काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आवरण

वित्तीय अनुशासनविपरीत एकपछि अर्को हर्कत

२ कार्तिक २०८२
कमलादीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

बैंक पनि, साथी पनि
राम्रो पनि, हाम्रो पनि

१० वर्षदेखि एनआईसी एशिया बैंकको नारा यही छ। जसलाई जति चाहियो उति कर्जा दिने, लगानीकर्ताले उत्कृष्ट प्रतिफल पाउने बैंकको ‘गुण’ का बखान बजारभरि थिए। बैंकले ल्याउने योजनाहरू यति आकर्षक हुन्थे कि सायदै अन्य बैंक त्यसका लागि तयार देखिन्थे। होर्डिङ बोर्डहरूमा एनआईसीकै जगजगी, सञ्चारमाध्यममा एनआईसीकै चर्चा। बैंकिङ वृत्तमै पनि चर्चा हुन्थ्यो– प्रगति गर्नु त एनआईसीले जस्तो।

त्यसबेला बैंकको व्यवस्थापकीय नेतृत्वमा थिए– रोशनकुमार न्यौपाने। नेपाली बैंकिङ इतिहासमा सबैभन्दा कम उमेर ३८ वर्षमै प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेको भनेर उनको सफलताका गाथा सञ्चारमाध्यममा यसरी कोरिएका थिए कि उनी बैंकर नभएर ‘जादुगर’ हुन्। तर, बैंक सञ्चालक र सीईओको मिलेमतोमा राजनीतिक पहुँचको दुरुपयोग गरेर सुशासनको धज्जी उडाउँदा ठीकठाक चलिरहेको संस्था कसरी कमजोर हुँदो रहेछ भन्ने उदाहरण बनेको छ– एनआईसी एशिया बैंक।

न्यौपानेले तालाचाबी सम्हालेको सात वर्षको छोटो अवधिमा बैंकले कसरी चामत्कारिक प्रगति गर्‍यो र अहिले कसरी जोगाउनुपर्ने अवस्थामा पुगेको छ भन्ने तथ्य थाहा पाउनुपहिले विगततर्फ फर्कौं।

नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी) र बैंक अफ एशिया नेपाल दुई फरक बैंक थिए। असार २०७० मा यी बैंक आपसमा गाभिएपछि एनआईसी एशिया बैंक बन्यो।

बैंक सञ्चालक समितिले मंसिर २०७५ देखि न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। चार्टर्ड एकाउन्टेन्ट न्यौपानेको बैंकिङ करियर नै एनआईसी बैंकबाटै सुरु भएको थियो। साढे सात वर्ष आन्तरिक लेखापरीक्षण विभाग प्रमुख, दुई वर्ष जोखिम व्यवस्थापन प्रमुख, ११ महिना सहायक प्रमुख कार्यकारी अधिकृत र १० महिना कामु प्रमुख कार्यकारी अधिकृत भएपछि उनले बैंकको नेतृत्व पाएका थिए। तर, कार्यकाल एक वर्ष बाँकी छँदै न्यौपानेले १ असोज २०८२ मा पदबाट राजीनामा दिए।

आफ्नो सात वर्षको कार्यकालमा न्यौपानेले वित्तीय अनुशासनविपरीत जे गरे, त्यसलाई आफ्नै घरमा लगाएको आगोसँग तुलना गर्न सकिन्छ। र, अहिले आफैँले नेतृत्व गरेको बैंकलाई कमजोर बनाएर उनी भने बाहिरिएका छन्।

आक्रामक बजार विस्तार

आफू कायममुकायम नेतृत्वमै रहेका बेला न्यौपानेले असोज २०७५ मा घर कर्जाका लागि ५० वर्षे किस्ताबन्दीको सुविधा ल्याए, जुन देशकै बैंकिङ इतिहासमा लामो अवधिको कर्जा स्किम थियो। बैंक स्वयंले ‘चामत्कारिक घर कर्जा योजना’ भनेको यो योजनामार्फत घरजग्गामा ठूलो मात्रामा कर्जा गयो।

