काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

शैली

काठमाडौँका गैरनेवारहरू पनि यहाँको भाषा, कला तथा संस्कृतिमा रमाएका छन्

१ कार्तिक २०८२
इन्द्रजात्राको दिन गरिएको रथ परिक्रमा। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

सञ्चारकर्मी प्रभात रिमाल जन्मेलगत्तै उनका बुवालाई ज्योतिषीले भनेछन्, ‘बाजे यसलाई बेच्देऊ, तिमी नपाल।’

त्यसपछि उनी रत्नमान डंगोलको परिवारमा बेचिए, पाँच पैसामा। प्रभातको जन्म उनका बुवाको पहिलो सन्तान (छोरा) र तीन दिदीपछि भएको थियो। अघिल्लो छोरा बितेपछि प्रभातलाई केही अनिष्ट नहोस् भनेर ज्योतिषीले अर्को घरमा बेच्न सल्लाह दिएका थिए। ब्राह्मण परिवारमा जन्मिएका प्रभातमा त्यही उमेरदेखि नेवार समुदायको संगत र प्रभाव बढ्यो, जुन आजसम्म कायम छ।

नेवार समुदायको गढ मानिने हनुमानढोका क्षेत्रमा हुर्केका प्रभातका लागि नेपालभाषा बोल्नु सामान्य कुरा भइहाल्यो। उनले यही भाषामा रेडियो कार्यक्रम चलाउनेदेखि ‘नेवा बिटल्स’ ब्यान्डका लागि गीतसमेत गाएका छन्। उपत्यकामा आफूजस्तै गैरनेवारले नेपालभाषामा कुराकानी गर्ने विषयलाई उनी सामान्य मान्छन्। भन्छन्, “मेरो मगर छिमेकी हुनुहुन्छ। उहाँ र म नेपालभाषामा कुरा गर्छौं। मेरा थुप्रै रैथाने मुसलमान, मधेसी-ब्राह्मण, मारवाडी, क्रिस्चियन साथी पनि छन्, जोसँग नेवारीमै कुराकानी हुन्छ।”

प्रभात रिमाल

उनी आफ्नो पुर्खा १४औँ/१५औँ पुस्ताअघि अछामको रिम्ना, गोरखा, नुवाकोट हुँदै काठमाडौँ भित्रिएको बताउँछन्। प्रभातजस्तै उपत्यकामा नेवाः समुदायइतरका विभिन्न जात, सम्प्रदाय र धर्मका मानिस फरक समयमा काठमाडौँ उपत्यकामा भित्रिएका थिए। तर, अहिले यहीँको संस्कृतिमा घुलन भइसकेका छन्।

तिनैमध्ये एक हुन्, सम्पूर्णा मिश्रा। उनी मधेसी-ब्राह्मण परिवारमा जन्मिएकी थिइन्। उनका पुर्खा पुस्तौँअघि मधेसको भूमिबाट काठमाडौँ भित्रिए। तर, अहिले उनीहरूको पहिचानको अभिन्न अंग नेवार संस्कृति भइसकेको छ। सम्पूर्णाको जन्मघर ललितपुरको तिक्षुगल्ली हो। बिहेपछि उनी काठमाडौँको लगनटोलस्थित श्रीमान्‌को घरमा बस्न थालिन्। ललितपुर होस् वा काठमाडौँ, उनका छिमेकी सधैँ नेवार भए। पेसाले स्वास्थ्य स्वयंसेविका रहेकी उनी कामको सिलसिलामा धेरै घरमा जानुपर्छ। त्यतिबेला उनी स्थानीयसँग नेपालभाषामै कुरा गर्छिन्।

सम्पूर्णाका पिता मदनमोहन मिश्रा नेपालभाषाका ख्यातिप्राप्त लेखक हुन्। उनले नेपाली र नेवारी दुवै भाषामा कृतिहरू प्रकाशन गरेका थिए। तीमध्ये नेपालभाषामा प्रकाशित पुस्तक हो- गजिगुलुया म्हगसय् पशुपतिनाथ। सन् १९७५ मा प्रकाशनमा आएको यो पुस्तक निकै चर्चित छ। यसको नेपाली अर्थ हुन्छ— गाँजा खाने मान्छेको सपनामा पशुपतिनाथ।

