शक्तिशाली र अधिनायकवादी शासक पनि हास्य संयन्त्रसँग कसरी डराउँछन् भन्ने मिमले प्रमाणित गरेको छ।
बिहान आँखा खुलेदेखि बेलुकी सुस्ताउने क्षणसम्म यान्त्रिक जीवन बिताउने हामी सामाजिक सञ्जालको जालमा अल्झिएका ‘सामाजिक प्राणी’ हौँ। विशेष गरी युवा पुस्ताका लागि सामाजिक सञ्जाल नै उनीहरूको थातथलोजस्तो बनिसकेको छ।
यी सञ्जालमा युवा विभिन्न भाषा बोल्छन्। कोही देशको अवस्थालाई ‘बाल’ दिँदै बिदेसिन आयल्ट्स र पीटीई तयारीमा छन्। कोही नेता बन्ने सुरमा नाराबाजी गर्दै छन्। अनि कोही रोचक व्यंग्य र विद्रोह एउटै भाषामा मिसाएर बोलिरहेका छन्, ‘मिम’ भाषा। मिम अर्थात् छोटो, रमाइलो वा व्यंग्यपूर्ण अभिव्यक्ति। यो फोटो, भिडियो वा शब्द संयोजनको माध्यमबाट बनाइन्छ र सामाजिक वा राजनीतिक कुरा छिटो फैलाउन प्रयोग गरिन्छ।
विभिन्न शैक्षिक अध्ययनहरूले पनि मिम वा सामाजिक सञ्जालले परम्परागत मिडियाको एजेन्डा-सेटिङ क्षमतालाई उछिन्न थालेको देखाउँछन्।
सन् १९७६ मा रिचर्ड डकिन्सले द सेल्फिस जिन पुस्तकमा ‘मिम’ शब्दको प्रयोग गरेका थिए। यो शब्द ग्रिकको ‘मिमेमा’ बाट आएको हो, यसको अर्थ हुन्छ ‘नक्कल गरिएको कुरा’। डकिन्सका अनुसार ‘मिम’ भनेको एउटा विचार, व्यवहार वा शैली हो, जुन मानिसहरूबीच सर्दै जान्छ, जिनजस्तै।
इन्टरनेट र सामाजिक सञ्जाल आएपछि यसको अर्थ फरक भयो। अहिले ‘मिम’ भन्नाले इन्टरनेटमा छिटो फैलिने रमाइला तस्बिर, भिडियो वा लेख बुझिन्छ। हेर्दा मिम मामुली चुट्किलाजस्तो लाग्न सक्छ। तर, यसको प्रभाव निकै ठूलो हुन सक्छ। मिम हास्य मात्र होइन, एजेन्डा सेट गर्न, दबिएका कुरा प्रकट गर्न वा कहिलेकाहीँ नीतिमा दबाब सिर्जना गर्ने माध्यम बन्दै छ।
आन्दोलनको अस्त्र
हाम्रो देशमा २३ भदौमा भएको जेन-जी आन्दोलनले ठूलो उथलपुथल ल्यायो। माध्यमका हिसाबले भन्ने हो भने यसको पृष्ठभूमिमा मिम संस्कृति नै हाबी थियो। सुरुमा यी मिम भ्रष्टाचारविरोधी र व्यंग्यात्मक थिए; विशेष गरी टिकटकमा ‘नेपो–बेबिज’ अर्थात् राजनीतिकर्मी र सार्वजनिक व्यक्तित्वका छोराछोरीको विलासी जीवनशैलीलक्षित। यी मिम छोटो समय हँसाउने खालेजस्ता देखिन्थे, तर बिस्तारै यसले सामूहिक असहमतिको रूप लियो। शक्तिको दुरुपयोग, भ्रष्टाचार र आर्थिक असमानताविरुद्ध आवाज उठायो।
जेन-जीले इन्टरनेटलाई मिम, स्लोगन र डिजिटल विरोधको शक्तिशाली माध्यम बनायो। नव युवा पुस्ताले मिममार्फत आफ्नो असन्तोष व्यक्त मात्र गरेनन्, यसलाई सहभागितात्मक बनाए।
मिममार्फत युवा आन्दोलित भएका प्रशस्त उदाहरण छन्। सन् २०१९ मा भएको हङकङ प्रदर्शनका क्रममा ‘पेपे द फ्रग’ पात्र प्रयोग गरेर सरकारविरुद्ध सन्देश फैलाइयो, जसले आन्दोलनलाई विश्वभर चिनायो। सन् २०२० मा कोभिड-१९ संक्रमणका कारण भएको लकडाउनमा काठमाडौँमा भएको ‘इनफ इज इनफ’ क्याम्पेनले यही देखायो। फेसबुक समूहबाट सुरु भएको यो अभियानले सुरुमा पोस्टर, स्लोगानसँगै इन्टरनेट मिम र डिजिटल पोस्टरलाई मुख्य अस्त्र बनाएको थियो। यस आन्दोलनमा हजारौँ सदस्य जोडिए। केही दिनमै देशभर सयौँ साना-ठूला प्रदर्शन निम्त्यायो। कसरी मिम र माइक्रो-कन्टेन्ट पनि सडकउन्मुख आन्दोलनको इन्धन बन्न सक्छन् भन्ने प्रमाण पनि थियो, त्यो।