त्यसपछि न्यौपानेले साना तथा मझौला व्यवसायकेन्द्रित लगानी बढाए। बैंकले धमाधम आकर्षक र आक्रामक योजनाहरू सार्वजनिक गरिरहेको थियो। यही रणनीतिका कारण निक्षेप पनि एनआईसीमै थुप्रिरहेको थियो। समय यस्तो पनि आयो कि एनआईसीका योजनाहरूले अरू बैंकका उच्चपदस्थ कर्मचारीलाई समेत तनाव सिर्जना गरिदियो। ‘एनआईसीले गर्नसक्ने, तपाईंहरूले चाहिँ किन नसक्ने?’ अन्य बैंकका सञ्चालकहरू आफ्नो व्यवस्थापनलाई दबाब दिन्थे।

एनआईसी एशिया बैँकका पूर्वसीईओ रोशनकुमार न्यौपाने। तस्बिर स्रोत- बैंकको वेबसाइट

यसको प्रभाव कतिसम्म थियो भन्ने बुझ्न बैंकरहरूमाझ एक जना पूर्वबैंकर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भएको भनिएको संवाद चर्चित छ। चैत २०७६ मा कोरोना महामारीको कहरबीच राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन सस्तो ब्याजदर, पुनर्कर्जा, तिर्नुपर्ने ऋणको पुनर्तालिकीकरणजस्ता नीति लिएको थियो। त्यसलाई बैंकहरूले लगानी विस्तारको अवसरका रूपमा लिएका थिए। आक्रामक लगानी विस्तार गरिरहेको एनआईसी एशिया बैंकलाई त चिठ्ठा परेजस्तै भइहाल्यो।

सात वर्षको कार्यकालमा न्यौपानेले वित्तीय अनुशासनविपरीत जे गरे, त्यसलाई आफ्नै घरमा लगाएको आगोसँग तुलना गर्न सकिन्छ। र, अहिले आफैँले नेतृत्व गरेको बैंकलाई कमजोर बनाएर उनी भने बाहिरिएका छन्।

त्यहीबेला नाम उल्लेख नगर्न आग्रह गर्ने ती पूर्वबैंकरले ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका उद्योगी ढकालसँग भनेछन्, ‘अहिले बैंकले ठूलो ग्रोथ लिने बेला होइन है, संयम भएर लाग्नुहोला।’ तर, ढकालले उनैलाई भनेछन्, ‘तपाईं आफूले चलाइरहेको बैंक पनि अरूलाई जिम्मा लगाउने अनि हामीलाई पनि चुप लागेर बस्नुस् भन्ने? हेर्नुस् त, एनआईसी एशिया बैंक कसरी दौडिएको छ!’

राष्ट्र बैंकको लचिलो नीतिकै कारण लामो समय देशको अर्थतन्त्र ‘स्लो-डाउन’ भयो। सस्तो ब्याजदरको कर्जा घरजग्गामा गयो। जग्गाको मूल्य ह्वात्तै बढ्यो। त्यसबेला घर कर्जामा भएको लगानी उठाउन अहिले पनि बैंकहरूलाई धौधौ परिरहेको छ।

त्यतिबेला एनआईसी बैंकको नीति नै थियो, जसलाई जति पनि कर्जा दिने। बैंकिङ क्षेत्रमा एउटा उक्ति नै थियो, ‘धितो हेर्ने, खाम्ने भए पैसा थमाइहाल्ने।’ बैंकले कर्जा लगानीका लागि नयाँ ठाउँ भन्दै सहरउन्मुख क्षेत्रलाई रोजेको थियो। कर्जाका लागि साना तथा मझौला व्यवसायी पहिलो प्राथमिकतामा थिए। अरू बैंकले गरेको धितो मूल्यांकनभन्दा बढी कर्जा दिएर एनआईसी बैंकले ग्राहक तान्ने नीति बनाएको थियो।

न्यौपानेको नेतृत्वमा आर्थिक वर्ष २०७४/७५ मा बैंकले कर्जामा एक खर्ब २१ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको थियो। आव २०७७/७८ सम्ममै कर्जा लगानी ११७.५४ प्रतिशतले बढेर दुई खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ पुग्यो। आव २०७६/७७ मा पनि यस बैंकले एक खर्ब ७३ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गर्‍यो।