सम्पूर्ण मिश्रा

इन्द्रचोकको यट्खा टोलमा बस्ने अर्का कलाकार हुन्, हृदयप्रसाद मिश्र। ‘तीतो सत्य’ टेलिशृंखलामा नेवारी चरित्र ‘देखा साहु’ को भूमिकामा देखिएका उनी मैथली-ब्राह्मण हुन्। उनी मातृभाषाभन्दा राम्रो नेपालभाषा बोल्छन्। नेवारी चरित्रमा अभिनय गरेकै कारण दर्जनौँ पुरस्कारसमेत थापिसकेका छन्। बाह्रौँ-तेह्रौँ पुस्तादेखि उनको परिवार काठमाडौँ बस्दै आएको छ। उनी मधेसी–ब्राह्मणहरू हनुमानढोका, ढोकाटोल, यट्खा, सोह्रखुट्टे आसपास बसोबास गर्ने गरेको उनी बताउँछन्। उपत्यकामा मात्र १२५ को हाराहारीमा रैथाने मधेसी–ब्राह्मणको घर छ। जो लिच्छविकालदेखि उपत्यकामा आएर बसेका छन्। “भक्तपुरको इँटाछेँ, बालखु, इटनी र पाटनको मंगलबजार, महापालजस्ता ठाउँमा मधेसी–ब्राह्मणहरू परम्परागत रूपमा बस्दै आएका छौँ,” उनी भन्छन्।

फरक भूगोल र सांस्कृतिक पृष्ठभूमिबाट आए पनि नेवाः सभ्यताले यहीँको सांस्कृतिक रंगमा ढालेका थुप्रै उदाहरण छन्। जातीय-धार्मिक-भाषिक सहअस्तित्वका यस्ता अनेक कथा परापूर्वकालदेखि काठमाडौँ उपत्यकामा भेटिन्छन्।

उपत्यकाको इतिहास र नेवाः सभ्यताबारे नेपालीसँगै कैयौँ विदेशी अध्येताले अध्ययन गरेका छन्। ती अध्ययनले इतिहासका विभिन्न कालखण्डमा उपत्यकामा अलग अलग समूह वा जातजातिको आगमन र अन्तर्घुलन भएको स्पष्ट हुन्छ। तीमध्ये कोही उत्तर त कोही दक्षिणको बाटो भएर आए। कोही पहाडी त कोही समथर भूमिबाट भित्रिए। कुनै समूह युद्धका सिलसिलामा यहाँ बस्यो त कोही व्यापारको। कैयौँलाई धार्मिक कारणले यस भूमिले निम्तो दियो। यस्तै पृष्ठभूमिमा खस, बौद्ध, मुसलमान, मारवाडी, क्रिस्चियनलगायत विभिन्न समुदायका मानिस यहाँ आएको/ल्याइएको देखिन्छ।

नेपालको परिचय भूपरिवेष्ठित मुलुकका रूपमा भए पनि प्राचीन समयदेखि काठमाडौँ उपत्यका व्यापार, भाषिक सम्बन्ध, आर्थिक कारोबार, धार्मिक गतिविधिलगायत आधारमा गतिशील केन्द्र थियो। मूलतः तिब्बत, चीन, भारतदेखि खाडी मुलुकसम्म यसको जीवन्त सम्बन्ध थियो। नेपालको भौगोलिक स्थितिकै कारण एकातिर बौद्ध धर्म-परम्परालाई पछिसम्म अक्षुण्ण राख्न मद्दत मिल्यो भने अर्कातिर नेपालको बाटो हुँदै पूर्वी भारत र भोटका बीच हुने आयात-निर्यात व्यापारलाई पनि दीर्घकालसम्म धान्ने मौका जुटाइदियो।

