काठमाडौँ
००:००:००
३० कार्तिक २०८२, आईतवार

२ कार्तिक २०८२
अ+
अ-

एजेन्सी। पाकिस्तान र अफगानिस्तानबीच हालै भएको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित दर्जनौँ नागरिकको मृत्यु भएपछि दुवै देशले तत्काल युद्धविराममा सहमति गरेका छन्।

कतारका अनुसार, दोहामा कतार र टर्कीको मध्यस्थतामा भएको उच्चस्तरीय वार्तामा पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूले युद्धविराम लागू गर्न र सीमा क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्।

बीबीसीका अनुसार, आगामी चरणमा युद्धविरामको निगरानी र कार्यान्वयनबारे छलफल गर्न दुवै देशका समितिहरू दोहा र इस्लामाबादमा बैठक गर्नेछन्।

कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्ने र क्षेत्रीय स्थिरताको दिशामा महत्वपूर्ण कदम साबित हुने अपेक्षा व्यक्त गरेको छ।

जियो टिभीका अनुसार, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गर्दै युद्धविरामले सीमामा जारी तनाव अन्त्य गर्ने आशा व्यक्त गरे। उनले दुवै देशका प्रतिनिधिमण्डलहरू आगामी अक्टोबर २५ मा इस्तानबुलमा पुनः भेट्ने जानकारी पनि दिए।

यसअघि, अफगानिस्तानले पाकिस्तानमाथि युद्धविराम उल्लङ्घन गरी साधारण नागरिकमाथि हमला गरेको आरोप लगाएको थियो भने पाकिस्तानले सीमावर्ती वजीरिस्तान क्षेत्रमा “आतङ्कवादी शिविरहरू”लाई निशाना बनाएको दाबी गरेको थियो।