एनआईसी एशियाले आक्रामक कर्जा विस्तार गरिरहँदा समग्र बैंकिङ क्षेत्रको कर्जा विस्तार भने अनुकूल थिएन। राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७७/७८ मा वाणिज्य बैंकहरूको कर्जा प्रवाहको वृद्धि २७.३ प्रतिशत थियो। आव २०७६/७७ मा वाणिज्य बैंकहरूको कर्जा प्रवाहको वृद्धि १६ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांक छ।

अर्थतन्त्र एकातिर, एनआईसी बैंक अर्कातिर भएपछि राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले सीईओ न्यौपानेलाई बालुवाटारमा बोलाएर बयानै लिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

तस्बिर- नेपालन्युज

अधिक कर्जा विस्तारका लागि सोही परिमाणको निक्षेप पनि चाहियो। त्यसका लागि बैंकले मुद्दतीमा दिइने ब्याज धमाधम बढायो। बैंकले पुस २०७६ मा मुद्दती निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, पुस २०७८ मा १०.०५ र सोही वर्षको चैतमा १२.०३ प्रतिशतसम्म पुर्‍यायो।

साउन २०७९ मा बैंकले अर्को स्किम सार्वजनिक गर्दै भन्यो– तपाईं एनआईसी एशिया बैंकमा पैसा राख्नुस्, हामी १० गुणा थपेर दिन्छौँ। योजनाअन्तर्गत १० लाख रुपैयाँ निक्षेप २० वर्ष १० महिना १२ दिन उक्त बैंकमा राख्दा एक करोड रुपैयाँ फिर्ता दिने हिसाब बताइएको थियो।

त्यसअघि एनआईसी एशिया बैंकले ‘बैंकासुरेन्स’ स्किम बनाएर जीवन बिमाको पोलिसीसमेत बेचेको थियो। बैंकले बिमा पोलिसी बेचेर कमाउने कमिसन मात्रै वार्षिक ३० करोड रुपैयाँभन्दा बढी थियो। एनआईसी एशियाले सुरु गरेको यो स्किम पछि अरू बैंकले पनि पछ्याएका थिए। तर, राष्ट्र बैंकले साउन २०७६ बाट बैंकहरूले कर्जासँग सम्बन्धित बिमाबाहेक अरू बिमाका पोलिसी बेच्न नपाउने गरी रोक लगाएको थियो।

यस्ता नौला योजनाबाट बैंकले ग्राहक आकर्षित गर्‍यो। देशव्यापी बैंकको उपस्थिति विस्तार गर्ने भनेर एकपछि अर्को शाखा थपिए। एटीएम आउटलेटको संख्या पनि ह्वात्तै बढाइयो। बैंकका अनुसार १५ मंसिर २०७५ सम्म देशभर यस बैंकका २६८ वटा शाखा, ३७ विस्तारित काउन्टर र २८१ वटा एटीएम थिए। १३ लाख ५० हजार बचत खाता थिए। आव २०८१/८२ अन्तिमसम्म बैंकको शाखा थपिएर ३६० पुगे। एटीएम आउटलेट ६७३ वटा पुर्‍याइयो। ४२ लाख दुई हजार २७ त बचत खातावाला नै भए।

शाखा सञ्जाल बढ्दा सञ्चालन खर्च पनि उसैगरी बढ्नु स्वाभाविक नै थियो। आव २०७४/७५ मा एक खर्ब २४ अर्ब रुपैयाँ रहेको सञ्चालन खर्च २०८०/८१ मा आइपुग्दा दुई खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। त्यतिबेला एक खर्ब ७८ अर्ब रुपैयाँ रहेको कर्मचारी खर्च अहिले चार खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

ओरालो यात्रा

तीव्रतर वृद्धिले बैंकलाई ठूलो बनाउने, ठूलो बैंकको सञ्चालक र सीईओ बन्ने रहर त पूरा गर्‍यो, तर लगानी विस्तारमा गरेको झेलले बैंकलाई बदनामीतिर धकेल्न थाल्यो।