कुल, भूमि र राज्य पुस्तकमा प्रयागराज शर्माले लेखेजस्तै लिच्छविकालको भूमिमा आश्रित अर्थव्यवस्था पूर्वमध्यकाल आइपुग्दा व्यापार र वाणिज्यप्रधान अर्थव्यवस्थामा परिणत भयो। विश्लेषक राजेन्द्र महर्जन भन्छन्, “यसले एकातिर काठमाडौँलाई समृद्ध बनायो भने अर्कातिर सहिष्णु।”

काठमाडौँका मन्दिरहरूमा पाइने हिन्दु र बौद्ध धर्मको अनौठो संगम, थरीथरीका रोमाञ्चक जात्रापर्वमा पनि प्रस्ट झल्किन्छ। व्यक्ति, परिवार र समाजबीच हरेक जात्रापर्वमा अन्तर्सम्बन्ध भेटिन्छ। जात्राका अवसरमा सार्वजनिक सडक, डबली वा जलाशयमा उपस्थित हुने भिड व्यक्ति वा समाजकै समष्टि रूप हो।

इन्द्रजात्रा, रातो-सेतो मत्स्येन्द्रनाथको जात्रा, भोटोजात्रा आदि काठमाडौँ उपत्यकाभित्रका महत्त्वपूर्ण जात्रा हुन्। यस्ता हरेक जात्रामा गैरनेवार समुदाय पनि सक्रिय रूपमा सहभागी हुन्छन्। बागबजारमा अवस्थित करिब ५०० वर्ष पुरानो जाम-ए-मस्जिदका अध्यक्ष हुन्, अब्दुल समिम। बागबजारमा तन्डुकार, खड्गी, शाही, श्रेष्ठ थरका नेवारहरूमाझ हुर्केका उनी सानो छँदा रथ तान्न नियमित जाने गरेको सम्झन्छन्। बाल्यकालमा गुच्चा खेल्ने, घुम्न जाने, फलफूल चोर्ने र झगडासमेत गर्ने कतिपय नेवार साथीहरूलाई उनी प्रत्येक वर्षको न्युदँया भिन्तुनाको शुभकामना दिन छुटाउँदैनन्। नेवार र अन्य समुदायका मित्रहरूले पनि उनलाई उसै गरी वर्षमा दुई पटक ‘इद मुबारक समिम भाइ’ भनिरहेका हुन्छन्। उनी भन्छन्, “काठमाडौँको जस्तो भाइचारा भएको अर्को ठाउँ छैन।”

उनलाई नेवार साथीहरूको घरमा गएर भोज खान रमाइलो लाग्छ। कतिले शाकाहारी भोजन पस्किन्छन् भने कतिले हलाल गरेको मासु नै ल्याएर पकाउँछन्। “हलाल लेख्दैमा म त्यहाँको मासु खान्नँ,” उनी थप्छन्, “तर मेरा कति नेवार साथीलाई थाहा छ, म के खान्छु, के खान्नँ। एक नेवार्नी दिदी हुनुहुन्छ, मैले भनेकै ठाउँबाट ल्याएर मासु पकाइदिनुहुन्छ। यही हो सम्मान भनेको, माया भनेको।”

उनी आफूलाई छिमेकी नेवार्नी आमाले हुर्काएको बताउँछन्। त्यसैले आफूलाई नेवार–मुस्लिम भन्न रुचाउँछन्। “चारपाँच पुस्तादेखि हाम्रो परिवार बागबजारमा बस्दै आएको हो,” उनी भन्छन्। उनीजस्तै बागबजारमा मुन्ना सेखको परिवार पनि नौ पुस्तादेखि बसोबास गर्दै आएका छन्।

इन्द्रचोक क्षेत्रमा पोते व्यवसाय गर्ने नेवाः मुस्लिम सबिर अहमद। तस्बिर : बिक्रम राई/नेपालन्युज

