीकै क्रममा भएको चिनजानबाट पछि आन्दोलन सञ्चालन गर्न उनलाई सजिलो भयो।”

डीजे हुँदा सुधन। तस्बिर : सुधनको फेसबुक
काठमाडौँका होटलहरूमा समेत डिजेइङ गरेर पार्टीप्रेमीलाई नचाउने गरेका डीजे सुधनले २०७२ सालको भूकम्पपछि होटल व्यवसाय ठप्प भएसँगै यो पेसा छाडे। उनी भूकम्पपीडितलाई राहत वितरणमा सक्रिय बने। त्यसपछि ‘हामी नेपाल’ संस्था नै बनाएर सामाजिक काममा लागेका उनी आफू डीजे हुँदाको सम्बन्ध पहिल्याउँदै आन्दोलन गर्न धरान आइपुगेका थिए।
उनले धरान आएर होटल एसोसिएसन अफ धरानका पूर्वअध्यक्ष तथा हाङकुक साराङ कोरियन रेस्टुरेन्टका सञ्चालक महेश श्रेष्ठ ‘बिकी’ सँग आन्दोलनका लागि मान्छे जम्मा गर्न सहयोग मागे। बिकीले नै उनलाई स्थानीय सामाजिक संघसंस्थाका मान्छे र सञ्चारकर्मी भेटाइदिएका थिए। श्रेष्ठ भन्छन्, “पुरानै चिनजान भएकाले आन्दोलनका लागि मैले नै साउन्ड सिस्टम दिएँ, मान्छेहरू भेटाइदिएँ।”
त्यही क्रममा नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ, सामाजिक संस्था होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेलगायतको समूहले सुधनलाई साथ दियो। उनले स्थानीय युवाहरू सृष्टि श्रेष्ठ, स्पेन मगरलगायतलाई समेटेर ‘घोपा बचाउ अभियान’ समूह बनाए। हालको बीपी प्रतिष्ठान रहेको ठाउँमा पहिला ब्रिटिस गोर्खा सैनिक भर्ती केन्द्र थियो, जसलाई घोपा क्याम्प भनेर चिनिन्थ्यो। अहिले पनि पुराना स्थानीय बीपीलाई घोपा क्याम्प नै भनेर चिन्छन्। त्यही पुरानो नामबाट अभियान सुरु गरिएको थियो।
घोपा बचाउ आन्दोलनमा जस्तै जेन-जी आन्दोलनमा पनि सुधनको चर्चा र विवाद उत्तिकै छ। जेन-जी आन्दोलनको पहिलो दिन २३ भदौमा आफूलाई आन्दोलन व्यवस्थापनमा सहयोग पुर्याउने स्वयंसेवकका रूपमा मात्र चिनाएका सुधन भोलिपल्ट २४ भदौमा एकाएक जेन-जीका नेताका रूपमा चर्चामा आए।
सांगीतिक क्षेत्रमा रहँदा बालेन (हाल काठमाडौँका मेयर बालेन्द्र साह)सँग पुरानै चिनजान रहेका सुधन रातारात नेपाली सेनासँग वार्ता गर्नेदेखि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, संसद् विघटन गर्नेजस्ता बालेनकै एजेन्डा लिएर अघि बढे। धरानमा सुधनलाई भारतीय एजेन्टका रूपमा चित्रण गर्ने हर्क आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै समर्थकसहित काठमाडौँ पुगेका थिए। त्यहाँ पुगेर हर्क र उनका समर्थकले सुधनलाई गाली गर्न बाँकी राखेनन्। हर्क र बालेनका समर्थकबीच त हात हालाहाल नै भयो।
धरानमा पाँच महिना सडक आन्दोलन गरेर असफल बनेका सुधनलाई जेन-जी आन्दोलनपछिको विकसित घटनाक्रमले कहाँ पुर्याउँछ, अहिले भन्न सक्ने अवस्था छैन। घोपा बचाउ अभियानमा सक्रियतापूर्वक सहभागिता जनाएका होप धरानका अध्यक्ष निश्चल मोहन पलिखे कुनै बेला सँगै आन्दोलन गरेका सुधनका पछिल्लो विवाद देखेर चिन्ता गर्छन्। भन्छन्, “म सुधनलाई सामाजिक अभियन्ताकै रूपमा चिन्छु, तर पहिले र अहिले उनको काम गर्ने शैली, विवाद देख्दा शंका लाग्छ, कतै उनी कसैको हतियार त बनिरहेका छैनन्?”