यस्तै झेली लगानीका सिकार हुन्, इमाडोलका रमेशप्रसाद पौडेल। उनले बैंकसँग घर कर्जा मागेका थिए। तर, बैंकले घर धितोमा ४२ लाख रुपैयाँ ओभरड्राफ्ट जारी गरिदियो। त्यस पैसाले पौडेलले घरको तला थपे। पौडेलका अनुसार ऋण लिँदा ब्याजदर ८.५ प्रतिशत हुने, ब्याजदर नबढ्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त राखियो। तर, कर्जा लिएको तीन महिनापछि नै बैंकले तीन तीन महिनामा कर्जा नवीकरण गर्नू, नत्र कर्जा चुक्ता गर्नू भन्यो। उनका अनुसार बैंकले बारम्बार फोन गर्न थाल्यो। बीचमा त ब्याजदर बढाएर १६ प्रतिशतसम्म पुर्‍यायो। त्यति मात्र होइन, घरमै सेक्युरिटी गार्ड पठाउने, हुलाकबाट पत्र पठाएर मानसिक तनाव दिएको भन्दै पौडेलले भिडियो नै सार्वजनिक गरेका छन्।

एनआईसी एशिया बैंकका पूर्वसीईओ रोशनकुमार न्यौपाने र सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल। तस्बिर सौजन्य : बैंकको वार्षिक प्रतिवेदन

बैंकका पीडितमध्येकै हुन्, सिरहा, लहानका रामअवतार महतो। उनले एनआईसी एशिया बैंकको क्रेडिड कार्डबाट एक लाख ३४ हजार रुपैयाँ चलाएका थिए। बैंकले सात महिनामा उक्त रकमका लागि ९६ हजार ब्याज लिएको भन्दै जनप्रतिनिधि नै लिएर उनी बैंकको लहान शाखा पुगेका थिए।

बैंकिङ कारोबारबारे कम जानकार ग्राहकबाट अधिक असुली गरिएका यी त केही उदाहरण मात्रै हुन्। बैंकले कर्जा दिँदाका प्रक्रियाको शुल्क, जरिवाना, हर्जाना, एलसी, विनिमयको बिक्रीलाई नै आम्दानीको मुख्य स्रोत बनाएको थियो।

बैंकद्वारा हरेक वर्ष प्रकाशित तथ्यांक हेर्दा आव २०७४/७५ मा बैंकले शुल्क तथा कमिसन आम्दानीबापत ८६ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो। आव २०७६/७७ मा यस्तो आम्दानी बढेर दुई अर्ब ४८ करोड रुपैयाँ पुग्यो। आव २०७७/७८ मा यो आम्दानी एक अर्ब ६२ करोड रुपैयाँ थियो।

बैंकले आव २०७६/७७ मा अन्य सञ्चालन आम्दानी मात्रै २५ अर्ब ५९ करोड रुपैयाँ पुर्‍याएको थियो। अघिल्लो आव २०७५/७६ मा यस्तो आम्दानी सात अर्ब ६० करोड रुपैयाँ मात्रै रहेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। बैंकको अन्य आम्दानीमा एटीएम कार्ड, क्रेडिट कार्ड, ऋण आवेदन र प्रक्रियामा लिने शुल्क, विदेशी विनिमयको बिक्री आदि पर्छन्।

२०७६ सालमा प्रबल जनसेवाश्रीको विभूषण पदक थापेका र फेसबुक प्रोफाइलमा आफूलाई ‘बैंकर, अ बिग ड्रिमर’ बताउने न्यौपाने अन्ततः असफल बैंकर ठहरिए।

एनआईसी एशियाको अन्य आम्दानीसँग उही स्तरको अर्को बैंकको तुलना गर्ने हो भने ठूलो अन्तर भेटिन्छ। आव २०७६/७७ मा सानिमा बैंकको सञ्चालन आम्दानी पाँच अर्ब ३० करोड ९६ लाख रुपैयाँ र सिद्धार्थ बैंकको सञ्चालन आम्दानी सात अर्ब १३ करोड २६ लाख रुपैयाँ थियो। सोही वर्ष एभरेष्ट बैंकको सञ्चालन आम्दानी पनि पाँच अर्ब ८४ करोड ८२ लाख रुपैयाँ मात्र थियो।