स्वास्थ्य स्वयंसेवी सम्पूर्णाको अनुभव छ, लामो सांस्कृतिक संसर्गले नेवाः संस्कृतिसँग सबैको अन्तर्घुलन सम्भव भएको हो। उनको घरमा सिद्दी नखःमा बारा पकाएर खाने चलन छ। योमरी पूर्णिमाका दिन योमरी बनाउन कहिल्यै छुट्दैन। अदुवा, भटमास, माछा आदि राखेर दसैँमा बलिपूजा गर्ने नेवारी चलनलाई पनि निरन्तरता दिँदै आएकी छिन्। तर पनि मैथली संस्कृतिमा आफ्नो परिवार उत्तिकै सचेत रहेको उनको भनाइ छ। “इन्द्रजात्रा, धान्य पूर्णिमा, संक्रान्ति सबै मनाउँछौँ। तर पहिल्यैदेखि चलिआएको मैथली परम्परा पनि छोडेका छैनौँ। घरमा बफ चल्दैन, बाहिर पनि खाँदैनौँ,” उनी भन्छिन्। कतिपय जात्रापर्व र पूजामा गैरनेवार समुदाय सहभागी मात्र हुँदैनन्, उनीहरूको निर्णायक भूमिका नै हुन्छ। जस्तै- उपत्यकाका धेरै मठमन्दिरमा मैथली ब्राह्मण पुजारी छन्।

‘कथा भन्ने बाजे’ नामले परिचित हृदयप्रसाद शर्मा उपत्यकाका टोल टोलमा नेपालभाषामा धार्मिक प्रवचन दिँदै हिँड्छन्। दुईचार महिना लामो पुराणसमेत भट्याउन भ्याउने उनी भन्छन्, “काठमाडौँमा जगन्नाथ होस् वा नरसिंह मन्दिर, हामी झा मिश्राहरू पुजारी छौँ।” पशुपतिनाथमा हरेक पूर्णेको दिन महास्नान हुन्छ, वर्षको तेह्रपटक। जहाँ महादेवलाई विधिवत् रूपमा चोखो बसेर भोग चढाइन्छ। यो काम मैथली–ब्राह्मणले मात्र गर्न पाउँछन्।

सम्पूर्णाका अनुसार वसन्तपुरको मखन महादेवमा पनि यसरी नै पूर्णिमाको दिन महास्नान हुन्छ, जहाँ मैथली-ब्राह्मणले पकाएको मात्र भोग चल्छ। यसरी नै वसन्तपुरको राधाकृष्ण मन्दिर, बांगेमुढाको मन्दिरदेखि भक्तपुरको चाँगुनारायणसम्मका पुजारी मैथली-ब्राह्मण हुन्। कतिपय ठाउँमा रथ तान्ने जात्राको सञ्चालकमा मधेसी-ब्राह्मण र मारवाडी समुदायसमेत भेटिन्छन्।

नेवार समुदायका यस्ता ठूल्ठुला जात्रापर्वको सञ्चालन र समन्वयमा परापूर्वकालदेखि चल्दै आएको गुठीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। गुठीको एकता र सहबन्धनमा भोज परम्पराको भूमिका हुन्छ। प्रभात नेवा: संस्कृतिमा आकर्षित हुनुको एउटा कारण यस्तै भोज पनि हो। भन्छन्, “नेवारको भोज गर्ने संस्कृति गजबको छ। हामी बाहुनको त भेला हुने भनेको श्राद्धमा हो, जुन सादा हुन्छ। उनीहरूको भोजमा नाचगान, परिकार र मदिरासमेत हुने भएकाले म आकर्षित भएँ।”

नेवा भोजको एक दृश्य। तस्बिर सौजन्य : सानुबाबु महर्जन

पूजा वा जात्रा सम्पन्न गर्दा विभिन्न जात र पेसा वर्गबाट विधि सेवा प्राप्त गर्नु आवश्यक मात्र होइन, अनिवार्य गरिएको हुन्छ। यो नेवाः सभ्यताभित्रको धार्मिक-सांस्कृतिक अभ्यासमा निहित सामाजिक सहअस्तित्वको प्रतिविम्ब हो।

भनिन्छ– सामाजिक जीवन बाँच्ने प्रक्रियामा अन्य जातजाति, भाषाभाषीका संस्कृतिलाई जति अँगाल्दै जान्छ, मान्छे उति नै सभ्य हुँदै जान्छ। त्यसपछि उसलाई जहाँ गए पनि आफ्नोपन महसुस हुन्छ। नेवाः सभ्यताको विशेषता पनि सायद यही होला।