सन् २०११ को ‘अरब स्प्रिङ’ आन्दोलनमा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालमा बनेका मिम, भिडियो र ह्यासट्यागहरूले ट्युनिसियादेखि इजिप्टसम्म आन्दोलन फैलाउन र मिलेर अघि बढाउन ठूलो मद्दत गरे। परम्परागत मिडियाले भन्दा यी माध्यमले जनतामा धेरै छिटो सन्देश पुर्याए।
मिम ‘प्रतिरोधको भाषा’ किन पनि हो भने यसले सामान्य मानिसलाई ‘आवाज’ दिन्छ। राजनीतिक शक्ति, राज्यको नियन्त्रण वा ठूला मिडियाको पहुँच नभएका युवाले मिममार्फत आफ्ना भावनालाई छिटो हँसाउने तर गहिरो ढंगले प्रस्तुत गर्न सक्छन्।
भारतमा पनि मिमहरू आन्दोलनको हतियार बने। नागरिकतासम्बन्धी सीएए-एनआरसी विरोधका बेला ‘साहिन बाग’ मिमहरूले मुस्लिम समुदायलाई समर्थन गरे र सरकारको निर्णयमा प्रश्न उठाए। त्यस्तै, अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा बनेका मिमहरूले ‘आई कान्ट ब्रिथ’ नारा संसारभर फैलाइदिए।
मिमहरूले केवल राजनीतिक टिप्पणी वा व्यंग्य गर्दैनन्। जलवायु बेचैनी (इको-एन्जायटी) जस्ता भावनात्मक विषय पनि उजागर गर्छन्। जलवायु संकटबारे बनेका मिमहरूले युवामा भविष्यप्रतिको अनिश्चिततालाई स्पष्ट रूपमा व्यक्त गर्न मद्दत गर्छन्।
विश्वभर र नेपालमा पनि महिलावादी ह्यासट्याग अभियानहरूले फेसबुक र एक्समा प्रयोग गरेका मिम र माइक्रो–भिजुअलहरूले लैंगिक पूर्वाग्रह, पुरुषसत्तात्मक नीति र अन्य असमानतासँग सम्बन्धित विषयमा सजिलै चुनौती दिन सक्छन्। मिमहरूले युवा दर्शकको सोच र मानसिकता बदल्ने क्षमता पनि राख्छन्। सही नियतले उपयोग गरिए मिम, लोकतन्त्रको आवाज बन्छ।
मिमको भूमिका निकै प्रभावशाली छ। विभिन्न शैक्षिक अध्ययनहरूले पनि मिम वा सामाजिक सञ्जालले परम्परागत मिडियाको एजेन्डा-सेटिङ क्षमतालाई उछिन्न थालेको देखाउँछन्। अर्थात् मिम जति नै सानो भए पनि, सामाजिक ‘मुड’ सही तरिकाले नाप्न सफल भएमा यसले टेलिभिजन वा पत्रिकाले जस्तै समाजमा प्रभाव पार्ने सम्भावना हुन्छ।
नेपालमा बढ्दो इन्टरनेटको प्रयोगसँगै सूचना आदानप्रदानको तरिका धेरै फरक हुन थालेको छ। डिजिटल युगका कर्णधारहरूले सरकारका निर्णयहरूमा थप जवाफदेही र पारदर्शिता खोजिरहेका छन्। व्यंग्यात्मक हास्य, मिमजस्ता सामग्रीले टिकटक र युट्युबमार्फत शक्तिशाली प्रतिरोधको भूमिका खेल्न थालेका छन्। कुनै बेला राजाले दिएको भाषणको प्यारोडीले डरको माहोलमा पनि मानिसलाई हौसला र ऊर्जा दिएको थियो। अहिले सामाजिक सञ्जालमा त्यही प्रकारको हास्य प्रतिरोध मिमका रूपमा फैलिरहेको छ र धेरै मानिससम्म पुगिरहेको छ।
मिम ‘प्रतिरोधको भाषा’ किन पनि हो भने यसले सामान्य मानिसलाई ‘आवाज’ दिन्छ। राजनीतिक शक्ति, राज्यको नियन्त्रण वा ठूला मिडियाको पहुँच नभएका युवाले मिममार्फत आफ्ना भावनालाई छिटो हँसाउने तर गहिरो ढंगले प्रस्तुत गर्न सक्छन्। व्यंग्य र हास्यमा लुकेको सत्यले डर, सेन्सरसिप र प्रत्यक्ष दमनको सामना गर्न मद्दत गर्छ। यही कारण अधिनायकवादी शासनदेखि भ्रष्ट नीतिसम्म मिम प्रतिरोधको वैकल्पिक भाषामा परिणत हुन्छ। हाँसोको आवरणले कठोर आलोचनालाई ‘हल्का’ देखाउन सक्छ, तर भित्रको सन्देश तीखो हुन्छ।