एनआईसी एशिया बैंकले ग्राहकसँग बढी ब्याज लिएको पाइएपछि राष्ट्र बैंकले रकम फिर्ता गर्न निर्देशन पनि दिएको थियो। तर, बैंकले निर्देशन पालन नगरी आव २०७८/७९ र २०७९/८० मा ब्याजमा जोखिम प्रिमियम पनि थप गर्‍यो। पुँजी पर्याप्तता फ्रेमवर्कविपरीत कर्जाको जोखिमभार कम प्रदान गरी राष्ट्र बैंकलाई नै गलत रिपोर्टिङ गरेको तथ्य पत्ता लाग्यो।

यस्तो अक्षम्य गल्तीमा पनि राष्ट्र बैंकको भूमिका सीईओ न्यौपाने र सञ्चालकलाई सामान्य सचेत गराउनमै सीमित रह्यो। राष्ट्र बैंकका सेवानिवृत्त कार्यकारी निर्देशक नाम उल्लेख नगरिदिने शर्तमा भन्छन्, “एनआईसी एशिया बैंकको प्रभाव र पहुँच सबैलाई छक्क पार्ने खालको थियो। उनीहरूले सुशासनमा सम्झौता गरेको थाहा हुँदाहुँदै पनि कारबाही गर्नसक्ने अवस्था नै थिएन।”

नियामक निकायमै यति प्रभाव भएकाले होला, बैंकले यसका सञ्चालक र परिवारका सदस्यका मुद्दती खातामा तोकेभन्दा बढी ब्याज दियो। सञ्चालकका परिवारलाई पुरानो मिति राखेर मुद्दती खाता खोल्न लगाएर बढी ब्याज दिएको पनि राष्ट्र बैंकले भेट्यो। तर, यसमा पनि सीईओ न्यौपाने र केही सञ्चालकलाई राष्ट्र बैंकले सचेत गराएको भनेर २०८१ सालको दोस्रो त्रैमासिक (कात्तिक–पुस)को कारबाहीसम्बन्धी विवरणमै उल्लेख गरेको छ।

यस्तो गम्भीर लापरवाहीमा सीईओलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने, तलबलगायत सेवासुविधा रोक्नसक्ने, सञ्चालकलाई पदबाट हटाउने, कर्मचारीलाई अवकाश दिनसक्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ। त्यहीबेला राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणमा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी, पुँजीकोष तथा जोखिमभार, ब्याजदर र संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको भेटिएको भन्दै त्यस्ता गतिविधिबाट अलग रहन र सुधारात्मक कदम चाल्न भनेको थियो।

तर, पटक पटक सचेत गराउँदा पनि अटेर गरेका न्यौपानेलाई बैंकको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढेको, आम्दानी घटेको र संस्थागत सुशासन कायम राख्न नसकेको भन्दै राष्ट्र बैंकले यही भदौ दोस्रो साता ‘नगद जरिवाना किन नगर्ने?’ भनेर स्पष्टीकरण सोधेको थियो। राष्ट्र बैंकले स्पष्टीकरणमार्फत कारबाही प्रक्रिया अघि बढाएको बुझेपछि बल्ल न्यौपानेले राजीनामा दिएका थिए।

२०७६ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्रीको विभूषण पदक थापेका र फेसबुक प्रोफाइलमा आफूलाई ‘बैंकर, अ बिग ड्रिमर’ बताउने न्यौपाने अन्ततः असफल बैंकर ठहरिए।

न्यौपानेको विवादास्पद कार्यकाल र बहिर्गमनबारे उनीबाटै प्रतिक्रिया लिने नेपालन्युजको प्रयास सफल हुन सकेन। फोन र मेसेज गर्दासमेत उनले जवाफ दिएनन्।

