काठमाडौं। प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यो वर्षको उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले भण्डारीलाई ७०औं प्रहरी दिवसका अवसरमा शुक्रबार पुरस्कृत गरेको हो। प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा भण्डारीलाई गृहमन्त्री ओमप्रकाश अर्यालले पुरस्कृत गरेका थिए।
भण्डारी केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् छन्। उनी ब्युरोको जघन्य, संगठित अपराध अनुसन्धान शाखाका प्रमुख हुन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्ट र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई पनि पुरस्कृत गरिएको थियो।
प्रहरी दिवसका अवसरमा वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक हेमबहादुर विकलाई प्रहरी नायब निरीक्षक र जिल्ला अदालत दाङमा कार्यरत प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाई हवल्दारमा बढुवा गर्ने निर्णय भएको छ।