मिमले जेन-जीको डिजिटल एकता देखायो। तर, यसको सीमालाई नाघ्दा घृणा, व्यक्तिगत हमला र भावनात्मक चोट पनि पुग्न सक्छ।
तर, मिम बनाउने यात्रा कठिन र जोखिम पनि छ। सन् २०१९ मा फेसबुक पेज ‘मिम नेपाल’ का हास्य कलाकार प्रनेश गौतमलाई चलचित्रको व्यंग्यात्मक भिडियो समीक्षाका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको थियो। यो डिजिटल व्यंग्य र कानुनी हस्तक्षेपबीचको रस्साकस्सीको स्पष्ट उदाहरण हो। यस्ता घटनाले युवा क्रिएटरहरूलाई स्वनियन्त्रण (सेल्फसेन्सरसिप)तर्फ धकेल्ने जोखिम छ। अनलाइन अभिव्यक्तिलाई मानहानि वा साइबर अपराधसँग जोडेर सजिलै दबाउन सकिन्छ भन्ने डर अझै व्यापक छ।
दुरुपयोगको खतरा
कोभिड–१९ महामारीताका ‘लसुन खाएमा कोरोना लाग्दैन’ भन्ने गलत मिम भाइरल भयो, जसले जनस्वास्थ्य संकटलाई अझ गम्भीर बनायो। गएको स्थानीय चुनावमा केही राजनीतिक नेताको गलत कोट र फोटो राखेर बनाइएका मिमहरूले भ्रामक सूचना फैलाए। यो डिसइन्फर्मेसन थियो, किनकि जानाजान गलत कुरा फैलाइएको थियो। मिसइन्फर्मेसन भने अन्जानमै हुने गर्छ। जस्तै, खोपको असरबारे वैज्ञानिक प्रमाण नबुझी बनाइएका ‘भ्याक्सिनले बाँझोपन ल्याउँछ’ भन्ने मिमलाई धेरैले विश्वास गरेर सेयर गरे।
मिमलाई प्रतिरोधको भाषा बनाउने शक्ति यसको तीक्ष्ण व्यंग्य र छिटो प्रसार क्षमतामा हो भने यो दुरुपयोग भई खतरनाक हतियार बन्ने सम्भावना पनि उत्तिकै छ। मिमको दुरुपयोग गर्दा मिस-डिस-मालइन्फर्मेसन (गलत, भ्रामक र प्रायोजित सूचना)को खतरा हुन सक्छ। मिमहरूले राजनीतिक सक्रियता, सहानुभूति र एकताको सन्देश फैलाउन सक्छन्, तर त्यही माध्यमले घृणा, पूर्वाग्रह र विभाजन पनि बढाउन सक्छ। त्यसैले मिममा आधारित आलोचनामा सत्य, सन्दर्भ र जवाफदेही कायम राख्न आवश्यक छ। मिमलाई प्रतिरोधको जिम्मेवार भाषा बनाउन हामी सबैको आलोचनात्मक दृष्टि र सचेत प्रयोग अपरिहार्य छ।
त्यसैले मिम ठट्टा होइन; युवा मूलप्रवाहीकरणको बलियो औजार हो, जहाँ हास्यको लेपनमा सामाजिक मुद्दा छिटो, साझा र प्रभावशाली बन्छ। जब यो औजार अनुसन्धान र तथ्यसँग जोडिन्छ, यसले एजेन्डा चलाउन र सत्ता-सम्पर्कलाई चुनौती दिन सक्छ। तर, यही औजार इन्फोडेमिक (सूचनाको महामारी) कारखाना पनि बन्न सक्छ। मिम-प्रतिरोध सफल हुन हास्यको संवेदनशीलता र सत्यको अनुशासन दुवै चाहिन्छ।
मिमले जेन-जीको डिजिटल एकता देखायो। तर, यसको सीमालाई नाघ्दा घृणा, व्यक्तिगत हमला र भावनात्मक चोट पनि पुग्न सक्छ। आन्दोलनअघि पूर्वमिस नेपाल शृंखला खतिवडाजस्ता सार्वजनिक व्यक्तिप्रति भएको ट्रोलिङ यसको उदाहरण हो।
वास्तवमा मिम प्रतिरोधको माध्यम, डिजिटल चेतना फैलाउने उपकरण र जिम्मेवार सहभागिताको संकेत हो। मिममार्फत ‘हामी हाँस्दै बदलिन्छौँ’ भन्ने कुरा कोरा कल्पना मात्र होइन, सम्भावनाको मार्गचित्र पनि हो।