अप्राकृतिक वृद्धि

न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकमा भएको यो वित्तीय विचलनलाई नियालेका बैंकिङ विज्ञ एवं पूर्वबैंकर अनलराज भट्टराई भन्छन्, “एनआईसी एशिया बैंकको वृद्धि प्राकृतिक थिएन। बैंकका प्रतिनिधिहरूलाई किन यसो गरेको भन्दा साना तथा मझौला व्यवसायमा लगानी बढेको छ, त्यसैले आकार बढेको देखिएको हो भन्ने जवाफ दिन्थे।”

बैंकले लगानी विस्तारका लागि भन्दै जथाभाबी गरेको कर्जा वृद्धि गुणस्तरीय पनि थिएन। लगानी बढाउने नाममा जथाभाबी दिइएको कर्जा समयमा नउठ्दा बैंकले विभिन्न हथकन्डा अपनाउँथ्यो। ऋणीको घरमा सेक्युरिटी नै राख्थ्यो। ऋणीसँग राम्ररी संवाद नै नगरी धितो लिलामीको प्रक्रियामा लैजाने गरेको थियो। बैंकले विभिन्न मितिमा एकैपटक सयौँ ऋणीहरूको धितो लिलामीको सूचना निकाल्दै आएको छ। पछिल्लो पटक १६ भदौमा १५० जना ऋणीको धितो लिलामीका लागि भन्दै सातदिने सूचना प्रकाशन गरेको थियो।

२०८० माघमा एनआईसी एशिया बैंकका निक्षेपकर्ताहरूले धमाधम पैसा निकाल्न थालेका थिए। कर्जा लिएका ऋणीलाई विभिन्न दबाब दिएको, फास्ट ट्र्याकमा धितो लिलामी गरिदिएको भन्दै बैंकप्रतिको असन्तुष्टि सार्वजनिक भइरहेको थियो। त्यहीबेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक सुरक्षित नरहेको भन्दै देशभर नकारात्मक प्रचार गरिरहेका थिए। त्यसपछि बैंकमा पैसा झिक्न निक्षेपकर्ताको लाइन लागेको थियो। त्यसबेला राष्ट्र बैंकले विज्ञप्ति नै प्रकाशन गरेर निक्षेपकर्ताहरूको बचत सुरक्षित रहेको बताउनुपरेको थियो। ८ फागुन ०८० मा राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ।’

नाफामा असर

बैंकले जथाभाबी गरेको लगानी समयमा फिर्ता नहुँदा त्यसको प्रत्यक्ष असर उसको नाफामा परेको छ। आव २०८०/८१ मा बैंकको नाफा ८४.२२ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा भने २९२ प्रतिशतले बढ्यो। अघिल्लो वर्ष ०.८८ प्रतिशत रहेको निष्क्रिय कर्जा २०८०/८१ मा आइपुग्दा बढेर ३.४५ प्रतिशत पुग्यो। जसका लागि तीन अर्ब ६८ लाख रुपैयाँ छुट्याउँदा (प्रोभिजनिङ गर्दा) नाफा प्रभावित भयो। त्यसवर्ष बैंकले ७० करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाउन सक्यो। ठीक अघिल्लो वर्ष बैंकले चार अर्ब ४४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा घट्ने क्रम गत आर्थिक वर्षमा पनि रोकिएन। आव २०८१/८२ मा बैंकको नाफा ७६.९७ प्रतिशतले खुम्चिएर १६ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। बैंकले गत वर्ष निष्क्रिय कर्जाका लागि चार अर्ब १४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ।

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय। तस्बिर : बिक्रम राई/नेपालन्युज

गत आर्थिक वर्षसम्म आइपुग्दा बैंकको खराब कर्जा अत्यधिक भएको छ। अघिल्लो आर्थिक वर्षको खराब कर्जा ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ। बैंकको ब्याज आम्दानी पनि निरन्तर घटिरहेको छ। गत वर्ष बैंकको वितरणयोग्य मुनाफा पाँच अर्ब २१ करोड रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्ष यस्तो नाफा दुई अर्ब ६६ करोडले ऋणात्मक थियो। दुई वर्षयता खराब यी सूचकांकले बैंक क्रमशः समस्याग्रस्त हुँदै गएको देखाउँछन्।

पूर्वबैंकर पर्शुराम कुँवर भने बैंक सञ्चालक र व्यवस्थापकले महत्त्वाकांक्षी योजना बनाउँदा परिस्थिति पनि विचार गर्नुपर्ने बताउँछन्। “अहिलेको अवस्था आउनसक्छ भनेर आकलन गर्नुपर्थ्यो। साना व्यवसायमा लगानी बढाउँदा ती व्यवसाय फेल भए भने बैंक पनि फेल हुने अवस्था बन्छ भन्नेतर्फ सोचेर सोहीअनुसार आफूलाई तयार राख्न सक्नुपर्थ्यो,” उनी भन्छन्।

बैंक समस्यामा रहँदा लगानीकर्ताले पाउने प्रतिफल त गुम्छ नै, त्यसमाथि पनि ‘क’ वर्गको बैंक असफल हुँदा समग्र अर्थतन्त्रमै ‘चेन-इफेक्ट’ पर्छ। अहिले एनआईसी एशिया बैंक संस्थाको इतिहासकै कठिन मोडमा छ। गैरबैंकिङ सम्पत्तिहरू बिक्री नहुँदा लिलाम बिक्री पोर्टल नै खोलेर लिलामीको सूचना राखिएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता किरण पण्डित एनआईसी एशियाका हरेक गतिविधिमा राष्ट्र बैंकको नजर रहिरहेको बताउँछन्। भन्छन्,“राष्ट्र बैंकले जिम्मेवारीपूर्वक सुपरिवेक्षण गरिरहेको छ। कानुनले तोकेको दायित्व राष्ट्र बैंकले जिम्मेवारीपूर्वक निर्वाह गरिरहेको छ।”

‘हामी सुरक्षित छौँ’

एनआईसी एशिया बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरहोल्डरको प्रतिनिधित्व गर्ने सञ्चालकमध्येका एक गणेशमान श्रेष्ठ बैंकको परिसूचक आत्तिनुपर्ने अवस्थामा नरहेको दाबी गर्छन्। खराब कर्जा बढेको र त्यसका लागि ‘प्रोभिजनिङ’ गर्नुपरेका कारण बैंकको नाफा घटेको देखिएको उनको तर्क छ। भन्छन्, “बैंकले कमाएर नै प्रोभिजनिङ गर्न सकेको हो। कर्जा उठेपछि त्यो पैसा नाफामै हिसाब हुन्छ। बैंकको सञ्चालन आम्दानी अहिले पनि राम्रो छ।” उनी आर्थिक मन्दीका कारण समस्या देखिएको बताउँछन्। भन्छन्, “धेरैजसो लगानी घरजग्गामा भएको थियो। बिक्री नहुँदा बैंकको लगानी उठेन। ब्याज उठाउन पनि समस्या भयो।”

एनआईसी एशिया बैंकको सीईओबाट न्यौपानेले राजीनामा दिएपछि डेपुटी स‍ीईओ सन्तोषकुमार राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको छ। बैंकको व्यवस्थापन सम्हालेपछि कर्जा असुलीलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको उनी बताउँछन्। “बैंक भनेको टिम गेम हो। टिमको सामूहिक प्रयासले नै संस्था बलियो बन्ने हो। आजको भोलि नै जादु गर्ने केही उपाय छैन। केही समय लिएर संस्थालाई थप बलियो बनाउँछौँ,” उनी भन्छन्।

अरू बैंकहरूको कर्पोरेट कर्जा धेरै भएका कारण समयमै रिकभर गरेको तर एनआईसी एशिया बैंकले सहरउन्मुख गाउँमा ३० लाख दरका ऋण धेरै दिएको र अर्थतन्त्र सुस्त हुँदा बैंकको सूचकांक केही नकारात्मक देखिएको राठीको भनाइ छ। उनको दाबी छ, “कर्जा असुली राम्रो हुँदै गएको छ। हामी सुरक्षित अवस्थामै छौँ।”